नामै ‘बेल्कातरी’ घनाजंगलको साम्राज्य! जंगली जनावरबाट त्राहिमाम हुनुपर्ने। भूतप्रेतबाट डराउनुपर्ने। चोरी, डकैतीबाट जोगिनुपर्ने। हरेक पाइला–पाइलामा त्राहिमामत्राहिमाम गर्दै बाटो हिँड्नुपर्ने बाध्यता हुन्थ्यो।
एक रात उदयपुर जिल्लाको बेल्कातरीको जङ्गल काट्दा भोग्नुपरेको कष्टकर कथाव्यथाहरू बिर्सिनसक्नु छन्। दिनभरिको हिँडाइले थाक्नुसम्म थाकेको ज्यान त्यो थकित ज्यानलाई फुर्ति दिन मेरा अग्रजहरूले कथाहरू सुनाउनुहुन्थ्यो अनि किस्साहरू भन्नुहुन्थ्यो। ती सुन्दै बाटो हिँड्दा हामीलाई पनि बाटो काटेको पत्तै हुँदैन थियो। यसरी गर्दै हामी जब बेलुका त्यो घनाजंगल पुग्यौँ, त्यसपछि सुरु हुन्थ्यो भूतप्रेतको कथा एकपछि अर्को लर्को।
त्यो एकलासको घनघोर जङ्गल दिनको उज्यालोमा पनि डरलाग्दो नै हुन्थ्यो। यो निष्पट्ट अन्धकार रातमा झनै डरलाग्दो मजस्तो फुच्चेका लागि त्यसमाथि अनेकौँ भूतप्रेत, किच्कन्नेहरूको कुरा सुन्दै बाटो काट्न मलाई निकै मुस्किल हुन्थ्यो। किनभने त्यो भर्खरै सुनेको कथाको भूतप्रेत यतै नजिकै छ कि मलाई तान्ला कि अथवा जम्काभेट होला कि भन्ने डरले त्राहिमाम हुँदै पाइला छिटोछिटो चाल्नुको विकल्प हुँदैन थियो।
जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ, जब मान्छेले साहस र डरको विचित्र सङ्गमलाई आत्मसात् गर्नुपर्छ। मेरो बाल्यकालको एउटा सम्झनाले अझै पनि मलाई त्यो जंगलको चिसो हावा, रातको निस्तब्धता र भूतप्रेतका किस्साहरूको गहिरो छायामा अनायासै पुर्याउँछ। त्यो उदयपुरको बेलल्कातरीको जंगलको रात, जसलाई म आजसम्म पनि बिर्सन सक्दिनँ।
त्यो दिन बिहानै हामीले खोटाङ, चिसापानीबाट उदयपुरको रामपुरसम्मको लामो यात्राको थालनी गरेका थियौँ। थकित शरीर र साँझसम्ममा पुग्ने उद्देश्यले बोझिल मन लिएर जंगलको यात्रा गर्दै थियौँ। दिनभरको यात्राले हामीलाई शारीरिक रूपमा क्लान्त बनाइसकेको थियो तर मानसिक रूपमा अझै जीवित राख्न मेरा अग्रजहरूका कथा र किस्साहरू निकै प्रभावकारी सिद्ध हुन्थे। उनीहरूले सुनाउने तिनै अद्भुत र कहिलेकाहीँ भयावह कथा सुन्दै गर्दा थाकेको शरीरले पनि बाटोको थकाइलाई बिर्साउँथ्यो।
तर साँझपख जब जंगलको मुटुमा पुग्यौँ, वातावरण केही फरक महसुस भयो। उज्यालो घट्दै गयो, चराचुरुङ्गीहरूको चिरबिर स्वर पनि सुस्ताउँदै गयो। अब हाम्रो सामु थियो – घनघोर जंगलको गाढा रात। त्यो निष्पट अन्धकारमा, जहाँ क्षितिजको कुनै छेउ नभेटिने, उज्यालोको नामोनिशाना कहाँ भेट्नु? जुनेली रात पनि त्यहाँ चुक घोप्ट्याएको जस्तै कालोमुस्लो अन्धकारमा परिणत हुन्थ्यो। हाम्रो हरेक पाइला डरको भड्खालोमा जाकिने तयारीमा थियो।
बालक म, जसको मनमा अग्रजहरूका कथा अझै ताजा थिए। ती कथाका भूतप्रेतहरू, किच्कन्ने र वनदेवीहरूको कल्पना! अब मेरो सामुन्ने ती सबै कथाका पात्रहरू साक्षात उपस्थित भएको अनुभूति हुन्थ्यो। हावा चल्दा रुखका पातहरू हल्लिन्थे। लाग्थ्यो, त्यो रुखमा कसैले मलाई हेरेर आँखा तरेको छ।
मेरा अग्रज बुबा, काका, दाजुहरू कथाको किस्सामा हाँसोठट्टा गर्दै पालैपालो भूतका कथा सुनाउँथे। एकजनाले भन्थे, ‘हेर कान्छा फलानाले भनेको यहीँनिर पाइला सार्दा ठ्याक्कै खुट्टामा विरालोको पुच्छरले छोएको अनुभव भयो रे। अलि पर विरालोको म्याऊ आवाज पनि सुनिएको थियो रे। लौन न यो एकलास जंगलमा विचरा विरालो कहाँबाट आएछ नि भन्दै गर्दा एक्कासी स्वार्लाङ्ग गर्दै बाघ जस्तै उफ्रिएर त्यो अज्ञात वस्तु झाडीमा पस्थ्यो र।’
