२० आश्विन २०७९ बिहीबार
कला

हिंड्यौं है बन्दीपुर

नियात्रा

मिनी बसबाट ओर्लेर अन्ततः बन्दीपुरको भुई टेकेका छौं।

सोच्दै छु,यत्तिका वर्ष बिते। बन्दीपुर मेरो प्रधान इच्छित गन्तव्यमै  पर्दापर्दै पनि योभन्दा पहिले म किन बन्दीपुर पुगिनँ? बन्दीपुर पर्यटकीय तथा सांस्कृतिकस्थल भएको कुराको हेक्का पनि थियो मलाई। किनभने २०४१ सालतिर वीरेन्द्र बहुुमुखी क्याम्पस भरतपुर चितवनमा पढाउने जागिर खान सुरु गर्दा नारायणगढ बजार बन्दीपुरमय थियो। नारायणगढ बजार नै बन्दीपुरेले बसाएको चर्चा सुन्थें। बन्दीपुरे भनिनुको सानसौकत नै बेग्लै थियो। यही ताकादेखि बन्दीपुरका बारेमा धेरै कुरा सुन्दै आएको छु। पाँच वर्ष पोखराको पृथ्वीनारायण क्याम्पस पढाउँदा सयौंपल्ट सोही राजमार्गमा गुडेको सम्झना छ। तर पनि मेरो यात्रा बन्दीपुरतिर मोडिएन। सिद्ध गुफाको अन्वेषण पनि सोही कालमा भएको थियो। तर पनि म अलमस्त बन्दीपुर पुगिनँ। कैयौं वर्षदेखि सोचिरहेको गन्तव्य हो बन्दीपुर। नेवारी सभ्यताको परिदृश्य देखाउने यो बन्दीपुर त्यो बेला मेरो गन्तव्य बन्न नसकेकोमा आफैं छक्क परेको छु। खोई किन हो कुन्नि?

हरेक महिनाको पहिलो शनिबार नेपाली स्रष्टाहरूले घुमन्ते भूमिका निर्वाह गरिआएका छन्। पदयात्रा गर्छन्। म अनुकूल परेका बेला आक्कलझुक्कल घुमेजस्तो गर्ने पटके पदयात्री हुँ। हो यही स्रष्टा पदयात्राको सत्ताउन्नौं शृङ्खलाले बन्दीपुर टेकाएको छ मलाई। दिन परेको छ २०७९ साल, वैशाख ३ गते। हाम्रो टोलीले अघिल्लो दिन तनहुँको व्यास गुफा तथा छाब्दी बाराही छिचोलेको थियो र अहिले बन्दीपुरमा पाइला टेक्दा त घाम ओरालो लाग्ने तरखरमा छ। स्रष्टा पदयात्राका संयोजक साहित्यकार शीतल गिरीको अगुवाइमा छौं हामी। बन्दीपुरमा मोहरिया सामुदायिक होम स्टेमा बास बस्ने तरखर मिलेको छ। भोलि त फेरि काठमाडौं फिर्नु छ। हतार छ। आजै बन्दीपुरलाई एक छिमल छिमल्नु पनि छ।

चियापानीपछि हामी फुकाफाल भएका छौं। तितरबितर भएका छौं। छिचल्नु छ। भियाउनु छ। फोटा पनि खिच्नु छ। दिमागका पर्दाभित्र बन्दीपुरलाई कैद गरी राख्नु छ। के ठेगान फेरि यसरी बन्दीपुर आइन्छ कि आइन्न! दौडादौड छ नियति। भागाभाग छ जिन्दगी। हाम्रो ११ जनाको टोली टुक्रिएर ६ भएको छ। ६ बरालिएर ३ भएको छ। फेरि त एक्लाएक्लै पनि पो भएका छौं। कोही पोजपोजका फोटो खिचेर नअघाउने, कोही अश्वगामी चालमा हिंड्ने, कोही मध्य चालमा। छरपस्ट भएको छ यात्राहेतु। यात्रावृत्तान्त हेतु। यात्राहेतु‘सिंगल पिस बुटिक’ भएको छ।

