१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चित्रगुप्त र यमराज बेरोजगार हुँदा !

एकपटकको कुरा हो। सम्पूर्ण नर्क नै सुनसान भयो। यमराज र चित्रगुप्त दुवैको कुनै काम रहेन। जो कोही पनि मरेर आउँथे, सिधै वैकुण्ठमा जान्थे।

यस्तो अवस्थामा चित्रगुप्तले कसको कर्मको हिसाब राख्थे र यमराजले कसलाई कस्तो दण्ड दिन्थे। बर्सौंसम्म यो सिलसिला जारी रह्यो। मरेर जाने व्यक्ति कोही पनि नर्कमा जाँदैनथे, सिधै स्वर्गमा जान्थे।

चित्रगुप्त र यमराज दुवै हैरान भए, सधैं बिनाकाम बेरोजगार भएर बस्नु परेकोमा। यसरी बेकार बस्नु परेकोमा यमराज ब्रह्माको सभामा पुग्यो र उसले ब्रह्मालाई आफ्नो समस्या बताएर भने– हामी यसरी बेरोजगार भएर कति बसौं ? ब्रह्माले सोधे, ‘यो सब कसरी भयो ?’ तब यमराजले भने, ‘पितामह धरतीमा रुक्माङ्गद नामक राजाको राज चलिरहेको छ। भगवान् विष्णुको पूजा आराधना नै उनको जीवन हो। सम्पूर्ण प्रजाका लागि एकादशी व्रतको कठोर नियम बनाई राखेको छ।

त्यसकै प्रभावले सारा जनता वैकुण्ठमा जान्छन्। नरकमा कोही पनि आउँदैनन्। हामी त बेकार भयौं।’ब्रह्माले पत्ता लगाए कि एकादशीका दिन राजा रुकमाङ्गदका तर्फबाट घोषणा गरिन्थ्यो कि आजको दिन आठ वर्षभन्दा माथिका र पचासी वर्षभन्दा कम आयुवाला जो कोही व्यक्तिले अन्न खाएमा उसलाई दण्डित गरिने छ।

राजाको आदेशअनुसार सबै जनताले एकादशीका दिन गंगा स्नान गरेर व्रत बस्थे र दानपुण्य गर्दथे। यसरी गरेको धर्मको प्रभावले सम्पूर्ण प्रजा सुखी एवम् समृद्ध थिए। राजाका पतिव्रता पत्नी सन्ध्यावली लक्ष्मी थिइन् भने योग्य र आज्ञाकारी पुत्र धर्माङ्गद थिए। राजकुमार धर्माङ्गद स्वयम् सहयोगीहरूका साथमा हात्तीको शिरमा राखेको नगडा बजाउँदै घोषणा गर्थे कि सबैले एकादशी व्रतको पालना गर्नु र भगवान् विष्णुको ध्यान गर्नु। यो सबै थाहा पाएर ब्रह्मा पनि धेरै प्रसन्न भए।  

यमराज र चित्रगुप्तको कुरा सुनिसकेपछि राजा रुक्माङ्गदको महिमा जान्नका लागि ब्रह्माले मोहिनी नामकी एउटी सुन्दरी स्त्री प्रकट गरे। तब रूपवती मोहिनीलाई ब्रह्माले केही कुरा सिकाएर धरतीमा पठाई दिए।  

एकदिन राजा रुक्माङ्गद जब सैर गर्दै थिए, उनले मोहिनीलाई वीणा बजाइरहेकी देखे। यति राम्री सुन्दरी रूपवतीलाई देखेर राजा रुक्माङ्गद मोहित भए। राजाले मोहिनीलाई विवाहको प्रस्ताव राखे। मोहिनीले मेरो एउटा सर्तमा म विवाहको लागि तयार हुन्छु भन्दै मैले जे बोले पनि राजाले मान्नुपर्छ। राजाले पनि मोहिनीको सर्त मान्दै मोहिनीसँग विवाह गरे र दरबारमा फर्किएर सुखभोग गर्न थाले।  

केही वर्षपछि राजाले पुत्रको पराक्रम र शासन कुशलता देखेर राजपाट राजकुमार धर्माङ्गदलाई सुम्पिदिए। राजाले आफ्नो उमेर पनि बढ्दै गएकाले राजकुमारलाई शासनको जिम्मा दिएर आराम गर्न थाले।  

एकादशीको व्रत चलिरहेको थियो। हमेशाको तरह घोषणा भइसकेको थियो कि जो कोहीले पनि भगवान् विष्णुको एकादशी व्रत गर्नेले मेरो यस आदेशको पालन गर्दैन, उसलाई कठोर दण्ड दिइने छ। एकादशीको उसैदिन मोहिनीले आफ्ना पति रुक्माङ्गदलाई अन्न खान जिद्धि गर्न लागिन् र भनिन्– गृहस्थ राजालाई धेरै मेहेनत गर्नुपर्छ, उसले कहिले पनि अन्न छोड्नुहुन्न।  

