१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

बुबाको सामीप्यमय बाल्यकालको स्मरण

डा. विवेक सिंह

स्कुल पढ्ने बेलामा मैले बुबालाई वर्षभरि चौबीसै घण्टा बिरामीहरूको सेवामा समर्पित भएको देखेको छु। न त हाम्रो कुनै बिदा हुन्थ्यो, न त कुनै चाडपर्व नै राम्रोसँग मनाउन पाउँथ्यौं। मलाई अहिलेसम्म बुबासँग लामो छुट्टी बिताएको कुनै पनि पल याद छैन। दुईचार पल्ट एक हप्ताको छुट्टी लिएर घुम्न भने गएका थियौं।

लेटाङमा आज धेरै विकास भएको छ। यहाँ अहिले धेरै सुविधाहरू छन्। हरेक दिन विराटनगर र धरानबाट विशेषज्ञ डाक्टरहरूको सेवा यहाँका जनताले पाउने गर्छन्। तर ४० वर्ष अगाडि अवस्था फरक थियो। त्यतिबेला न त शुद्ध खानेपानीको व्यवस्था थियो, न त बिजुली बत्तीको नै। न त उच्च शिक्षाको सुविधा थियो, न त उच्चस्तरीय अस्पतालको नै। यो ठाउँको हरेक घरको स्वास्थ्य उपचार गर्ने जिम्मा बुबाको काँधमाथि थियो।

दिउँसो स्वास्थ्य सेवा दिनु त सामान्य थियो तर त्यसरी छरिएको गाउँमा हरेक रात कोही न कोही व्यक्ति बिरामी हुने गर्थे र हरेक बिरामी राति आउँदा बुबा उठ्नुपथ्र्यो किनकि मानिसहरूसँग अरू ठाउँमा जाने विकल्प थिएन। कोही व्यक्ति त्यसरी सेवा दिएपछि टन्नै पैसा पनि लिने गर्छन् तर बुबालाई पैसाको पनि खासै महत्त्व थिएन।

मलाई अहिले पनि याद छ, एउटी सुत्केरी रक्तस्राव भएर हाम्रो स्वास्थ्य क्लिनिकमा राति आएकी थिइन्। उचित समयमा अस्पताल नपुर्‍याउने हो भने बिरामीको मृत्यु हुने सम्भावना अधिक थियो। राति ११–१२ बजेको हुनुपर्छ। ती बिरामी पहाडबाट झरेकी थिइन्, गोजीमा पैसा थिएन। बुबाले दिनभरिको कमाइको केही भाग निकालेर बिरामीको श्रीमान्का हातमा दिनुभयो। यसरी पैसा नभएका बिरामीलाई अस्पताल पुर्‍याउन मद्दत गर्नुहुन्थ्यो। यस्ता धेरै घटनाहरू छन्। बुबा भन्नुहुन्थ्यो, ‘पैसा हुनेसँग त लिन्थें तर नहुनेलाई उपचार नगरी फर्काउनु पनि त मेरो धर्म हैन।’ बिरामीहरूले पनि बुबालाई धेरै नै विश्वास गर्थे। कति बिरामी त बुबाले छुनासाथ आफ्नो दुखाइ निको भएको प्रतिक्रिया दिन्थे। आज मलाई थाहा भयो कि विश्वासभन्दा ठुलो औषधी अरू केही हुन सक्दैन।

बुबासँग मेरो नाता छुट्टै थियो। बुबा काममै व्यस्त हुनेहुनाले, हामी थोरै बोल्ने गर्थ्यौं तर थोरै बोले पनि हामीबीच एउटा अटुट बन्धन थियो। हामी कम बोलेरै एक अर्कालाई बुझ्न सक्थ्यौं। बुबा शान्त स्वभावको हुनुहुन्थ्यो। दिनभरिको थकाइपश्चात् बेलुका घर आउनुहुन्थ्यो र योग गरेर समाचार सुन्ने गर्नुहुन्थ्यो। त्यसपछि खाना खानुहुन्थ्यो। केहीबेर गफ गर्नुहुन्थ्यो र थकित शरीर लिएर निदाउनुहुन्थ्यो। बुबा कति छिटो निदाउनुहुन्छजस्तो त्यतिबेला मलाई लाग्थ्यो तर मलाई त्यो थकानको महसुस आज हुन्छ, जब त्यो जिम्मेवारी मेरो टाउकोमा आइपुगेको छ।

