२१ पुस २०८२ सोमबार
image/svg+xml
कला

बादलपारिको फिल्म र राहत

यदि यो आगमन फिल्म रिलिजको सय दिन मनाउनका लागि थियो भने तामझाम अर्कै हुन्थ्यो। भेट्ने मान्छेको सूची बेग्लै हुन्थ्यो। जसरी 'साइनो', 'तृष्णा', 'नेपाली बाबु'जस्ता फिल्मको सफलता मनाउन विगतमा आउँदा भएको थियो।यसपटक निर्देशक उगेन छोपेल काठमाडौं आउँदा यहाँ महाभूकम्प गएको सय दिन पुग्दै छ। र, उनीसँग फिल्म निर्माणका सरसामान होइन, भूकम्प प्रभावितलाई 'राहत प्याकेज' छ। उनी फिल्मकर्मीको सम्पर्कमा छैनन्। डाँडाकाँडा चहारिरहेका छन् तर फिल्मको लोकेसन हेर्न होइन, भूकम्प प्रभावितको अवस्था बुझ्न। उनी पुनर्निर्माणमा क्रियाशील संस्था प्रण नेपालमार्फत भूकम्प प्रभावितलाई सघाउन काठमाडौं आसपासको अवस्था जान्दै छन्।

...

'अर्कै कामका लागि आएको, भो' फिल्मको कुरा नगरौं,' यसो भनेर उनले फिल्मी अन्तर्वार्तालाई अप्रासंगिक बताए पनि नेपाली फिल्ममा उनको प्रसंग सधैं महŒवपूर्ण हुन्छ। पहिलो फिल्म 'साइनो'बाटै नेपाली दर्शकसँग उनले गहिरो नाता जोडे। थोरै फिल्म बनाए, आहा! भन्ने बनाए।

करिब १२ वर्षअघि 'बादलपारि' बनाएपछि उगेन फिल्म लिएर वारि आएनन्। प्राविधिक रूपमा राम्रो र विषय छनोटमा दक्ष मानिने उनले बलिउडको प्रतिस्पर्धामा सामेल हुने जमर्को गरे। उनी निकट अभिनेता भुवन केसीको अन्दाजमा उगेनको सपना बलिउड थियो, त्यहाँ सोचेजस्तो सफलता पाएनन्। नेपाली फिल्म उद्योगमा उनी छाइरहन सक्थे। तर यो पोखरी उनलाई फराकिलो लागेन।

तर, उगेन स्वयंचाहिँ होटल व्यवसायमा व्यस्त हुनुपर्दा फिल्मलाई समय दिन नसकेको बताउँछन्। सिक्किममा पाँचतारे होटल बनाउन थालेदेखि फिल्मलाई समय दिन नपाएकाले हराएजस्तो भएको प्रस्ट पार्दै उनले थपे, 'यसबीच लगातार फिल्म बनाउन चाहिने पाँच महिना समय निकाल्नै सकिनँ। र, आफ्नो सिर्जनशीलता होटलमा प्रयोग गरेँ।'

उनी फिल्मलाई 'प्यासन' मान्छन्, 'प्रोफेसन' हैन। उनको करिअरमा होटल र फिल्मको सम्बन्ध छ नै त्यस्तै।

उनी होटल म्यानेजमेन्ट पढ्न मुम्बई गए। मामा डेनी डेङ्जोङपाको कला क्रेजले उनलाई पनि फिल्मी दुनियाँतिरै धकेल्यो। 'साइनो' फिल्ममार्फत नेपाली दर्शकसँग साइनो जोडे। 'तृष्णा'बाट मन जिते। 'नेपाली बाबु'ले सफलताको कीर्तिमान नै बनायो। तर, 'बादलपारि'पछि भने उनको तृष्णा फिल्मतिर देखिएन।

'मलाई फिल्म बनाइदेऊ भन्न कोही आउँदै आएन। अब त आफैं लगानी गरेर भए पनि बनाउने विचारमा छु,' यात्रा मोडिनुमा उनी राजनीतिक कारण पनि तेर्स्याउँछन्, 'द्वन्द्व र अस्थिरताको सिकार भयो नेपाली कला क्षेत्र। तपाईहरुकहाँ कलालाई सराहना गर्ने राज्य भएन।'

'सर्जकको कारणले मात्र टिक्दैन, कला। यसलाई बुझ्ने पारखी पनि चाहिन्छ, वीरबलको जोक सुनिदिने अकबरजस्तो,' त्यसको अभाव देखे उगेनले।

