७ वैशाख २०८१ शुक्रबार
कला

बल्झिरहने ‘सइन’माथि प्रेमको मलम

पुस्तक

हाम्रो साहित्यले इतिहासका अधिकांश घटनालाई त्यसै बगेर जान दिन्छ। फ्याट्टफुट्ट आएकाबाहेक हामीकहाँ ‘ऐतिहासिक’ भनिने साहित्यको सङ्ख्या ज्यादै कम छ। आज पनि सार्थक ऐतिहासिक आख्यानको कुरा गर्दा, डायमन शमशेरको नाम लिइसकेपछि अकमकिन्छौं र पुनः फ्याट्टफुट्टको जोडघटाउतिर लाग्छौँ। त्यसैले, हाम्रो साहित्यले इतिहासको दिग्दर्शन खासै गर्न सकेको पाइँदैन। अलिकति जुन आएका छन्, ती पनि ऐतिहासिक पक्ष, विचार वा दृष्टिकोणको पृष्ठपोषणको बोझबाट ग्रसित छन्।

जनयुद्धको हकमा पनि करिबकरिब यस्तै भयो। केही पूर्व छापामारहरूले लेखे, जसमा कि जनयुद्धलाई ‘महान्’ घटनाको रूपमा चित्रण गरियो, कि अयोग्य भनिएका लडाकुहरूको भँडासको रूपमा चित्रण गरियो। अर्कापट्टि, जनयुद्धका घोर विरोधीहरूले युद्ध विकसित हुनुका जमिनी यथार्थको सटिक विवेचनाभन्दा पनि आफ्नो मार्क्सवादविरोधी, माओवादविरोधी र युद्धविरोधी भावनाको सन्धानका लागि लेखे।

तेस्रा लेखक यस्ता आए, जसले युद्धभित्रको अन्तरकथा कतै देखेनन् वा प्रत्यक्ष भोगेनन् र सबै कुरा कल्पनाको आकाशबाटै उठाएर लेखे। त्यसैले, नेपाली साहित्यले आजसम्म पनि माओवादी द्वन्द्वको सटिक र विश्वसनीय आख्यानीकरण गर्नै सकेको देखिँदैन।

यसैबीच केही समयअगाडि नेपाली बजारमा प्रवेश गरेका यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ ले चर्चा बटुलिरहेको छ। साइन या निखिल पल्टेको र बल्झिरहने, कहिल्यै निको नहुने घाउ। यो सइन, मूलतः जनयुद्धले दिएको घाउ हो हुनलाई तर त्यसभन्दा बढी, जनयुद्धमा देखाएका सपनाका स्खलनले जन्माएको निराशाको घाउ हो।

‘सइन’को कथा एउटा हवाइयात्राबाट सुरू हुन्छ। देशमा भविष्य नदेखेर खाडी जान लागेका दुई अन्जान पुरुषयात्री विमानमा एउटै लहरका दुई सिटमा बस्न पुग्छन्। कुरा गर्ने क्रममा एउटा यात्री निशान पूर्व सैनिक भएको जानकारी आउँछ। जनयुद्धताका आफ्नी प्रेमिका साधना, कमरेड निशाको छद्म नामबाट छापामार भएको, कालीकोटको पिली सैनिक ब्यारेकमा थिनिसासमेत सामेल भएको माओवादी समूहले आक्रमण गर्दा निशान घाइते र बन्दी भएको र साधनाकै सहयोगले कसोकसो बन्धनबाट भागेर ज्यान जोगाएर हिँडेको सत्य खुल्छ।

अर्को प्रसङ्गमा, अर्को भिडन्तमा पुनः निशान र साधना एकअर्काको सामु आएका र भाग्ने क्रममा निशाले आफ्नो हातमा रहेको एउटा रातो डायरी कतै छोडेर ज्यान जोगाएर भागेको देखिन्छ। उक्त डायरी निशानले भेट्टाएको छ। साधना आफू कसको करकापमा, कुन परिस्थितिमा र कसरी इच्छाविपरीत छापामार भई र आफ्नै प्रेमी निशानलाई दुस्मनसरह आक्रमण गर्नुपर्दा कस्तो मनोद्वन्द्वबाट ग्रसित भई। त्यस कुरालाई सचित्र उतारिको छ। डायरीमा कतै लेखिएको छ– ‘यो डायरी मेरा लागि निकै महत्त्वपूर्ण छ। यदि मैले कतै हराएँ र कसैले भेट्नुभयो भने कृपया मलाई बुझाइदिनुहोला।’