बुबालाई लागेको क्यान्सर रोगको अन्तर्य

म २०१९ मा नसा रोगमा एमडी अध्ययन गर्ने क्रममा बिदामा नेपाल आएको थिएँ। एक महिनाको छुट्टीपश्चात् म अध्ययन गर्न फेरि फर्किने क्रममा थिएँ र जानुभन्दा अगाडि बुबालाई एकचोटि उहाँको स्वास्थ्य परीक्षण गरौं भनेर आग्रह गरें। त्यही बेला युएसजी गर्ने बेलामा पेटमा एउटा स्यानो गाठो देखापर्‍यो र पछि पत्ता लगाउदै जाँदा त्यो क्यन्सर हुन सक्ने सम्भावना अधिक देखियो।

बुबालाई सुरुवातमा नै शंका लागिसकेको थियो। एउटा स्वास्थ्यसँग सम्बन्धित व्यक्तिलाई पेटमा देखिएको त्यो समस्या नराम्रो हो भनेर शंका हुनु सामान्य थियो। म भने विभिन्न तर्कहरू दिँदै बुबालाई त्यो क्यान्सर नहोला भनेर सम्झाउने कोसिस गर्दै थिएँ। म आफू पनि त्यही तर्कसँग सहमत हुने कोसिस गर्थें किनकि बुबालाई क्यान्सर लागेको छ भन्ने सत्य पचाउन सक्ने शक्ति त्यतिबेला मसँग थिएन। हरेक दिन छुट्टाछुट्टै अस्पताल धाउँदाधाउँदा नवौं दिनको बेलुका बायप्सीको रिपोर्ट आयो र त्यो प्यान्क्रिआज क्यान्सर भएको पुष्टि भयो। यो क्यान्सर एकदमै नराम्रो खालको क्यान्सर हो, जसको आयु करिब एक वर्ष हुने गर्छ।

रिपोर्ट मेरो हातमा थियो तर त्यो रिपोर्ट कसैलाई सुनाउन सक्ने हिम्मत मसँग थिएन। वानेश्वर चोकको एउटा कुनामा बसेर हातमा रिपोर्ट लिएर आधा घण्टा रोएर आँसु सुकेपछि मैले घरमा फोन गरें र बुबालाई अलि अलि समस्या देखापरेको रहेछ तर निको हुन सक्ने जस्तो पनि छ भनेर सम्झाएँ। बुबा एकदम सकारात्मक मान्छे, त्यति बेलासम्ममा पनि उहाँको त्यो सकारात्मक शक्ति जीवितै थियो। भारत गएर अप्रेसन गराउने कि भन्ने कुरा पनि निस्कन थाल्यो तर घरको धेरै व्यावहारिक कामहरू बाँकी रहेका कारणले अहिले नआत्तिईकन सुरुमा घर गएर सल्लाह गरेर मात्र भारत जाने निर्णय गर्ने भन्ने बुबाको सुझाव आयो। कोरोना भाइरस फैलन सुरु भइसकेको थियो र कोरोना भाइरस फैलिएको कारणले गर्दा मेरो बाहिर जाने कार्यक्रम स्थगित भएको थियो। घर जानुभन्दा अगाडि हामीले बुबालाई पहिलो डोज केमोथेरापी सुरु गरिसकेको थियौं।

त्यही बेला मेरो अमेरिकाको हार्डवर्ड विश्वविद्यालयको एउटा छ महिनाको ‘क्लिनिकल रिसर्च कोर्स’का लागि छनोट भएको खबर पाएँ। यो खबर मैले बुबालाई सुनाएँ र बुबा पनि खुसी हुनुभयो। म भने बुबाको स्वास्थ्यस्थिति बिग्रिएका कारणले गर्दा त्यो कोर्स नलिने निर्णय गरें तर बुबाले मान्नुभएन। मलाई जस्तोसुकै अवस्थामा पनि कोर्स लिन आग्रह गर्नुभयो। पहिलो चरणको तालिम दुबईमा थियो। दुबई जानुभन्दा अगाडि मैले बुबाको हेरचार गर्ने जिम्मा मेरो एकदमै नजिकैको भाइ डा. रविन बस्नेतलाई आग्रह गरें। उसले तपाईं ढुक्क भएर जानुस् र आफ्नो कोर्स पूरा गर्नुस्। तपाईंले यहाँ गर्नसक्ने हरेक कर्तव्य तपाईंको बदलामा मैले गर्ने छु भनेर मलाई हौसला दियो र त्यो हौसलाअनुरूप मैले दुबई जाने हिम्मत गरें।

