चन्द्रलाल तामाङ
‘मृत्युलाई भेटेको त छैन तर सबैभन्दा प्रिय वस्तु हुनुपर्छ–‘मृत्यु’। किनकि आजसम्म जजसले भेटे उनीहरूले जिउन छाडिदिए।’
साहित्यरूपी फुलबारीमा अनेक सौन्दर्य र सुगन्धित अत्तरहरू छरेर वातावरणलाई वासनायुक्त बनाएर फुल्न सफल एक साहित्य साधकको हालै प्रकाशित कृति ‘मृत्यु उत्सव होस्’ कवितासंग्रहको पुस्तक पढ्ने मौका पाएँ। काँडाबिच फुल्ने गुलाफको सौन्दर्य र हिलोमा फुल्ने कमलको कोमलताकोबयान सायद जरुरी पर्दैन।
त्यस्तै नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका डा.शेखरकुमार श्रेष्ठबारे बयान गरिरहनुपर्ला जस्तो लाग्दैन। काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका, वडा तीन निवासी श्रेष्ठ साहित्यको माध्यमबाट काठमाडौंको दक्षिणी भूभागलाई साहित्यिक सुगन्ध छर्न सफल साहित्यकारको नाम पनि हो।
‘मृत्यु’ अर्थात् शरीरबाट प्राणरूपी शक्ति समाप्त भई शरीर निर्जीव (लाश) मा परिणत हुने अवस्था हो। सबै तह र तप्काको मृत्यु एकै हुन्-‘प्राण जानु’। तर, मृत्युलाई समाजले अनेक बान्कीमा स्विकारेको देखिन्छ। तह र तप्काको आधारमा मृत्युलाई शोक, समवेदना,श्रद्धाञ्जली, श्रद्धासुमन अनेक नाम र अर्थमा परिभाषित गर्दै प्रकृतिको नियमित प्रक्रिया अर्थात् शाश्वत सत्यलाई पनि अतिरञ्जित ढंगले परिवार अनि आफन्तजनमा अझ बढी पीडा हुने किसिमले शोक मनाएको देख्दा कवि श्रेष्ठले असन्तुष्टि जनाउँदै जन्मँदा जस्तै मर्दा पनि उत्सवको रूपमा स्विकार्नुपर्ने जिकिर गरेका छन्।
पुस्तकमा सङ्गृहीत आठौं कविता ‘म मेरो मृत्यु उत्सव होस् भन्ने चाहन्छु’ कविताको शीर्षकबाट पुस्तकको नाम जुराइएको छ। यस कृतिका पानाहरू पल्टाउँदै गर्दा केही घतलाग्दा विषयवस्तु टिपोट गर्ने इच्छा जाग्यो र केही टिप्दै जाने क्रममा केही पाना भर्न पनि पुगेछन्। सोही पानामा भर्न पुगेका केही शब्दको जोडजाड गरी यो आलेख तयार गर्दै छु।
डा.शेखरकुमार श्रेष्ठले नेपाली साहित्यमा विद्यावारिधि उपाधि हासिल गरेका छन्। उनले विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा रहेर नेपाली साहित्य तथा भाषा वाङमयमा अक्षुण्ण योगदान पुर्याएका छन्।
उनले लगभग एक दर्जन साहित्यिक पुस्तक प्रकाशन गरिसकेका छन्। श्रेष्ठको भर्खरै प्रकाशित कवितासंग्रह ‘मृत्यु उत्सव होस्‘ दसौं कृति हो।
साहित्यका सिद्धहस्त साहित्यकारको यो कृति सरसर्ती अध्ययन गर्दा कविको काल्पनिक शक्ति, यथार्थपरक प्रस्तुति र भाषागत शिल्पीको तारिफ गर्न मन लाग्यो। भाव बुझ्ने तरीकाले पढ्दा पनि दुई घण्टा जतिको बसाइमा पढिसक्ने यो पुस्तक आकारमा त्यति ठूलो नभए तापनि कविले उठान गरेका विषयवस्तु र उनको मन छचल्किएर पोखिएको साहित्यका प्रत्येक बुँद आफैमा सागर छन्। पुस्तक पढिसकेपछि केही लेख्ने हुटहुटी जागृत भयो।
डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस्’ माथि केही चर्चा गरिरहँदा नठान्नु होला कि पुस्तकको समीक्षा गरेको भनेर। किनकि उनको लेखनको र पुस्तकको समीक्षा गर्न सक्ने ल्याकत मसँग छैन तथापि पुस्तक सरसर्ती पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने साहस गरें। उनको यो पुस्तक सरसर्ती हेर्दै गर्दा समय परिवर्तनशील छ, निरन्तर बगिरहने खोला जस्तै। समयको अन्तरालमा हामीले प्राप्त गरेका उपलब्धिहरू र वर्तमानको राष्ट्रिय राजनीति र त्यसले पारेको प्रभावले समाज झनै आक्रान्त बन्दै गएको पीडा, शोक, भोक र सबै थोकबाट ग्रसित मानसिकतामा दन्केको आगो शब्द बनी कागजमा उत्रेको जस्तो लाग्छ। सरल भाषा, वस्तुपरक ढंंगले लेखिएकाले पनि यो पुस्तक अझ ज्ञानवर्द्धक हुन पुगेको छ।
श्रेष्ठको यस कृतिमा सङ्गृहीत पहिलो कविता ‘विद्यालय’ हो। विद्यालय विद्याको मन्दिर बन्नुपर्नेमा जोड दिंदै बालबालिकालाई बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म थुनेर राख्ने बालबन्दीगृह नबनोस् भन्ने चाहना उनको देखिन्छ। उनी पिंजडामा राखेको पन्छी र चिडियाखानामा राखेको जनावरको जस्तै स्वच्छन्द भएर बालकको इच्छा हनन नहोस् भन्ने चाहन्छन्। उनी शिक्षा सुगा रटाइ नभई जीवन उपयोगी होस् र यसैका लागि विद्यालय कार्यशाला वा प्रशिक्षण केन्द्र वा उद्योग बनोस् भन्ने इच्छा राख्छन्। उनी विद्यालयबाट मानव इतिहासको रक्षा गर्दै भविष्य निर्माण गर्ने कला, कौशल, तिखा र तीक्ष्ण बुद्घिविवेक भएका समाज, राष्ट्र अनि विश्वले गर्व गर्न सक्ने मानव संशाधन उत्पादन गर्ने थलो बनोस् भन्ने कुरा गर्छन्ः
त्यसैले विद्यालय
मानवको इतिहास बनाउने स्थल बनोस्
मानवता बनाउने थलो बनोस्।
कवि श्रेष्ठको अर्को कविता ‘नाम लेखाउनु छ’ मा नेपाल आमा रोगी छिन्, देशलाई अनेक किसिमका रोग लागेको छ तर उपचार गर्न कोही तयार छैनन् भन्ने भाव बोलेको छ। देश आन्तरिक शक्तिले होइन, बाहिरी शक्तिले चलेको हुनाले नेपाल आमाको रोगबारे विदेशीलाई केको चासो हुन्छ र? एकदिन नेपाल आमा यति रुग्ण हुने छिन् कि विश्वमा कंकालको देश भनेर गिनिज बुकमा नाम लेखिने दिन आउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै उनले यो कविता लेखेका छन्। त्यसैले उनको यस कवितामा देशभक्ति छ।
कविको अर्को कविता छ, ‘थुइक्क तँलाई’। मान्छे भएर जन्मेपछि आफू, परिवार, समाज र देशको लागि सम्झनायोग्य केही कीर्ति राख्नुपर्ने हो। मान्छे बन्छु भनेर जन्मे तापनि सबै मान्छे बन्न सकेको हुन्न। कविले मान्छे बनेर केही गर्न नसकेकोप्रति आत्मग्लानि गर्दै छातीमा उकुसमुकुस भएका वेदना कलमको मसीमार्फत ओकलेको देखिन्छ। कविको वेदना मान्छे बन्न जन्मेकाहरूका लागि अर्को झटारो पनि हो।
कविको अर्को कविता ‘नारायणी नदी’ छ। यसमा शब्दमार्फत हामफाल्दै नदीको स्वच्छन्द पानीमा डुबुल्की मार्दै उनले प्रकृतिको गीत लेखेको देखिन्छः
कहाँ जान लाग्यौ खोला
दोभानमा साथी होला
जिन्दगीको तिम्रो यात्रा
त्यहींबाट सुरु होला।