उनले राम्रो फिल्म बनाए तर यसलाई पेसा बनाएनन्। नेपाली फिल्ममा धेरै जना पूर्णकालीन 'पेसेवर' छन्, जो राम्रो फिल्म बनाउन जान्दैनन्। त्यसैले नेपाली फिल्मले दर्शकको विश्वास गुमाएको छ। झन् डिजिडल युग त मजैसँग लाग्यो नेपाली फिल्मलाई। प्रविधिको सुलभताको फाइदा उठाउँदै टोलटोलबाट हिरो, हिरोइन, निर्देशक र निर्माता पैदा भए। फिल्मको बाढी आयो। धमिलो बाढीले दर्शकको तिर्खा भने मेटाउन सकेन।

राम्रो निर्माता, राम्रो लगानी, राम्रो उपकरण र फिल्मलाई विश्वासिलो बनाउनका लागि गर्नुपर्ने काममा सम्झौता नगर्ने निर्माताको अभाव, यी कारण छन्, उगेनलाई फिल्मबाट बादलपारि पुर्यावउने। उनी सम्झौताविरोधी निर्देशक हुन्। तर, फिल्म क्षेत्रमा सम्झौता सिक्काको अर्को पाटोजस्तो छ। 'त्यही सम्झौता सहन नसकेर दूरदर्शनको लागि बनाउँदै आएको अजनवी सिरियल छोडेँ,' सम्झौताको पीडा भारतीय मनोरञ्जन उद्योगमा पनि उत्तिकै रहेको उनले खुलाए। तर, राम्रो निर्देशकले आफ्नो सिर्जनालाई खुम्च्याउने सम्झौतालाई कुनै हालतमा सहन नहुने उनको सुझाव छ।

'निर्देशकले आफ्नो स्तर त राख्नैपर्छ। सम्झौता गरेर यो क्षेत्रमा टाँसिनुभन्दा अरू पेसा रोजेको धेरै राम्रो,' उनी प्रस्टै भन्छन्। उनी सुटिङलाई ठूलो समस्या मान्दैनन्, त्यसअघिको तयारी अर्थात् 'प्रि प्रोडक्सन'मा बढी समय लगाउँछन्। चलेको हिरो भन्दैमा जस्तो पहिरन वा मर्जीमा सेटमा आउन दिँदैनन्। क्यारेक्टर ग्राफमा धेरै तयारी गर्छन्। यिनै कारणले उगेनको फिल्म महँगो पर्छ। निर्माता सस्तो निर्देशक खोज्छन्।

'तर याद त राम्रो फिल्म बनाउनेको हुँदो रहेछ नि,' वर्षमै सयभन्दा बढी फिल्म बन्ने अवस्थामा पनि आफ्नो फिल्मको चर्चा सुन्दा उनलाई यस्तो लाग्छ।

फिल्ममा निर्माताहरू आनावश्यक रूपमा हाबी भइदिँदा सिर्जनशीलता कमजोर हुन्छ। निर्माताले सोचेर फिल्म बन्दैन, उसले सोच भएकालाई विश्वास गर्ने हो। तर, क्यामेरा एंगलको बारेमा दुई–चार कुरा गर्न जान्ने र बोल्न सक्नेले निर्देशकको लगाम पाए, फिल्म सही दिशामा दौडिएन। नेपाली फिल्ममा अवरोध पैदा गर्ने यस्तो प्रवृत्तिबारे उनी जानकार छन्।

उगेनसँग फिल्म विमर्श चल्दैगर्दा भर्खरै चलचित्र विकास बोर्डले सार्वजनिक गरेको 'निर्देशक बन्ने मापदण्ड' पनि विषयवस्तु बन्यो। निर्देशनलाई 'गम्भीर जब' मान्ने उगेनले सिर्जना नाप्ने नियमप्रति सिधै असहमति जनाए। तीन वटा फिल्ममा सहायक नभई निर्देशन गर्न नपाइने बोर्डको नियमको उनले कुनै कोणबाट पनि तुक देखेनन्।

'सिर्जनशीलता कसैको सहायक हुँदैमा पलाउँदैन,' प्रसिद्ध भारतीय फिल्म निर्देशक मणिरत्नमको उदाहरण दिँदै उगेनले भने, 'भारतको उत्कृष्ट फिल्म निर्देशकले कतै फिल्मको तालिम लिएनन्। तर, सबैको भन्दा राम्रो फिल्म बनाए।'