एकदिन म पाटन अस्पताल गएको थिएँ। त्यहाँ जाँदा मलाई माया गर्ने मेरो एमबिबिएस अध्ययन बेलाका प्राध्यापक मुटुरोग विशेषज्ञ प्रा.डा. सञ्जय श्रेष्ठसँग मेरो भेट भयो र उहाँले केमोथेरापी त्यही पाटनमा सुरु गर्ने सल्लाह दिनुभएको थियो। त्यही क्रममा उहाँले मलाई क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीसँग भेट गराउनुभयो। सुरुवाती दिनमा डा. अरूण र मेरो सम्बन्ध डाक्टर र बिरामीको आफन्तको सम्बन्ध थियो र पछि डा. अरूण पनि बुबाको प्रिय र हाम्रो घरको सदस्य सरह भइसक्नुभएको थियो। त्यही बेला मेरो अंकलको छोरा (बुबालाई धेरै माया र सम्मान गर्ने) पेट रोग विशेषज्ञ डा. मोहन खड्का नेपाल फर्किसक्नुभएको थियो। यति धेरै डाक्टरको जमात यस लडाइँमा जुट्दा बुबाले पनि धेरै हौसला पाउनुभएको थियो।

हामीले धेरै व्यक्तिलाई बुबालाई क्यान्सर भएको जानकारी दिएका थिएनौं तर बुबाको नजिकैका व्यक्तिलाई भने क्यान्सर हुन सक्ने सम्भावना रहेको भनेर सुनाएका थियौं। विराटनगरमा पनि केमोथेरापी लगाउन मिल्ने कुरा थाहा पाएपछि हामी सबै मोरङतिर लाग्यौं। कोरोना भाइरसले उग्ररूप लिँदै थियो। देशको स्थिति झनै बिग्रँदै गएको थियो। मानिसको जनजीवन अस्तव्यस्त हुँदै थियो। अस्पतालका बेडहरू कोरोना संक्रमितहरूले भरिन सुरु भइसकेका थिए। मानिसहरू बाहिर निस्कन पनि डराउन थालिसकेका थिए।

म दुबईबाट फर्किसकेपछि लगभग डेढ वर्ष पूरै बुबासँगै हुन्थें किनकि मलाई थाहा थियो-अबको केही महिनापछि मैले चाहेर पनि बुबासँग समय बिताउने मौका पाउने छैन। सानैदेखि होस्टल बसेको हुनाले बुबासँग धेरै गफ गर्न बाँकी थियो, धेरै कुरा सिक्न बाँकी थियो र त्यो सबै काम गर्न मसँग अधिकमा १ वर्ष थियो।

एकदिन बुबा र म सल्लाह गर्दै थियांै, अब बुबाले ५० वर्षदेखि चलाइरहनुभएको त्यो स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिकलाई के गर्ने भनेर। फेरि मैले बुबालाई त्यो स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक बन्ध गरौं भनेर सुझाब दिएँ। त्यो सुझाब बुबालाई खासै मन परेन तर पनि बुबाले मेरो कुरा काट्नु भएन र हुन्छ भन्नुभयो। मेरो अध्ययन बाँकी र आमाको स्वास्थ्यका कारण त्यो पुरानो स्वास्थ्य केन्द्र बन्द गर्न सुझाब दिएको थिएँ मैले। नत्र मलाई पनि कहाँ मन हुन्थ्यो होला र एउटा इतिहास बोकेको संस्थाको परिचय मेटाउन।

त्यो दिन म डेढ वर्षदेखि बन्द रहेको हाम्रो त्यो स्वास्थ्य केन्द्रमा गएर यो स्वास्थ्य केन्द्रलाई फेरि सुरु गरें। बुबा हुँदाहुँदै मैले स्वास्थ्य केन्द्रको जिम्मेवारी लिएको थिएँ तर मेरो जिम्मेवारीको मूल्याङ्कन गर्न बुबाको उपस्थिति थिएन। मेरो जिम्मेवारीलाई मार्गदर्शन दिने उहाँको हिम्मत थिएन। बुबालाई केमोले झनै गलाउँदै गएको थियो र मस्तिष्कको शक्तिलाई पनि कम गर्दै गएको थियो।