म बजारतिर जाने साथीहरूलाई छोडेर बन्दीपुरको प्राकृतिक भ्यूटावरतिर गएका साथीहरूलाई पछ्याउँदै छु। त्यो अग्लो भ्यू टावर भनिने एउटा चुच्चे डाँडोसामुन्नेमै देखापरेको छ। डाँडाको टुप्पामा टिनका केही भुइँ छाप्रा देखिंदै छन् परैबाट। अगाडिका टोली सायद बलियाबाङ्गा छन्। अश्वगन्धा सेवन गरेझैं तुफान तालमा छन्। त्यो उकालोमा पछाडि आउँदै गरेका केही साथीको नामोनिसान छैन। अलि तल मन्दिरा मधुश्री एक्लै अलमस्त उकालो चढ्दै गरेको देखेर उकालोकै कोखामा उभिएको छु।

हेर्छु त सल्लाघारीका चेपबाट बन्दीपुर हाँसेको छ। लमतन्न तानिएको बन्दीपुर बजारमा नेवारी काँटका घरहरू सुन्दर देखिएका छन्। कालो पत्रे सडकले किरिङमिरिङ धर्का कोरेको छ। पातलो पारदर्शी घुम्टोले सजिएकी मिथिलाकी बेहुली जस्तै कामुक देखिएको छ बन्दीपुर। डाँडाबाट हेर्दा सूर्य बादलसँग लुकामारी गरिरहेको छ। बादलले बन्दीपुरलाई बन्दी बनाएको हो कि बन्दीपुरले बादललाई बन्दी बनाएको हो खुट्याउन गाह्रो भैरहेको छ मलाई। बादलले छोडेका बेला आँखीझ्यालबाट सुटुक्क देखिने पँधेराकी सुन्दरी जस्तो लागेको छ बन्दीपुरको सुन्दरता।

अहो! भ्यूटावरको थाप्ला पनि खण्डखण्ड पो छन् त ए गाँठे! चढ्यो, फेरि अर्को जौडे उकालो तयार छ। ‘द ड्रिम्स कम्स ट्र’ निबन्धमा तेन्जिङ नोर्गेले सगरमाथा चढे जस्तो भइरहेछ मेरो फुच्चे यात्रा। एकपछि अर्कोउकालो। अर्कोपछि अर्को शिखर। तेन्जिङको सगरमाथा केही महिनाको मेरो केही मिनेटको।

अन्ततः प्राकृतिक भ्यूटावरको थाप्लामा नै पुगेको छु है। थाप्लामा पुगेपछि बन्दीपुर हाम्रा मोबाइल क्यामरामा कैद हुन धडाधड आएका छन्। समय पनि कस्तो सुहानी छ। सूर्यास्त हुनै लागेको छ।

म देख्दै छु, एकजना गधापच्चीसे ननाघेकी बहिनी सूर्यास्तको मनमोहक दृश्यपान गर्दै पुस्तकभित्र पसेकी छिन्। म सूर्यास्तको गोधूलि दृश्यमा बन्दीपुरका डाँडामा रमाएको छु। र, मेरो त्यो रमाइमा पुस्तकमा डुबेकी रसिली नवयौवनाको मिजासिलो परिदृश्यले झन् महत्त्वपूर्ण भूमिका खेलेको छ। तिनै मृदुभाषी नवयौवनाको सहयोगमा हाम्रा फोटाहरू खिचिंदै छन्। उनी कुनै गम्भीर विषयमा मास्टर्स गर्दै रहेकी चितवने चेली रहिछिन्। उनी ४ दिनका लागि कन्सन्ट्रेसनका साथ पढ्न एक्लै बन्दीपुरको कुनै होमस्टेमा बसेकी रहिछिन्। बन्दीपुरको प्राकृतिक एकान्तसँग अध्ययन। अहा! यो त गजबकै कुरा भयो नि। जिन्दगीले भेट गराउँछ गराउँदैन नानी। चिनिन्छ चिनिन्न तर जय होस् नानी तिम्रो।

भ्यूटावरको पल्लापट्टि समानान्तरमा दुई वाल देखिएको छ। चाइनाको देखासिकी बनाइएको रे यो ग्रेटवाल। नाम पनि ग्रेटवाल। सायद यस्तै ग्रेटवालले कालान्तरमा बन्दीपुरलाई छेक्ने हो कि?