उनको अर्को गीतिलयको कविता ‘घर पनि चाहिन्छ’मा चाहिं जिन्दगीको यात्रामा बास बस्ने घर हुनुपर्छ भन्ने भाव आएको छ। उनले जिन्दगीको यात्राभरि दुःखसुख साट्ने साथीको भर माया, प्रेम र विश्वासले निर्माण हुने बताएका छन्।
जन्मेपछि मर्नु प्रकृतिको नियम हो। आयु लामो बनाउने कि छोटो बनाउने, मृत्यु यादगार बनाउने कि अरूले भुल्नयोग्य बनाउने वा कस्तो जिन्दगी जिउने भन्ने कुराचाहिं आफैमा निर्भर रहने हुँदा म जसरी मरे पनि त्यसको दोष, गुणअवगुण म नै लिन्छु ता कि परिवार र समाजले मेरो मृत्युप्रति शोक मनाउन जरुरी छैन भनेका छन्ः ‘म मृत्युलाई हत्केलामा बोकेर हिंडेको मान्छे, अतः मेरो मृत्युको दोष म आफै लिन्छु।’
उनको अर्को देश प्रेमले भरिएको कविता ‘घर बनाउनु छ’ हो। विशेष गरी राजनीतिक शक्तिहरू मिलेर नै देश बन्ने हुँदा देश बलियो बनाउन अब आऊ मिलेर बसौं,जजसले जेजे जानेको छ त्यहीं काम गरी अनेकतामा एकता भरेर घर जसरी देश बनाऔं भन्ने भाव यसमा छ।
मान्छे आफ्नो स्वार्थपूर्तिका लागि अनेक कुकर्महरू गर्छन्। जसमध्ये एक हो निर्जीव ढुंगा वा मूर्तिमा जीवजन्तुको बलि चढाउनु। उनले बलिप्रथाप्रति असन्तुष्टि पोख्दै ‘बिरामी देवी भेट्दा’ लेखेका छन्। यो कविताले कवि नास्तिक होइन तर आस्थाको नाममा जीवमाथि अत्याचार भएकोप्रति दुःख पोखेको देखिन्छः
म अचम्मित भएँ
देवी आफै फोहोरले बिरामी छिन्।
भानुभक्तकालीन कान्तिपुर शहर आज कान्तिलाई पुरेर अस्थिपञ्जर यत्रतत्र छरेको फोहोरमाथि गिद्धहरूको लुछालुछले जीर्ण बनेको कुरा ‘खै के लेखूँ, भानुभक्तमा उल्लेख गरेका छन्। उनले ‘म’ कवितामा म म नै हुँ, म आधा पनि हुन्नँ, म डबल पनि हुन्नँ। म जे छु म नै छु, मेरो जुन दिन मृत्यु हुन्छु, त्यसबखत म समाप्त हुन्छु। त्यसैले जबसम्म म जीवित रहन्छु तबसम्म कसैले मेरो अस्तित्व पनि नाश गर्न वा समाप्त पार्न सक्दैन। त्यसैले म को हुँ भनेर मैले कसैलाई चिनाइरहनु पर्दैन। मैले गरेको कर्मले नै मलाई चिनाउँछ भन्ने भाव म कवितामा आएको छ। परब्रह्ममा मेरो कर्म अनुसारको हिसाबकिताव राख्ने कोही छन् भन्ने मान्यता रहेको यस कविताले मानिस जीवित रहँदासम्म समाजको हित हुने कर्म गर्न म प्रेरित छु भन्ने भाव यसमा आएो छ। यो कविता बुझ्न निकै मेहनत गर्नुपर्ने देखिन्छ।
वर्तमान राजनीति साँढेको जुधाइ, बाच्छाको मिचाइ जस्तै भएको र चुनावको बेला अनेक प्रलोभनमा जनताबाट भोट लिने र जितेर गएपछि जनतामाझ फर्केर नजाने राजनीतिक दलका नेताहरूको प्रवृतिप्रति आक्रोश पोखेको कविता हो ‘प्रतीक्षा फेरि उसैको’।
यसमा जनता निरीह भएर फेरि चुनाव आउला र जित्नेले त पक्कै विकास गर्ला भन्ने आशामा झर्ला र खाउँला भन्दै तिनै नेताहरूको प्रतीक्षामा रहनुपरेको बाध्यता उजागर भएको छ। त्यस्तै आफन्तजन मरे भनेर किन चिन्ता लिनु? आखिर मृत्यु न तिम्रो वशमा छ न मेरो वशमा छ। त्यसैले म मरेर गए पनि तिमीले चिन्ता नलिनु भन्दै आफ्ना प्रियजनलाई सम्झाएको कविता हो ‘तिमीले किन चिन्ता लिने?’
