५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

ललितकला पुरस्कार आलोक गुरुङलाई दिइने

ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो। प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोसल्ला रहेको छ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरेका थिए। उक्त पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले सञ्चालन गर्दै आएको छ।

पुरस्कृत हुन लागेका कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा क्रियाशील छन्। ‘कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने धारणा राख्ने गुरुङले एकहजार भन्दा बढी मुहारचित्र तथा अन्य सयौं सिर्जना गरिसकेका छन्। उनको एकल चित्रकला प्रदर्शनी–२०१३ (दमौली), पोखरा (२०१४), (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी–२०३१ (बागलुङ) प्रदर्शन गरिसकेका छन्।

त्यस्तै उनले समूह चित्रकला प्रदर्शनी तथा सामूहिक कला कार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन्। उनी लाइभ डेमोस्ट्रेशनमा पोख्त कलाकार मानिन्छन्। उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन्।

पोखरेली युवा सांस्कृति परिवार (पोयुसाँप)का अध्यक्ष मोती भुजेलले कलाकार गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए। उनका अनुसार प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको संयोजकत्वमा बनेको समितिले गुरुङलाई सर्वसम्मत रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो।

यसअघि ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्गी, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् । पुरस्कार आगामी असार ४ गते शनिबार एक समारोहका बीच प्रदान गरिने अध्यक्ष भुजेलले जानकारी दिए।  

प्रकाशित: २३ जेष्ठ २०७९ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App