२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

साहसको एक कप

कथा

बिहानको हल्का घाम गोंगबु व्यस्त सडकमा छरिएको थियो।

राजमार्गका ठुला ट्रक–बस यात्रुदेखि सपनासम्म बोकेर गर्जिरहेका थिए। धुवाँ, धुलो र हर्नको आवाजबिच एक कुनाबाट अलैंची, दालचिनी र अदुवा–चियाको मिठो बास्ना फैलिँदै थियो।

सडक किनारमा बनेको सानो काठको टहरामा सीता अधिकारी व्यस्त थिइन्। उनी झन्डै तिस वर्षकी। थाकेका आँखा तर अटुट हिम्मतकी मालिक। निरन्तर चलिरहेका उनका हात उम्लँदो चिया गिलासमा हाल्दै, चिउरा र समोसा मिलाउँदै अनि बसपार्कका हरेकलाई मुस्कानसहित स्वागत गर्दै छन्।

टहराको बोर्डमा लेखिएको थियो– साहसको एक कप चिया सीता।

यो केवल नाम थिएन, अनवरत धैर्य र कहालीलाग्दो सङ्घर्ष जोडिएको कथा थियो।

दुई वर्षअघि सीताको जीवन एक गिलास माटोको कपझैं टुक्रिएको थियो। उनका श्रीमान् राम ट्रक चालक। एक ठन्डी रात उनी बिर्तामोडमा सामान पुर्‍याउन निस्किए तर फर्किएनन्। ट्रक चिप्लो सडकमा फिस्लिएर त्रिशूलीमा खसेको थियो। तीन दिनपछि उनको चिसो अनि नियतिले थिचिएको शव भेटियो।

तेह्र वर्से छोराको अनुहारमा आफ्ना श्रीमान् खोज्दै तिस वर्षे सीताले निःशब्द हप्तौं बिताइन्। कमानेको भाडाको सानो कोठाको झ्यालबाट बाहिर हेर्दै र रातदिन दौडिरहने ट्रक–बसको आवाज सुन्दै उनको संसार अघि बढिरहेको थियो।

घरपरिवारले उनलाई दिनदिनै टोकस्थे, ‘हामीले यिनको ग्रहले छोरा गुमायौं। छिमेकीले दया देखाउँथे– ‘यता न उताकी भइन् यिनी। कसरी गरिखालिन् अब। यिनका लागि केही गरिदिन पाए हुन्थ्यो।’

समाज फुसफुसाउँथ्यो– विधवा त शान्त भएर, अरूमा निर्भर भएर बाँच्ने हो।

घरपरिवारको अपहेलना र टोकसो नजिकैबाट देखेको उनको छोराले एक रात टिठलाग्दो शैलीमा सोध्यो– ‘आमा, अब त हामी पढ्न पाउँदैनौं होला है?’

छोराको सोधाइले सीताको मुटु छियाछिया भयो। त्यो रात उनले बुझिन्– उनीहरूलाई बचाउन कोही आउँदैन।

पहिलो कप चिया।

राम हाँस्दै भन्थे, ‘तिमीले बनाएको चिया त काठमाडौंमा सबैभन्दा मिठो हुन्छ। पसल खोलेकी भए ड्राइभरहरू लाइनै लाग्ने थिए।’

त्यो सम्झनाले उनको साहसको आगो बलायो।

‘छ भनेर नमात्तिनु, छैन भनेर नआत्तिनु’ आमाको अर्ती सम्झेर उनले मन दह्रो बनाइन्। सीताले झुम्के फुली बेचिन् र महिला बचत समूहबाट बिस हजार रुपैयाँ ऋण लिइन्। स्टिलको कित्ली, केही गिलास, प्लास्टिकको कुर्सी र ‘सेकेन्ड ह्यान्ड’ ग्यास स्टोभ  किनिन्। बिहान सबेरै उनले ती सबै सामग्री काँधमा बोकी सडक किनारमा एउटा टेबल राखिन्, जहाँ ट्रकबसहरू प्रायः बिसाउँथे अनि आफ्नो यात्रा सुरु गर्थे।

पहिलो दिन उनले जम्मा तीन सय रुपैयाँ कमाइन्। त्यो साँझ घर फर्कंदा उनको हात काँपिरहेको थियो, आँखामा आँसु दुःख बोकेर आएको थिएन, फेरि कमाउन थालेको उत्साह बोकेर खसेको थियो।

त्यसपछि हरेक बिहान उनी चार बजे उठ्थिन्। छोरालाई खुवाएर पसल पुग्थिन्। बिस्तारै उनको चिया चर्चित बन्दै गयो। शिक्षकहरू क्लासअघि चिया पिउन आउँथे। बस चालकहरूले पनि उनको प्रशंसा गर्न थालेका थिए, ‘सीता दिदीको स्वादिलो चिया! यहाँको चिया नखाई हामीलाई चित्तै बुझ्दैन।’

केही महिला सिक्न आउन थालेका थिए। ‘दिदी, तपाईंले व्यवसाय कसरी सुरु गर्नुभयो? हामीलाई पनि आइडिया दिनुस् न’ भनेर अनुरोध गर्थे।