‘गोरु’ कविता श्रमजीवीहरूको व्यथा हो। जति नै श्रम गरे पनि दुई छाक खान र एकसरो लगाउनबाहेक यी कर्मीहरूले पाउँदैनन्, यिनीहरुको कहिल्यै तह बढ्दैन र महल बन्दैन। कामका लागि खटिनु नै श्रमजीवीको धर्म र कर्म दुवै हो। उनीहरूको जात र धर्म नै कर्मको आधारमा छुट्टिने भएकाले कर्म गरिरहनुपर्छ भन्ने भाव यस कवितामा आएको छ।
अर्को कविता ‘मलाई कुकुर बनाऊ’ ले मान्छेको मनमा कति पाप र बिच्छीको दाँतमा कति विष हुन्छ भन्ने पत्ता लगाउन सकिन्न। कुकुर त्यस्तो प्राणी हो जसले आफ्नो घ्राण शक्तिबाट आफ्नो र पराई पत्ता लगाउन सक्छ। इमानदारी र वफादारी कुकुरको धर्म हो। यस अर्थमा मान्छेमा चाहिं कुकुरमा जत्ति पनि नभएको कुरा उल्लेख गरी यो कविता लेखिएको छ। यसमा उच्च व्यंग्य छ।
टाउको बिनाको शरीर जत्ति नै भीमकाय भए पनि काम छैन। यदि मासु खान मिल्ने भए ठुलो शरीरको मासु बढी हुन्थ्यो होला तर अरू त्यसबाहेक टाउकोको अर्थ छैन। यदि कुनै अपराधीले कसैको टाउको छिनाएर अन्तै फालेमा शरीर मात्र हेरेर यो मान्छेको शरीर हो भनेर चिन्न मुस्किल हुन्छ। त्यसैले मानिसको सम्पूर्ण सजीवताको प्रमाण यसै टाउकामा अडेको साथै हेर्न, सुन्न, बोल्न, सुँघ्न, सोच्न सबै थोक गर्ने काम यही एक गोलाकार टाउकाले गर्ने भएकाले भगवान्ले पनि कस्तो चिज बनाएछन् भनि कवि छक्क पर्दै लेख्छन्ः ‘यो के हो?’
‘मेरो नाम सच्याउनुपर्यो’ प्रेरणात्मक कविता हो। संसारका जत्ति पनि अमर र अजर ऐतिहासिक मनुवाहरू जन्मे ती सबै कर्मले अमर रहे। उनीहरू देश र विश्वको इतिहास बने। यो इतिहास कहिल्यै मेटिंदैन। तर म वर्तमान हुँ। त्यसैले भविष्यका लागि वर्तमानमा इतिहास रच्ने कर्म गर्नुपर्दथ्यो। तथापि आफूले त्यस्तो केही गर्न नसकेकाले मलाई किन म भन्ने? बरु मको ठाउँमा अरू नै भनिदिए हुन्छ भन्ने भाव यसमा आएको छ। भविष्य कोर्न नसक्नेको वर्तमान के काम भन्दै उनले नाम सच्याएर अस्तित्व जोगाउने सोच यस कविताबाट राखेका छन्।
एउटी आमाले कतिसम्म प्रशवपीडा सहेर सन्तानलाई जन्म दिन्छे भन्ने कुराको अनुभूति गर्दै लेखेको ‘बिरामी आमाको छोरा’ कविताले वर्तमानमा देशले भोगिरहेको दुर्दशा र बिरामी आमाको उपचार गर्न नसक्ने हामी नेपाली छोराछोरी सन्तान नभई आमाको सुकेको लाम्टा चुस्न मात्र तम्सने कुपुत्रकुपुत्री बन्न पुगेकोमा आत्मग्लानि गरेका छन्। उनले यस कवितामा असल छोरा हुनेतर्फ लाग्ने मनसाय राखेका छन्।
त्यसैगरी नेता चिन्न नसक्दा देश र जनताले बारम्बार धोका खानुपरेको कुरा गरी लेखेको कविता ‘मैले चिनेको रहेनछ’ हो। यसले वर्तमान राजनीति गर्ने नेताहरूको प्रवृत्ति छर्लङ्ग पारेको छ। उसले जनता भेडा हुन् भनेर चिनेको र जनतालाई तँ भेडा होस् भनेर नचिनाएकोप्रति कति पनि चित्त दुखाइनभएको कुरा यसमा आएको देखिन्छ।
‘श्रद्घाञ्जली र समवेदना, केवल एकपल्ट’ जस्ता कविताहरू उस्तै सशक्त छन्। कविको हृदय कहिले कठोर त कहिले नौनीझैं पग्लेको देखिन्छ। ‘संसार झुट नै हो, म पिपलको बोट’ जस्ता कविताहरू भावपूर्ण लाग्छन्।