फेरि तिर्पायाँ सडक भेटिएको छ। गोधूलिमा बन्दीपुर पहेंलाम्म भएको छ।

टोली छरिएका छरियै छन्। अब मेरा अघिका धेरै अघि छन्। पछिकाको कुनै छेकछन्द छैन। म खिइएको घुँडाको दमलाई दाउमा लगाएर तथा टोपी कोखिलामा च्यापेर दौडेको छु अघिल्लालाई भेट्न। पछिल्लालाई नजर अन्दाज गरेको छु। मेरो मध्यमार्गी नीति आखिर काम लागेको छैन। अलि पर देख्छु, शीतल गिरीसहितको टोली टुँडिखेलतिर लागेको छ। म पनि त्यही टोलीलाई पछ्याउँदै छु। टुँडिखेलकै मुखमा कत्रो होटल आम्मामा। कति सुन्दर हौ त्यो? होइन कति पैसा छन् हौ बन्दीपुरेसँग? त्यो पहाडी भेकमा डाँडो सम्याएरै भए पनि टुँडिखेल बनाएकै हुन् बन्दीपुरेले। टुँडिखेलबाट देखिने वारिपारि निकै सुन्दर छ। वर्तमान कालमा बनाएका किरिङमिरिङ फुस्रे रेखीय बाटाहरूले कालोपत्रेको अस्तित्व खोजेझैं लाग्दै छ मलाई। सायद ती अलकत्रालाई विकास भन्दै छन्!

टुँडिखेलबाट होमस्टेमा फर्कँदा झमक्क साँझ परिसकेको छ। झ्याउँकिरी बास्न थालेका छन्। चराचुरुङ्गी भएका छौं हामी। गुँड खोज्दै छौं। तितरबितर साथीहरू गुँडमा फर्केका छन्। थकित भएकाले होला झन् धेरै भोक लागेको छ। होमस्टेमा चमेनाको मेहरो सुरु भएको छ। नेवारी बान्कीको खाजामा हामी रमाएका छौं। पदयात्राका टोली नेता शीतल गिरी र सहयात्री मन्दिरा मधुश्री, नवराज रिजाल, सुमन पुडासैनी, वसन्त रिजाल, खोलाघरे साइँलो (गंगाप्रसाद अधिकारी), ऋचा, समीर पाख्रिन, मेडिकल साइन्सकी विद्यार्थी स्मृता श्रेष्ठ, डिल्लीराज अर्याल र म खेमराज पोखरेल गरी ११ जना खाजा खाँदै छौं। आआफ्ना भाग। कोही भेज र कोही ननभेज। जाहिर छ, हामी सबै साहित्यमा आआफ्नै पारामा रमाउने यात्री हौं। आफूले बुझेको कुरा नै सत्य हो भन्ने लिलिपुटियन साम्राज्यका मान्छे पनि हौं हामी।

सुनिएको छ, बन्दीपुरका साहित्यकारहरू हामीलाई भेट्न आउँदै छन्। यसरी स्थानीय साहित्यकारसँग हुने साक्षात्कार पनि स्रष्टा पदयात्राको रोमाञ्चक क्षण हो। तर, अन्त्यमा चितवन मुकाम बनाउने तथा बन्दीपुरकै मिसिनरी स्कुलमा पढाउने छन्द कवि श्रीकृष्णशरण उपाध्यायको आगमन भएको छ। एक्लो। हामी तन्मयका साथ उहाँको मोबाइलमा कैद भएका उहाँकै छन्द कविता सुन्दै छौ। सस्वर, सही स्वर र सुमधुर स्वर। साँच्चै छन्दका पारखी रहेछन् श्रीकृष्णशरण उपाध्याय। हाम्रातर्फबाट ‘मधुराग’ की मन्दिरा मधुश्रीले आफ्ना शृङ्गारिक गजल सुनाएकी छिन्। केही पुस्तक उपहार दिएर श्रीकृष्णलाई  बिदाबारी गरिएको छ। अनि हामी रात्रिकालीन गोजेरो भर्ने मेलोतिर लागेका छौं।

