१३ असार २०७९ सोमबार
कला

औपन्यासिकताका कसीमा महेश्वर पन्तको ‘बौलाको डायरी’

समीक्षा

खेमराज पोखरेल

१) संयोग

चर्चित उपन्यासकार महेश्वर पन्त मेरा पुराना चिनारु यार होइनन्। मैले उनलाई सामाजिक सञ्जालमा देखे/भेटेको हुँ। तर, संयोग, म त्यो एउटा दिन अमेरिकाको बोस्टनको भ्रमणमा पुगेको थिएँ र सामुद्रिक यात्राको विपर्यास थकानका बाबजुद एक घण्टाको झल्को भेटिएका थियौं हामी। हामी माने उपन्यासकार महेश्वर पन्त, कवि साहित्यकार गोवर्धन पूजा, कथाकार सुशील नेपाल र म। जिन्दगीका जस्केलामा संयोगको महत्त्व यस्तो हुन्छ कि चिनिनुपर्ने मान्छेलाई नचिनी जुनी बित्छ। नचिन्नुपर्ने मान्छे दैलामा आइपुग्छन्। तर, मैले धेरै ढिलो भए पनि उपन्यासकार महेश्वर पन्तलाई भेटें। देखें। चिनें। आत्मीय हुन पाएँ। यो ज्यादै महत्त्वपूर्ण संयोग हो मेरो जीवनको। यही संयोगीय अपनत्वका कारणले मैले उपन्यासकार महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ हस्ताक्षरसहित उपहार पाएँ। र, म एउटा पाठकको कठघरामा उभिएर यो पुस्तक पढ्दै छु। जे बुझ्दै छु, सोही टिप्दै छु र जे टिप्दै छु त्यसलाई अक्षर बनाउँदै छु।

२) कलेवर

उपन्यासको आवरण पृष्ठमा बहुलाएको बिम्ब देखिने एउटा मान्छेको अर्ध अमूर्त चित्र छ। त्यो चित्रले जिन्दगीका भयावह दृश्यहरूलाई इंगित गर्छ। आवरणकै अन्तिम पातोमा उपन्यासबारे वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतम, नीलम कार्की निहारिका, डा. हरिराज भट्टराई तथा राजकुमार बानियाँका छोटा विचार छन्। यी पाका विचारले उपन्यासभित्रका रसायनलाई सूत्रात्मक शैलीमा उजिल्याएको छ।

कालीभक्त-कृष्ण पन्त स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको यो उपन्यासको आवरण समग्रमा कुतूहलमय छ। सुन्दर छ। समर्पण विश्वभरका कोभिड प्रभावितहरूमा छ। कसैको भूमिका वा भनाइ छैन। यो परम्परागत धारलाई छोडेर सोझै उपन्यास बोल्न थाल्छ पुस्तक।

३) औपन्यासिकताको कसी

कुनै एउटै विषयवस्तुलाई अलगअलग संरचनामा लेखियो भने अलगअलग विधा/उपविधा हुन्छ। कुनै आख्यान उपन्यास हो वा होइन भन्न केही आधारलाई दृष्टिगत गर्नुपर्छ। साहित्यका विधाहरूको निर्माणमा संरचनाको भूमिका नै प्रधान हुन्छ। कथावस्तु अब्बलका लागि प्रधान भए पनि संरचनागत दृष्टिमा गौण हुन्छ। संरचनात्मक आधारमा हेर्दा उपन्यास आख्यानको बृहत्तर रूप हो। उपन्यासशास्त्रीहरूले उपन्यासलाई पनि लघुउपन्यास, मझौला उपन्यास, उपन्यास र बृहत उपन्यास जस्ता भेद देखाएका छन्। यो हिसाबमा हेर्दा यो ‘बौलाको डायरी’ बृहत उपन्यास होइन। लघुउपन्यास पनि होइन। यसलाई मझौला वा उपन्यासको कोटिमा राख्न सकिन्छ। बरु यसलाई उपन्यास भनूँ भन्ने मेरो राय छ।

उपन्यास बन्न द्वन्द्व अपरिहार्य हुन्छ। द्वन्द्व व्यवस्थापन गर्न कथानक चाहिन्छ। कथानक प्रस्तुत गर्न पात्र चाहिन्छ। उपन्यासकारले उपन्यास लेख्नुका केही कारण वा उद्देश्य हुन्छ र अन्त्यमा ती सबै कुरालाई ध्यानमा राखेर बनाइएको कथ्यतान हुन्छ जसलाई बुनौट वा प्रस्तुति भन्न सकिन्छ।

