८ वैशाख २०८१ शनिबार
कला

भक्तपुरका सांस्कृतिक गुरुहरू सम्मानित

४३औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई मंगलबार भक्तपुरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।

भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान गरिएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उनीहरुलाई सम्मान गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाइ नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। साथै उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गरे।

कार्यक्रममा विशेष अतिथि निवर्तमान सांसद प्रेम सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरुलाई पुरस्कार वितरण गरे भने भक्तपुर नगरपालिकाका प्रमुख सनिल प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरु र सहयोगी सबैलाई मायाको चिनो प्रदान गरे।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवीप्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति भएकोले यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने खाँंचो औल्याए।

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागीता बढ्दै गएको बताउँदै उनले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय भएको भन्दै प्रशंशा गरे।

प्रकाशित: ११ आश्विन २०७९ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App