जनयुद्धको समाप्तीपछि, सायद अयोग्य घोषित भएकी साधना साउदीतिर गएको सूचना निशानसँग छ। उनलाई त्यो डायरी फिर्ता गर्ने मूल हेतु र उतै साधनासँग पुनः भेट्ने र प्रायोजित दुस्मनी बिर्सेर प्रेमको जगमा पुनः नयाँ जीवन सुरु गर्ने उसको अर्को ध्येय छ। सिद्धान्त, द्वन्द्व र तर्कभन्दा हजारौँ कोस माथि देखिन्छ प्रेम। त्यसैको सन्धानका लागि निशानले घरदेश छोडेरै भए पनि आफ्नो प्रेमको अनुष्ठान पूरा गर्ने अठोट लिएको छ।

रातो डायरीमा साधनाको कथा छ। अन्जान सहयात्रीलाई उक्त डायरी पढ्न दिनुभन्दा अगाडिको संवादमा निशानको आफ्नो कथा छ। धादिङ र नुवाकोटको सङ्गमतिरको पीपलगाउँको ठिटो निशान, गरिबीको चक्रबाट मुक्तिको खोजीमा थियो। समय यस्तो छ कि गाउँमै बसौँ भने माओवादीले समातेर जबर्जस्ती जनसेनामा भर्ती गरिदिने वा मारिदिने डर।

सहर गएर बसौँ वा पढौँ, आर्थिक ल्याकतले धान्दैनथ्यो। यस कठिन समयबाट मुक्तिका लागि निशान बाआमाको इच्छाविपरीत नेपाली सेनामा भर्ती भएको हो। ऊ भर्ती भएर जाँदा उसकी बालसखा र प्रेमी साधना गाउँमै थिइन्। तालिमपछि निशान कालीकोटको पिलीब्यारेकमा खटाइन्छ। यता साधना करकापमा परेर जनसेनामा सामेल भएकी छ।

केही समयपछि निशान खटेको पिलीब्यारेकमा माओवादीले आक्रमण गर्छन्। आक्रमणको अग्रमोर्चामा खटिएकी साधनाले निशानलाई चिन्छे। दुई प्रायोजित दुस्मनको बीचमा उभिएको प्रेमको बल यति उच्च छ कि साधना कुनै पनि हालतमा निशानमाथि गोली चलाउन सक्दिन। बरू उसलाई बन्दी बनाउन सकियो भने उसबाट सेनाका धेरै गोप्य कुरा फुत्काउन सकिन्छ भन्ने तर्कले बन्दी बनाउनतिर लाग्छे। वास्तवमा, बन्दी भएको अवस्थामै निशानलाई भगाउनु उसको ध्येय छ, जसमा ऊ सफल पनि हुन्छे।

माओवादीको बन्धनबाट रातारात भागेको निशान अनेक त्रासका बीच गाउँ फर्किन्छ। बाटोमा बुबालाई मनपर्ने चुरोट र आमालाई मनपर्ने रातो साडी किनिदिने यसको सपना छ। धादिङ बेँसीको एउटा पसलमा यिनै सामग्री किन्छु भन्ने उद्देश्यले ऊ पस्छ। संयोगले उक्त पसल उसैको बालसखा किसानको हो, जसको भाइ माओवादी र सेनाको भिडन्तमा मारिएको थियो। निशानलाई देख्दा आश्चर्यचकित भएको किसान सुनाउँछ-निशान कालीकोटको भिडन्तमा मारिएको खबर छ गाउँमा। उसको किरिया गर्न बसेका उसका बाउलाई माओवादीले कोरामै मारे। आमा विधवा भएकी छन्। गाउँ जाने बाटाभरि छापामार छन्। गाउँ जानु उचित छैन।  

चुरोट मन पराउने बाउ मारिए। रातो साडी लाउँछु भन्ने आमा विधवा भइन्। यी दुवै चिज किन्नुको कुनै औचित्य छैन। तर पनि, मर्नैपरे आमालाई भेटेरै मर्छु भन्ने अठोट लिएको निशान, बाटैभरि छरिएका छापामारको केरकार र निगरानी छल्दै घर पुग्छ। पुनर्जन्मको प्रक्रियाबाट गुज्रिन्छ। आमा र आफन्तलाई सुटुक्क भेट्न, पुनः कालीकोट फर्कन्छ। कालीकोटमा ऊ बाँचेर आएको देखेर उसका ब्यारेकका सबै छक्क पर्छन्।

समय क्रममा सायद निशानलाई पनि बोध भएको छ-घर, परिवार र प्रेम, सबै कुराको तिलाञ्जली दिएर जुन उद्देश्यका लागि ऊ सेनामा भर्ती भएको छ, त्यो उद्देश्य पूरा हुने कुनै पनि सम्भावना छैन।

