२५ श्रावण २०७९ बुधबार
कला

दलित अधिकारका लागि जो अपमानित हुन तयार भए

भारतको दिल्लीस्थित श्री विश्वनाथ संस्कृत महाविद्यालयमा पढेपछि उनी भर्खर गाउँ फर्किएका थिए। धोती उनको पहिरन थियो। लामो टुप्पी पालेका थिए।पक्का पण्डित बनेर उनी बाग्लुङ जिल्लाको वालिङ नगरपालिका ४, कुँडुलेफेदीस्थित घर आइपुग्दा उनको बच्चैदेखिको साथी प्रकाश सापकोटाले बिहेको निम्तो मात्र गरेनन्; लोकन्ते बन्न आग्रहसमेत गरे।

प्रकाश यार थिए; नमान्ने कुरै थिएन। साथीको खुसी आफ्नो खुसी थियो। बिहेमा उनी बेहुलासँगै बसेर खाना खाए। खाना खानुअघि उनलाई बेग्लै ठाउँमा खाना खान बोलाइएको थियो। बेहुला जैसी भएकाले सँगै खानु हुँदैन भन्ने विश्वास गरिन्थ्यो तर साथीसँग खानुको जुन रमाइलो थियो, त्यो रमाइलो एक्लै खानुमा कहाँ हुन्थ्यो र?

फेरि उनी जैसी–उपाध्याय, दलित–अदलितजस्ता कुरामा विश्वास गर्दैनथे। त्यसैले उनले त्यहीँ साथीसँगै भोजन गरे। समाजले उनको परिवारलाई उपाध्याय बाहुन ठान्थ्यो। उपाध्यायको आसनै बेग्लै; उनीहरूले आफूभन्दा तल्लो जातकासँग खानु हुन्थेन। तर उनले जैसी बाहुनसँग बसेर खाएको खबर आगोसरह फैलियो। साथीसँग खाना खाएका के थिए, घरमा उनले नराम्रा वचनहरू खानु पर्‍यो।

एक दिन उनी मावली गाउँमा पुराण भन्न निस्किएका थिए। भोजन गर्ने बेलामा एक जना स्थानीय परियार थरका व्यक्ति आइपुगे। शुद्ध पण्डितका अघिल्तिर ‘दमाईं’ आएको देखेपछि उनले घरका मानिस बोलाए र भने, ‘यी दाइलाई सुरुमा खान दिनू; त्यसपछि मात्र म भोजन लिने छु।’

नियमानुसार सुरुमा पण्डितले खानुपर्छ; दमाईंले त सबैभन्दा पछाडि। उनलाई यो कुरा सम्झाइयो तर उनले मानेनन्। सबै मानिस बराबर भएकाले उनीहरूलाई पनि ब्राह्मणसँगै खाने अधिकार छ। उनलाई आफूभन्दा अगाडि भोजन नगराउने भए आफू पुराणस्थलबाट निस्कने धम्की दिए तर उनको कुराको सुनुवाई भएन। जम्मा १८ वर्षे केटाको जिद्दी कसले पो मानोस्।

यो अवज्ञा आफ्नो अपमान भएको भन्दै उनी त्यो घरबाट निस्किए। पुराणका पण्डित भगवान्सरह हुन्छन्; उनले नजिकको खोलो तर्नु अनिष्ट हुन्छ भन्ने विश्वासका कारण उनी अलि पर पुग्नेबित्तिकै गाउँँ नै उल्टिएर उनलाई लिन पुगे। आफूभन्दा अगाडि ती कथित दलित व्यक्तिलाई भोजन गराएर मात्र उनले आफूले खाना खाए। यी दुई घटनापछि भने चन्द्रकान्त पौडेललाई भाउन्न भएर आयो। आफू जस्तै अर्को व्यक्तिमाथि कति चर्को भेदभाव ! कस्तो छुवाछुत !