जाहिर छ, हामी थाकेका छौं। बन्दीपुर पुगिएको छ भने ‘बन्दीपुर स्पेसल’ चाख्ने कि नचाख्ने? स्रष्टाले सराबसँग जोडिन मिल्छ कि मिल्दैन? यो कुरा स्वस्थ्य बहसको विषय बनेको छ यति बेला। सराबलाई हेर्ने नेपाली दृष्टिकोण र विश्व दृष्टिकोणबारे केही कुरा त गरेका छौं तर यो यस्तो बहस हो जो कहिल्यै निष्कर्ष निस्कँदैन। किनकि बहसमा निस्कने मान्छेले पूर्वमान्यता बनाइसकेको हुन्छ।

सराब र यौनलाई ‘कम्मल ओढेर घिउ खाने’ विषयमै रहन दिंदा भलो होला यहाँ। फेरि अमेरिकामा एउटा आहान छ ‘ह्वाट एभर यु नो, द्याट इज टू’ याने तिमीलाई जे थाहा छ त्यही सत्य हो। नेपाल भने पनि विश्व भने पनि हामी आफूलाई ठिक लागेको कुरा त सत्य हो नि। मान्छेलाई आफ्नो परिवेशीय चेतले बताएको कुरा त पूर्ण लाग्ने हो नि। पूर्ण सत्य त कहाँ पाउनु? पूर्ण सत्य भेटेको छु भन्नु इल्यूजन हो। सनकसिंह पनि भनूँ बरु। तर यो समाजमा पूर्ण सत्य भेटेको छु भन्ने भुईफुट्टा पारखी तथा लिलिपुटियन साम्राज्यका रैती पनि नपाइने कहाँ हो र?

बन्दीपुरको होमस्टे। खुला छत। बिजुलीका प्रकाशमा चम्केको बन्दीपुर बजार र पारिपट्टिको हरियो भिमसेन पाखा। त्यसमाथि रमरम मात र त्यसले दिने गुढ रहस्यको ज्ञान। आखिर जीवन भन्नु रमाइलो त हो। बाँचुञ्जेलको न हो तकझक। चेत हराएर हातगोडाका मासी सुकेपछि त के जिन्दगी र?

यसैबेला प्रसंग निस्क्यो, नेपाली छापाको कार्टेलिङ व्यवहारप्रति। हाम्रो समूह सानो छ तर यसभित्र गोरखापत्र, मधुपर्क जस्ता राष्ट्रिय पत्रिकाका हटकेक स्रष्टा पनि छन्। अर्कोतिर ‘आकाशको फल, आँखा तरी मर’ भन्ने मजस्ता नियतिका पीडित पनि छौं। जसलाई कुनै गहकिला पत्रिकाको आँखा लागेको छैन। खैर यो पनि बेफ्वाँकको बहस त हो नि। के गर्ने? यस्ता बेफ्वाँकका बहसमा पनि हामी उत्रिहाल्छौं।

डिनर सुरु भएको छ। रोजीरोजी। म अर्गानिक कोदाको ढिंडोको फाँटमा छु। सक्कली सेतो चामलले आफ्नो त जिन्दगी नै बोसाम्य पारिदिएको छ। सेतो बोसाम्यले जिन्दगी धरापमा पारिदिएको छ। त्यसैले जय कोदो। जय ढिंडो।

एउटा कोठामा अलगअलग खाटमा कवि वसन्त रिजाल र म सुतेका छौं। कवि वसन्त रिजाल सज्जन र भोला देखिनुहुन्छ। मस्त निदमा हुनुहुन्छ। घुर्दै हुनुहुन्छ। म पनि त नामी घुरुवा हुँ। घुरुवाघुरुवाको सुताइ सानदार भएको छ।

