१३ मंसिर २०७९ मंगलबार
कला

सामाजिक यथार्थको प्रतिबिम्ब ‘अन्ततः यन्त्रणा’

सुमन वर्षालिखित ‘अन्ततः यन्त्रणा’ सामाजिक उपन्यास हो। यस उपन्यासमा मूलतः नारी संवेदनाको पक्षलाई समेटेर सामाजिक यथार्थको चित्रण गरिएको छ। उपन्यासका पात्र र परिवेश पूर्वी पहाड र पूर्वी तराईको छ। भद्रपुर झापाका गमनसँग गुणाको बिहे भएको र पछि गुणाले लगातार पाँच वटी छोरी जन्माएको, छोरी–छोरी जन्माएकै कारण गुणाले सामाजिक लाञ्छना, अपमान, तिरस्कार र यन्त्रणा सहनुपरेको मुख्य कथा छ उपन्यासमा। पितृसत्तात्मक समाजमा नारीको स्थान र स्थितिबारेको यथार्थ प्रस्तुत गर्ने प्रयास यस उपन्यासमा भएको छ।

सामान्य कथावस्तुले विस्तारित रूप पाएको यस उपन्यासमा भिन्न पारिवारिक संरचनाभित्रका उस्तैखाले कथा छन्। सामाजिक कुरीति र कुसंस्कारका कथा छन्। जातीय विभेदप्रतिका असन्तुष्टि पनि छन्। महिलाका असन्तुष्टि र विद्रोहका कथा पनि छन्। पुरुष जिम्मेवारीका कथा छन्। यौनका झिल्का पनि छन्। चाहनाका फिलुङ्गा पनि छन्। तत्कालीन निरङ्कुश व्यवस्थाप्रतिको आक्रोश छ। लोग्नमोन्छेको स्वास्नीमान्छेलाई दास ठान्ने प्रवृत्तिप्रति गुनासो छ।

पुरुषको अत्याचारप्रति तत्कालको विद्रोह पनि छ। हवल्दार हंसबहादुरले गुणाको दाहिने छाती समात्दा गुणाले गालामा थप्पड हानेकी छ। (पृष्ठ १५४) सीमावर्ती क्षेत्रमा भारतीय चोर (डाँका) ले दिने दुःखको कथा छ। सबैभन्दा धेरैचाहिँ नारीका कथा र व्यथा छन्। अनि नारीमनमा उठ्ने धेरै प्रश्नहरू छन्। जस्तैः समाज भनेको के हो? नारी भनेका पुरुषका दासी मात्र हुन्? छोरी मात्रै जन्माउनुमा नारीको मात्रै दोष छ? छोरा नजन्माउँदा नारीत्वमाथि प्रश्न गर्ने समाजले पुरुषत्वमाथि किन प्रश्न उठाउँदैन? छोरालाई यति धेरै महत्त्व दिने समाजमा छोरीको स्थान के हो? आदिआदि। सम्भवतः नारीमनमा उठ्ने यावत् प्रश्नहरूका कारण यो उपन्यास जन्मिएको हो।

उपन्यासमा छोरीमात्रै पाउनुको यन्त्रणामात्रै होइन, गृहस्थी जीवनका यथार्थ छन्। छोरालाई धेरै र छोरीलाई कम महत्त्व दिने सामाजिक परम्पराप्रति असन्तुष्टि र विद्रोह पनि छ। राजतन्त्रप्रतिको वितृष्णा र प्रजातन्त्रप्रतिको चाहना पनि छ। स्वास्नी तानेर ल्याउने सतार जातिको संस्कृतिको झलक पनि छ। यौनेच्छाले सामाजिक मर्यादा भत्काएको प्रसङ्ग पनि छ।

(होमे र भक्तेदाइको स्वास्नीबीचको अनैतिक सम्बन्ध, पृष्ठ २२२) लोग्नेमान्छेको आँखाले हेर्दा भक्तेकी स्वास्नी दोषी। स्वास्नीमान्छेको आँखाले हेर्दा भक्ते पनि उत्तिकै दोषी छ। तर सजाय भक्तेकी स्वास्नीलाई मात्र किन? एउटा अहम् प्रश्न छ। सबथोक भएर पनि एउटा छोरो नहुनुमा सबैभन्दा ठूलो गुनासो छ, पछुतो छ, हीनताबोध छ, लघुताभास छ। लोग्ने–स्वास्नीबीचको समझदारी, असमझदारी, रिस, सम्झौता, प्रेम, घुर्की र फेरि प्रेम आदिले उपन्यासलाई रुचिकर बनाएको छ। यस उपन्यासमा सरलता नै सौन्दर्य बनेको छ।

