३१ श्रावण २०७९ मंगलबार
कला

अब आँसुले नभिज्ने चिठी

कथा

प्रिय कमरेड,

तपाईं दुस्मनको घेरामा परिसक्नुभएको थाहा पाएर म कति धेरै हतास भएको थिएँ। लागेको थियो, तपाईंसँग म नि हुन्थेँ त अवश्य बचाउने थिएँ।

कमजोर बनेर रुने, आत्तिने समय थिएन। जे भए पनि अरू सहयोद्धा कमरेडहरू जोगाउनुथियो। आफ्नो प्रिय कमरेड पक्राउ परेको थाहा भएपछि पूरै साथीहरू आत्तिनुभएको थियो।

तपाईं साथ नभए पनि तपाईंको सपना हामीसँगै थियो।

प्रिय कमरेड,

एकोहोरो फायरिङ भइरहेको थियो, हामी त्यो सेल्टरबाट मुभ भइसकेका थियौं। सहयोद्धा कमरेडहरू एक हातले आँखा पुछिरहनुभएको थियो। त्यो दृश्यले मेरो मन कटक्क भएको बयान म कसरी गरौं? तपाईंको सबैसँग अपनत्व निभाउने र निश्चल व्यवहार सधैंभरि अभाव बनेर खट्किरहनेछ।

एउटा अनिश्चित आशा लिएर म कमरेडहरूसँगै हिँडिरहेको थिएँ, तपाईंलाई बचाउन नसकेको ग्लानि बोकेर। म बाँचुन्जेल यो तितोपन हृदयमा दुखिरहने छ।

माफ गर्नुस् है! प्रिय कमरेड,

सायद अब हाम्रो भेट हुुन सक्छ या सक्दैन? तपाईं जेलमा हुनुहुन्छ। एक प्रकारले मन ढुक्क हुन्छ तर आशङ्का छ, जेल सार्ने बहानामा राज्यसत्ताले जे पनि गर्न सक्छ तर त्यस्तो नहोस्! हामी कस्तो समयको परीक्षा घडीमा छौं है? निराश नहुनुस् ती जन्जिर एक दिन अवश्य तोडिने छन्, जनताको बस्तीमा रातो घाम अवश्य लाग्ने छ।

प्रिय कमरेड,

बाहिर एकदमै प्रतिकूल छ अवस्था, दुस्मनको कारबाही बढेको बढ्यै छ। साथीहरू सहिद हुनुभएको छ दिनदिनै! कहिलेकाहीँ तपाईंको साथ र शब्द, सपनाको साह्रै खाँचो पर्छ प्रिय कमरेड! साथीहरूको भिडमा पनि म एक्लै छुजस्तो लाग्छ मलाई। सायद यो मेरो मन केही क्षण भड्किएको हो। हामी पनि मान्छे हौं नि! होइन र? मन छ, दुख्छ, खुसी हुन्छ बेलाबखत। यस्तै कुराले मन बन्दी बन्छ।

प्रिय कमरेड,

तपाईंसँग हिँडेका बाटाहरू कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ। मनमा साह्रै पीडा हुन्छ। नयाँबजारको डाँडामा साथीहरूसँग बसेर क्रान्तिका गीत गाउनुभएको सम्झेर हृदयमा भक्कानो छुट्छ, तपाईंको स्वर कानमा गुन्जिन्छ।

‘सहिदहरू हाँसिरहेको, बोलिरहेको

देखेँ मैले रातो अक्षरमा...

गैरीगाउँको बजारैमा, सहिद गेटैमा... !’

तपाईंको साथ, सपनाको महत्त्व कति रहेछ मेरो जीवनमा। अहिले बुझ्दै छु। तपाईंसँग छुट्टै आत्मीयता गाँसिएको रहेछ। मान्छेलाई जहाँ, जुनसुकै अवस्थामा पनि एउटा आत्मीय साथी चाहिने रहेछ। तपाईं बन्दुक बोकेर पनि समाजमा प्रेम र सद्भावको गीत गाउनुहुन्थ्यो। परिवर्तन अरूले ल्याइदिने कोसेली होइन, आफैले आर्जन गर्ने अमूल्य वस्तु हो भन्नुहुन्थ्यो। जबरजस्तीले गरिने काममा कहिल्यै स्थायित्व हुँदैन भन्नुहुन्थ्यो। आखिर हो रहेछ। म अहिले एकदमै थकित अवस्थामा छु।

प्रिय कमरेड, किन थाकेँ? कसरी थाकेँ? आफैलाई प्रश्न गर्छु, जवाफ पाउन सकेको छैन। यदि तपाईंसँगै हुनुभएको भए जवाफ तपाईंको के हुन्थ्यो होला?