त्यसकारण उपन्यास लेखनभित्र धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ। कार्यपीठिका याने कथानकले देखाएको स्थान कुन हो? कार्यपीठिकाको समाज, चिन्तन, जीवनशैली तथा समग्र परिवेश कस्तो छ? कथानकले कुन कालखण्डको घटनालाई प्रतिबिम्बित गर्छ? उपन्यासकारको व्यक्तित्व तथा विचार कस्तो छ? उसको भोगाइ तथा स्वभाव याने मुडले कथावस्तुमा कसरी फरक पारेको छ भन्ने कुरा उपन्यास विवेचनका आधार हुन्।

४)द्वन्द्व

उपन्यासको कथावस्तु निर्माण गर्दा सर्वप्रथम चाहिने कुरा भनेको द्वन्द्व हो। उपन्यासकारले मान्छे र प्रकृति वा पात्रहरूका स्वभावका बिचमा वा एउटै पात्रको अलगअलग मनोदशाबारे वा दुई वा दुईभन्दा बढी विचार दर्शन तथा परम्परा बारेमा द्वन्द्व सिर्जना गरेर आफूलाई उच्च लागेको विचार वा परिवेशलाई स्थापित गर्नुपर्छ।

यो नै द्वन्द्व हो। द्वन्द्व भन्नु समस्याको चिनारी पनि हो। दुई विपरीत धारका बिचमा द्वन्द्व गराएर समाधान निकाल्नु द्वन्द्वको गुण हो। त्यसकारण उपन्यासको निर्माणमा द्वन्द्वको उठान, उत्कर्ष र समाधान महत्त्वपूर्ण कुरा हुन्।

उपन्यासकार महेश्वर पन्तले ‘बौलाको डायरी’ उपन्यासमा त्रिपक्षीय द्वन्द्व निर्माण गरेका छन्। ग्रामीण भेगमा राज्यसत्ताबाट सिमान्तकृत भएका जनताका समस्या द्वन्द्वको एउटा पाटो छ भने अर्को पाटो त्यसका विरुद्ध सामाजिक न्यायका लागि युद्ध गर्ने माओवादी विचार र नेतृत्व छ।

अर्को द्वन्द्व माओवादी नेतृत्वले शासनसत्ता सञ्चालन गरेपछि पनि ती सिमान्तकृत जनताको समस्या जिउँका तिउँ रहेको वर्तमान अवस्था द्वन्द्वको प्रधान पक्ष छ।

उपन्यासकार महेश्वर पन्तको ‘बौलाको डायरी’

५)कथानक

उपन्यासकारले कल्पना गरेको वैचारिक द्वन्द्व व्यवस्थापनका लागि कथानक चाहिन्छ। कथानक भनेको उपन्यासको प्राण हो। कथानक जति राम्रो बन्न सक्यो द्वन्द्व त्यति नै खँदिलो र स्वादिलो भएर जान्छ। ‘बौलाको डायरी’ मा उपन्यासकारले माओवादी द्वन्द्वकालको कथावस्तु टिपेका छन्।

कथानकको केन्द्रमा एउटा ग्रामीण केटो तेजबहादुर छ। ऊ गरीब परिवारको तर जेहेनदार छ। भेटेनरी डाक्टर बन्ने सपना बोक्छ र निस्कन्छ जिन्दगीमा। तर, ऊ सम्पूर्णतामा चकनाचुर हुन्छ। गरिबीको मारमा छ। लगालग गरिएका प्रेममा असफल भएको छ विचरा। अप्टी लगाएर राज्यसत्ताले जेल हालेको छ। प्रेममा असफल भए पनि जीवनमा समानता तथा सामाजिक न्यायको सपना बोकेर माओवादी विद्रोहमा होमिएको छ। लडाकु भएको छ तर विडम्बना ऊ सिपाही पनि असफल भएको छ। जग्गा दलाल भएको छ। मान्छे तस्करी गर्ने तस्कर भएको छ र अन्त्यमा ऊ बहुलाएको छ।

६)पात्र

पात्रबिना कथानक अघि बढ्दैन। त्यसैले पात्र व्यवस्थापन पनि उपन्यास लेखनको महत्त्वपूर्ण पक्ष हो। पात्रमा मान्छे पनि हुन सक्छ। मानवईतर वस्तु पनि हुन सक्छन्। कथानकले मागेको आधारमा पात्रहरू नायक र खलनायक दुवै हुनपर्छ। पात्र व्यवस्थापनको यो महत्त्वपूर्ण पक्ष हो। यो ‘बौलाको डायरी’ उपन्यासमा प्रोटागोनिस्ट पात्र याने प्रधान नायक तेजबहादुर थापा छ। स्वाभाविक छ कि अन्य धेरै पात्र छन् उपन्यासमा। सहायक भूमिकामा छन् मीठू दिदी, नानी, सीता, टोटे, धने, रिट्ठे, जुना दिदी, विनोद, मेघा शर्मा, बा, आमा, सुमित्रा, गौरी, दले दाइ आदिआदि। माओवादी समेत समावेश भएको राज्यसत्ताका विविध अंग एन्टागोनिस्ट याने खलनायक छन् उपन्यासमा। धेरै पात्र परिस्थितिजन्य उपजमा उपस्थित छन्। जे भए पनि उपन्यासकार पन्तले ‘बौलाको डायरी’ उपन्यासमा एन्टागोनिस्ट तथा प्रोटागोनिस्ट दुवै पात्रको समायोजन सुन्दर तरिकाले गरेका छन्।

