२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

रगतको मोलमोलाइ गर्ने समाज

पुस्तक

साहित्यका विभिन्न विधामध्ये आख्यान लोकप्रिय विधा मानिन्छ । कथामा मानवजीवन र त्यससँग सम्बन्धित घटनाहरूको चित्रण गरिएको हुँदा यो रोचक हुन्छ । कथाले मानवजीवनको वास्तविकतासँग निकट सम्बन्ध राख्छ । कथाको प्रारम्भ सृष्टिको प्रारम्भदेखि हुँदै आएको देखिन्छ । नेपाली कथाको इतिहास खोतल्दा आधुनिक कथा लेखनीको प्रारम्भविन्दु १९९१ मा गुरुप्रसाद मैनालीको ‘नासो’ र बिपी कोइरालाको ‘चन्द्रवदन’ शारदा पत्रिकामा छापिएपछिलाई मान्ने हो भने त्यसयता नेपाली साहित्यमा धेरै कथा लेखिएका छन्।

होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन । साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।

बास्तोला चौथो कथासंग्रह ‘रगतको मूल्य’ लिएर कथासंसारमा पुनः आएका छन् । यस कथासंग्रहभित्र १९ थान विभिन्न शीर्षकका कथा छन् । कथाहरू सामाजिक यथार्थवादी र मनोवैज्ञानिक लाग्छन्, यथार्थ भावजनित लाग्छन् । युगले भोगेको हाम्रो जीवनका महत्त्वपूर्ण अंश कथाले लिएका जस्ता लाग्छन् । जीवनको सत्यबाट विमुख छैनन् कथाहरू । यसमा समावेश अधिकांश आख्यानको कथ्य विशेषतः नेपाली समाज रहेको छ । मानव सम्बन्धका जटिलतम पक्षहरू कथाहरूले उजागर गरेका छन् । मान्छेको मनमस्तिष्कमा पार्न सक्ने गहिरो छाप र यथार्थजनित कथानक बुनिएका कथाहरूले कृति भरिएको छ । देशको समग्र अवस्था, चालचलनमा आएको ह्रास आदि समयका विम्बहरू कथाहरूमा  उतारिएका छन्।

बास्तोलाका कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन् । समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य र मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति पनि कथामा छ । नारी र पुरुषबिच जन्मसिद्ध हुने सामाजिक विद्रोह, पुरुषको दम्भ, अभिमान र घमण्डी मनोग्रन्थी, यौन वासना, प्रेम, पारिवारिक र सामाजिक परिवेश तथा पारिवारिक समस्यामा परेका पात्रहरू प्रायः दुर्भाग्य र दुर्घटनाले पीडित देखाइएका छन् । कथाहरूले महिलाका मनोदशा उतारेका छन् । नारी पात्रको प्रबलता पनि कथामा छ । सामाजिक पीडा र मनोवैज्ञानिक समस्याहरू कथाहरूले उतारेका छन्।

संग्रहको पहिलो कथा ‘म तिम्री आमा हुँ’ सन्तमायाको कथा हो । उनका जीवनका उकाली–ओरालीका भोगाइहरूको स्मृति यस कथामा छ । रेस्टुरेन्ट र बारहरूमा काम गर्ने सबै युवती एकै हुँदैनन् । बाध्यता र विवशताले पनि त्यस्तो ठाउँमा काम गर्न बाध्य हुनेहरू हुन्छन् । असल चरित्रका पनि हुन्छन् । निर्दोष महिलाहरू फसाइएर गलत ठाउँमा बेचिन पनि सक्छन् भन्ने सन्देशमूलक कथा हो– ‘जाहेरी’ । ‘फैसला’ कथामा एउटी महिलाले कसरी न्यायमूर्तिलाई सहजै आफ्नो वशमा पारेर फैसला आफ्नो पक्षमा पार्न सक्छे भन्ने कुरा देखाइएको छ।

‘नछुइने बैंस’ हिजोको समाजमा हामीले सुनेको कथा हो । नजिकबाट हामी सबैले नियालेको विषयको कथा हो । उपल्लो जात भनिएकाहरूको दमन र शोषणको सत्यकथा हो । उपल्लो जात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका ज्वलन्त उदाहरण हो यो कथा । शीर्षक कथा ‘रगतको मूल्य’ले जातीय खाडलको विषयवस्तु बोकेको छ । उपल्ला मानिएका जातका दमन, शोषण र विभेदको कथा हो । मान्छेको जात मान्छेबाहेक अरू केही छैन भन्ने सन्देश दिएको छ।