भोलिपल्टको कार्यक्रम छ बन्दीपुर र सिद्ध गुफा भ्याएर काठमाडौं पुग्ने। बिहानको खाजा होमस्टेमा नै खाएर हामी बन्दीपुर बजारतिरको बाटो नाप्दै छौं। र, काठमाडौंका लागि बाटो छोट्याउँदै छौं। हामी बन्दीपुर बजारमा पनि तरेलीतरेली भएका छौं। मूल बजारमा देखिएका छन् थानी माई मन्दिर, बिन्दवासिनी मन्दिर तथा नेवारी बजारको सौन्दर्य। इँटा र टायल ओछ्याइएका बाटा। बन्दीपुर होटलै होटल तथा होमस्टेको शहर बनेको देखिएको छ। हरेक एउटा घरपछि अर्को घर होटल वा होमस्टे। गेस्टहाउसदेखि महँगा र सुविधासम्पन्न होटेलहरू। सफा छ। मेरा मनमा कुतूहलता उठिरहेको छ कि ए गाँठे! यो बन्दीपुरमा त्यतिका विधि पर्यटक आउँछन् त!

एकजना बन्दीपुरे बालाई सोधेको छु, ‘बाजे, यो बन्दीपुरको चल्तीफिर्ती यस्तै हो त सधैं?’

बाजेले जवाफ दिएका छन्, ‘उहिलेको पश्चिम नेपालको त मुख्य बजार नै हो बन्दीपुर। बिचमा त यो बजार सुक्यो नि। बाटाले पनि किनार लाइदियो। सबै हुनेखानेहरूले पनि किनारा लाइदिए। बन्दीपुरलाई माया मारेर शहरतिर झरे। तर समयको खेल फेरि पन्पिएको छ बन्दीपुर।

बन्दीपुर बजारमा हामी फोटो खिच्दै छौं। टोलीले नेटो काटिसकेको छ। सायद यो टोलीले बुझेको छ कि मान्छे हिंडाउन अघि लाग्नु।

हामी तिर्पायाँ-तिर्पायाँ उकालो लाग्दै छौं। उकालाकै मुखमा एउटा १२/१३ तले बिल्डिङ बनिरहेको देखिएको छ। त्यसो त त्यो बिल्डिङ परैबाट टौवाजस्तो टङ्रङ्ङ देखिन्छ नै। त्यो बिल्डिङ निर्माणाधीन केवलकारको कार्यालय, डिपान्टमेन्टल स्टोर तथा होटल पो रहेछ। केवलकारका खम्बाहरू निर्माणाधीन देखिएका छन्। केवलकारका सिइओले हामीलाई केवुलकारको निर्माण र त्यसले बन्दीपुरको पर्यटनको वृद्धिबारे जानेको बताएका छन्। भनौं न उनको धर्म निर्वाह गरेका छन्।

हामीलाई हतार छ। आजै अहिले नै सिद्ध गुफा पुग्नु छ। भिमसेन डाँडाको खोंचबाट अजङ्गको ओरालो यात्रा गरेर सिद्ध गुफा पुग्नुपर्ने भएपछि मैले झोलामा राखेको निब्यान्डेजलाई झिकेर घुँडालाई चल्न र चटपटाउन नसक्ने गरी टनटनी कसेको छु। रुखको हाँगो भाँचेर दह्रो लौरो बनाएको छु। के गर्ने यार! आफूलाई मन लागेर नहुने डाक्टरले ‘उकालोओरालो गर्दै नगर्नू’ भनेर उर्दी जारी गरेको छ। डाक्टरको आड पाएर होला मेरो घुँडा उकालो तथा ओह्रालो देखेपछि तुरतुर गर्न थाल्छन्। आफ्नै घुँडालाई ‘यो अन्तिम पटक हो यार, धर्म नछाड् है’ भनेर फकाएको छु। घुँडाले बल्ल उँधो झर्न मानेको छ। नत्र त यो घुँडो अइन मौकामा हद बोलेर बसिदिन्छ। उसले मेरो शरीर नबोकिदिएपछि मेरो त भट्टा नै बस्छ नि यार। हविगत नै निस्कन्छ नि।