‘यो त अपराध हो’ उनलाई लाग्यो। त्यसपछि उनलाई अर्को एउटा घटना याद आयो। उनको घरमा दसैँका बेला बालिघरे दमाईंहरू लुगा सिलाउन आउँथे। उनको वास्तविक नाउँ उनलाई थाहा थिएन तर धेरैले चम्काए दमैँ भन्थे। जब उनको घरमा लुगा सिलाउन भनेर चम्काए दमै आउँथे, उनलाई राजसी खाना दिनुपर्थ्यो। कहिलेकाहीँ दिइएन भने खाइरहेको भात घरभित्रै फ्याँकिदिन्थे। यो देख्दा उनलाई अनौठो लाग्थ्यो। ती चम्काए दाइले धम्क्याएरै मिठोमसिनो खान पाउँथे।

त्यसैको देखासिकीमा उनले पनि घरमा धम्क्याउनु पर्‍यो भने भन्थे- ‘मलाई पाँच रूपैयाँ दिनुहुन्छ कि म दमाईंलाई छोइदिऊँ !’ यसो भनेपछि परिवारबाट उनी मिठाई खाने पैसा उम्क्याउन भ्याउँथे। जब उनले छुवाछुतको गहिरो आघात बुझे; त्यसपछि दलितहरूमाथि भइरहेको घोर अत्याचारविरुद्ध लागिपर्ने निधो गरे। यस कुरालाई भने पछिल्लो एउटा घटनाले त यसैमा कटिबद्ध हुन उनलाई अझ प्रेरित गर्‍यो।

२०४७ साल चैत २ गते कुँडुलेमा जन्मिएका चन्द्रकान्त पौडेल परिवारको माइलो छोरा हुन्। उनले आफ्नै कान्छा हजुरबुबाले सुरु गरेको स्वामी श्रीधराचार्य गुरुकुलमा संस्कृत पढे। त्यसपछि उनी दिल्लीमा पढ्न गएका थिए। त्यहाँ उत्तर मध्यमा (१२ कक्षा) पढुन्जेलसम्म पनि उनले छुवाछुतको तीव्रता महसुस गरेका थिएनन् तर घरमा भने यसको चर्को व्यवहार चल्दथ्यो।

यो देखेपछि उनले जातीय छुवाछुत र कुप्रथाविरुद्ध अभियानै थाले। उनले आफ्नै कान्छा हजुरबुबाले स्थापना गरेको गुरुकुलमा दलितहरूलाई भर्ना गर्न खोजे। समाजमा पढेलेखेका समुदायले उनको यो अभियानलाई सहयोग गर्नु त के; उल्टै अनेक आरोप लगाएर प्रहरीमा थुनाए। हजारौँ वर्षदेखि समाजका जान्नेसुन्नेहरूले दलितलाई पिँधमा राखिरहन अनेक प्रपञ्च गरेका थिए; उनीहरूलाई अनेकौँ बन्धनमा बाँधेका थिए।

कतिसम्म भने मनुस्मृतिमा समेत अमानवीय व्यवहारलाई उचित ठहर्‍याइएको भन्दै लेखाए। चन्द्रकान्त भन्छन्, ‘जुन आत्माले मनुस्मृतिजस्तो उच्च दर्शन लेख्न सक्छ, उसले कुनै अर्को मानवमाथि त्यति अत्याचारको कुरा गर्छ भन्ने म पत्याउँदिनँ। कुनै अज्ञानीले पछि त्यो थपथाप गरेको हुनसक्छ।’ तिनै दुईचार श्लोकलाई देखाएर केहीले धर्मप्रति वितृष्णा फैलाउने र केहीले त्यसैलाई शोषणको आधार बनाउने गरेका छन्।

शोषणको त्यो चक्र तोड्नुपर्छ भन्ने लागेपछि उनी दलितहरूलाई पनि संस्कृत र शास्त्र पढाउनेतर्फ लागेका थिए। जसरी आफूले संस्कृत पढेपछि धर्मका आधारभूत कुरा बुझ्ने भए, उसैगरी दलितहरूले पनि संस्कृत पढेर वेद तथा शास्त्रहरू अध्ययन गर्न सके भने उनीहरूमाथिको शोषण र चमनको चक्र अन्त्य हुने विश्वास उनको थियो।

दलितजस्ता परिश्रमी र प्रतिभासम्पन्न एउटा ठूलो समुदायमाथि भइरहेको अन्यायलाई निरन्तर चल्न दिनु, यस्तो चक्र रोक्न खोज्नेलाई भौतिक आक्रमण गर्नु, उसको ज्यानै लिन खोज्नु अपराध भएको चन्द्रकान्तको तर्क छ। त्यस्ता व्यक्ति धार्मिक नभएर ठेकेदार भएको उनको ठम्याइ छ।