उनको चिया केवल स्वादिलो थिएन, त्यो आशा, दृढता र अलैंचीको सानो चिम्टीले घरको सम्झना दिलाउने खालको मिश्रण थियो।

जीवनको बाटो सधैं सिधा कहाँ हिँड्छ र? जीवनमा पटकपटक पहिरो खसिरहेको थियो। तैपनि मन फकाउँदै उनी अगाडि बढ्दै थिइन्।

केही महिनापछि नगरपालिका कार्यालयले सडकछेउ व्यापार निषेध गर्ने सूचना जारी गर्‍यो। सूचनामा भनिएको थियो– ‘अवैध पसलले बाटो अवरुद्ध गर्छ।’

एक बिहान अफिसका मान्छेहरू आएर उनको पसल हटाउन खोजे। सीता थरर काँप्दै कित्ली समाएर उभिइन्। ‘सर, यो नै मेरो आम्दानीको स्रोत हो। बाँच्नका लागि मेरो अरू केही उपाय छैन। म अलिक टाढा सार्छु। कृपया, मलाई केही नगरिदिनुस् न,’ उनले निवेदन गरिन्।

बिच उमेरका अफिसरको आँखामा क्षणभर ममतालाई ठेगान लगाउने असहजता झल्कियो। ‘म बुझ्छु, म्याडम,’ उनले भने, ‘तर नियम त नियम नै हो।’

त्यो बेला सधैं चिया खाने कान्छा दाइ अगाडि सरे। ‘यो दिदीको पसल हटायौ भने हामी यो बाटो प्रयोगै गर्दैनौं,’ उनले गर्जे। ‘यो दिदीले हामीलाई रातदिन ताजा चिया दिन्छिन्, हाम्रो थकान हराउँछ।’

कर्मचारीहरू एकआपसमा हेरेको हेर्‍यौ भए र केही नबोली फर्किए। अब सीताका आँखाबाट डरका होइनन्, कृतज्ञताका आँसु खस्न थाले।

त्यो दिन उनले बुझिन्– मनले दिएको सेवामा मान्छेहरू सधैं साथ दिन्छन्।

केही महिनामै ‘साहसको एक कप’ गोंगबुको चिनारी बन्यो। स्थानीय पत्रिकाले ‘विधुवाले सडकछेउ पसलबाट आत्मनिर्भरता जन्माइन्’ शीर्षक कथा प्रकाशन गर्‍यो। फेसबुकमा त्यो कथा भाइरल भयो। नजिकका गाउँका महिलाहरू उनलाई भेट्न आउँथे।

सीताले कहिल्यै भुइँ छोडिनन् । उनले सधैं आफूले टेकेको माटोप्रति कृतज्ञ हुँदै अगाडि बढिरहिन्। उनले केही नियम बनाइन्– प्रत्येक रुपैयाँ बचत गर, ग्राहकलाई परिवार मान, गुणस्तरमा कहिल्यै सम्झौता नगर।

एक दिन एउटा महिला उद्यमी संघले उनलाई ‘महिला उद्यमशीलता तालिम’मा बोलायो। उनलाई अंग्रेजी शब्द सुन्दा नै डर लाग्थ्यो तर छोराले आत्मविश्वास दिलायो– ‘आमा, तपाईं गर्न सक्नुहुन्छ।’

तालिममा उनले नाफा–नोक्सान लेख्ने, हिसाब राख्ने र मोबाइलबाट व्यवसाय प्रवर्द्धन गर्न सिकिन्।

अब उनी फेसबुकमा फोटो हालेर क्याप्सन लेख्थिन्– साहसको एक कप, गोंगबुमा आशाले उमालेको चिया।

केही हप्तामै बाइकर्स र पर्यटकहरू उनको पसल खोज्दै आउन थाले, नामको कथा सुन्न र स्वाद लिन।

एक वर्षपछि सीताले बसपार्क नजिक सानो टिनको पसल भाडामा लिइन्। अब मेनु बढ्यो– समोसा, सेल रोटी र जाडोमा थुक्पा।

उनले अर्की विधवा मायालाई पनि काममा लगाइन्, जसका श्रीमान् महामारीमा गुज्रिएका थिए। ‘माया, हामीले कहिल्यै हरेस खानुहुँदैन रहेछ। विपत्तिमा धैर्य गुमाउनु हुँदैन रहेछ। आँट, साहस र धैर्यले मान्तेलाई अगाडि बढाउँदो रहेछ,’ सीताले उनलाई पहिलो तलब दिँदै भनिन्।

उनका छोरा पनि फस्टाइरहेका थिए। उनले आफ्नो कक्षामा पहिलो स्थान ल्याउँथे। आमाको फेसबुक, टिकटक, इन्स्टा ह्यान्डल चलाउँथे। छोरा आकाश पढ्थे, फुर्सदमा उनले गर्वसाथ क्यास बक्स सम्हालिदिन्थे।

एक साँझ पसल बन्द गर्दै गर्दा सुन्दर लुगा लगाएकी एउटी महिला आएर भनिन्– ‘तपाईं सीता हो?’