७)प्रयोजन थिम

द्वन्द्व, कथानक तथा पात्र व्यवस्थापनले उपन्यासकारको कथ्यविनिर्माणको थिम निर्धारण हुन्छ। थिम भन्नु कथानकको केन्द्रीय विचार हो। यहाँ नजिक आइपुग्दा उपन्यासकारले यो उपन्यास किन लेखेको हो? प्रयोजन के हो भन्ने कुरा प्रष्ट आउनुपर्छ।

‘बौलाको डायरी’ लाई सूक्ष्म तरीकाले अध्ययन गर्दा यसका घोषित थिम भनेको नेपालको राजनीतिमा माओवादीले चलाएको सशस्त्र विद्रोहको औचित्य के? हजारौं मान्छे मार्ने कृत्यको औचित्य के भन्ने प्रश्न उठाउनु रहेको छ। तर, उपन्यासकारको यो उपन्यासभित्र मुडलाई विचार गर्दा अघोषित याने नभनीकन कथानकका माध्यमबाट प्रष्ट पारिएको थिम भनेको नेपालको परिवेशमा कम्युनिष्ट शासन व्यवस्थाले केही गर्न सक्दैन, बरु संसदीय प्रजातन्त्र नै उत्कृष्ट हो भन्ने रहेको छ।

८)बुनौट

कथ्य प्रस्तुति गर्ने प्रक्रिया बुनौट हो। यो ‘बौलाको डायरी’ उपन्यासको बनौट प्रक्रिया पूर्वदीप्ति शैलीमा छ। कथानक अन्त्यबाट सुरु हुन्छ। पात्र बहुलाइसकेको हुन्छ र उसले खसाएको या छोडेको डायरीका पाना उपन्यासकारले पढ्ने क्रमको शैलीबाट बुनौट निर्माण गरिएको छ। यद्यपि पूर्वदीप्ति शैली पनि पूर्ण छैन। डायरीका पाना पढ्न थालेपछि कथानक क्रमबद्ध अघि बढेको छ। त्यसकारण यो उपन्यासको प्रस्तुतिलाई अर्ध पूर्वदीप्ति शैली भन्न सकिन्छ।

९)विशेषता

यति भन्न हिचकिचाउनु पर्दैन कि ‘बौलाको डायरी’ निकै स्तरीय उपन्यास बनेको छ। यसले कार्यपीठिकाको समय र जीवनजगत्का अनेक पाटालाई उजागर गरेको छ। विविध खाले कार्यपीठिका तथा कालक्रम निर्धारण गरेको छ। वास्तवमा भन्ने हो भने यो उपन्यास विविध विशेषताले युक्त छ।

आञ्चलिक सम्वाद–उपन्यासको प्रमुख विशेषता भनेको कथावस्तुभित्र आञ्चलिक सम्वाद प्रस्तुत गर्नु हो। उपन्यासको शीर्षक ‘बौलाको डायरी’ ले नै भाषिक प्रयोगमा आञ्चलिकता पस्किएको छ। बहुलाएको नभनेर ‘बौला’ भन्नु नै यो कुराको प्रमाण हो। यो कृतिमा स्थानीय कथ्य भाषाका ठेट शब्दहरू धेरै प्रयोग भएको छ। ‘रन्नी’ (पृ. १०८) यसको उदाहरण हो। उपन्यासभरि शब्द सौन्दर्य छताछुल्ल भएका छन्। पित्को, बतिलाबतिली, फिटिफिटी, टुट उठाउनु(पृ. ३९) जस्ता झर्रा शब्दको प्रयोगले उपन्यास सुन्दर बनेको छ।