‘राप’ युवायुवतीको असफल प्रेमकथा हो । कतारमा भेडा चराएर कमाएको पैसामा यता बसेकी श्रीमतीले मस्ती गरेको वर्तमान समाजको यथार्थलाई यहाँ उजागर गरिएको छ । ‘कोरोना’ अमेरिकी नेपाली जीवनको यथार्थचित्र हो, जहाँ मानवीय मूल्य र मान्यतामा आएको क्षयीकरण देखाइएको छ ।‘मुगलान’ आप्रवासीहरूको पीडा हो । बेरोजगारीका कारण मुगलान भासिन बाध्य भएकाहरूको कथाव्यथा हो । ‘राहत’ कथा आमनेपाली भुइँमान्छेको नियति हो, जहाँ नेपालको प्रशासनिक ढिलासुस्ती र सर्वसाधारणको पहुँचबाहिरको प्रशासनको चित्र प्रस्तुत गरिएको छ । यो पनि वर्तमान समयको देशको यथार्थजनित कुरा हो।

‘भोक’ बिदेसिएको पुरुषकी श्रीमतीको कामान्धताको कथा लाग्छ । यसमा विखण्डित जीवनको व्यथा अभिव्यक्त भएको छ । नारीको एक्लोपनाभित्रको नैराश्य पनि कथाले बोकेको छ।

सशस्त्र द्वन्द्वकालीन झल्को दिन्छन् ‘अठोट’, ‘सिउँदो’ र ‘आतंककारी’ कथाहरूले । राज्यपक्षको दमन, त्यसको प्रतिरोध र उतिबेला आममान्छेले भोगेका आतंकित दैनिकीहरूको फेहरिस्त लाग्छन् यी कथाहरू।

आयामका हिसाबले लघु र मध्यम आयामका कथाले पाठकलाई तान्छन् । कथानक बुन्ने शैली राम्रो लाग्छ । समाजका छिद्रहरूभित्र छिरेर कथावस्तु टिप्न सिपालु देखिएका छन् कथाकार बास्तोला । नेपाली समाजको प्रत्यक्ष भोगाइ र नेपथ्यमा गुम्सिएका विभिन्न पीडाहरूका मार्मिक दृश्यहरू नै कथाका विषय बनेका छन् । कथाकार आफ्नो अनुभूति र समसामयिक विषयहरूलाई आख्यानीकरण गर्न सफल देखिएका छन्।

सीमित पात्र, छरितो कथ्य, भाषा र संवादको परम्परागत शैली अँगालेका कथाहरूको प्रधानता छ । पात्रहरू यान्त्रिक र शास्त्रीय आदर्शको भारीले थिचिएका छैनन् । यसैले कुनै पात्र सकारात्मक र कतै पात्र नकारात्मक रूपमा आएका छन् । कथामा कथानक, उद्देश्य र दृष्टिविन्दुलाई उचित समायोजन गरिएको पाइन्छ।

अधिकांश कथाको बुनोट यही समाज हो । समाजका बेथिति, असमानता, कुण्ठा, बेरोजगारी र गरिबीले समस्या उत्पन्न गरेका विषयहरूलाई कथाहरूको मूलतत्त्व बनाइएको छ । कथाहरूको भूमि नेपालको गाउँ, सहर र प्रवास हो।

सामाजिक परिवेशबाट निर्मित चरित्रहरू प्रस्तुत गर्ने बास्तोलाका कथाहरूमा प्रतिनिधिमूलक चरित्र रहेका छन् । प्रथम दृष्टिविन्दु र तृतीय पुरुष दृष्टिविन्दुमा विभिन्न पात्रहरू रहेका छन् । विपरीत ध्रुवीय चरित्र निर्माणमा कथाकार केन्द्रित देखिन्छन् । त्यसैले सकारात्मक र नकारात्मक भाव र प्रवृत्तिका पात्रहरू पाइन्छन् । कथाका पात्रहरू हाम्रै वरिपरिका, हाम्रै नाता–सम्बन्धका जस्ता लाग्छन् । पात्रहरूलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवजलाई ध्यान दिइएको पाइन्छ । प्रायः पात्रका चरित्रहरू सहज र स्वाभाविक लाग्छन्।

आर्थिक अभाव, अशिक्षा, गरिबी, कुसंस्कार, राजनीतिक शोषणजस्ता परिवेशहरू कथाहरूमा पाइन्छन् । व्यक्तिका मनोदशाहरू पनि परिवेश निर्माणमा सहयोगी देखिएका छन्।

प्रकाशित: २ जेष्ठ २०८३ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App