उपन्यास पठनले गति लिँदै जाँदा ठाउँठाउँमा पितृसत्ताप्रतिको आक्रोश र विरोधले पाठकलाई जुरुकजुरुक बनाइराख्छ। उपन्यान्सले नारीकै कोखमा नौ महिनासम्म रहेर जन्मिएका पुरुषले नारीकै अपमान र अवमूल्यन गर्नु लज्जास्पद कुरा हो भनेको छ (पृष्ठ ३५६–३५७)। अन्ततः गुणाकी छोरी भूमिकाले दोस्रो सन्तानको रूपमा छोरा जन्माउँछे। तर त्यसलाई पनि ‘त्यो त कुटुम्बको छोरा हो’ (पृष्ठ ३६१) भनिदिन्छ समाजले। अन्ततः पितृसत्ताले दिएको यन्त्रणा अझै जारी नै छ भन्ने सन्देशसहित उपन्यास सकिएको छ।

नारीवादी विचारधारालाई प्रश्रय दिने सन्दर्भ र नारीवादी भावनाको बाहुल्य छ उपन्यासमा। तर पूर्णतः नारीवादी उपन्यास भने होइन। यहाँ नारीवादका शुष्क नारा छैनन्। बरु सुकोमल भाव र भावनाहरू छन्। हृदयका प्रमिल र व्यथित दुवै किसिमका झङ्कारहरू छन्। जसले पाठकको मनलाई छुन्छन् र तरङ्गित पार्छन्। नारीको समस्यासँग पुरुषको पनि समस्या र पीडा जोडिएर आएको छ।

उपन्यासले धेरै प्रश्नहरू उठाएको छ नारी उत्पीडनका बारेमा, पितृसत्ताका बारेमा, सामाजिक मूल्य र मान्यताका बारेमा, सामाजिक कुरीति र अन्धविश्वासका बारेमा, अनि सामाजिक परिवर्तनको आवश्यकताका बारेमा, अन्त्यमा यसै उपन्यासमाथि पनि एउटा प्रश्न उठाउने ठाउँ भने रहेको छ। उहिलेका कथामा आधारित सामाजिक कथा र उपन्यास धेरै लेखिए र पढिए।

कति उहिलेकै कथा मात्रै लेख्ने? अहिलेको कथा किन नलेख्ने? हामीले अहिले बाँचेको र भोगेको जिन्दगीको कथा अनि अहिलेको एक्काइसौं शताब्दीको समाजको कथा। हामीले चाहेअनुसारको होला वा नहोला, तर समाज त धेरै नै परिवर्तन भइसक्यो। समय परिवर्तन भइसक्यो। सभ्यता परिवर्तन भइसक्यो। जीवनशैली परिवर्तन भइसक्यो। आर्थिक हैसियत परिवर्तन भइसक्यो। सारमा भन्नुपर्दा आर्थिक र सामाजिक संरचना नै परिवर्तन भइसक्यो। यस्तो अवस्थामा पनि हामीले अझै पनि उहिलेकै कथा मात्रै लेखिरहने? यो उपन्यासले यस्तो प्रश्न उठाउने अवसर दिएको छ।

यो उपन्यासमा सामाजिक दोषहरूको भूमिका अहम् छ। जसले यो उपन्यासलाई यति बृहत् आकार र कथानक दिएको छ। तर त्यो दोषको भागीदार नारीलाई मात्रै किन बनाइएको छ? पुरुष त्यसको भागीदार छैन र? लगातार पाँचवटी छोरी जन्माउनुमा सम्पूर्ण कमजोरी गुणा एक्लैको छ र? त्यसमा उसको लोग्ने गमनको केही कमजोरी छैन र? आनुवंशिक विज्ञानले पनि त छोरा वा छोरी जन्मिनुमा लोग्ने–स्वास्नी दुवैको समान भूमिका हुन्छ भनेको छ नि।