आख्यानीकरण–उपन्यासको अर्को विशेषता सुन्दर आख्यानीकरण हुनु पनि हो। घटना र कथा आम हुन्छन्। तर, ती आमकथालाई उपन्यासकारको शिल्पले आख्यानीकरण गरेको हुन्छ। त्यसैले आख्यानीकरण जति भयो उति उपन्यास उम्दा बन्छ। यो उपन्यासमा गजबको आख्यानीकरण भएको देखिन्छ। घटनाको भोक्ता वा द्रष्टा अनुभूतिलाई शब्द सामर्थ्य तथा कल्पनाशीलताका माध्यमबाट सुन्दर सजावट गर्नु आख्यानीकरण हो। यो कार्यमा उपन्यासकार एकदम सफल भएका छन्।

कथ्यभाव गाम्भीर्य–उपन्यासको अर्को ज्यादै महत्त्वपूर्ण विशेषता भनेको उपन्यासले प्रस्तुत गरेको कथ्यभावमा गाम्भीर्य हुनु हो। हल्काफुल्का विषयवस्तुमा यो उपन्यास लेखिएको होइन। हुन त फिलतो विषयवस्तुलाई पनि भाषा र आख्यानीकरणका शिल्पका माध्यमबाट बनाइएका उपन्यासहरू पढ्न नपाइने होइन। तर, माओवादीको सशस्त्र द्वन्द्व जस्तो गम्भीर विषयमा अनेक गम्भीर वैचारिक तथा दार्शनिक पक्ष उपन्यासमा समावेश भएका छन्। उपन्यासकारको यो भाव गाम्भीर्यलाई नमन गर्नै पर्छ।

बाललीला–कथावस्तु प्रस्तुतिका हिसाबमा हेर्ने हो भने उपन्यासभित्र बाल्यकालको लीला दुरुस्त वर्णन भएको छ। पाठकलाई लाग्ने छ कि यो त मेरो यौवनाभिमुख बाल्यकालको मनोवैज्ञानिक कथा हो। पुस्तकभित्र विविध विषय तथा परिवेशको उजागर भएको छ। प्रेम, यौन, प्रणयका पक्षहरू त्यही बाललीलामा समावेश छन्।

विभेदीय समाजको चित्रण–नेपालको एउटा युगको सांस्कृतिक सभ्यतागत विभेद तथा लैंगिक विभेदको चमत्कारिक वर्णन छ उपन्यासमा। वर्गीय तथा जातीय विभेदको टडकारो चित्र छ उपन्यासमा। एउटा उदाहरण हेरौं–मान्छेलाई कति ठूला समस्या छन्। गरिबी उत्तिकै पहाड बनेर हाम्रो अगाडि चुलिएको छ। मान्छे जातमा अड्किएको छ। हामी घर्ती रे जनै नलगाउने जात। उनीहरू बाहुन रे जनै लगाउने। घर्तीलाई छोरी दिन नहुने जात (पृ. ६०)।

ऐतिहासिक कथावस्तु–उपन्यासको विशेषता भनेको इतिहासका घटनाको वर्णन हो। तत्कालीन समयबोध छ उपन्यासमा। २००७ सालदेखि लिएर गणतन्त्रको स्थापना र तिनले चलाएको शासनले उब्जाएका विपर्यास परिवेशको वर्णन चुस्त र दुरुस्त तरीकाले गरिएको छ। त्यसैले यो उपन्यासमा इतिहासको पनि चित्र छ।

वैचारिक प्रश्नको उठान–उपन्यासले जिन्दगीबारे जोडिएर आएका अनेकन दार्शनिक तथा वैचारिक प्रश्नहरू उठाएको छ। विचारपक्षको प्रस्फुटन भएको छ।

उदाहरण हेरौं–भोको पेटले राष्ट्रवादको नारा लगाउन सक्छ कि सक्दैन (पृ. १२२)। भरिएका पेटहरूले भोका पेटहरूलाई जिस्क्याइरहेका छन् (पृ. १२३)। मृत्यु पनि एउटा सत्य हो तर भोकमा खानेकुरा जत्तिको सत्य होइन (पृ. १२५)। जेजस्तो छ, त्यसलाई त्यसरी नै प्रयोग गर्न हामीलाई सिकाएको थियो जिन्दगीले (पृ. १८७)। मलाई लाग्यो, हाम्रो देशमा पार्टीप्रतिको आस्था भनेको धर्मको जस्तै हो (पृ. ५४)।

यथार्थवादी–उपन्यास यथार्थवादी धरातलमा लेखिएको छ। आम नेपालीले जस्तो जीवन देखे/भोगे/महसुस गरे, त्यसै अनुरूप समाजको दुरुस्त चित्र देखिन्छ उपन्यासमा।

