१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मुर्कुट्टाहरू

कविता

गौरी न्यौपाने

मुर्कुट्टाहरू

जंगबहादुरको टाउकाले कोरेको धर्सा

छर्लंग अनुहार खिचिएका

ती अवशेषहरू

आफैं बोल्दैनन्

आफैं सर्दैनन्

धर्साहरू।

श्रीपेचको कल्की मात्र झरेको हो

जनतामा खोजिएको चेतनाको आभास

भित्र फेरिएको नाम

प्रजातन्त्र/गणतन्त्र

यो हुलिया

नयाँ तानाशाहको हो

यो सभ्यताभित्र

हरेक थोकको भोक

नारा/जुलुस

त्यो, यो, ऊ सबै

टेकिरहेको धरातलमा

काँचुली फेराउन

कसैको रगतको

थोपा-थोपा पिउँछ

शिर उच्च राख्न

मुर्कुट्टा बनेर

शिर ठाडै सम्झिन्छ

सतिले सरापेको देश

उठ्न सक्दै बहादुरी

एउटा बहादुरी उठ्दैछ

हातमा सलाईको काँटी लिएर

खै कति जल्न सक्छन्

मुर्कुट्टाहरू।

चरक्क चिरिएका छन्

न्याय मन्दिरका भित्ताहरू

कालो तराजुमा जोखिएको न्याय,

बलिको बोको बनेर हेर्न

विवश छन्

पंख भाँचिएको श्रीपेच

ओढ्न अतुर

खै कति जल्न सक्छन्

सल्केको सलाईको काटीमा मुर्कुट्टाहरू।

प्रकाशित: २४ कार्तिक २०७९ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App