यसो हो भने छोरा जन्माउन नसक्नुको दोष किन नारीलाई मात्रै? किन यसको यन्त्रणा नारीले मात्रै भोग्नुपर्ने? यस्तो प्रश्न उठाउने चेष्टा गरेको छ उपन्यासले र नजानिँदो गरी विद्रोह बोलेकोे छ। यसो त पुरुषले पनि यसको यन्त्रणा भोगेकै हुन्छन् अव्यक्त रूपमा र अदृश्य रूपमा। 

छोराको बाबु हुन नसक्नुको पीडा त पुरुषले पनि भोगेकै हुन्छ नि। सामाजिक उपेक्षा र व्यङ्ग्यार्थका प्रश्नहरूको सामना त पुरुषले पनि गरेकै हुन्छ नि पलपलमा। यही भएर यो उपन्यासलाई नारीवादी विशेषणबाट बचाउने प्रयत्न भएको हो उपन्यासकार सुमन वर्षाबाट। बरु यसो चाहिँ भन्न खोजिएको छ, छोरा नजन्मनुमा आधा दोष त पुरुषकै छ नि। पीडा र मानसिक यातनाचाहिँ किन नारीलाई मात्रै?

शिक्षित भनौं अथवा पठित, सबै कुरा जानेबुझेकै मान्छेले पनि अन्ततः छोरा जन्मँदा खुसी भएर उत्सव मनाउने र छोरी जन्मँदा दुःखी र उदास भएर छोराकै प्रतीक्षा गर्ने प्रवृत्तिले अन्ततः यन्त्रणा भोग्नेहरूको पुस्ता हस्तान्तरण भइरहेको छ। हजुरआमा र आमा हुँदै आजकी आधुनिक नारीसम्मले पनि अन्ततः यस्तो यन्त्रणा भोग्नु परिरहेको छ। त्यसैले यो उहिलेको मात्रै होइन अहिलेको पनि सामाजिक यथार्थ हो। तर यो क्रूर यथार्थलाई समाजले चुपचाप सहँदै आएको छ।

चुपचाप स्वीकार्दै र भोग्दै आएको छ। चुपचाप यसलाई निरन्तरता दिँदै आएको छ। अबको आवश्यकता भनेको यो निरन्तरताको क्रमभङ्गताको हो। यो क्रमभङ्गतामा पुरुषको अहम् भूमिका अपेक्षित छ। ‘अन्ततः यन्त्रणा’ उपन्यासको अन्ततः सन्देश यही नै हो। नारीकेन्द्रित उपन्यास भइकन पनि पुरुषको अस्तित्वलाई पनि समानरूपमा स्वीकार गर्नु यो उपन्यासको अलग विशेषता हो।

उपन्यास सुन्दर छ, तर सम्पादनमा भएको सानो असावधानीले पनि कतैकतै पठनको मिठासमा बाधा पुगेको महसुस हुन्छ। जस्तैः ‘हेर, मेरो यो दाना कस्तो दुःख छ। राति त झन् बेस्सरी दुःख छ। म मेरो जामा माथि सारेर हेर्थेँ। अनि निचोर्थेँ। दुःख छ कि दुःखदैन भनेर जाँच्नका लागि। तर मलाई दुःखदैनथ्यो’ (पृष्ठ ४९)।

यसैगरी विशेषतः सर्वनामको प्रयोगमा केही असावधानी भेट्न सकिन्छ। जस्तैः ‘उनी बुबा बन्ने खुसीमा कताकता हराएजस्तो मलाई लाग्थ्यो। जिम्मेवारीले उसलाई सोच्न बाध्य बनाउँदै थियो।’ ‘...उसले रिक्सावालालाई बोलाए।’ ‘उसले भारी जीउकी श्रीमती भनेर हो कि कुन्नि मलाई झोला बोक्न दिएनन्’ (पृष्ठ ८९)। ‘ऊ आफ्नै सामान ओसारपसार गर्ने काममा तल्लीन थिए’ (पृष्ठ १२०)। ‘उसले दोस्रो वर्षको जाँचै दिएनन्’ (पृष्ठ १७०)। यस्ता गल्तीहरू पृष्ठ १९२, १९६, २२१, २२२, २६३, २७३ मा पनि छन्। यस्तै च्वच्व हुनुपर्नेमा च्वाँच्वाँ भएको छ (पृष्ठ २६६)। 

प्रकाशित: ४ असार २०७९ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App