९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

ढाकामा 'तान्द्रो' को अन्तर्राष्ट्रिय प्रिमियर

ढाका— निर्देशक साम्तेन भुटियाको फिल्म 'तान्द्रो' बंलगादेशमा आयोजना भइरहेको ढाका अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको छ । सोमबार शाहबागस्थित पब्लिक लाइब्रेरीको सभागृहमा माओवादी जनयुद्धको सेरोफेरोमा आधारित फिल्म 'तान्द्रो'को प्रिमियर गरिएको हो।विभिन्न देशका फिल्मकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार र कलाकारहरूले माओवादी गंगाबहादुर लामा कोशिशको पुस्तक 'स्मृतिका डोबहरु' माथि आधारित 'तान्द्रो' फिल्मको प्रिमियरमा सहभाी थिए। यो फिल्मले ढाका अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत अष्ट्रेल्सिया प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। नेपाल, बंगलादेश, भारत, इराक, जापान र थाईल्यान्ड सहित २० वटा फिल्म यस विधामा सहभागी छन्।

'महोत्सवमा नेपाली फिल्मको प्रिमियर गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो। संसारभरका फिल्महरूलाई फिल्महरूलाई समेट्न लागि परेका छौं', महोत्सव निर्देशक अहमद मुस्तबा जमालले भने,'मानिसहरूलाइ नेपालमा राम्रा फिल्महरू निर्माण हुन्छन् भन्ने कुराबारे जानकारी गराउन हामीले महोत्सवमा नेपाली फिल्महरूलाई प्राथमिकता दिइरहेका छौं।'

गत चैतमा सुटिङ सिध्याएको यो फिल्ममा जीवन र मृत्युबीचका अवस्थाको चित्रण छ। माओवादी जनयुद्धको घटनामा आधारित 'तान्द्रो' को स्क्रिप्ट उपेन्द्र सुब्बाले लेखेका हुन्। जनयुद्धमा होमिएका छापामार कमरेड कोशिशको चार दिनको कथालाई फिल्ममा केन्द्रित गरिएको छ ।

जनयुद्धमा २२ जना सदस्यको सांस्कृतिक टोलीको नेतृत्व गर्दै हिँडेको कमरेड कोशिशको भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन्। टोलीको नेतृत्व गरेर हिँडेका अभिनेता दयाहाङले फिल्ममा राजनीतिक आस्था र कलालाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेका छन्। सेनाको गोली लागेर घाइते भएका कमरेड कोशिशले, घेरामा पर्दा दुई साथीहरुको मृत्यु भएको परिस्थिति फिल्ममा छ । क्रान्तिको भूत चढे पनि चिसोमा ५६ घण्टा बिनापानी र ९४ घण्टापछि बल्ल खाना पाएको अवस्था र मृत्युको अगाडि गोली लागेको पीडा फिल्ममा प्रस्तुत गरिएको छ ।

'महोत्सवमा सहभागी हुनु मेरो लागि नयाँ खुड्किलो उक्लिनु हो, यस फिल्मले अझ राम्रा प्रतिक्रिया पाउने छ र लगानी सुरक्षित गर्नेछ,'निर्देशक साम्तेन आशावादी देखिए।

ढाकामा वल्र्ड प्रिमियर भएको फिल्मलाई अन्य फिल्म फेस्टिभलमा लैजाने उनले सुनाए।

२५ दिने फिल्मको सुटिङ लमजुङमा सिध्याइएको थियो । फिल्म दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, बुद्धि तामाङ, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेल, सृजना अधिकारी, जुनु बिष्ट, बाल्मिकी पोखरेल, शारदा अधिकारी, आर्जेश रेग्मी, शान्ति लामा, सुरज यादव, सपना खत्री, सुदाम सिके, सम्रान्त थापा, सुरेश कार्की र प्रनिशा खड्का लगायतले अभिनय गरेका छन् । फिल्ममा आधा सुरले संगीत दिएको छ।

यो महोत्सवको चौथौं संस्करण हो । फिल्महरूले एसिया र अष्ट्रेलियन सेक्सन अन्तर्गत रिट्रोस्पेक्टिक, सिनेमा अफ वल्र्ड, नोर्डिक फिल्म सेसन, चिल्डेन्स् फिल्म, सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसन, वमन फिल्म मेकर र आध्यात्मिक फिल्म्स् सेक्सन विधामा फिल्महरुले प्रतिस्पर्धा गर्दैछन् ।

कमारो प्रर्दशन

महोत्सव अन्तर्गत सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसनमा सहभागी निर्देशक अरूण जोशीको फिल्म 'कमारो' सोमबार प्रदर्शन भएको थियो। अवधीभर ६० देशको एक सय ७० वटा फिल्महरू प्रर्दशन हुनेछन्।

महोत्सवमा नेपालको प्रतिनिधि गरिरहेको फिल्म 'तान्द्रो' को प्रिमियर सहित 'सुनाकली', 'कमारो' र 'टकिङ टु द ऐयर' र सहभागी भएका छन्।

महोत्सवमा सिनेकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार र कलाकारहरू सहभागि भएका छन्। 'राम्रो फिल्म, राम्रो दर्शक र राम्रो समाज' भन्ने नारासहित गत बिहीबारबाट सुरू भएको महोत्सव आगामी माघ ८ सम्म चल्नेछ।

प्रकाशित: ४ माघ २०७२ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App