देशको स्थिति बिग्रँदै थियो र हाम्रो भारत जाने सल्लाह भइरहेको थियो। बुबालाई एउटा आशा अझै थियो कि अप्रेसन गरेपछि उहाँको रोग निको हुन्छ भनेर। भारतको सबैभन्दा चर्चित डाक्टरसँग उपचार पाउनु धेरै कठिन थियो। फोनमा मैले सोध्दा त्यो सर्जनको पालो लिन अझै तीन महिना कुर्नुपर्ने कुरा थाहा पाएँ। मैले चिनेको दाइ र त्यहाँका केही डाक्टरहरूलाई भनसुन गरेर एक हप्ताभित्रमा डाक्टरसँग उपचार गर्ने तय गरेँ।

फेरि त्यत्तिकै कठिन थियो कोरोना महामारीका कारण भारतीय भूभागमा सुरक्षित पुग्नु तर हामी जसोतसो दिल्ली प्रस्थान गर्‍यौं भरोसा बोकेर। दिल्ली र भारतका केही सहरमा हरेक दिन कोराना संक्रमणका कारणले हजारौं व्यक्तिहरूको ज्यान गइरहेको थियो तर बुबाको उपचारका अगाडि त्यो संक्रमणको मलाई खासै डर थिएन।

मलाई जुनसुकै हालतमा पनि बुबालाई बचाउनु थियो। डाक्टरसँग भेटिसकेपछि मैले थाहा पाएँ-बुबाको अप्रेसन गर्न त मिल्छ तर अप्रेसन गरिसकेपछि पनि केही वर्ष उहाँको जीवन लम्ब्याउन कठिन छ। हाम्रो सबै सपनाको त्यहीं अन्त्य भयो। बुबाको मुहार मलिन थियो र पेटको दुखाइले उग्र रूप लिँदैआएको थियो। उहाँलाई हामीले ट्रामाडोलजस्तो दुखाइ कम गर्ने एकदमै कडा औषधि सुरु गरिसकेका थियौं। हामीसँग अरू कुनै विकल्प नभएपछि बुबालाई लिएर म फेरि नेपाल फर्किएँ र विराटनगरमा नै बाँकी रहेको केमो दिने क्रम जारी रह्यो।

बुबासँग अस्पतालमा बिताएका ती १२ रात

धेरै केमो प्रयोग गरेर होला, बुबाको शरीर गलिसकेको थियो र संक्रमण हुने सम्भावना एकदमै अधिक थियो। बुबालाई भेट्न आउने मानिसहरूको जमात एकदमै धेरै थियो किनकि ५० वर्षसम्म त्यो गाउँ वरिपरिका धेरै गाउँलाई बुबाले स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको थियो। जति धेरै मानिसको जमघट, त्यति धेरै बुबालाई संक्रमण हुने सम्भावना भएको हुनाले हामीले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था थियो तर सावधानी अपनाउँदाअपनाउँदै पनि बुबालाई केही महिनापछि ज्वरो आयो। जसलाई कुनै पनि औषधिले काम गरिरहेको थिएन। ज्वरोका कारण थाहा पाउन हामीले विभिन्न जाँच गर्नुपर्ने हुन्थ्यो, जुन जाँच लेटाङमा सम्भव थिएन। त्यही जाँच गर्नका लागि हामी बुबालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गर्‍यौं।

२०१० सालदेखि देशका विभिन्न भागमा रहेका स्वास्थ्यकर्मी लगायतका देश बाहिरका चिकित्सकहरूलाई पढाउने मेरो करिब १० वर्षको अनुभव थियो। तर मलाई यो थाहा थिएन कि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तो एउटा सम्मानित प्रतिष्ठानको व्यवस्थापन यति धेरै कमजोर छ। त्यहाँ बिरामीले पाउनुपर्ने सेवामा धेरै कमी मैले देखें। जुन बुबाले पनि महसुस गर्नुभयो। बिनासुरक्षा सुई लगाउने, बिरामीसँग झर्केर बोल्ने र अन्य धेरै कार्यहरूले गर्दा बुबा त्यहाँको बसाइसँग खुसी हुनुहुन्नथ्यो र त्यहाँका स्वास्थ्यकर्मीहरूलाई हामीले पूर्ण परिचय दिनु पनि हामीलाई जरुरी लागेन।