उदाहरण हेरौं–हामी धेरै सोचेर काम गर्ने स्तरका थिएनौं। न बाआमाले हामीलाई जिन्दगीको कार्यतालिका बनाउन सिकाए। सायद जन्मियौं ख्यालख्यालमा। हुर्कियौं ख्यालख्यालमा र भाग्यले बाँचियो अहिलेसम्म ख्यालख्यालमा। सानातिना कथा नभएका कोही हुँदैनन्। कथा गरिबको पनि हुन्छ सुन्ने हो भने। हुन त कथा हुने नै गरिबको हो। तर, सुन्ने कसले?(पृ. १०७)।

उपन्यासभित्र देशको वर्तमान अवस्थाको खर्लप्प र यथार्थ वर्णन छ। नेपालको कृषिजन्य तथा निम्नस्तरको वैदेशिक रोजगारमा बाध्य भएर जानुपर्ने कारण खोतलिएको छ।

उदाहरण हेरौं–खेत थिए तर खेती गर्ने मान्छे थिएनन्। युवा कि युद्धमा थिए, कि लडाकु सेनाबाट भागेर कालापार गएका थिए। वर्षमा एकपल्ट गाउँ फर्कन पनि बिर्सेका थिए। परिवारलाई भगवान् भरोसा छोडेका थिए (१२४)।

जीवन दर्शन–उपन्यासभित्र मान्छेको जीवनदर्शनबारे पनि प्रशस्त बोलेको छ। उदारहरण हेरौं–जन्मनुको सबैभन्दा सत्य कुरा मर्नु हो। तर पनि सबैभन्दा बढी डर मृत्युसँग लाग्छ(८९)। यही वाक्यले मृत्युजन्य तर अवाञ्छित सत्यबारे विशिष्ट विचार बोलेको छ।

यसैगरी उपन्यासभरि जेजस्तो गरिबी र पीडा भए पनि मान्छेले बाँच्नै पर्छ भन्ने यथार्थ जिन्दगीको दर्शन प्रस्ट पारिएको छ। उदाहरण हेरौं–आखिर बाँच्नै पर्ने परिवेश–आफ्नो प्राणसँगसँगै जान चाहन्थिन् तर अनुमति थिएन। गोठमा गोरु, भैंसी र राँगो आफ्ना कान ठडाएर बालाई खोजिरहेका थिए। राँगाले त आवाज नै निकालेर बालाई फर्कन अुरोध गर्दै थियो। अहँ,बाले सुनेनन्। बा साह्रै निष्ठुरी भएका थिए(९१)।

उपन्यासभित्र जिन्दगीका कहर मात्र वर्णन छैन। उपन्यासकार त्यो कहरभित्र पनि प्रकृतिलाई सुन्दर देख्न थालेका छन्। त्यसैले उपन्यासभरि प्रकृति वर्णन, स्थान वर्णन उम्दा तरीकाले आएको छ। उदाहरण हेरौं–त्यो बेलाभन्दा आज फरक थियो बुटवल। देशभित्र बलेको युद्धलाई बिर्सेजस्तो गरेर घाउहरूबाट पनि सुन्दरता देखाएको थियो बुटवलले। मस्त तरुनी युवतीझैं सिँगारिएको थियो (१०९)।

उपर्युक्त जीवन दर्शन बोध गराउने बाक्यहरूका आधारमा यो उपन्यासलाई जीवन दर्शनबोधी उपन्यास भन्न सकिन्छ।

अन्यायको प्रस्तुतीकरण–यद्यपि उपन्यासकारको प्रयोजन कम्युनिष्टको वैचारिक आधारभूमि देखाउनु होइन। तर पनि यो उपन्यासमा केही परिवेश, केही घटना र केही हरफको प्रयोग यसरी भएको छ कि त्यसले मान्छे किन कम्युनिष्ट बन्छ भन्ने कुरा मजाले उजागर गरिएको छ।

उदाहरणका रूपमा केही हरफ हेरौं–ऊ मार्न र मर्न तयार हुनुमा दोष जमिन्दारकै थियो। उसले धेरै मान्छे चिन्न पाएन। किनकि ऊ गाउँबाट बाहिर गएन। ऊ गयो त एकैचोटि युद्धमा गयो। गाउँमा ऊ कि त आफ्नो छाप्रामा हुन्थ्यो कि त जमिनदारको खेतमा (११३)। उर्वर जमिन जमिनदारको, तिम्रो चार खुट्टा टेको घरजस्तै देखिने छाप्रो र त्यसभित्रका सामान जमिन्दारका। राम्रा आइमाई उनका। बल भएका पाखुरा उनका । त्यसपछि सरकारबाट रचिएका कुटपिट, लुटपाट र बलात्कारका नाटक हेर्नबाट कोही वञ्चित हुने कुरै भएन। बरु यसलाई यसोभन्दा राम्रो होला, ‘हम्तो ना ना करई छलिए। लेकिन हमर मालिक नै मानलक। प्रेम करलक। हम नै कुछ कर सक्लु (११५)।

