३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश नियुक्ति विवादमा रवि- मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् ह'तियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले व्यक्त गरेको असन्तुष्टिलाई चुनौती दिएका छन्।

आइतबार पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले न्यायपालिकाको नेतृत्वबाट आएका अभिव्यक्तिले जग हँसाएको टिप्पणी गरे ।

कामु प्रधानन्यायाधीश मल्लले शनिबार कानुन दिवसका अवसरमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया परम्पराभन्दा बाहिर गएको र असंवैधानिक भएको संकेत गरेकी थिइन्।

त्यसको जवाफ दिँदै लामिछानेले ६ जना न्यायाधीशको नाम सिफारिस हुनु संवैधानिक प्रक्रिया नै भएको दाबी गरे।

‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो र असंवैधानिक भनियो। यदि ६ जनाको साटो वरिष्ठतम् हुने नै व्यवस्था भएको भए सोझै नियुक्ति हुन्थ्यो, संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो,’ सभापति लामिछानेले भने, ‘त्यसरी आएका नामहरूमध्येबाटै हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नुभएको हो। परम्परा भत्काइयो भनिएको छ, यदि पुरानै परम्परामा जाने हो भने त आज त्यहाँ भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो।’

सम्बोधनका क्रममा लामिछानेले आफूमाथि प्रहार गर्न खोज्नेहरूलाई चुनौती समेत दिए। उनले भने, ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार। तर, अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्।’

उनले न्यायालयको गरिमा सडकमा ल्याउन नहुने भन्दै न्याय प्रक्रियालाई नागरिक केन्द्रित बनाउन सुझाव दिए।

उनले न्यायालयभित्रको आन्तरिक खिचातानी र राजनीतिक स्वार्थका कारण न्याय ढिलो हुने गरेको उल्लेख गर्दै कागजमा बन्दी न्यायको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए। ‘आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा अदालत केन्द्रित हुनुपर्छ,’ लामिछानेले थपे, ‘न्याय कागजमा मात्र सीमित नहोस्, यसले व्यवहारमा नतिजा दिनुपर्छ।’

सभापति लामिछानेले रास्वपा सरकारमा रहेसम्म कुनै पनि हालतमा भागबन्डाको राजनीतिलाई प्रश्रय नदिने प्रतिवद्धता समेत दोहोर्‍याए। उनले न्यायालय जस्तो संवेदनशील संस्थामा हुने नियुक्तिहरूमा योग्यता र संवैधानिक मर्मलाई नै मुख्य कसी बनाइनुपर्ने तर्क गरे।

यसअघि उनले पार्टीभित्रको गुटबन्दी, सुकुम्बासी समस्या र आगामी बजेटका विषयमा समेत आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए। उनले सांसदहरूलाई कुनै पनि विवादमा नफसी जनहितका पक्षमा कानुन निर्माणमा लाग्न र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजान सचेत गराएका छन्।

प्रकाशित: २७ वैशाख २०८३ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App