त्यो अस्पतालको १२ दिन मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय थियो। मैले बुबासँग गर्न छुटेका विषयमा कुरा गर्ने मेरो इच्छा पूरा भयो। दिउँसो धेरै कुरा गर्न मिल्दैनथ्यो किनकि कहिले बुबालाई लिएर रगत परीक्षण गर्न जानुपर्थ्यो, कहिले बुबालाई बोकेर सिटिस्क्यान गराउन जानुपर्थ्यो। धेरै लामो र जटिल रोग भएका कारणले गर्दा होला, बुबाले झर्को मान्न थाल्नुभएको थियो। राति दुखाइका कारण बुबालाई निन्द्रा लाग्दैनथ्यो र हामीले कैयौं रात गफमै बिताउने गर्थ्यौं।

मलाई धेरै निन्द्रा लागे बुबाको अस्पतालको बेडको तल ओछ्यान लगाएर सुत्ने गर्थें र कहिले त्यही कोठाको छेउको बेडमा ढल्केर बुबासँग कुरा गर्ने गर्थें। एकरात लगभग १२ बजेको हुनुपर्छ, मैले उठेर बुबालाई यसो हेर्दा शरीर एकदमै तातो थियो। ज्वरो १०२ भन्दा माथि पुगिसकेको रहेछ। बुबाको शरीर कामिरहेको थियो। अरूलाई डिस्टर्ब हुन्छ भनेर केही नबोली शिथिल अवस्थामा अस्पतालको बेडमा लडिरहनुभएको थियो। मैले आधा घण्टा बुबालाई पानीपट्टी दिएँ, औषधी खुवाए र ज्वरोलाई कम गराएँ। बुबाको ज्वरो कम भैसकेपछि फेरि हामी करिब २-३ घण्टा जीवन, मृत्यु, खुसी र सफलताको विषयमा कुरा गर्न थाल्यौं।

बुबाले यतिखेरसम्म आफ्नो मृत्युलाई स्वीकार्न सिकिसक्नुभएको थियो तर आफ्ना केही सपना अधुरै रहेको कुरा उहाँको मनमा थियो। उहाँलाई सायद म अझै सफल भएको हेर्ने ठूलो रहर थियो होला। उहाँको जिम्मेवारीलाई औपचारिक रूपमा मैले आफ्नो काँधमा बोकेको हेर्ने सपना थियो होला। जुन अधुरै रहेको थियो। मैले बुबालाई धेरै व्यक्तिहरूको उदाहरण दिँदै भने, ‘यी व्यक्तिहरूमा तपार्इंले चाहेका ती सपना सबै पूरा भएका छन्, तैपनि उनीहरू खुसी छैनन्।

आज उनीहरू बिरामी भए पनि उनीहरूका छोरा आउन सक्ने अवस्था छैन। म पनि धेरै सफल भएर व्यस्त भएको भए यहाँ तपाईसँग नहुन सक्थें। तपाईं त धेरै भाग्यमानी हुनुहुन्छ। जीवनको ७० वर्ष अरूको सेवामा बिताउनुभयो, आफ्नो शिर कहिल्यै झुक्न दिनुभएन। आज लाखौं जनताले तपाईको उपचार पाएका छन्। यति सम्मानित जीवन त यहाँ कहाँ सबैको हुन्छ र।’

म धेरै व्यस्त भएको भए यसरी हामी रातमा गफ गरेर बिताउन सक्दैनथ्यौं होला। हामी त भाग्यमानी हो बुबा कि तपाईंको जीवनको अन्त्य अध्यायमा पनि मैले तपाईंलाई गर्ने सम्मानमा कुनै पनि कमी छैन। हामी बीचको यो बन्धन अझै अटुट छ भनेर बुबालाई भनें र बुबाका रसाएका आँखा हेरिरहें। त्यो रात हामीले जीवन र मृत्यु, आत्मा र परमात्मा एवम् मृत्युपछि जीवनजस्ता विषयमा संवाद गर्‍यौं। १२ दिनको अस्पताल बसाइपछि बुबाको ज्वरो कम भयो र हामी बुबालाई लिएर फेरि घर फर्कियौं।