हेर्दा तिर्पायाँ देखिंदै छ ओह्रालो। होइन रहेछ ठाडै छ त हौ। तर एकाएक कङ्क्टिको जङ्गल छोडेर हरिया वनपाखामा हिंड्न पाएकाले मन भने खुसाएको छ। पानीका प्राकृतिक तथा मान्छेले बनाएका धाराहरू छन् बाटैभरि। व्नजंगल, हरिया पाखा, चराचुरुङ्गीका तानाबाना तथा बाटामा देखिने ओडारले हाम्रो यात्रालाई सुमधुर बनाइरहेका छन्। ओडारमै उभिएर बेजोड छन्द कवि खोलाघरे साइँलाले कविता सुरु गरिहालेका छन्  , यस्तो हुँदा नि कविता किन आउँदैन?

म आफ्नो घुँडाका कारणले आफ्नै गतिमा छु। न छिटो, न ढिलो। करिब ३ घन्टाको ठाडो ओह्रालो झरेपछि सिद्ध गुफाको गेट आएको छ। हाम्रो पदयात्राको टोलीको योजना त्यही गुफाको मुखमा बसेर आआफ्ना रचना वाचन गर्ने कुरा सुनेको छु। तर म सो गुफामा पुग्दा त आधा टोलीले बाटो काटिसकेको छ। समीर, मन्दिरा, ऋचा लगायत एकआध गुफाभित्र पस्ने भएका छन्। तर मेरो घुँडाले त्यो गुफाभित्र पस्न आँट गरेको छैन। त्यसैले म गुफाको मुखैमा बिसाएर पर्खेको छु। हेर्दाहेर्दै रचना वाचन कार्यक्रम तन्नम भएर तुहेको छ।  

गुफामा टिकट काट्नुपर्ने व्यवस्था देखिन्छ। टिकट काउन्टर र दररेट पनि लेखिएको छ। तर अचम्म! त्यहाँ मान्छे कोही छैनन्। बेवारिसे बनेको छ सिद्ध गुफा। हाम्रो टोली सदस्य पनि मोबाइलको धिमधिमे टहकमा गुफा छिरेका छन्। एक हुल विदेशीले गुफामा आएर टिकट काट्न खोज्दै छन्। तर मान्छे भए पो? एकछिन तिनीहरूसँग बात मारेपछि उनीहरू पनि आफ्ना मोबाइलका सहाराले गुफाभित्र पसेका छन्। म्यापमा गुफालाई हेर्दा दिन नै त्यही गुफामा बिताउनुपर्ने जस्तो देखिएको छ। अन्तत ः गुफा पसेका टोली बाहिर निस्केका छन्। हामीले फेरि ओह्रालो बाटो सोझ्याएका छौं।

दौडादौड गर्दै बाटो छिचोलेको अघिल्लो टोलीले हाई वे नजिकै पर्ने सिद्ध केभ ब्याम्बु कटेज रेस्टुरेन्टमा पुगेर भातको जोहो गरेको छ। त्यतिबेलाको भोकको रन्कामा यो जोहोले निकै आनन्द दिएको छ। यही रेस्टुरेन्टकै प्राङ्गणमा एउटा रुखमा भोगटे लटरम्म फलेको छ। सायद यो नटिपेर त्यसरी रहेको होला वैशाखको याममा पनि। अर्को धरहराको रिप्लिका छ। जहाँ हाम्रो टोलीका सदस्यहरूले फोटो खिचेर धरोहर धरहराको धङधङी मेटाइरहेका छन्।

खानापछि भने हामी काठमाडौंका लागि भौतिक तथा मानसिक रूपले तयार भएका छौं। एकप्रकारले भन्ने हो भने सत्ताउन्नौं स्रष्टा पदयात्रा सकिएको छ। घरमुहाँ भएका छौं। अब गुडाइयात्राको पालो छ। जेनतेन मुग्लिन आएर सार्वजनिक यातायात खोज्दै छौं। तर, केको भद्ख्वाँस लागेको हो कुन्नि? एउटा पनि गाडी खुकुलो छैन हाम्रो नसिबमा। पालैपिलो अलगअलग गाडीमा कोचिएर काठमाडौंतिर लागेका छौं।

