२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘तिज: नेपाली महिलाको आत्मीय, संस्कृति र एकताको प्रतीक’

‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव सम्पन्न भएको छ।

नेपालको पहिलो नायिका भुवन चन्दकाे प्रमुख आतिथ्य र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलकाे विशेष आतिथ्यमा कार्यक्रम भएकाे हाे।

प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीय, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको बताइन्। ‘तीज रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो। हामीले नयाँ पुस्तामा यसको महत्त्व र मौलिकता प्रवाह गर्न सके हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उनले भनिन्।

त्यसैगरी उपमेयर डंगोलले महिलाहरूलाई सशक्त बनाउन सक्ने पर्वका रूपमा तीजकाे व्याख्या गरिन्। ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परा जोगाउन मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उनको भनाइ थियो।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतमा भएकाे कार्यक्रममा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडा लगायतलाई ‘तीज मिलाप सम्मान’ पनि प्रदान गरिएको थियो।

कार्यक्रममा नृत्य, गीत र साहित्यिक अभिव्यक्ति प्रस्तुत गरिएकाे थियाे। दिदीबहिनीले  तीजको परम्परागत वेशभूषामा नाचेर रमाइलाे मनाएकाे थियो। त्यस्तै कार्यक्रममा स्वस्तिका गिरी र उर्मिला खत्री (रिया) ले नृत्य प्रस्तुत गरेका थिए भने  मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत गाएर कार्यक्रमकाे राैनक थपेका थिए।

कार्यक्रमकी सभाध्यक्ष गीता अधिकारीले नेपाली नारीको महान् पर्व तीज चार वर्षदेखि उत्सवका रूपमा मनाउँदै आएको बताइन्। ‘यस किसिमको आयोजनाको मुख्य उद्देश्य नेपाली संस्कृतिको मौलिकता जोगाउँदै महिला सशक्तिकरण, सामाजिक एकता र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नु हो’, उनले भनिन्।

यस वर्षको उत्सवलाई अभियन्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’ अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो। काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए। उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतना सम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन्।

अभियान मार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन्। फाउण्डेशनले यसपटक मिलापको तीज उत्सवलाई प्रायोजन समेत गरेको थियो, जसले मनोरञ्जन क्षेत्रका दर्शकमाझ पनि अभियान जोड्ने प्रयास गरेको हो।

उक्त अवसरमा विभिन्न वक्ताले पछिल्लो समय तीज अत्यधिक भड्किलो बन्दै गएको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका थिए। उक्त अवसरमा वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ कलाकार शारदा गिरी, नेपाल पत्रकार महासंघ अध्यक्ष नितु पण्डित लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

सञ्चारकर्मी रिना श्रेष्ठले सञ्चालन र गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रममा डा. बुनु दाहाल, हास्यकलाकार निरु खडका, सरिता राजोपाध्याय, रानु निरौला, सुनिता कुँवर, गीता सिंह, वसन्ती लामा, गीता नेपाल, बबिना भट्टराई, शिला गजुरेल, भूमी पौडेल लगायत धेरै महिलाको सहभागिता रहेकाे थियाे।

प्रकाशित: ५ भाद्र २०८२ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App