९ जेष्ठ २०७९ सोमबार
कला

रिपब्लिका प्रकाशनको चौधौं जन्मोत्सव

२०७९ वैशाख ११ आदित्यबार साँझ वसन्तपुर डबली। झलमल भव्य थियो। चौधौँ जन्मोत्सवको उपलक्ष्य थियो–नागरिक नेपाली र नेपाली नागरिक जुम्ल्याहा चेत संवाद सञ्चारको। पहिलो अनुभूति अभिव्यक्ति। लोकतान्त्रिक नेपालको लोक हितनिमित्त उन्मुख अभिमत।

आधुनिक आविष्कारको देन, श्रव्यदृश्य साधन–दूरदर्शन यन्त्रको पर्दामा अवलोकन गरेको काष्ठमण्डप। नागरिक रिपब्लिका प्रकाशनको कार्यक्रमले जुरायो। प्रत्यक्ष दर्शनको आनन्ददायक अनुभूति अनुपम बन्दो रहेछ। त्यो दृश्यावलोकनले आल्हादित भएँ। यस्ता अनुभूतिले नौलो चेत जगाउँदो पाएँ।

नामैले काष्ठमण्डप। पर्याप्त लाग्यो, नवचिन्तन चेत उमार्न। अनुप्राणित भएँ। फलतः भित्रभित्रै आफूमा उद्वेलित भएँ। काष्ठमण्डप विषयवस्तुको अन्तर्य उप्काउने। अभ्यन्तर बन्यो–मेरो मको। अभ्यन्तर भन्नु आफूमा निहित उत्कर्ष। उत्कर्षभित्रका आफ्ना मनोकाङ्क्षा। आत्मपरक निर्बन्ध निबन्धको आयामिक स्वरूप यस्तै बन्छ। लम्बाइ, चौडाइ, गहिराइमात्र आयामका आयाम रहेनन्।

कोणकोणबाट देखिने, हेरिने दृश्य कोणिक अवलोकन पनि थप आयाम। चौबीस घण्टे दिनरातव्यापी अहोरात्र। त्यसका पहरपहरमा झुल्किने किरणभेदी बिम्ब प्रतिबिम्बबाट प्रभावित रहने फरकफरक स्वरूप अनेक आयामका स्रोत। यस्तै धारणागत चिन्तनमा पौडनु जीवनका पूर्वाध महिमामय लीला–लीलामय महिमा चहारिरहेछु।

कोणकोणबाट देखिने एकै वस्तुको स्वरूप एकनास रहन्न, कदापि एउटै देखिन्न। फरक नै देखिन्छ। स्वरूप अलग हुन्छ। यही नै कोणिक हेराइको विशेष दृश्यावलि बन्छ। कोणिक दृश्यावली हेराइको छुट्टै मजा हुन्छ। फरक अनुभूतिगम्य बन्छ।

आँखाको दृष्टि र मनको प्रगाढ चिन्तनले नौलो विश्लेषण बन्छ। तिनै चिन्मय चिन्तनले सुखानुभूतिगम्य आरोग्यदायी आनन्द उद्भव हुन्छ। आनन्दीमनले सुखी तुल्याउँछ मानव प्राणीलाई। जे गर्छौं, हामी सुखमय जीवन र समाज निर्माणकै लागि त गर्छौं। सदासदा हामी यस दिशोन्मुख रहन्छौँ, रहौँ। शुभकामना !

प्रमुख अतिथि बनाइएका बयोवृद्ध तन्नेरीचेत। नस्वर शरीर–देहधारी पञ्चतत्वमय आत्मा। दैहिक शरीर अजर–अमर आत्माको इहलीलामय वासस्थान हो। प्रकृति हाम्रा सृष्टि, स्थिति, लालनपालनकर्ता सबै हो। प्रकृतिविरुद्ध चल्नु सबैभन्दा ठूलो कुकर्म। कुकर्म सबैभन्दा महान् पाप हो। रौरव नरकगामी पाइला। आचारविचारले बहिस्कार गर्नुपर्ने।

आचारविचारबाट त्याग्नुपर्ने कुकर्म सात पुस्तासम्मै रौरव नरकगामी हुन्छ। रौरवझै भयावह नरक अर्को हुन्न। पूर्वीय जीवन दर्शनले सिकाएको क्षण। लोक विरुद्धम् नाचरनीयम। लोकविरुद्ध हुने कुनै पनि काम गर्नुहुन्न। संवाद सञ्चारसूचक कुनै पनि माध्यमको धर्म यही बनाऔँ। सुन्दर कलात्मक नेपाली धातु कला उद्योगकै नमुना भव्य। अहा भन्न मनलाग्दो, भनेँ पनि।