बुबाको शरीर: मेरो प्रयोगशाला

दसैंको टीकाको दिन थियो र बुबाको केमोथेरापी चलिरहेको थियो। त्यो दिन टीका लगाउनुपर्ने भएको हुनाले मैले बुबालाई बिहानै एकपल्ट उठाउन खोजें तर बुबा मान्नुभएन। सायद दुखाइले गर्दा रातभरि सुत्न नभएका कारणले गर्दा होला भनेर केही समय डिस्टर्ब गरिनँ। फेरि केही समयपछि उठाउन खोजें तर फेरि बुबा उठ्नुभएन। त्यसपछि भने मेरो मन चिसो भयो र उहाँको सुगर हेरौं भन्ने मनमा आयो। बुबाको सुगरको मात्रा एकदमै कम भएको रहेछ र सुगरको मात्रा कम भएका कारणले गर्दा बुबालाई यस्तो भएको रहेछ।

मैले बुबालाई त्यतिकै छोडिदिएको भए सायद बुबालाई बचाउन सम्भव थिएन। बुबाको त्यो सुगरको मात्रा देख्ने बितिक्कै म आत्तिएँ। सबै स्वास्थ्यकर्मीहरूलाई बोलाएँ। हामी सबैले कोसिस गरेर त्यो सुकिसकेको रगतको नलीबाट ग्लुकोज लगाउन सफल भयौं। करिब ४-५ घण्टापछि बुबाको होस फर्किन सुरु भयो र हामीले त्यो दिनको टीका राति १० बजे लगायौं। त्यो टीका बुबाको हातबाट लगाएको मेरो जीवनको अन्तिम टीका थियो। मैले मेरो जीवनमा पहिलो मेरो आफ्नो ज्ञान र सिपले मेरो बुबाको जीवन बचाउन सफल भएको थिएँ। योभन्दा ठुलो अहोभाग्य एउटा छोराका लागि अरू केही हुन्छ जस्तो लाग्दैन।

दिनको ३-४ पल्ट र एकपल्टमा १०–१२ वटा सुई बुबालाई लगाउने गर्थें। हरेक सुई लगाइरहेका बेला मलाई यस्तो लाग्थ्यो कि त्यो शरीर मेरा लागि कुनै प्रयोगशाला थियो र बुबाले मलाई डाक्टर बनाउनुमा मात्र मद्दत गर्नु भएन, आफ्नो शरीरलाई प्रयोगशालाको रूपमा सुम्पिएर मेरो जीवनमा एउटा अनौठो अनुभव सुम्पिनुभएको थियो। त्यति धेरै औषधि मैले कुनै बिरामीलाई लगाएको थिइनँ होला, जति मैले बुबालाई लगाए।

बुबाको रोग फैलिँदै गएको थियो र अन्तिम एकहप्ता झनै पीडादायक थियो। एक रात बुबाको पिसाबमा रगत देखिन सुरु भयो र रगत यति धेरै बगिरहेको थियो कि बिहान हेर्दा पूरै शरीर रगतले भिजेको थियो। त्यो रात म सुत्न सकेको थिइनँ।

अर्को दिनको अवस्था धेरै नाजुक थियो। सबैजनाले बुबाको यो अन्तिम अवस्था हो। अब बुबालाई कतै पनि नलाने सल्लाह दिए। सायद त्यो पीडा देख्न नसकेर होला, मैले बुबालाई अस्पताल लग्ने निर्णय गरे। हामी विराट मेडिकल कलेजको इमरजेन्सी विभागमा पुग्यौं। घरबाट निस्कने बेलामा मैले आफ्नो नजिकैका केही व्यक्तिहरूलाई म फर्किंदा सायद एक्लै फर्किन सक्छु र त्यो अवस्थाका लागि रेडी भएर बस्नुहोला भनेर भनेको थिए।

दिनभरिको अस्पताल बसाइपश्चात् राति करिव ८ बजेतिर बुबाको ज्यान बचाउन हामी सफल भयौं। मसँग मेरो साथमा थियो भाइ रूपेश। रूपेशले पछिल्ला तीन महिना बुबालाई अस्पताल जाँदा धेरै मद्दत गरेको हुनाले रूपेशसँग बुबा नजिकिँदै जानुभएको थियो। घर फर्काएको केही दिनपश्चात् हामीले धेरै कोसिस गर्दैगर्दा पनि बुबालाई अन्तिम बिदाइ गर्न बाध्य भयौं। त्यो रातिको समय थियो र बुबाले बिदाइ हुँदाखेरि पनि हाँसेर अन्तिम सास लिँदै भौतिक शरीरलाई त्याग्नुभएको थियो।

