बैंँससहितकोे वयस्क ज्यान
अरे हो कविज्यू !
मलाई बताइदिनुस्-
यो देशमा महिलाहरू कहाँ छन् ?शनिबार दिउँसो चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटको भवनमा युवा कवि सङ्गीत श्रोता 'महिलाहरू कहाँ छन् ?' शीर्षकको कविता सुनाउँदै थिएँ । प्रमुख अतिथिको आसनदेखि राष्ट्रपतिको कार्यलयसम्म पुरुषकै दबदबा रहेको कुरा उनको कविताले बोलिरहेको थियो । दर्शकदीर्घाबाट समर्थनमा गडगडाएर ताली बज्यो । पुरुषप्रधान नेपाली समाजप्रति उनको कविताले तीखो व्यंग्य गरेको थियो ।
अखिल नेपाल लेखक सङ्घ, चितवनले त्यहाँ कवि सङ्गीतको एकल कविता वाचन कार्यक्रम आयोजना गरेका हो । जहाँ सङ्गीतले आफ्ना १७ वटा कविता वाचन गरेर सुनाए । उनी दर्जनजति कविता सुनाउने तयारीका साथ त्यहाँ पुगेका थिएँ । तर, दर्शकको बलियो आग्रहपछि उनले थप कविता सुनाएका थिए । उनले आमाले दिएको आर्शीवचनलाई पनि 'हतारहतारमा यात्रा'कवितामार्फत सम्झिए:
म आज यहाँ आइपुगेको छु, यो सहरमा
हतार–हतारमा
र, यति बेला पनि झल्झली सम्झिरहेको छु मैले
आमाको आशीर्वचन
'हतारमा यात्रा गर्दा धेरै नहडबडाउनू कान्छा !'
सशक्त कविका रूपमा चिनिएका सङ्गीतको 'टाउको' कविता सशक्त सुनियो ः
प्रिय साथी !
मलाई एउटा प्रश्न गर्न मन छ–
कतै रातारात तपाईंले आफ्नो टाउको
कुनै ठेकेदारलाई बेचिसक्नुभएको त होइन ?
सङ्गीतको 'सुई' कविताले आजको मान्छे र परिवेशले भोगेको पुँजीवाद र बजारको कठोर यन्त्रणालाई व्यक्त गरेको थियो ।
प्रिय सुनकला ! तिमीले चिन्यौ ?
को हो यो युगलाई सुई हान्दै हिंड्ने डाक्टर ?
र कसले गरिरहेछ यहाँ
उज्यालोको खुद्रा व्यापार ?
के त्यो एउटै मान्छे हो ?
कार्यक्रममा सङ्गीतले 'हेडसर–वसन्ती', 'मुस्कान', 'समय सन्नाटा', 'कनेक्सन', 'अगने कामी', 'झोला', 'इच्छुकको इमेल', 'हतारहतारमा यात्रा', 'अभि सुवेदी ः एक देब्रे ढल्कुवा उपसर्ग', 'मोदनाथ प्रश्रितको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरू' आदि शीर्षकका कविता पनि सुनाएका थिएँ । गायन तथा सङ्गीत सिर्जनामा समेत राम्रो दख्खल राख्ने उनले सहभागीको आग्रहपछि 'मै उडी जाने काँ' बोलको गीत गाएर माहोललाई झंकारयुक्त बनाएका थिए ।
कविता वाचन सुरु हुनुअघि कवि उदय अधिकारीले सङ्गीतको व्यक्तित्व र कविताका बारेमा बोलेका थिए । उनले सङ्गीतलाई विचारको तीव्रता भएको कविका रूपमा चिनाए । 'कविसँग समसामायिक चेतना हुनुपर्छ', उनले भने, 'त्यो सङ्गीतमा पाइन्छ । उनको कवितामा समयको आवाज प्रखर रूपमा आएको हुन्छ । उनका कविताहरूले समयको कथा भन्छन् ।'
त्यस्तै, कविता वाचनको अन्त्यतिर कवि विनोदविक्रम केसीले सङ्गीतका कवितामाथि टिप्पणी गरेका थिए ।
कवि केशव सिलवालले कार्यक्रममा सङ्गीतको 'कुर्कुच्चा' शीर्षकको कविता वाचन गरेका थिए । उनको कविता सुन्न काठमाडौँबाट समीक्षक गुरुङ सुशान्त, लेखक उज्ज्वल प्रसाईं, अनुसन्धाता चिरन मानन्धर, पत्रकार राजन नेपाल, लेखक वन्दना ढकाललगायत चितवन पुगेका थिए । कलाकारद्वय अकृन अधिकारी र महेश बस्ताकोटीले सङ्गीतका कवितामा आधारित रहेर वाचनस्थलमा चित्र कोरेका थिए ।
उनको कवितावाचनअघि त्यही हलमा कवि सुमनराज श्रेष्ठलाई साहित्य संगम चितवनले गणेश तथा हस्तकुमारी(लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार २०७२ प्रदान गरेको थियो । श्रेष्ठको 'सपनाहरूको ह्याङओभर' कवितासंग्रह पुरस्कृत भएको हो । उनका कवितामाथि कविद्वय भूपिन र सरिता तिवारीले टिप्पणी गरेका थिए ।
प्रकाशित: १० माघ २०७२ ०४:०० आइतबार