आजलाई यत्ति।

प्रिय कमरेड, लालसलाम!

म सास रोकेर पढ्दै छु यी शब्दहरू। चन्द्रगढी जेलको गर्मी, फोहोर र अत्यासलाग्दो वातावरणले झन् कठिन बनाएको छ मलाई। आमाले ल्याइदिनुभएको चाउचाउको प्याकेटभित्र आएको चिठीले झन् मलाई उथलपुथल बनाएको छ। कमरेड आकाशले कति जतनले पठाउनुभएको रहेछ चिठी। हृदय नै हल्लायो। म केही हतास पक्कै बनेकी छु। 

चिठीको भावले म आत्तिएकी छु। आकाश कमरेडका प्रत्येक शब्दले अत्यायो। म यो कुरा कसलाई सुनाउन सक्थेँ र? चार महिनाको अन्तरालमा आमा मलाई जेलमा भेट्न आउनुभएको थियो। हतास, निराश आमालाई देखेर मेरो आँखामा आँसु पनि रसाएन, आमा रुनुभयो, म रुनै सकिनँ। आमाले टिठलाग्दो नजरले मलाई हेर्नुभयो। मलाई पनि अचम्म लाग्यो, आँखामा आँसु नआएको देखेर।

रुन पनि कति रुनु? दुई वर्ष भैसक्यो, रोएको आँसु पनि रित्तिइसकेकोजस्तो ठानेँ मैले।

‘आकाश बाबु धेरै दुब्लाउनुभएको रहेछ यसपालि। आमा! मैले कमरेड सृष्टिलाई बचाउन सकिनँ भनेर रुनुभयो। साह्रै नमिठो लाग्यो, उहाँको व्यवहार अजिब लाग्यो,’ आमाले भन्नुभयो, मनमा भुइँचालो गयो।

आखिर किन? के कारण कमरेड आकाशको यति धेरै बदलियो व्यवहार? के उहाँ क्रान्तदेखि पलायनको बाटोमा अग्रसर हुनुभएको हो त? उहाँको प्रत्येक कुराले किन छुन्छ यसरी मलाई?

म उहाँलाई सम्झाउन, बुझाउन चाहन्थेँ, महान् क्रान्तिदेखि विमुख हुनबाट रोक्न चाहन्थेँ। कताकता क्रान्तिको बाटोबाट उहाँ कुनै घुम्तीमा ओझेल पर्न लागेको यात्रुझैं लाग्यो मलाई। उडेर जाऊँ अनि कमरेड आकाशलाई झकझकाउँदै सम्झाऊँ, ‘नेपाली जनता र सहिदको रगतलाई धोका दिनु हुन्न। संघर्षदेखि भाग्नु कायरता हो’ भनेर। मन एकातिर थियो त मेरो परिस्थिति अर्कातिर तर मनलाई कुनै काँडेतार र पर्खालले रोक्न,छेक्न नसक्ने रहेछ।

चन्द्रगढी जेलको पर्खाल नाघेर मन उड्यो इलामतिर ! फेरि बेपत्तैसँग फर्केर आयो मन! नमिठोमाथि नमिठो थपियो। ३–४ वटा चाउचाउ आएको रहेछ। घरबाट आएको चाउचाउभित्र मेरा लागि चिठी आउने गर्थ्यो।

चिठी लुकाएर पढ्नुपर्ने, जेलका नाइकेहरू चौबीसै घण्टा ड्युटीमा हुन्थे। हाम्रो कोठामा एक जना नाइके भएकी कारण मैले अर्को प्याकेट चाउचाउ खोल्न सकिनँ अथवा चिठी पढ्न सकिनँ।

दुई वर्ष बित्न लाग्यो। झापा जेलमा बन्दी भएको संसारदेखि एक्लै भएको म। जेलभित्र पनि साथीहरू(आस्थाका बन्दी) बीच मनमुटाव, खिचातानी देखेर वाक्क लाग्न थालेको थियो। प्रायः साथीहरू आम महिलाहरूझैं एकअर्काको कुरा काट्दै झगडा गर्नुहुन्थ्यो। कतिपय साथीहरूबीच बोलचाल नै बन्द भइसकेको थियो। हामी राजनीतिक बन्दीबीचमा त यस्तो अवस्था थियो भने अन्य कैदीहरूको झन् कुरा नगरौं!