त्यसैले उनले दलितहरूलाई संस्कृत भाषाको पहुँच दिनुपर्ने, उनीहरूलाई कर्मकाण्डमा पारङ्गत बनाउनुपर्ने र यसो गरे उनीहरूमाथिको विभेद धेरै हदसम्म कम हुने उनको तर्क छ। उनले त्यस्ता तर्क मात्र गरेनन्; यसलाई मूर्त रूप दिन जब दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ती गराउन खोजे, उनीमाथि भौतिक आक्रमण भयो।

त्यो रात उनले एउटा सपना देखे। सपनामा उनी कुवाछेउमा थिए। सपनामा दुई जना चन्द्रकान्त थिए। एउटा चन्द्रकान्त दलित थिए; जो कुवाको पानी छोइएको भन्दै भक्कुमार कुटाइ खाइरहेका थिए। अर्का चन्द्रकान्त उच्च वर्गका थिए; जो रमिता हेरिरहेका थिए। दुवै चन्द्रकान्तले कुटाइ खाँदा पीडा अनुभूत गरिरहेका थिए।

सपनाबाट ब्युँझिएपछि उनले यसको अर्थ खोज्न थाले। के त्यो दलित व्यक्ति धारा छोएको निहुँमा कुटाइ खाँदै थियो ? के म अघिल्लो जन्ममा दलित थिएँ र त्यसको सजायस्वरूप मैले कुटपिट सहनु परेको थियो? वा मेरो हत्या गरिएको थियो? म पण्डितको घरमा नजन्मिएर दलित भएको भए, मेरा लागि छोइछिटो सहनु स्वीकार्य हुन्थ्यो? जन्मकै आधारमा कसैलाई छिछि, दुरदुर गर्न पाइन्छ? संविधानले हामी सबै नेपालीलाई उत्तिकै हक अधिकार दिएको छैन र?

जब कुनै ब्राह्मणले जन्मका आधारमा कसैलाई छोइछिटो गर्छ भने त्यो ब्राह्मण होइन; अपराधी हो। बुझेका मानिसले पनि यदि त्यसलाई परिवर्तन गर्दैन; गर्न चाहँदैन भने त्यो मानिस अपराधको साक्षी हो। संविधान बनाउनु सजिलो छ तर त्यसलाई स्वीकार्नु गाह्रो छ। राजधानीमै पनि कुनै दलितले कोठा पाउन गाह्रो छ; झन् उनको गाउँको त के कुरा !

चन्द्रकान्तले सुरुमा उनकै कान्छा हजुरबुबाले स्थापना गरेको गुरुकुलमा शिक्षा लिए। त्यसपछि थप अध्ययनका लागि भारतको दिल्ली गए। दिल्लीमा उनले उत्तर मध्यमा (+२) को अध्ययन सकेर घर फर्किए। उनी चुपचाप बस्ने युवा थिएनन्। त्यसैले वालिङ नगरपालिकाका रेडियोमा धार्मिक जागरणका कार्यक्रम चलाए। धेरै ठाउँमा उनी पुराण भन्न जान्थे।

तर, जुन बेलादेखि दलितलाई संस्कृत पढाउनुपर्ने कुराको पैरवी गर्न थाले, त्यसलाई अभियानकै रूपमा काम सुरु गरे। त्यसपछि उनलाई पुराणमा निम्त्याइनै छाडियो। उनको जीविकोपार्जन पनि गाह्रो हुन थाल्यो। यतिन्जेल उनको बिहे समेत भइसकेको थियो र दुई छोरीसमेत जन्मिसकेका थिए। 

क्रमशः उनले घर र परिवारबाट पनि सहयोग पाउन छाडे। उनले दलित जागरणको कुरा गर्न छाडे मात्र सहयोग हुने बुझ्न थाले। कतिसम्म भने दलितको साथ लाग्ने हो भने बाहुनको घरमा प्रवेश निषेध छ; आफ्नै गरिखानू समेत भनियो। त्यसपछि उनी आफ्नै वडाध्यक्ष ध्रुव केसीको घरमा डेरा सरे। केसीले पनि दलित शिक्षाको पैरवी गरेको भनेर घरबाट निकाला गरे।

त्यसपछि उनी अर्कै घरमा सरे। उनी बसेको डेरामा पनि कहिले बिजुली काटिदिने, कहिले ढुङ्गा हान्ने गरेर तर्साउन थालियो। अति भएपछि यस्तो गर्ने को रहेछ भनेर एक दिन चियो गरे। यस्तो गर्ने त आफन्त भाइ नै पर्ने रहेछ। भोलिपल्ट उनले ती भाइलाई यस्तो कुकर्म गर्ने भन्दै गाला रन्किने गरी झापु हाने। त्यसपछि त उनीहरूलाई के चाहियो र ? उनलाई प्रहरीले पक्रेर लगिहाल्यो।

