१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लोकप्रिय नेता

लघुकथा

धर्म सापकोटा राजु

तिर्थबहादुर उनको क्षेत्रमा निकै लोकप्रिय थिए। पढेलेखेका र भिजन भएका नेतामा गनिन्थे। उनको यही गुण देखेर स्थानीय चुनावमा पार्टीले गाउँपालिकाको अध्यक्षमा टिकट दियो। उनले कार्यान्वयन गर्न सकिने खालका निकै राम्रा कार्यक्रमहरूलाई चुनावी एजेन्डा बनाए।अझ चुनाव जितें भने तलवभत्ता केही नलिने भनेर घोषणा पनि गरे। यसले उनको लोकप्रियताको क्षेत्रफल झन् बढायो। उनले चुनाव सजिलै जिते।

चुनावपछि उनले आफ्ना चुनावी घोषणाहरूलाई  कार्यान्वयन पनि गरे। गाउँमा शिक्षा, स्वास्थ्य लगायत बाटाघाटाका थुप्रै परियोजनाहरू ल्याए। अस्पताल उनकै पालामा बन्यो। खानेपानीको परियोजना पनि आयो। उनी सबैका हाईहाई भए। उनको लोकप्रियता देखेर विपक्षी दल पत्तासाफ हुने निश्चित नै थियो। विपक्षीलाई उनको लोकप्रियता मन परिरहेको थिएन। त्यसैले उनीहरू उनको कमजोरी खोतल्न सुरु गरे।

यसै क्रममा एकदिन अचानक तिर्थबहादुर पक्राउ परे। यस्तो लोकप्रिय मान्छे किन पक्राउ परे होलान् भनेर सबै छक्क परे। कुरा बुझ्दै जाँदा उनले हरेक परियोजनाका लागि सामान किन्दा व्यापारीसँग कमिसन खाने गरेको खुलासा भयो। उनले त्यो स्विकार पनि गरे। अचम्म मानेर एकजना अनुसन्धान अधिकारीले उनलाई सोधे, ‘यस्तो लोकप्रिय नेता भएर पनि व्यापारीसँग कमिसन खानुपर्ने के बाध्यता पर्यो तपाईंलाई?’

उनले भने,‘के गर्नु हजुर, उतिबेला भावनामा उडेर लोकप्रिय हुन राज्यकोषबाट एक पैसा पनि तलवभत्ता या सेवासुविधा केही लिन्न भनें। पछि आएर त घरखर्च चलाउनै मुस्किल भयो।’

प्रकाशित: ७ जेष्ठ २०७९ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App