एकैछिन अगाडि मिल्ने उनीहरू एक छिनमा तथानाम भन्दै बाझिरहेका हुन्थे। मलाई झापा जेलमा एक क्षण पनि बस्न मन थिएन तर मनभन्दा ठूलो त बाध्यता, परिस्थिति मेरो बाटो छेकेर बसेको थियो। केही समयपछि अर्को प्याकेट चाउचाउ खोलेँ, चिठी रहेनछ। मन खिन्न भयो। अर्को हतारहतार खोलेँ, सानो कागजमा कही शब्दहरू रहेछन्।

प्रिय कमरेड,

अभिवादन

केही समयअगाडि कामविशेषले इलाम सदरमुकाम पुगेको थिएँ, बिरानो पो लाग्यो। किन होला, हिजोआज सबै मसँग छुट्दै गएकोजस्तो मात्र लाग्छ। एकदमै हतास भएको छ मन। साथीहरूबीचमा नि एक्लै भएको महसुस हुन्छ। नयाँ साथीहरू आउनुभएको छ क्रान्तिको यात्रामा सामेल हुन। केही आत्मीय साथीहरू क्रान्तिबाट पलायन भइसक्नुभयो। यहाँ खासै राम्रो खबर छैन कमरेड! तपाईंले छोडेर जानुहुँदाको जस्तो ऊर्जाशील छैन समय, साथीहरू विभाजित हुनुभएको छ। संगठन जति ठूलो हुँदै गयो, उति नै समस्या र चुनौतीहरू थपिँदै जाँदा रहेछन्। अविश्वास र घात उति नै बढ्दा रहेछन्।

समय र परिस्थिति धेरै बदलिएको छ, माईखोलामा धेरै पानी बगिसक्यो कमरेड!

लक्ष्य, सपना सबै भुलेर सहयोद्धाहरू पलायन हुनुभएपछि एक प्रकारले हतास हुँदोरहेछ मन। त्यसमाथि तपाईं नि हुनुहुन्न यहाँ। सहिदको चिहानमाथि सर्वहारा वर्गको सपनाको प्रतिनिधित्व गर्दै फरफराइरहेको हँसिया–हथौडा अंकित झन्डा देख्दा पीडा र आक्रोशले मन जल्छ। जनताको घरमा एक थाल भात खाँदै गर्दा सहिदको सपना र रगतले नमिठोसँग गाँज्छ तर म सहिदको रगत र जनताको पसिनासँग घात गर्ने छैन।

प्रिय कमरेड! तपाईं त्यो जेलको बन्धन तोडेर आउनुहुँदा हामी हृदय खोलेर स्वागत गर्न आतुर छौं। सहिदको सपना, जनताको आशा सबैको माला गाँसेर राखेका छौं।

त्यो विजयको दिन चाँडै आओस्।

अब हाम्रो जित हुने छ, नेपाली घरआँगनमा सुनौलो बिहानमा झलमल्ल घाम लाग्नेछ।

प्रिय कमरेड,

आशावादी बन्नुस्, हतास नहुनुस्! यदि म कहीँ तपाईं जेलमुक्त नभई ढलेछु भने त्यो ठाउँमा एकचोटि पुग्नुस् है! मेरो घरमा पुग्नुस्! किन यी लेखेँ? अन्यथा नसम्झनु, मनमा लागेको कुरा भनिहाल्नुपर्ने रहेछ। नत्र ती कुराहरू गाँठो बनेर झन् गाह्रो हुँदोरहेछ फुकाउन!

आजलाई यति

बाँकी भेटमा

अभिवादन

कमरेड आकाशका शब्दहरूमा अन्योल, अनिश्चित समय धेरै पोखिएको थियो। कतै आशाको किरण पनि देखेँ नियालेर हेर्दा पछिल्ला शब्दहरूमा। म क्रान्तिको बाटोदेखि कोही पनि साथीहरू विमुख भएको देख्न चाहन्नथेँ, मन बोल्थ्यो।