तत्काल एक जना मनोचिकित्सक उनलाई उपचार गर्ने बहानामा आइपुगे र उपचार थाले। चिकित्सकको सल्लाह अनुसार उनलाई बिहानबेलुकी औषधि खुवाउनुपर्ने भन्दै लागु औषधका बिरामीहरूलाई खुवाउने औषधि खुवाउन थालियो। उनी अब हरेक कुरामा सशङ्कित हुन थाले। घरैमा खानामा अनेक कुरा खुवाइने पो हो कि भन्ने आशङ्काका कारण घरमा पनि खान छोडे।

कहिलेकाहीँ भोकले रन्थनिएका बेला छोरीहरूले खाँदै गरेको खाना खाइदिन्थे। नत्र बाहिर अन्यत्रै खाने गर्थे। यसपछि जिल्लाभरि ‘पागल’ भएको हल्ला फैलन थाल्यो। यो ट्याग नहटाई आफू निर्दोष हुँ भन्ने प्रमाणित गर्न गाह्रो हुने ठानी उनले नेपाल टेलिभिजनमा अस्थायी कार्यक्रम सञ्चालकका रूपमा भिड्ने विचार गरे। उनलाई लाग्यो- नेपाल टेलिभिजनको परीक्षा पास गरेपछि आफू पागल भएको दाग मेटिन्छ। नभन्दै उनले नाम निकाले र एउटा कार्यक्रम सञ्चालन गर्न थाले।

हिन्दु धर्मको सबैभन्दा खराब अध्याय भनेको दलित ठानी मानिसलाई नै तल्लो दर्जाको व्यवहार गर्नु उनको ठहर्‍याइ थियो। यो ठहर्‍याइ न त नयाँ हो, न त उनले नै सुरुवात गरेका हुन्। १२ सय वर्षअघि नै यस्तो कुप्रथाका विरुद्ध भारतमा रामानुजले अभियान थालेर दक्षिण भारतका कयौँ दलितलाई उनले मन्त्र वाचन गर्न सिकाएका थिए।

उनकै जिल्लाका चन्द्रदत्त आचार्यले मन्दिरमा दलितलाई प्रवेश गराउनुपर्छ भन्ने आन्दोलन गर्दा समाजले उनलाई यति यातना दियो कि उनले बाध्य भएर आन्दोलनलाई विश्राम दिनुपर्‍यो। अन्य कयौँले दलितलाई पनि शिक्षाको मूलधारमा ल्याउनुपर्ने अभियान थाले तर कोही पनि सफल हुन सकेनन्। किनभने जसले यस्तो अभियान सुरु गर्‍यो, कि त उसलाई बौलाहा प्रमाणित गरियो कि त उसको जीविका नै धरापमा पारियो।

‘केही मानिस त मलाई उक्साएर ठूलै घटना घटाउन चाहन्थे’ चन्द्रकान्तले भने, ‘तर धन्न त्यस्तो केही भएन। उनीहरूले मलाई दुईपटक गरेर ६ दिन मात्र थुन्न सफल भए।’ मान्छे एक्लैले जे पनि सहन सक्छ तर उसको परिवारको जीवन नै धरापमा पर्ने भयो भने सम्झौतातिर लाग्छ। यहाँ पनि चन्द्रकान्तका सामु दुईवटा विकल्प थिए। कि त उनी पागल भएर समाजबाट पलायन हुनुपथ्र्यो कि त समाजसँग त्वं शरणम् गर्नुपर्ने हुन्थ्यो।

उनी समाजविरुद्ध लड्ने निधो गरे र यो अभियानलाई अहिले पनि जारी राखेका छन्। यसमा उनले परिवारको साथ त पाएका छैनन् तर पनि जतिसक्दो लड्ने पक्षमा छन्। सहयोग नपाउँदा एकपटक उनलाई पागल घोषित गर्दै सुधारगृहमा लगियो। त्यहाँ दिइने लागु औषधको डोजका कारण उनी कयौँ समय थला परे। कसोकसो उनी त्यस ठाउँबाट उम्किए। उनलाई उम्काउनेमा त्यहाँ काम गर्ने नर्सहरू नै थिए।