यसो सम्झन्छु, वास्तवमा जिन्दगी भन्नु पनि कथाहरूकै कथालो रहेछ। गुनासाहरूका गथालो रहेछ। सम्झेबुझे जीवनको सत्यको सँगालो रहेछ। हो यही यात्रामा पनि यात्राकथा निर्माण भएका छन्। केही पूर्णताका उपकथा बनेका छन्। केही अपूर्णताका कथाका रटानमा छन्। एकथरी यात्रामा दौडिन्छन्। अर्का थरी अलमस्त फोटोमा टाँसिन्छन्। दुवैका एक अर्काप्रति गुनासा छन्। कुनै ठाउँमा पुगेपछि त्यसको बारेमा केही क्षण उभिएर आनन्द लिनु पनि त पर्छ नि! तिनलाई अविस्मरणीय तस्बिरमा कैद पनि गर्नुपर्छ नि! स्रष्टा हिंडेको यात्राहेतु पनि त स्रष्टामय हुनुपर्छ नि! त्यसै लखरलखर हिंड्नु पनि के पदयात्रा भयो र तर अगुवा पदयात्री भन्छन् कि आखिर जिन्दगी भियाउनु पनि छ। हामीसँग धेरै सीमा छन्। एकै ठाउँमा लिसोझैं टाँसिएर कसरी छिचोल्ने हँ पदयात्रा? लोस्याङ्ग्रो तालले कसरी पुगिंदो हो काठमाडौं? फेरि अगुवालाई त यात्रालाई टुङ्गोमा पुर्याउनुपर्ने दायित्व पनि त छ नि।

म यही बिचमा सोचिरहेको छु, जीवनका परिभाषामा यी दुवै मान्यता आआफ्ना ठाउँमा ठिक छन्। ठिकमा बेठिक छन्। बेठिकमा ठिक छन्। आखिर मान्छेको जातलाई केही गर्दा पनि त हुन्न।

भो आफ्ना कुरा कति भन्नु? अब बन्दीपुरका कुरा। सुनेको छु, देखेको छु बन्दीपुरका सम्पन्नताका धेरै कथा। धेरै विपन्नताका व्यथाहरू। धेरै गुनासा गन्थ्यौलाहरू। चरम चाहना बोकेको छ बन्दीपुरले। बन्दीपुर आम सोच्दैन।

महत्वाकांक्षी छ बन्दीपुर। धनाढ्यको पलायनले पलाँस भएर फेरि पन्पिएको छ बन्दीपुर।

हतार छ तर जाँदाजाँदा भन्दै छु है बन्दीपुर! आम नेपालीले सोचेको विकास जस्तै बन्दीपुरले पनि कङ्क्रिटलाई विकास ठानिरहेको जस्तो लागिरहेको छ। तर ख्याल गर्नुपर्ला है बन्दीपुर! सुविधासहितको नेवारी संस्कृति, स्थानीयता तथा परम्परा हेर्न आउने हुन् पर्यटक। प्रकृतिको छटा हेर्न आउने हुन् पर्यटक। सडक कङ्क्रिट त संसारकै शहरमा जताततै छरिएकै छन् नि। नत्र किन पो बन्दीपुर जानु यार!

यसो भएता पनि बन्दीपुर एउटा कुरा भने पक्का हो कि यो दौडादौड यात्राले धित मरेको छैन मेरो। के गर्ने सुसे धन्दाले पर्खेर बसेको छ। समयको खटान व्योहोर्नु छ। जिन्दगीले पोखिदिएको बिस्कुन सोहोर्नु छ यार। मौकाले आएको हुँ। पक्का धित मरेन मेरो। तर, फेरि कुनै दिन प्रियजनका साथमा धित मर्ने गरी भेट होला नि बन्दीपुर। आफ्नो सौन्दर्य नबिगार्नु है बन्दीपुर। अहिलेलाई यस्तै भयो, हिंड्यौं है बन्दीपुर।  

प्रकाशित: ६ आश्विन २०७९ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App