आलिशान पानसका सलेदोको चुच्चे टुप्पो। दुई औँलाले निचोरें। बल्दो सुकुनाको दीपले पानस बालियो, करतल ध्वनिका माँझ। सुकुना सानु, उचाल्न सजिलो। सहजतवरले उचाली रिपब्लिका नागरिक नेपाली परिवार र पाहुनागणलाई आरती दिएँ। रहस्य उद्घाटन गर्न समयाभावको सङ्केत भयो। गर्नैपर्ने मर्म, अहिले उद्घाटन गर्नैपर्छ; मनैले सङ्कल्पेँ।

दीपले अभिषेक गर्नुको रहस्यमय अन्तरङ्ग यही अभिव्यक्ति बन्यो। हामी सबैमा अन्तरज्योति निहित छ। अन्तरनिहित ज्योतिलाई देदीप्यमान झलमल्ल पार्नु तन्त्र साधना हुन्छ वा अति सूक्ष्म र भावुक साधना हो। यो र यस्तै अरू अझै बेलामौकामा उजिल्याइरहनु यो चेतको अवधारणा बन्छ। वसन्तपुर डबलीबाट झल्यास्स पुनर्निर्मित राजधानी महाननगर काष्ठमण्डप मन्दिर दर्शन गरेँ।

हिँडडुल गर्ने शारीरिक असमर्थताबस पहिलो दर्शन गरेँ। नामैले मण्डप प्रत्यय जोडिएको मन्दिरको महात्म्य उजागर गर्न मन लाग्यो। मन ताक्छ मुढो बञ्चरो ताक्छ घुँडो उखान झल्यास्स भयो। समयका नैरन्तर्यबीच सोचाइ नै तुहियो, गर्भपात भएझैँ भयो। यद्यपि म नारी भएनछु। गर्भधारण गराउने पौरखी पुरुष जन्मँदै। गर्भपतनको पीडाबोध गरें। लाग्यो बेथिति, प्रमुख अतिथि बन्नुको बेथिति बोध गरेँ। जीवन अनवरत बोधितत्वमयी त रहेछ। म मानव सिद्धार्थ गौतम बुद्धको वचनामृत चाखेँ। सन्तोषीमन जपेँ, तपें।

निर्बन्ध निबन्धका आयामिक पहल अलि छाडा हुन्छ। महाकवि गुरुदेव लक्ष्मीप्रसाद देवकोटा असीमित बौद्धिकतामा कल्पनाका पुट दिई जीवनजगत् असीमित विचरण गर्थे। उनलाई छुन नसकेका समकालीनहरू पागल भन्थे। अबुझहरूका बीच विद्वत् बौद्धिक चेतनापुञ्जहरू पागल जँचिनु कुनै आश्चर्य हुन्न भन्छु। म नि उही ड्याङकै त भएछ–निष्ठाछेँका सखारै बिहानीमा कणनाद फुर्कने चरो–ग्वंगः।

यसमा केको लाज हजुर? निश्चिन्त निस्फिक्री छु म। हिलोमा ढुङ्गो हान्दा बाछिटाले आफैलाई नै ! निरीह छु, के गरुँ ! आग्राको यात्रालु म, गाग्रा भर्न मै रणभुल्लिएछु। अल्झिँदै बल्झिँदै आफै अलमलिएँ भन्छु। बन्छु पनि यस्तैयस्तै। युगकवि सिद्धिचरण श्रेष्ठको ‘क्यारूँ क्यारूँ’ कविताजस्तै। विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा आग्राको प्रसङ्ग मेरो काष्ठमण्डप देवल रहेको छ। नामैले काष्ठमण्डप यो मन्दिरहरूबीच काठमाडौँ नेपाल राष्ट्रकै राजधानी।

राजधानी काठमाडौँको पहिलो महानगरपालिकाले जगैदेखि तन्दुरुस्त पुनर्निमाण गरेका गौरवशाली सांस्कृतिक धरोहर। सांस्कृतिक धरोहर विश्वसम्पदा। विश्व भूगोल अन्तरग्रहीय सम्पदा। अन्य ग्रहमा पनि हाम्रोमा जस्ता मानव हुँदाहुन् त अन्तरग्रहीय पर्यटन भेला हुँदाहुन्। आशा गरौँ, कुनै बेला यो सम्भव हुने छ, उज्ज्वल भविष्यको अपेक्षा गरौँ। अन्तरमनको ढुकढुकी त मण्डपशैलीसित छ, यतै लागौँ।