उनीहरूले दलितलाई संस्कृत पढाउने अभियानबाट तर्सेकाहरूले यहाँ ल्याएको पत्ता लगाएका कारण उनलाई निस्कन सहयोग गरे। त्यसपछि उनी रातारात दिल्ली गए र जँचाए। उनी त्यहाँ सुरक्षित थिए किनभने उनको ठूलो चिनजान थियो। तर आफ्ना गतिविधिहरू शङ्कास्पद नहोऊन् भन्नाका खातिर उनी छोटो समयका लागि दिल्ली जाने, उपचार गर्ने र फर्किहाल्ने गर्थे। यसरी उनको शरीरमा भएको लागु औषध सफा गर्न तीन महिना लाग्यो।

यतिबेला उनी दलितलाई संस्कृत सिकाउने जागरण अभियानमा ठाउँठाउँमा निस्किरहन्छन्। दलितमाथि हजारौँ वर्षदेखि पण्डितहरूले सामाजिक तथा मानसिक हिंसा गरिरहेका छन्। एक त यो शास्त्रविरुद्धको कार्य हो; दोस्रो संविधानविरोधी कार्य पनि हो भन्ने उनको ठम्याइ छ। उनी भन्छन्, ‘पण्डिताः समदर्शिनः’ अर्थात् पण्डितले जहिले पनि सबैलाई उत्तिकै र बराबर देख्नुपर्छ तर व्यक्तिअनुसार, जातअनुसार फरक व्यवहार गर्ने अपराधीलाई पण्डित भनिरहनु परेको छ।’

‘अचेल धेरैले देशमा क्रिश्चियन धर्मको प्रभाव बढेको भन्दै चिन्ता व्यक्त गर्छन् तर आफ्नै कारणले त्यस्तो भएकोतर्फ सचेत छैनन्। एउटा ठूलो वर्ग र जातिले संस्कृत र संस्कार सिक्न नदिनु, धर्म संस्कारमा सहभागी हुन नदिनुले हामी कति अमानवीय र असंवेदनशील छौँ भनी देखाउँछ’ उनी भन्छन्, ‘वेद र पुराणले कहिल्यै पनि छुवाछुत मानेको छैन भने हामीले पछि कुनै पण्डितको स्वार्थले लेखिएका टिप्पणीलाई आधार मानेर किन छुवाछुत मान्ने?’

२१ औँ शताब्दीको यो समयमा पनि मानवीय व्यवहार गरौँँ भनेर सिकाउनुपर्दा चन्द्रकान्तलाई दुःख लाग्छ। स्कुले शिक्षा पूरा गरेपछि उनलाई सधैँ लागिरह्यो– गुरुकुलमा एउटा कमजोरी छ। त्यो कमजोरी हो–विज्ञान विषय नपढाउनु। अहिले पनि उनलाई लाग्छ कि स्कुलमा विज्ञान पढ्न पाएको भए आफ्नो शिक्षा र हिन्दुधर्मप्रतिको विश्वास अझ गाढा हुन्थ्यो। अहिले जब कसैले विज्ञानका कुरा निकाल्छ, त्यसको कसीमा धर्मलाई खार्न नपाउँदा उनलाई थकथकी लाग्छ।

१३ वर्षयता उनले मिडियामा दलितलाई संस्कृत शिक्षा दिनुपर्ने कुराको पैरवी गर्दै कार्यक्रम चलाइरहेका छन्। उनकै सक्रियतामा जिल्लामा शालिकराम सङ्ग्रहालय निर्माण भइरहेको छ। देशभरि विभिन्न ठाउँमा अभियानका लागि उनी दौडिरहन्छन्।

उनलाई हिजोआज जसजसले आफूमाथि अत्याचार गरे; असहयोग गरे; तिनीहरूलाई उनी धन्यवाद दिन्छन्। त्यसो नगरेको भए आज आफू अरूजस्तै सामान्य पण्डित भएर जीविकाका लागि बाँच्ने व्यक्तिका रूपमा मात्र चिनिन्थे होला। आर्थिक रूपमा सम्पन्न जीवन बाँचेकामा गर्व गर्थे होला तर सन्तुष्टि रतिभर हुँदैनथ्यो। एउटा सचेत युवाका हिसाबले अहिले जे जस्तो अभियान सञ्चालन गरिरहेका छन्; त्यसबाट उनी सन्तुष्ट मात्र छैनन्, कैयौं अवस्थामा सकारात्मक परिणामहरू समेत आउन थालेकामा उनी खुसी छन्।

प्रकाशित: १७ वैशाख २०७९ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App