‘हाम्रो आँपको बोटमा’ छिमेकीले आफ्नो अंगअंग मिचेर दुखेकी नेपाल आमाको छाती पोलेको वेदना छ। मान्छे सबै उस्तै हुन्। सबैको दुई हात, दुई खुट्टा हुन्छ। जति नै धनी वा बुद्घिमानी भए पनि गरिब र मन्द बुद्घिका पनि मानव नै हुन्। तर, मान्छेमान्छे बिचको जातीय असमानताले समाजलाई अधोगतितिर धकेलिरहेको पीडा पोखेको कविता ‘म चोखो छु’ हो। यो यसमा क्रान्तिकारी भाव छ। माफिया र टाठाबाठाले आफ्नो स्वार्थ पूरा गर्न अनेक प्रपञ्च गरी गरिब, सोझासिधा जनतालाई दास बनाई देश लुटिरहेको वर्तमान राजनीतिक अवस्थाले आक्रान्त भइरहँदा पनि निरीह जनताले केही गर्न नसकेको पीडा बोध गर्दै धर्ती मातासँग माफी माग्दै लेखेको अर्को कविता हो ‘धर्ती! मलाई माफ गर!’।
‘तिम्रो माया लाग्यो, ईश्वरसँग पुकारा, आफ्ना, मृत्युको परिवेश डरलाग्दो हुन्छ, बिर्सन्छ मान्छे, झुसिलकिरा तथा सर्प, मुसा र बिरालो जस्ता कविताहरूले मस्तिष्कमा छुट्टै तरङ्ग सञ्चार गरेको छ। अन्तिम कविता ‘मृत्यु उत्सव हो’ सहित कृतिमा लामोछोटो ३६ ओटा कविता छन्। सबै गद्य शैलीमा लेखेको स्वच्छन्द कविताहरू सरल तर गहिरो अर्थ र भाव बोकेको देखिन्छ। पुस्तकको आवरण चित्र र लेआउटको हिसाबले पनि समयको माग व्यक्त गरेझैं लाग्छ।
अन्त्यमा,
मैले सुरुमै भनिसकेको छु, पुस्तकको समीक्षा गर्ने ल्याकत मसँग छैन भनेर। सिंगो पुस्तकको केही शब्द कोर्दैमा समीक्षा पनि हुने होइन। जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनेझैं कविले मायाप्रेम, कोमलता, क्रोध, शीतलता, देशप्रेम जस्ता धेरै विषयवस्तुलाई संग्रहमा समेट्न खोजेका छन्। डा.शेखरकुमार श्रेष्ठको ‘मुत्यु उत्सव होस्’ सरसर्ती पढिसकेपछि केही भन्न मन लाग्नु सच्चा पाठकको धर्म भएकाले केही खट्केको कुरा समावेश गरेको हुँ।
यस संग्रहका कविताहरूमा बढी कारुणिकता, निराशाका साथै अन्तःहृदयमा उठेका ज्वारभाटा व्यक्त भएझैं लाग्यो। नकारात्मकतालाई बढी जोड दिंदा सकारात्मकता लोप भएको हो कि भन्ने भान पनि भयो। एउटै पुस्तकमा चार मृत्युको बारेमा कविता राख्नुले मृत्यु विषयलाई लेखकले बढी नै किन जोड दिनुभएको होला भन्ने पनि लाग्यो। इतिहास छ, वर्तमान छ तर भविष्यप्रति आशावादी देखिन्न कवि। प्रेमका कुरा छन् तर प्रेमिल देखिन्न, लेखनमा क्रान्तिका कुरा छन् तर क्रान्तिकारी देखिन्न। युवा पुस्ताको हुटहुटी, प्रेरणायुक्त उत्प्रेरणाका विषय, वर्तमान वृद्धवृद्धाको आवेग, नारी चीत्कार, वैदेशिक युवाहरूको क्रन्दन जस्ता विषयहरूमा कविता लेखिएका छैनन्।
आगामी कृति अझ मनमोहक र आक्राकमता आओस् भन्न चाहन्छु। अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई!
लेखकः डा.शेखरकुमार श्रेष्ठ,
पुस्तकको नामः मृत्यु उत्सव होस्
विधा: कविता
प्रकाशक: उज्वल श्रेष्ठ/विनु श्रेष्ठ
पुस्तक पाइने स्थान: अक्षरधाम प्रकाशन, बागबजार
आवरण चित्र: नीरबहादुर याक्खा
डिजाइन: सरोज बलामी
प्रकाशन वर्षः विसं २०७९,
मूल्य : रु १७५।–
प्रकाशित: २३ कार्तिक २०७९ ०८:१६ बुधबार