मण्डप शैली हाम्रै पूर्वीय जीवनदर्शनमुखी स्थापत्यकला उन्मुख रहेको छ। मण्डप शैलीमा आधारित मन्दिर निर्माणक्रम थालनी साथ छेडी तल्ला/भुईको बीच भागमा चट्ट कोणयुक्त खाल्डो बनाइन्छ। चारकुने मण्डपको चारै दिशाको मध्यभागमा एकएक द्वार बनाइएको हुन्छ।

ती द्वारले पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशालाई प्रतिबिम्बित गर्छन्। प्राकृतिक शाश्वत सत्यका आधारशीलामा आश्रित चिन्तनदर्शन यसको आधारशिला रहेको छ। अलिकति गहिरो खोज चिन्तन मननको सोच आधार ठान्छु यसक्रमका। सशक्त चिन्तन अशक्त वयोबृद्ध शरीरका अशक्तताका जीवन्त मेला मानिरहेछु।  क्यारूँ म यो देशनिम्ति क्यारूँ?

नाँचूँ कि, गाऊँ कि गला मिलाऊँ।

सहर्य काटी शिर नै चढाऊँ !

या श्वास जम्मै यसमै मिलाऊँ !

काष्ठमण्डपको छेँद्री/भुइँ तल्लामा बनाइएको, त्यो मण्डपमा यज्ञाहुति गरिन्छ। कार्यसिद्धिका लागि गरिने पुरश्चरण। मन्त्रतन्त्र साधनाका बौद्धिक उपासना विधि। त्यसैले मण्डप निर्मित हुन्छ। मण्डपबीच श्रीखण्डका कप्टेराहरू त्रिकोणात्मक ढाँचामा मिलाएर यज्ञ मण्डप सजाइन्छ।

श्रीखण्ड दक्षिण भारत प्रकाण्ड तापक्रम भएको उष्ण जलवायुयुक्त भूमिमा मात्र उम्रने वृक्ष। अत्यन्तै बडेमानको रुख। यसले अत्यन्तै ठूलो राशीको श्रीखण्ड उत्पादन गर्छ। श्रीखण्ड शितलताप्रदायक वनस्पति। हामी यसको चन्दन निधारमा लगाउँछौँ। जोशी, कर्माचार्य, ब्राम्हणहरूको संयुक्त प्रयासमा तयार पारिन्छ यज्ञाहुति मण्डप।

प्राचीन पौराणिक युग परम्पराअनुरूप तामाको खड्कुलोभरिको पानीमाथि पानी घडी तैराइन्छ। पानी घडीको मध्यभागको सुक्ष्म छिद्रबाट पानी पसेर भरेपछि त्यो पानी घडी डुब्छ अनि साइतको घडी जोखना पूरा हुन्छ। यो पूर्वीय परम्परामा अडेको साइतपद्धति। आफैं यौवनजोवन कालका अनुभूति भरभराउँछ: तुलजा भवानीको मुल चोकबाट यस्ता साइतका घडी निरोपण हुने गर्थ्यो।

अत्याधुनिक प्रविधिपूर्ण विज्ञानले परम्परागत संस्कारमा नौलो प्रवर्तन गर्नु युगीन प्रवृत्ति बन्दै हुर्कनु स्वाभाविक बनेको छ। वैज्ञानिक आविष्कारबाट उद्भव आधुनिक–अत्याधुनिक आविष्कारहरूलाई अंगिकार गर्नु युगबोधितत्व ठान्छु। आधुनिकतालाई शिरोपर गर्नु नयाँ पुस्ताका परम धर्म–कर्मयोग बन्छ।

निधारको मध्यस्थल–दुई नयनबीच नाकैमाथि लगाउँछौं। यसले हाम्रो मनमस्तिष्कलाई ठण्डा शितलता प्रदान गर्छ। ठण्डा दिमागले सोच्ने उक्ति त्यसैले प्रचलित छ। सितल दिमागको सोच विचार निस्कलङ्क रहन्छ। तातो दिमाग उपकारी हुन्न। अहंकारी हुन्छ। अहंकारीहरू झगडालु हुन्छन्। ठण्डा दिमागले मेलमिलाप खोज्छ। गरम दिमागी झगडालु बन्छ। त्यस्ताहरू स्वार्थी हुन्छन्। स्वार्थीहरू अवसरवादी बन्छन्। मात्र अवसर चहारी हिँड्छन्।