बुबाको अन्तिम इच्छा

बुबालाई मैले तपाईंको अन्तिम इच्छा केही छ कि भनेर सोधेको थिएँ। बुबाले आफू जन्मेको ठाउँ रौतहट जिल्लाको वसन्तपट्टी गाउँ एक पल्ट पाइला टेक्ने इच्छा जाहेर गर्नुभएको थियो। बुबाको त्यही इच्छाअनुरूप गाडीभित्रै अक्सिजनको व्यवस्ता गरेर मेरो एकदमै नजिकैको भाइ डा. रविन बस्नेतलाई लिएर हामी बुबाको गाउँतिर लाग्यौ। बुबा अर्धचेत अवस्थामा हुनुहुन्थ्यो र अर्धचेत अवस्थामा पनि उहाँले आफ्नु गाउँको बाटो भुल्नुभएको थिएन। गाउँ पुग्नासाथ थाहा छैन किन हो, उहाको होसमा धेरै सुधार आयो र त्यो दिन सुतिसकेपछि अर्को बिहान आफ्नो दुखाइ पूरै हराएको महसुस भएको भन्नुभयो। सायद त्यो उहाँले गाउँप्रति गर्नुभएको मायाले गर्दा भयो होला। केही दिनको गाउँ बसाइपश्चात् फेरि हामीले बुबालाई घर फर्कायौं।

मृत्युपश्चात्को त्यो नगर सम्मान  

बुबाले आफ्नो जीवनकालमा पैसा कमाउन कहिल्यै प्राथमिकताको रूपमा लिनुभएन। सेवा नै प्राथमिकतामा थियो। बुबाले जहिले पनि भन्ने गर्नुहुन्थ्यो-मैले के कमाएको छु, त्यो दिन थाहा हुन्छ जुन दिन मेरो भौतिक शरीरको अन्तिम यात्रा हुन्छ। नभन्दै यस्तै भयो। कोभिडको समयमा भिडभाड नहुने नियम थियो तर मानिसहरूको त्यो सम्मान, आस्था, भरोसालाई त्यो नियमले छेक्न सकेन। हरेक मानिस आफ्नो घरबाट बाहिर निस्किएका थिए र त्यो हजारौंको भीडले बुबाको भौतिक शरीरको नगरपरिक्रमा गराएको थियो। त्यो नगरकै पहिलो मृत्युपश्चात्को नगरपरिक्रमा थियो। त्यो दिन धेरैको घरमा खाना पाकेन। धेरैले आफ्नो व्यवसाय बन्द गरे। हरेकको आँखा रसाएको थियो। हरेकले एउटा अभिभावक गुमाएको महसुस गरेका थिए। हरेकले एउटा सच्चा स्वास्थ्यकर्मी गुमाएको महसुस गरेका थिए। हरेकले एउटा पीडा बोध गरेका थिए।

अन्तिम बिदाइमा कुनै भेदभाव थिएन। त्यहाँ कुनै विभाजन थिएन। त्यहाँ हरेक पार्टीका, धर्मका, वर्णका, जातका मानिसहरूको एउटा भिडले बुबाको त्यो अन्तिम बिदाइ गरिरहेको थियो। त्यो नगरवासीको हरेक आँसुले मलाई मेरा बुबा मात्र हैन, त्यो नगरले एउटा अभिभावक गुमाएको भान गराइरहेको थियो।

आजको यस युगमा यति सानदार बिदाइ धेरै कमको हुने गर्छ र जो व्यक्तिको यस्तो बिदाइ हुन्छ, त्यो व्यक्ति पक्कै पनि भाग्यमानी हुनुपर्छ। जीवनको ५० वर्ष अरूको सेवामा लाग्ने, हजारौंको ज्यान बचाउने, कुनै पनि दाग नलिई यस संसारबाट बिदा हुनु भनेकै दुर्लभ हो। बुबाले भन्नुहुन्थ्यो-मृत्यु दुई प्रकारका हुन्छन्। एउटा रुवा जस्तो हलुङ्गो हुन्छ र अर्को पहाडजस्तो भारी हुन्छ। उँहाले पहाडजस्तो भारी मृत्युको उदाहरण दिएर यस संसारबाट बिदा हुनुभयो।

प्रकाशित: १२ कार्तिक २०७९ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App