अन्ततः ऊ विदेशतर्फ हान्निएको छ। उपन्यासको उत्तरार्धमा खुल्छ-ऊसँगै यात्रा गरिरहेको अन्जान पुरुष पूर्वछापामार हो। सेना समायोजनताका ऊ सायद अयोग्य घोषित भएको छ र तिक्तताको अनुभवसहित देश छोडेर विदेशतिर लम्कँदै छ। संयोग हो-एउटा पूर्वसैनिकले एउटा पूर्व छापामारलाई उही परिस्थिति र एकै मनस्थितिका बीच मनपेट फुकाएर सबै कुरा खुलस्थ पारेको छ। यात्राको अन्त्यमा पूर्वसैनिकको छुटेको प्रेम भेट्टाउन र अगाडिको बाटो सहज बनाउन आफूलाई पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता एउटा पूर्व छापामारले दिइरहेको छ।

निशानको कथा लेख्नेले साधनालाई खलपात्रको रूपमा प्रस्तुत गरिदिन्छन्। साधनाको कोणबाट लेख्नेले निशानलाई खलपात्र बनाइदिन्छन्। समय र यथार्थको तटस्थ कोण पहिल्याउने थोरै लेखकहरू दुवैलाई समयले खडा गरेको अस्तित्वको कुचक्रमा विवशतावश फसेका निरीह पात्रका रूपमा अर्थ्याउँछन्।

हो, यही कोण हो, आख्यानकार यात्रीप्रकाश पाण्डेको। युद्धको आवरणमा बुनिएको यस कथामा एउटा समयातीत कुराको बोध छ। सो के भने, तर्कहरू आउँछन् जान्छन्। तिनै तर्कको बुई चढेर आउने युद्धहरू पनि आउँछन्–जान्छन्। भ्रमहरूको डङ्गुरमा उभिएका हामी तिनै तर्कनिस्रित युद्धहरूमा मर्छौं, मार्छौं र यसो गर्नुको निरर्थकता त्यो बेला मात्र बुझ्छौँ, जुन बेला जीवन र जवानीको अमूल्य समय घर्किसकेको हुन्छ।

सेना र छापामार कसैको पक्ष वा विपक्ष नलिई, कसैको गरिमाण्डन वा भर्त्सना नगरी, दुवैतिरका आँसु–हाँसो, रहर-बाध्यता, प्राप्ति र क्षतिलाई समदूरीबाट आख्यानीकरण गर्ने पाण्डेको ‘सइन’को सन्देश छ-यी तमान तर्कहरूले हामीलाई विभाजित गर्छन्। जस्तै दुस्मनीका बीच पनि मनमुटु जोड्ने कुनै तन्तु छ भने त्यो प्रेम हो। त्यसैले, द्वन्द्वको आवरण, सइनको बल्झाइ र संयोगहरूको बुनियादमा उभिएको यो उपन्यास एउटा उत्कृष्ट प्रेमउपन्यास हो।

ध्यान दिनुपर्ने केही पक्ष भने अवश्यै छन्। छापामारले आमजनतालाई दुःख दिइरहँदा सेनाको पेलाइको मार पनि जनताले नभोगेका होइनन्। सेनापक्षबाट बेपत्ता बनाउने र मारिने काम पनि भएको हो। त्यो पाटो त्यति आएको देखिँदैन उपन्यासमा।

दोस्रो, उपन्यासको अन्त्यमा सबै प्रमुख पात्र पलायनमुखी भएका छन् र देश छोडेर हिँडेका छन्। यसले इतिहासको उपज वा उपलब्धिलाई हेर्ने आम दृष्टि नै पलायनवादी छ भन्ने सन्देश दिन्छ, जो सर्वथा गलत हो।

तेस्रो, सबै कुरा कथामार्फत् भनिसकेपछि त्यसको अर्थ र निचोड पनि समाख्याताकै शब्दमा पाण्डेले कथाभित्रै राखेका छन्। यथार्थको चित्रण गरेपछि अर्थ र निचोड निकाल्ने काम पाठकको होइन र? पृ. २९८ मा जस्तो भन्नुपर्दैनथ्यो सायद-‘आफ्नाआफ्ना नै लडेका रहेछौँ आपसमा। लड्नै नहुने दाजुभाइ, नातागोता आपसमा लडेका रहेछौँ। टुट्नै नहुने सम्बन्धहरू टुकेका रहेछन्।’ कि उपन्यासकार पाण्डेलाई पाठकको बौद्धिक क्षमतामाथि विश्वास छैन? यतातिर पनि ध्यान पुर्‍याउनु जरुरी छ। 

प्रकाशित: ११ असार २०७९ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App