मण्डप शैलीमा निर्मित सम्पूर्ण मन्दिरहरू काष्ठमण्डपकै अनुकरण रहेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन, अपितु नेपालभरिकै मन्दिरहरू मण्डप शैलीमै निर्मित छन्। यावत हाम्रा मन्दिरहरू एक समान स्थापत्य शैलीमै निर्मित छन्। शताब्दीपिच्छेका भुकम्प, महाभूकम्प र बेलाबखतका प्रकम्पनहरूले तहसनहस पारेका मन्दिरमय सम्पदा यसैत्यसै भग्न भएका छन्।

स्थापत्य कलाशैलीका मूर्त कथा तहसनहस भएका कयौँ घटना अभिलिखित हुन नसकेर बिलुप्तिएका छन्। कुनै त्यस्तो साइत गर्ने शुभ संचेतनाले नौलो पुस्तामा चन्द्रोदय हुने छ। सम्भाव्य साइत जुर्ने छ। आशावादिता जीवनको मुहार बनाइनु मानव धर्म ठान्छु।

मण्डप शैलीको विज्ञताको न्यूनतामा कसैले छाना शैली भनेका छन्। कसैले पेगोडा शैली। छाना लगाउने एक पद्धति हो। विश्वभरि नै कुनै समयसापेक्ष प्रविधि बनेका हुन्। पेगोडा शैली हाम्रो मौलिक नभएर दक्षिणपूर्वी एशियाका विभिन्न मुलुकमा देख्ने अवसर उपयोग गरेको नम्र निवेदन गरें। यो वृत्तान्त केवल आँखैदेखि हाल मात्र।

मण्डप शैलीको सत्यतथ्य विवेचना गर्ने कर्मनिष्ठ विद्वान विवेचक प्राडा सुदर्शनराज तिवारी हुन्। वर्चश्वशाली आफ्नो कृति टेम्पल्स अफ दि नेपाल भ्यालीमा उल्लेख भएको पाएँ। पञ्चायतकालमा जापान अध्ययनभ्रमण गर्दै त्यहाँको एकीकृत ग्रामीण विकास परियोजना अध्ययन गर्न पुगेको थिएँ। त्यसै बेला नारा प्रिफेकुचर पनि पुगेथे। नाराको यो होयुजी मन्दिर दर्शन गर्न पाएथे।

जापान स्वयं बौद्ध धर्माबलम्बी मुलुक हो। त्यो मन्दिर पनि भक्तपुरको पाँचतल्ले मन्दिरजस्तै नभए पनि पाँचतले नै छ। जापानको नारास्थित होयुजी बौद्ध मन्दिर आफै मतापको देखिन्छ। तिनको छाना प्यागोडा शैलीका स्थापत्य कला साधनामार्फत निर्मित छन्। प्राकृतिक प्रर्यावरण अनुकूल स्थानीय स्थापत्य निर्माण शैली निर्धारण गरिएका रहेछन्। नेपाली प्राकृत पर्यावरण अनुकूल भक्तपुरलगायत देश भरिकै मन्दिरको छानो निर्मित छन्।

नागरिक रिपब्लिका प्रकाशनको चौधौँ वार्षिकोत्सवको सिलसिलामा थिएँ। सन्दर्भ थियो–काष्ठमण्डप मन्दिरको भुइँ तल्लामा निर्मित मण्डपशैली विश्लेषण। काष्ठमण्डप मन्दिरकै नाम नेपाली भाषामा अवतरण हुँदा काठमाडौँ भएको प्रतीत हुन्छ। त्यसो त हाम्रो राष्ट्रभाषा नेपालीको व्युत्पति थलो सुदुर पश्चिमवर्ती नेपालको कर्णाली प्रदेशको खस भाषामाथिका इष्ट/कुल देवतालाई पनि माण्डो/मायाको मुल देवता भन्ने संस्कृति बनेको छ। यी तादात्म्यहरूमा बृहत् खोजीनीति हुनु जरुरी छ। यो आवश्यकता पूर्ति गर्ने अभिभारा आगामी पुस्ताकै भरभराउँदो दायित्व ठानौँ।

जय नागरिक नेपाली।

प्रकाशित: ३१ वैशाख २०७९ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App