फेरि अर्काले भन्न थाल्थे, ‘अँ, यो त सामान्य भो नि एकपटक यही बेल्कातरीमा राति हिँड्दा पछाडिबाट साइकलको घण्टी टिङ्रिङ–टिङ्रिङ गर्दै आएछ। लौ यति राति कहाँबाट साइकलवाला आयो भनी बाटो छोडेर उभिँदा नउभिँदै साइकलको आवाज त अगाडि पर पुगिसकेको हुन्थ्यो रे।’
यति कुराले मन भड्किसकेको हुन्थ्यो। फेरि अर्कोले झन् डरलाग्दो कथा भन्थे, ‘यति जाबो के कुरा पहिले यो बाटोमा हिँड्दा कहिले बच्चा रोइरहेको आवाज, कहिले महिलाले बचाऊ भनेर चिच्याएको स्वर कानमै गुञ्जिन आउँथ्यो। तर जब आवाज आएको नजिक पुगिन्थ्यो त्यो आवाज पर कतै सुनिन्थ्यो तर यस्तो आवाज सधैँ हुँदैनथ्यो। औंसी, पूर्णिमा वा कुनै पर्वको समयमा यस्तो आवाज सुनिन्थ्यो।’
अर्का अगुवाको कथाले त झन् सात्तो खान खोज्थ्यो। तिनको कथा यसरी व्यक्त हुन्थे, ‘एकपटक बेल्कातरीमा जाँदै गर्दा घोडाको टक्टक आजाज आएछ। लौ न कुन बनियाको घोडा यति राति यहाँ आयो भनी सोच्दै हिँड्दा एक्कासी सेता घोडा ‘हिही’ गर्दै छेउबाट आएर बेपत्ता हुन्थ्यो। अनि अर्को झन् चाखलाग्दो घटना छ – बाटोमा जाँदै गर्दा अगाडि एउटी केटी हातमा राँको लिएर आउँदै गरेकी देखिन्थिन् जब हामी नजिक पुग्थ्यौँ, त्यो दृश्य गायब हुन्थ्यो। पछाडि फर्किएर हेर्दा त्यो केटी हातमा दियालो लिएर पर हामी भर्खर आएको बाटैमा छुटिसकेकी हुन्थिन्।’
यी कुरा - कथा सुन्दा कल्पना गरेर सुनाइएको लाग्दैनथ्यो। आफूहरूले नै भोगेको सत्य घटना हुन्थ्यो। कतिपयलाई मनगढन्ते लाग्न सक्छ। तर यथार्थतः पहिले यस्ता घटनाहरू साँच्चै घटित भइरहेका हुन्थे। यस्तोमा डराउने, भाग्ने, तर्सिनेहरू तत्कालै रगत छादेर मर्थे भनेको पनि सुनिन्थ्यो। त्यसो हुँदा डरलाई भित्रै दबाएर साहसले हिँडिन्थ्यो।कहिलेकाहीँ सर्याक्कसुरुक्क आवाज आउँदा हठात् म झस्किन्थेँ। कुनै बेला रुखबाट जीर्ण पात, सुकेका हाँगा भुइमा खस्दा पनि डरले तर्सिएर सासै बन्द हुन्थ्यो। ‘कतै भूत त होइन?’ भनी मनले अनुमान लगाउँथ्यो। जीउ एकै डल्लो पथ्र्यो। मुटु थर्रथरी काम्थ्यो। खुट्टा लग्लग हुन्थे। आवाज घाँटीभित्र पस्थ्यो। मुख सुक्थ्यो। निधारमा खल्खली पसिना झर्न थाल्थ्यो।
मेरो डर सहन सक्ने क्षमताको परीक्षा लिइरहेको त्यो जंगल, जुन दिनमा पनि डरलाग्दो देखिन्थ्यो, रातमा त झन् भयानक बनिसकेको थियो। त्यस रातको यात्रामा मैले थाहा पाएँ कि कहिलेकाहीँ डरले नै मान्छेलाई अगाडि बढ्न प्रेरित गर्छ। भूतप्रेतको डरले मलाई छिटो हिँड्न, चाँडै फड्को मार्न बाध्य बनाएको थियो।
अपितु, त्यो रात केवल डरको कथा मात्र थिएन। त्यो रात मेरो जीवनमा गहिरो छाप पार्ने पाठ थियो। जब हामी जंगलको अर्को छेउमा पुग्यौँ, थकित भए पनि, म गर्वको सास फेर्दै महसुस गरिरहेको थिएँ कि मैले आफ्नो डरलाई पराजित गरेको छु। ती किस्साका भूत, किच्कन्ने र वनदेवीहरू केवल हाम्रो कल्पनाका उपज हुन्, जसले हाम्रो जीवनलाई अनौठो किसिमले सजाउँछन्।
आज, जब ती दिनलाई सम्झन्छु, हाँस्न मन लाग्छ। तर ती अनुभवहरूले मलाई अझै पनि जीवनको अँध्यारा पाटाहरूलाई डरले होइन, साहसले पन्छाउन प्रेरणा दिन्छ। ती रातले मलाई भयको सामुन्ने आफूलाई बलियो राख्ने पाठ सिकायो, जुन मेरा जीवनका प्रत्येक घनघोर जंगलका रातमा मलाई साथ दिन्छ।
आज त्यो बेल्कातरीको घनाजंगल पहिलेको जस्तो छैन। बन फँडानीले सखाप भइसकेको छ। बेल्कातरीको छातीमा निर्धक गाडी गुड्छन्। जंगलका जनावरहरू कहाँ विस्थापित भए होलान्? ती भूतप्रेत, किच्कन्नेहरूको अस्तित्व पनि समाप्त भयो कि? तर पनि मेरो मनमा बेल्कातरी जंगल हिँड्दाको डरलाग्दो सम्झना अझै ताजै छ।
प्रकाशित: ९ फाल्गुन २०८२ १३:१० शनिबार


-600x400.jpg)