माथिका वाक्यहरूले मान्छे समाजमा रहेका सरकारी तथा सामन्तवादी प्रचलनका कारणले भएका असमानता, अन्याय तथा विभेदको अन्त्य गर्न कम्युनिष्टमा होमिन्छ भन्ने परिस्थिति व्यक्त गरिएको छ।

माओवादीको मनोवैज्ञानिक स्थितिको उजागर–विशेषत उपन्यास माओवादी द्वन्द्वकालसँग सम्बन्धित भएकाले माओवादी द्वन्द्वको अन्तिम अवस्थाको एउटा यथार्थ चित्र उतारिएको छ। हतास माओवादी विद्रोहको यथार्थ विश्लेषण गरिएको छ।

उदाहरण हेरौं–भन्न त एउटा अन्तिम आक्रमण, अब सरकारले घुँडा टेक्छ भन्न लागेको पनि धेरै वर्ष भएको थियो। घुँडा टेकनु त के सरकार पनि दिल्लीतिर घुँडा टेक्न थालेको थियो। मलिन अनुहार थिए उनीहरूका। भारतले हात छोडे युद्ध समाप्त। रासन पानी बन्द (१२६)।

माथिका वाक्यले माओवादी विद्रोहको अवस्थाको ज्ञात गराउँछ।

नेपालको सामाजिक मनोविज्ञानको प्रस्तुति–उपन्यासको एउटा महत्त्वपूर्ण विशेषता भनेको कार्यपीठिकामा उल्लिखित समय र समाजको सामाजिक मनोविज्ञान प्रष्ट पार्नु पनि हो। एकातिर सन्तान विदेश पलायन हुनुपर्ने परिवेश वर्तमानको यथार्थ हो। वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छन् नेपालीसँग। त्यसैले उपन्यासकारको यो पङ्ति हृदयविदारक छ–आफ्नै देशमा नबिकेका पसीना थिए ती। त्यसैले जसले जति दियो, त्यसमा बिक्न बाध्य थिए (१६७)।

तर अर्कोतिर नेपालमा बाउआमा निरीह भएर पनि आफू जन्मेको ठाउँबाट पलायन हुन चाहँदैनन् र एउटा सामाजिक वैचारिक पुस्तान्तरणको समस्या उजागर गरिएको छ। उदाहरण हेरौं–हामीले भन्नसम्म भन्ने हो। बाउबाजेलाई उठाएर लान त सकिन्न! जमिनसँगै टाँसिएर बसेका हुन्छन्। धर्तीमा प्राण गाडिएको हुन्छ। आफ्नो जन्मभूमि छाड्न मान्दैनन्। सालनाल गाडेका ठाउँमा मरण हुनुपर्छ भन्ने धारणा बोकेका हुन्छन् (१६०)।

मानसिक द्वन्द्व–उपन्यास मानसिक द्वन्द्वले भरिएको छ। अनावश्यक र बेफ्वाँकमा अपराधी करार गरेर दण्ड दिएपछि नरपराध घोषित भए पनि पात्रको आन्तरिक मनोविज्ञान यसरी प्रस्ट पार्छन् उपन्यासकार–पापबाट मुक्त भए पनि मैले पाएको सजाय कसले फिर्ता गर्ने? मेरो मानसपटलमा भएको द्वन्द्व र पिरलो कसले फिर्ता गर्न सक्छ ?(१८७)।

उपन्यासको घोषित उद्देश्य नै माओवादी युद्धका प्रति प्रश्न उठाउनु हो। माओवादी युद्धका प्रति अनेक प्रश्न वर्तमानमा उब्जिएकै छ। सोही प्रश्नहरूको प्रतिनिधित्व गर्दै उपन्यासकार पनि प्रश्न उठाएर उपन्यासको समापन गर्छन्–लडाकु महिलाले उकासेका पेट कसले पम्प गरेका हुन्? के ती बलात्कार होइनन्? क्यान्टोनमेन्टका बच्चा महिला कामरेडले एक्लै जन्माएका हुन्? १७ हजार दाजुभाइ मारेर आज यसरी उस्तै अवस्थामा बस्ने भए युद्ध किन?(१८९)

मीठू दिदीको बलात्कारीले अरु कति बलात्कार गर्यो होला कसैलाई थाहा छ? सुमित्राका हत्यारा बलात्कारी कता गए? गौरीलाई लगातार लुई वर्ष थुनेर पालैपालो ब्वाँसा बनेर कति जनाले लुटे? कसैले खोज्यो? माओवादी युद्धका महिला सैनिक कति थुनिए र कति बलात्कृत भए? कसैले लेखाजोखा  गर्‍यो? कसैलाई कारवाही भयो? (१८९)।

यसरी उपन्यासले कैयौँ प्रश्न उठाएको छ। ती प्रश्न वर्तमानको राजनीतिक जालझेलमा त्यसैत्यसै हराएर गएका छन्। यसकारण उपन्यास निकै विशेषताले भरिपूर्ण छ।

१०)अर्जी

किन आञ्चलिक?

