२ भाद्र २०७९ बिहीबार
कला

‘अभिवन्ध’को राग

पुस्तक

साहित्यिक कर्मलाई दुःखको कर्म भन्नेको कमी छैन। सँगसँगै साहित्यकर्मी प्रतिवन्दनीय हुनेको पनि कमी छैन। स्रष्टालाई राष्ट्रको गहनाका रूपमा पनि हेर्ने गरिन्छ। जहाँ दुःख छ, त्यहीँ सुख पनि छ। त्यसैले साहित्य सुखको क्षेत्र हो भन्दा फरक नपर्ला।

कर्म मान्छेको आराधना हो, साधना हो। साहित्यमा साधनारत स्रष्टाहरू आफूलाई सिर्जनाकै आराधनामा डोर्‍याइरहन्छन्। यही कर्मलाई अँगालिरहेका स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ पनि एक हुन्। उनी साहित्य र स्रष्टालाई प्रेम गर्छन्। प्रेम पनि एक वन्दनीय ढंगबाट गर्छन्। जसको ज्वलन्त प्रमाण हो-‘अभिवन्द्य’, जुन भर्खरै प्रकाशित उनको नवीनतम कृति हो।

स्रष्टा राष्ट्रको गहना हो। पाठकका प्रिय हुन् र यी सबै वन्दनीय हुन्छन् भन्ने उदाहरण यिनै स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’को ‘अभिवन्द्य’ निबन्धसङ्ग्रहबाट प्रस्ट हुन्छ। उनले यो निबन्धसङ्ग्रह स्रष्टाको वन्दनीयतासँग तुलना गरेर सिर्जना गरेका छन्। उनको यो सङ्ग्रह पढ्दा पाठकले पहिले नै बुझ्ने कुरा हो। उनले आफूले नजिकबाट बुझेका र सत्संग गर्न पाएका स्रष्टाको भावनात्मकतालाई नजिकबाट चित्रण गर्न पाएका छन्। कलात्मक ढंगबाट गरिएको वन्दना पनि सुमधुर हुने रहेछ भन्ने एक उदाहरण हो ‘अभिवन्द्य’।

नेपालका मूर्धन्य प्रतिभाहरू सिद्धिचरण श्रेष्ठ, डायमन शमशेर राणा, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्यजस्ता स्वनामधन्य स्रष्टाहरूलाई शब्दको माध्यमले पुज्नका लागि तयार भएका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ले आफ्ना भावमय शब्दले धन्यधन्य तुल्याएका छन्।

साहित्यमा लामो समयदेखि जीवन खर्चेका लेखक श्रीओम स्रष्टालाई आदर र प्रेम गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको प्रस्ट भएको छ। उनको लेखनको यात्रामा भेटिएका, सङ्गत गरेका स्वनामधन्य स्रष्टाहरूलाई आफूले बुझेसम्मको आधारमा निबन्धको माध्यमले जीवन्त बनाउने प्रयास गर्नु पनि एक सफल र महान् कर्म रहेको बुझ्न सकिन्छ। यो कदमलाई कम आक्नु पनि कमजोरी हुन जान्छ। आखिर लेखकले आफ्नो तर्फबाट सबल आँट गरेरै छाडेका छन्।

बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, बालकृष्ण पोखरेल, तेजेश्वर बाबु ग्वंगः, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्ट, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्लजस्ता साहित्य, रंगमञ्च र समाजसेवाका अग्रणीहरूलाई सप्रेमभावले शब्दको मालामा उनेका छन्। इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, धु्रवचन्द्र गौतम, मञ्जुल, शशी भण्डारी, क्याप्टेन जनकबहादुर राणा, मदनदास श्रेष्ठ, डा. बिहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, चिन्तामणि योगी, डा. हरिप्रसाद पोखरेल, रमेश श्रेष्ठजस्ता योगदानीहरू छन्। जसलाई एउटै पुस्तकमा सजिलैसँग पढ्न पाउनु पाठकका लागि पनि सहज नै लाग्ने छ।

