२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

फराकिलो मन

लघुकथा

 राजन बस्नेत अंकुर

उर्वशीले सोधिन्,‘आमा यसपालिको तीजमा हजुर माइत जानुहुन्छ?’

सहजै जवाफ दिएँ, ‘म जान्न। तिमी नै जाऊ।’

‘होइन नन्दआमाजू कोही पनि हुनु हुन्न। उहाँहरू भएको भए पनि हजुरको मन भुल्ने थियो होला। सधैं तीज आएपछि हजुर झोक्रिएर बसेको देख्नुपर्छ। यसपालि हजुर जानुस्। बरु तीजपछि म जाउँला।’ फेरि पनि जोड दिइन् उर्वशीले।

छोरा सौरभले पनि जोड गयो, ‘हुन्छ नि त आमा, बुहारीले भनेपछि जानुस् न त।’

मैले भनें, ‘धेरै वर्ष भयो जानै नपाएको। आउन पाउँदिन भनेर आजकल त आइज भनेर फोन गर्न पनि छोडे। तीजमा नबोलाईकन जाने त म?’

‘के हुन्छ र आमा? गाउँले भए पो नबोलाएको ठाउँमा जान हुँदैन भन्नु? आफ्नै माइत जान बोलाउनै पर्छ भन्ने हुँदैन।

उर्वशीले पुन: जोड गरिन्,‘झन् नबोलाईकन जानुभयो भने सबै दङ्ग पर्नुहुन्छ। जानुस् आमा, घरमा म बस्छु।’

धेरै पटक सोचें। बुहारीको कुरा मनासिव लाग्यो र जाने सहमत जनाएँ। तयारी गरें र हिंडें माइतीघरतिर।

बाटाभरि धेरै सोचें। माइतीघर नटेकेको पनि निकै वर्ष बितेका रहेछन्। एक मन ज्यादै खुशी भयो। अर्को मनचाहिं खल्लो।

जेठा भाइको घर बाटैमा पर्थ्यो। जाँदाजाँदै पसें। बुहारीले अनुहार अमिलो बनाउँदै भनिन्, ‘ए भोलि म माइत जाने भनेको, हजुर पो आउनुभएछ। ल आजको छाक यतै खानु र भोलि अर्को घर जान।’

‘ठीकै छ’ सोचें र बसे।

भोलिपल्ट माइला भाइकोमा जाने विचारले हिंडें। यसो बाटाबाट आँगनतिर लम्किँदै थिएँ।

माइली फोनमा कुरा गर्दै थिइन्, ‘कुकुर पनि त चेचे नभनी आउँदैन। कस्ती हुन् त तीजमा पनि नबोलाईकन आउने। तिमी त माइत जाने भनेर उम्कियौ। मैले के भन्ने हो ला त!’

यो कुरा सुनेपछि शरीर भारी भयो। चिटचिट पसिना आउन थाले। मेरो ओठमुख सुक्यो।

अनि मनमनै सम्झें, ‘मेरो बाआमा भैइदिएको भए मैले यी सब कुरा सुन्न र देख्न पर्दैन थियो होला! आमाले तिजमा छोरी कहिले आउँछे भनी बाटो हेरिरहन्थिन् अनि बा मलाई लिन बस रोकिएको ठाउँमा पुग्थे तर अहिले सम्झदा पनि मन रित्तिएझैं लाग्छ।’

यी र यस्ता यस्तै कुरा मनमा खेल्दाखेल्दै पनि म त्यहाँ केही बोलिन। सुनेको नसुनै गरी बाटो काटेर अलि पर कान्छा भाइको घर पुगें। त्यहाँ विचरी बुहारी घरधन्दा गर्दै थिई।

म पुग्नासाथ खुसी हुदै मलाई बस्न भनी म थुचुक्क बसे। मैले केही भन्न नपाउँदै चिसो पानी लेराइ म पानी पिउँदै थियो ।

उसले भनी, ‘दिदी, आरामै हुनुहुन्छ? के छ घरतिरको खबर? सबै आरामै हुनुहुन्छ नि?’

मैले भने, ‘अँ कान्छी आराम छौं। धेरै भो माइत नआको पनि। कति धेरै परिवर्तन भैसकेछ। जेठा र माइलाले त घर पनि कत्रा नयाँ बनाएछन्।’

उसले अँ दिदी मात्रै भनी किनकि ऊ झुपडीमा बसेकी थिई। अरू दाजुभाइभन्दा कान्छो अलि गरिब थियो।

भाइ आइपुग्यो। ऊ खुसी हुँदै दिदीलाई मिठो-मिठो खुवाउन भनी बजारतिर गयो।

यता बुहारी भोलिपल्ट माइत जान भनी बसेकी रहिछ। मलाई देखेपछि नजाने निधो गर्छिन्। सँगै तिज मनाइन्छ। खुसी हुँदै तिज सकेर घर फर्किन्छु म।

उनले मनमनै भनिन्, ‘नहुनेको मन नै फराकिलो हुने रहेछ।’

प्रकाशित: २७ भाद्र २०७९ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App