राजाले मोहिनीलाई धेरै सम्झाएर भने कि एकादशीका दिन जसले अन्न खान्छ, त्यो पापी नरक जान्छ। तर मोहिनीले मान्दिनन् र विवाहको समयमा गरेको शर्त सम्झाउँदै भनिन्– मैले जे भन्छु त्यो मान्नैपर्छ। मोहिनीले कुनै पनि हालतमा नमान्ने भन्दै भनिन् कि मेरो कुरा नमानी यदि तपाईंले एकादशीका दिन अन्न ग्रहण नगरे तपाईं झुठो सावित हुनुहुनेछ र तपाईंलाई पाप लाग्नेछ र मैले पनि तपाईंलाई त्यागेर जानेछु।  

धर्माङ्गद र रानी सन्ध्यावलीले धेरैपटक नजानु भनी सम्झाई बुझाई गर्दा पनि मोहिनी छोडेर जान तयार भइन्। यता राजा रुक्माङ्गद पनि एकादशीका दिन अन्न ग्रहण नगर्ने अडानमा अटल भइरहे। रानी सन्ध्यावलीले मोहिनीलाई भनिन्– ‘महाराजले वचपनदेखि नै एकादशीका दिन अन्न ग्रहण गरेनन्। त्यसैले अन्न ग्रहणका लागि वाध्यता नगर्नु बरु यसको सट्टा अरू कुनै वर माग।’ तर मोहिनी आफ्नै जिद्धिमा अडिग रहिन्।

तब रानीले भनिन्– जो स्त्री आफ्नो कसम दिएर पतिलाई यस्ता गलत काम गराउँछिन्, उसको नरकमा वास हुनेछ। नरकबाट निस्केपछि बाह्र जन्मसम्म सुँगुर र फेरि चण्डालनी हुने छिन्। हे मोहिनी आफ्नो पतिलाई आफ्नो व्यवहारबाट दुःखी बनाउनेलाई सत्र युगसम्म ‘पूय’ नर्कमा बसेपछि पनि सात जन्मसम्म छुचुन्द्रो फेरि काग, स्याल बन्छ र अन्तमा गाई बनेपछि शुद्ध हुने छ।  

तर यतिका कुरा सुनिसकेपछि पनि मोहिनीको विचारमा बदलाब आएन तर उनले एउटा नयाँ शर्त राखिन्, त्यो हो राजा रुक्माङ्गदले आफ्नै हातले आफ्नो पुत्र धर्माङ्गदको शिर काटेर भेट चढाउनुपर्ने वा अन्न खानुपर्ने।

राजा रुक्माङ्गद मोहिनीको नयाँ शर्त सुनेर बेहोश हुन लाग्यो तर आज्ञाकारी पुत्र धर्माङ्गदले आफ्नो शिर र रानी सन्ध्यावलीले पुत्रको वलिदान दिन स्वीकार गरिन्। राजाले एकपटक पुनः धेरै सम्झाए तर मोहिनी आफ्नै हठको अडानमा रहिरहिन्।

आखिर केही सिप नलागेपछी रुक्माङ्गदले तरबार लिएर पुत्र धर्माङ्गदको शिर काट्न तयार भए। धर्माङ्गदले पनि आफ्ना मातापिताको चरणमा शिर राख्दै प्रणाम गरेर भगवान् विष्णुको ध्यानमा मग्न भई आफ्नो शिर झुकाइदिए।

भगवान विष्णुले राजा रुक्माङ्गद, रानी सन्ध्यावली र धर्माङ्गदको धैर्य हेरिरहेका थिए। राजा रुक्माङ्गदको हातमा रहेको चम्किलो तरबारले जसै धर्माङ्गदको घाँटीमा छुनै लागेको थियो। त्यही समयमा भगवान् विष्णु प्रकट भए र राजाको हात समाते। यस्तो अद्भूत दृश्य देवगणहरूले हेरिरहेका थिए।

त्यहाँ सबैले हेर्दाहेर्दै राजा रुक्माङ्गद, रानी सन्ध्यावली र पुत्र धर्माङ्गद भगवान् विष्णुमा सशरीर विलीन भए। पत्थर दिल भएकी मोहिनीले पनि यो सब देखिरहेकी थिइन् तर राजाका पुरोहित वसुले यो सबै देख्न सकेनन् र सङ्कल्प लिँदै जुन मन्त्र पढे, त्यसको प्रभावले ती दुष्ट मायावी मोहिनी त्यहीं भष्म भएर खरानीमा परिणत भइन्। 

प्रकाशित: १८ भाद्र २०७९ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App