उनलाई लाग्छ, फिल्म बनाउनु कारखानाको काम होइन, कसैको पछाडि बसेर सिक्ने। रुचि भएपछि क्षमताको विकास कसरी गर्ने, त्यो व्यक्तिमा भरपर्छ। लाग्दो पैसा खर्च गर्न तयार हुनुपर्योर, राम्रो स्त्रि्कप्ट तयार पार्न जान्नुपर्योल, राम्रो फिल्म बनाउन भित्रैदेखि प्रतिबद्ध हुनुपर्योर। उगेनको सूत्रले भन्छ, 'एसिस्टेन्ट नबनी निर्देशक भएकाहरूका कारण नेपाली फिल्म यो अवस्थामा पुग्यो होला भनेर म मान्दिनँ।'

सहायक नै बने पनि कुन निर्देशकको बन्ने? जो असफल र कमसल फिल्मको खात लगाएर बसेका छन्, उनको? सिर्जनशीलताले बलेर आएको युवा तीन फिल्ममा कमसल निर्देशकको दबाबमा पिल्सियो भने उसमा भएको 'क्रिएटिभ एनर्जी' बाँकी रहला?

यस्ता धेरै असहजता केलाउँदै उनी भन्छन्, 'अहिलेको जमानामा प्राविधिक ज्ञान सिक्न कसैको पछि लाग्न पर्दैन। मेसिन कसरी चल्छ निर्देशकले नबुझे पनि हुन्छ, त्यो अपरेटरको काम हो।'

समग्रमा यो मापदण्डप्रति उनको स्पष्ट धारण छ, 'यो जुझारु र सिर्जनशील व्यक्तिको मनोबल घटाउने नियम हो।'

फिल्म जाँगरले बन्छ। तर, धेरै अल्छी भए। यसमा ज्ञान चाहिन्छ, जुन अध्ययनशील नभई सम्भव छैन। तर, नेपाली फिल्मका 'दक्ष'हरू अध्ययनशील भएनन् भन्ने आरोप अझै उस्तै छ। एकथरी असफल हुन्छन्, दर्शकले फिल्म बुझ्न नसक्दा त्यस्तो भएको आरोप लगाउँछन्। अर्काथरी निम्नकोटीको फिल्म बनाउँछन्, राम्रो बनाउन जानेको तर दर्शकको मागले यस्तो बनाएको कुतर्क गर्छन्। 'फिल्मकर्मीमा लगाव छैन, कडा मेहनत र कामप्रति गम्भीर छैनन्,' समस्याको जड पहिल्याउँछन् उनी।

खडेरीका बेला मान्छे पर क्षितिजतिर हेर्छ, कतै बादलको टुक्रा छ कि भन्ने आशमा। नेपाली फिल्म व्यापार र स्तर दुवैका हिसाबले लामो खडेरीबाट गुजि्रएको छ। कुनै बेला फिल्ममा बहार ल्याउन सफल भनिने उगेनले पानीका केही छिटा बर्साउन सक्लान्?

'यसै भन्न त सक्दिनँ तर सिन्सियर्ली प्रयास गर्छु। कोही नआए आफैं लगानी गर्छु। तर आफूले चाहेको जस्तो बनाउँछु,' छोपेल 'इनिसियल हिट' फिल्मको पक्षमा छैनन्। जसरी उनी भूकम्प प्रभावितका लागि पनि 'इनिसियल' अवस्थामा सहयोग गर्न आएनन्। चार वर्षअघि सिक्किमको भूकम्पलाई सूक्ष्म रूपले नियालेका उगेनलाई थाहा छ, भूकम्प र फिल्मबीचको समानता। 'स्टन्ट' सुनेर फिल्म हेर्नेको दुई दिन भिड लाग्छ। त्यसपछि हल सुक्छ। भूकम्प प्रभावितका लागि पनि सुरुमा सहयोगको वर्षा हुन्छ, बिस्तारै सबै लाखापाखा लाग्छन्, दुःख बाँकी छोडेर। हल्लाका भरमा चलाइएका फिल्म हेर्न सुरुमा भिड हुन्छ, त्यसपछि सबै लाखापाखा। अनि भूकम्पपीडितको बस्ती जस्तै शून्य, उजाड।

'अब डोनरको खाँचो छ। म प्रभावितका लागि सकेको सहयोग निरन्तर जुटाउँछु। किनभने भूकम्पको इनिसियल फेज सकियो,' राम्रो फिल्मले बिस्तारै 'पिकअप' लिएजस्तै हुनुपर्छ भन्छन् उनी पुनर्निर्माण गति।

प्रकाशित: १५ श्रावण २०७२ २२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App