–यद्यपि यो उपन्यास सम्पादन गर्ने तथा समीक्षक समेत रहेका विद्वान राजकुमार बानियाँ लगायत कैयौं विद्वानले यो उपन्यासलाई आञ्चलिक उपन्यास भनेका छन्। तर मेरा विचारमा यो आञ्चलिक उपन्यास होइन। किनकि उपन्यासमा कथावस्तुलाई आख्यानीकरण गर्न एउटा कार्यपीठिका उभ्याउनै पर्छ र त्यो कार्यपीठिका सधंै निश्चित भूगोलसँग सम्बन्धित नै हुन्छ। 

उपन्यास आधिकारिक बनाउन तत्तत् कार्यपीठिकामा बोलिने सम्वादमा तत्तत् ठाउँका भाषिकाको प्रयोग हुनु स्वाभाविक हो। यो उपन्यासमा प्रयोग भएका सम्वादका भाषिकालाई मात्र पनि ध्यान दिएर हेर्‍यो भने नेपालभरिका प्रमुख भाषिकाहरूको प्रयोग भएको छ। भाषाका दृष्टिकोणले पनि एउटा खास अञ्चल वा भौगोलिक क्षेत्र मात्र छैन। यो उपन्यासमा प्रस्तुत गरिएका विषयवस्तु आञ्चलिक होइनन्। यो कथावस्तुले देश नै हल्लिएको छ। उपन्यासले माओवादी द्वन्द्वको फेहरिस्त नै दिएको छ र त्यसकारण समीक्षक राजकुमार बानियाँले भने पनि यो आञ्चलिक उपन्यास होइन। राष्ट्रिय उपन्यास हो। खोई किन आञ्चलिक भनिन्छ? त्यो मलाई थाहा छैन।

सशस्त्र आन्दोलन के माओवादीले मात्र गरका छन्?

–नेपालको राजनीतिक परिवर्तन गर्न सबै प्रमुख राजनीतिक पार्टीहरूले इतिहासमा सशस्त्र आन्दोलन चलाएका छन्। यो कदममा माओवादी मात्र पहिलो होइन। सबै पार्टीका सशस्त्र युद्धमा जनता मारिएका छन्। समावेश भएका कार्यकर्ताहरूको अवस्था यही उपन्यासको प्रमुख पात्रको जस्तै छ। उपन्यासमा नेपाली राजनीतिमा माओवादीले खेलेको भूमिकाबारे उल्लेख छ। नकारात्मक सोच राखिएको देखिन्छ। एउटा प्रश्न उठ्छ, के नेपाली राजनीतिक परिवर्तनमा माओवादी द्वन्द्वको कुनै भूमिका छैन?

अशुद्ध भाषा–यद्यपि नेपाली भाषा शुद्धसँग लेख्नु भनेको आम लेखकका लागि फलामका चिउरा चपाउनु सरह नै हुन्छ। यहाँसम्म कि नेपाली भाषाकै विद्वान पनि नेपाली भाषाको हिज्जे प्रणालीमा युद्धरत् भएर अलमलिएका छन्। यस्तो परिदृश्यमा नेपाली भाषामा लेखिने साहित्यिक कृतिमा नेपाली भाषाको शुद्ध हिज्जे रूप लेख्न कठिन छ। तथापि पाठकले भाषा प्रयोग शुद्ध होओस् भन्ने चेत राखिहाल्छ। यो उपन्यास धेरै हदसम्म शुद्ध छ। तर पनि कैयौ स्थानमा हिज्जे अशुद्धि भएका छन्।

पदसंगति मिलेको छैन। सम्पादकले अलि धेरै हतार गरेझैं लाग्छ। उदाहरण हेरौं–म बान्नाबाट खसेर घुँडो फुटालेँ (३८)। यो वाक्यमा ‘मैले’ संज्ञा हुँदा मात्र पदसंगति मिल्छ।

अनावश्यक पात्र–

उपन्यासमा अनावश्यक असाध्य धेरै पात्र छन्। पात्र व्यवस्थापनका लागि  कथावस्तु निकै तन्काइएको देखिन्छ। कथावस्तुमा प्रयुक्त घटना पनि असाध्य धेरै छन्। उदाहरणका लागि प्रमुख पात्रको असफल प्रेम देखाउन धेरैवटा घटनाको व्यवस्था गरिएको छ। जो कथ्यप्रयोजनका लागि आवश्यक थिएन कि भनेझैं प्रतीत हुन्छ।

यसैगरी कथानकमा पुनरावृत्ति पनि भएको छ। प्रमुख पात्रको मीठू दिदीसँगको प्रेम र बलात्कारको प्रसंग धेरै ठाउँ दोहोरिएको छ।

किन कोरोना पीडितलाई समर्पण?