‘हो दिदी, भन्नुहोस्?’

‘म प्रमिला, महिला सहकारी बैंकबाट। हामीले तपाईंको कथा पढ्यौं। तपाईंजस्ता इमानदार र साहसी उद्यमी नै देशका प्रेरणा हुन्।’

सीता केहीबेर निस्सासिइन्। वर्षौंसम्म उनले आफूलाई देखेकी थिइन् केवल विधवाका रूपमा। अब ‘रोल मोडल’का रूपमा देखिँदै थिइन्। समय बिस्तारै बित्दै गइरहेको थियो।

त्यो वर्ष मनसुन असाध्य भीषण रूप लिएर आयो। एक रात हुरीबतासले टिनका छाना उडाउन थाल्यो र सडकमा बाढी पसेर विध्वंस मच्चायो। सीताको पसल भत्कियो, कित्ली, गिलासलगायत सबै सामान बाढीले बगायो। भोलिपल्ट बिहान उनी भत्किएको पसलको अघिल्तिर मौन र अशक्त भएर उभिइन्।

फेरि एकपटक राम गुमाउँदाजस्तै निराशा फर्कियो। उनी भिजेको स्टुलमा बसेर चुपचाप रोइन् तर छिनभरमै मानिसहरू आइपुगे, ड्राइभर, यात्री, जेनजी, विद्यार्थी अनि त्यही नगरपालिकाका अधिकारी पनि। सबैले केही न केही ल्याए, कसैले कित्ली, कसैले गिलास, कसैले चियापत्तीको बोरा।

हरि दाइले स्टोभ राख्दै भने, ‘हामी गोंगबुको साहस हराउन दिँदैनौं।’

त्यही दिउँसो सीताले फेरि पानी उमालिन्, प्लास्टिकको टेन्टमुनि बसेर। अनि सबैलाई चिया बाँडिन्। हाँसो, बासना र बाफ मिसिएर बाढीपछिको आकाशमा चढ्यो। त्यो दिन उनले बुझिन्– उनको पसल अब केवल आम्दानी होइन, एउटा समुदाय बनेको छ।

चौथो वर्षमा ‘साहसको एक कप’ अझै सफल भयो।

अब उनले नाम परिवर्तन गरिन्– ‘सीता दिदीको चिया’ र दर्ता गरिन्।

तीन जना महिला रोजगारीमा थिए, सबै एकल आमा। उनीहरूले दुई विद्यालयलाई चिया आपूर्ति गर्थे। छोरो आकाश व्यवस्थापन पढ्दै थियो। उसको सपना थियो– आमाको ब्रान्डलाई देशभर पुर्‍याउने।

एक बिहान, सीता क्याफेबाहिर कुर्सीमा बसेकी थिइन्। सूर्योदयले हरियो टाकुरालाई सुनौलो देखाइरहेको थियो। उनले आफैंलाई एक कप चिया हालिन्, दुध, अदुवा, अलैंचीको परिपूर्ण मिश्रणसहित।

पहिलो चुस्की लिनासाथ उनी मुस्कुराइन्। पहिलो पटक उनले शान्ति महसुस गरिन्।

उनले कप समात्दै बिस्तारै फुसफुसाइन्– राम तिम्रो मायामा मैले गरेँ।

त्यो क्षण उनलाई लाग्यो– राम कहाँ होलान्, गर्वले आशिष् दिइरहेका होलान्।

एक वर्षपछि क्याफेबाहिर नयाँ बोर्ड टाँसियो–  

‘साहसको एक कप

संस्थापक– सीता अधिकारी

स्वावलम्बी नेपालका लागि रोजगारी र तालिम दिने अभियान’

काठमाडौंका पाहुनाहरू त्यहाँ आइरहन्थे, सोध्थे– ‘यो नामको कथा के हो?’

सीता मुस्कुराउँदै भन्थिन्– ‘कथा दुःखबाट सुरु भएको हो। हरेक पीडाका थोपा यदि तपाईंले अर्थपूर्ण काममा पोख्न सक्नुभयो भने त्यो शक्ति बन्छ।’

उनको चियामा अझै पनि त्यही स्वाद थियो– सङ्घर्षको तपन, आत्मविश्वासको मिठास र सपनाको बासना।

‘साहसको एक कप’ केवल एक विधवा महिलाको चिया पसलको कथा होइन। यो हजारौं नेपाली महिलाको कथा हो, जसले विपत्तिबाट उठेर हरेक दुःखलाई हिम्मतको स्वादमा मिसाउँछन् र परिवर्तनको घाम उमाल्छन्।

साहस सधैं ठुलो स्वरमा हुँदैन। बिहान सबेरै सडक किनारमा एउटी महिला उम्लँदो कित्ली समाएर कहिलेकाहीं बसिरहेकी हुन्छिन् र आफूभित्र बिस्तारै विश्वास गर्छिन्– भोलि आजभन्दा राम्रो हुनेछ।

प्रकाशित: १५ कार्तिक २०८२ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App