'फरक खालको कथा र पात्रहरु उठाएर फिल्म बनाउने प्रयास गरेको छु,' निर्देशक थापाले भने, 'मेरो प्रयासमा कलाकार तथा प्राविधिकले मिहेनत गरेका छन्।'
ऋचा शर्मा, सुवास थापा, सुशांक मैनाली, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरी, सुदाम सिके, सुलक्षण भारती, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहेको 'को आफ्नो'को छायांकन शैलेन्द्र डि कार्कीले गरेका हुन्।
'फिल्मको छायांकन एकदमै व्यवस्थित थियो, त्यसैले फिल्मको काम पूर्वनिर्धारित समयसीमाभित्रै सकिएको थियो,' छायाँकार कार्कीले भने, 'निर्देशकजीले सानासाना पक्षमा समेत रिसर्च र मिहेनत गर्नुभएको छ।'
यो वर्ष 'टलकजंग भर्सेस टुल्के'बाट उत्कृष्ट अभिनेत्री विधामा नेसनल फिल्म अवार्ड पाएकी ऋचा शर्माले 'को आफ्नो'मा आफूलाई अर्कै रुपमा प्रस्तुत गरेकी छन्। मेकअप आर्टिस्ट दिपु पौडेलले ऋचाको रुप बदल्न सघाएका हुन्। 'अभिनेत्री राम्री नै देखिनुपर्छ भन्ने मान्यता छ, त्यसलाई हामीले यसमा तोड्ने प्रयास गरेका छौं,' ऋचाले भनिन्, 'मैले मेकअपमात्र होइन आफ्नो अभिनयमा पनि फरकपन ल्याउन मिहेनत गरेको छु।'
प्रकाशित: ६ माघ २०७२ २३:३५ बुधबार





