नवराज शर्मा
‘यो तपाईको पनाति! यी नाति र नातिनीबुहारी! अब पालैपालो टिका लगाइदिनुस।’मैले चोरऔंलाले सबैलाई देखाउँदै भनें।
‘मैले पनि देख्या छु, तैंले देखाउनु पर्दैन’ भन्दै आमाले सबैलाई दशैंको टिका र जमरा लगाइदिनुभो। सबैले दर्शन भने। आमाले खुट्टा तेर्साईदिनुभो। मुसुमुसु हाँस्दै ढोगे। टिका लगाइसकिएपछि हामी भान्छाकोठातिर लाग्यौं। खान बस्नुअघि मैले ल्यापटपको स्क्रीन दाग नबसोस् भनेर स्प्रीटले सफा गरें।
दिउँसो भान्जाभान्जी, बहिनीजुवाइँ र दाजुभाइ सबै आए। टिका लाएर गए तर जो आए पनि एउटै कुरा सोध्थे, ‘छोराछोरी आउलान् त?’
‘आउँछु भन्या छन्।’ मेरो एउटै जवाफ हुन्थ्यो।
आफ्नो सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षाका लागि विदेश पठाएपछि उनीहरू पनि त आफ्ना सन्तानको सुखद् भविष्यको सपना देख्दा हुन्! कामना गर्दा हुन्! त्यो कुरा किन हो कुन्नि म जानीजानी बिर्सन्थें। म जतिचोटि ‘आउँछु’ भन्थे, आमा त्यतिपटक मेरो मुखमा पुलुक्क हेर्नुहुन्थ्यो।
आज औंसी। आमाको मुख हेर्ने दिन। मैले ल्यापटप खोलें। एकछिनपछि पर्दामा छोराबुहारी, छोरीजुवाइँ र नातिनातिना देखिए। हामी भर्चुअल संसारमा थियौं। हाम्रो भर्चुअल बैठक जारी थियो।
‘ल आमाको मुख हेर’ भनें।
सबैले दर्शन भने। एकछिन रमाइलो भो।
‘भर्चुअल’ भेटघाट र भलाकुसारीपछि खाना खाएर म कोठातिर लागें। यसो ढल्किन भनी। आँखा झपक्क के लागेको थियो, ‘मेरो मुख हेर्दैनौ बाबु?आज आमाको मुख हेर्ने दिन।’ कानमा आवाज ठोक्किए जस्तो लाग्यो। तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसे जस्तो लाग्यो, ‘मसँग पनि त ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’
प्रकाशित: १९ वैशाख २०७९ ०५:५२ सोमबार