तर कहिलेकाहीँ म नि आत्तिन्थेँ, मानवीय स्वभावै यस्तो तर जब बन्द कोठा, काँडेतार देख्थेँ, मनमा दृढ सङ्कल्प जाग्थ्यो। म कहिल्यै राज्यसत्तासँग झुक्दिनँ, जनतालाई धोका दिन्नँ भनेर। जेलको बन्धन तोडेर एक दिन जनताको काखमा रमाउने छु, मनमा आशा थियो। जेलमा समाचारमूलक पत्रपत्रिका खासै आउँदैन थिए। स्थानीय रेडियो सुनिन्थ्यो। भीडभाडभन्दा अलि परै बस्थेँ म सधैं, झापा जेलको पल्लो कुनामा भएको बन्दी पुस्तकालयमा एक्लै बसेर आँखा चिम्लेर बस्नुजस्तो आनन्दको क्षण मसँग कमै थियो।

अनावश्यक कुराकानी पटक्कै मन नपर्ने मलाई झन् जेल परेपछि एक्लै बस्न, टोलाउन मन   पर्थ्यो।

समाचारहरूमा परिचयविहीन मृतकहरूको सङ्ख्या भनिन्थ्यो। कहिले लाग्थ्यो, यी भनिने मृतक सङ्ख्यामा मेरा आफन्तहरू नि परे कि! मेरा आफ्नाहरू नपरे पनि कसै न कसैका आफ्नाहरू त पक्कै थिए ! हृदय चिसो हुन्थ्यो।

दुई महिनापछि जेलमा आमा आउनुभएछ, केही खानेकुराको पोकाहरू बोकेर अनि उदास आँखा लिएर, परेलीले आँसुको महासागर थुनेर।

अब फलामे डन्डीबाहिर आमालाई आँखा पुछ्दै उभिएको देख्छु। साह्रै नमिठो लाग्छ।  आमाको आँसु देखेपछि क्रान्तिका जुझारु शब्दहरू मेरा ओठमै थरथराउँछन् मात्रै।

म निःशब्द हुन्छु। लाग्छ, यो युद्ध यिनै आमाहरूले लडिरहेछन्! आखिर जित्यो कसले? हार त दुवै पक्षका आमाहरूको भएको छ। आज आमा अरू बेलाभन्दा उदास र उजाड हुनुहुन्थ्यो। मैले केही सोध्नुभन्दा अगाडि नै बोल्नुभयो, ‘आकाश बाबु बित्नुभयो!’

म उभिएको ठाउँमा ज्वालामुखी फुटेको जस्तो भयो, रुन सकिनँ, शब्दहरू घाँटीमा गाँठो पर्‍यो।

अनायासै आँखाबाट आँसु खस्यो, कता विलीन भयो। आमा केके बोल्दै हुनुहुन्थ्यो, केही बुझिनँ। कति चाँडै बन्दी भेट्ने पन्ध्र मिनेट समय बितेछ, पत्तो पाइनँ। केही खानेकुराका पोकाहरू मेरो हातमा थमाएर रुँदै ओझेल परेकी मेरी आमाको घाँटी आँसुसँगै धमिलिएर ओझेल परेपछि झसङ्ग भएँ। बोझिलो पहाडले थिचेझैं लाग्यो। बिस्तारै महिला वार्डतर्फ लागेँ। संसारै घुमेजस्तो लागेर आयो। आमाले ल्याइदिनुभएका पोकाहरू एकातिर राखेर म आफ्नो ओछ्यानमा डङरङ्ग पछारिएँ, झट्ट सम्झेँ ‘चाउचाउको प्याकेट’। पोका खोलेँ हतारहतार तर चाउचाउको प्याकेट एउटा पनि थिएन।

अब कसले पठाउला र चाउचाउका प्याकेट ! अनि जतनले राखेको चिठी? मलाई चिठी लेख्ने व्यक्ति अब यो दुनियाँमै थिएन। मैले कति कुराहरू सोध्नु थियो आकाश कमरेडलाई। हिजोअस्ति महसुस नगरेको कुरा आज म महसुस गर्दै थिएँ। उहाँले लेखेका चिठीका प्रत्येक शब्दहरूमा छुट्टै माया, प्रेम र सपना पनि थिएछन् तर समयले हामीलाई उठ्नै नसक्ने गरी पछारिसकेको थियो।

म जेलमुक्त हुँदा स्वागत गर्न आतुर ती आँखाहरू सधैंका लागि बन्द भइसकेका थिए।

आँखाबाट आँसु बगेर सिरानी चिसो भयो। हतारहतार सिरानीको भित्री पत्र खोलेर हेरेँ। कमरेड आकाशका हस्तलिखित चिठीहरू मेरा आँसुले धन्न भिजेनछन्।

प्रकाशित: ११ असार २०७९ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App