–पुस्तक प्रमुख रूपमा कोरोना विषयक होइन तर समर्पण कोरोना पीडितलाई गरिएको छ। माओवादी द्वन्द्वमा ज्यान गुमाएकालाई समर्पण गरिएको भए झन् सान्दर्भिक हुन्थ्यो होला।

खोई समाधान?

–उपन्यासभित्र द्वन्द्वको उठान र उत्कर्ष धेरै राम्रो छ। तर, समाधान भने चित्तबुझ्दो छैन। उपन्यासले उठाएको द्वन्द्वको समाधान के त? सामाजिक विभेद, जातीय विभेद तथा राज्यबाट गरिने विभेदको अन्त्य कसरी गर्ने? त्यो चरम गरिबीको समाधान कसरी गर्ने भन्ने प्रश्न समाधान भएको छैन।

निबन्धात्मक–उपन्यासभित्र धेरै पाना निबन्धात्मक छन्। ती निबन्धात्मक खण्डमा आख्यानीकरण वा साहित्यिकताको कमी महसुस हुन्छ। इतिहासको रिपोर्ताज जस्तो लाग्दछ उपन्यास।

यसो हुनाको कारण उपन्यासकार माओवादी द्वन्द्वको भोक्ता नहुनु हो। उपन्यासकार माओवादी द्वन्द्वको द्रष्टा मात्र हुन्। स्वाभाविक रूपमा द्रष्टाले अरूले भनेको कुरा वा आफूले घटनाको बाहिर बसेर देखेका कुरा लेख्नुपर्छ। त्यसैले यो उपन्यास भोक्ता अनुभूति होइन, द्रष्टा अनुभूति हो।

७)उपसंहार

अब उपसंहारमा आइपुगेको छु। जब यो पुस्तक मैले फिजाएँ, तबदेखि नै पुस्तकका पानाले तानिरहे। लगातारलगातार पढिरहें। यसरी पाठकले पाना नखप्टिकन पढ्यो भने पुस्तकको सफलता हो।

एउटा पाठकको हैसियतमा मेरो पक्षबाट यो उपन्यास सफल भएको महसुस गरेको छु। सारमा यो उपन्यासको प्रयोजन नै माओवादी विद्रोहको औचित्यमाथि प्रश्न चिन्ह राख्नु रहेको छ। जसमा कृति पूरापूर सफल छ। औपन्यासिक कसीमा हेर्दा कथावस्तु पुरानो भए पनि सम्वाद, चरित्र, तथा परिवेश अग्र्यानिक छन्। जसले उपन्यासलाई निकै पठनीय बनाएको छ। 

भाषा प्रक्षेपण गर्दा ठाउँठाउँमा उखानको प्रयोग भएको छ। उदाहरण हेरौं–आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै बराबर (पृ. १९६)। उपन्यास राजनीतिक तथा ऐतिहासिक अभिप्रायले लेखिएको भए पनि सामाजिक जीवनमा प्रेम, यौन र समपर्ण जीवनका महत्तवपूर्ण पक्ष हुन् भन्ने कुरा व्यक्त भएको छ। ग्रामीण यथार्थ पस्किएको छ। अन्धविश्वासका कथा छन्। कथामा धामीझाँक्रीका परिवेश छन्। शहरी कहरको यथार्थ पनि छ। छिँडीको कोठा, अभाव, दले दाइ, तस्करी जस्ता परिवेशले सहरको विपर्यास जीवन पनि खुलस्त पारेका छन्। उपन्यासकारले कथावाचन गार्द सेमी फ्ल्यासब्याक तरीका अवलम्बन गरेका छन्।

सारमा यो कृति पढेपछि त्यो ‘बौलाको डायरी’ को पात्रजस्तै बहुलाउन मन लाग्छ। जिन्दगीका मान्छेका, पार्टीका, सरकारका तथा समग्र परिवेशका छेपारे रङ देखेर विरक्त लाग्छ। उफ जिन्दगी! 

र अन्त्यमा मैले आफैंलाई प्रश्न गरेको छु कि किन मैले यति सुन्दर भाषाशैली, प्रस्तुति तथा बुनौटको उपन्यास लेख्न नसकेको हँ?

प्रकाशित: ९ असार २०७९ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App