नेपाली साहित्यमा पुस्तान्तरले ठूलो प्रभाव पारेको पाइन्छ। एक पुस्ताले अर्काे पुस्तालाई  महत्त्वका साथ स्थान नदिने चलन चलिआएको पाइन्छ। तर, लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ यो दोषारोपणबाट टाढा छन्। उनले पुस्तागत हिसाबले हजुरबा पुस्तादेखि समकालीन पुस्तालाई समेत प्रतिभाको रङमा डुबुल्की मारिरहेको र नेपाली साहित्य, कला क्षेत्रमा विशेष योगदान दिएका सन्दर्भहरूलाई नवीन भाषा र शैलीबाट पाठकसामु प्रस्तुत गरेका छन्।

नयाँ पुस्तालाई हम्मेसी लेखक, समीक्षकहरू चिनाउन खोज्दैनन्। तर निबन्धकार श्रीओम नयाँ पुस्तालाई समेत उनीहरूको योगदानको कदर गर्दै आफ्नो निबन्धको मोहजालमा पाठकलाई सयर गराउन खोज्छन्। पुस्तकको चाखलाग्दो विशेष पक्ष यो पनि हो।

उनको भनाइ छ-‘अट्नुभएको छ एकचालीस जना ‘अभिवन्द्य’ मा। हुनुहुन्छ अझ धेरै सम्मान गरेकाहरू। छुट्नुभएको छ पर्नुपर्ने नाम पनि। छन् इच्छाले लेखेका धेरै। छन् केही आवश्यकताले। छन् केही अनुरोधले पनि।’ उनको यो भनाइमा आफ्नै पन छ, सादगीपन छ। लेखकहरूमा हुने भावनात्मक गन्ध पनि झल्किएको छ। उनको यो भनाइले ‘अभिवन्द्य’ मा रहेका एकचालीस वन्दनाहरू कसरी लेखिएका हुन्, त्यसको खुलासा हुन्छ।

‘अभिवन्द्य’मा उनी अलग पहिचान र स्वभावका साथ अघि सरेका छन्। उनको बेग्लै शैलीको रूप र स्वरूप देखिन्छ जुन उनको निजी हो। यसमा उनको निजत्व छ, बेग्लैपन छ। जसले उनलाई निबन्ध लेखकको भीडबाट अलग स्थापित गर्दछ। यस कुरामा विमति जनाउन आवश्यक पनि छैन। बजारको भीडको लेखाइभन्दा भिन्न स्वभावको यो निबन्धले पाठकलाई नयाँ स्वाद दिने नै छ।

यो कृतिले आजका नयाँ पुस्तालाई समेत प्रेरणा र ऊर्जा दिने कुरामा दुई मत छैन। लेखनले पुराना र नयाँ पुस्ताबीच सम्बन्ध प्रगाढ बनाइरहने छ भन्ने ज्वलन्त उदाहरण यस कृतिले प्रस्तुत गरेको छ। त्यसैले पूर्ववर्ती अग्रजको योगदानको यसमा उच्च कदर गरिएको छ। यसकारण साधना गरे सही मूल्याङ्कन भइरहनेछ भन्ने सन्देश पनि यस कृतिबाट लिन सकिन्छ। एकचालीस प्रतिभा समेटिएको यो निबन्धसङ्ग्रहले एकचालीस प्रतिभाको अभिवन्दना गरेको छ भन्दा फरक नपर्ला। भूमिकामा तेजेश्वर बाबु ग्वंगःले श्रीओम श्रेष्ठको समेत अभिवन्दना गरेको भेटिन्छ।

यसरी हेर्दा लेखन क्षेत्रले जुराएको वन्दनालाई पाठकले पनि उसै गरी रुचाइदिने हो भने लेखकहरूले यसैगरी प्रेरणाका स्रोत व्यक्तिहरू खोजीखोजी आफ्नो निबन्धमा शब्दको मालाले पुजिरहने छन्। 

प्रकाशित: ११ असार २०७९ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App