२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

रिहाइ

लघुकथा

बन्दना घिमिरे

नेताज्यू आफैं गाडी हाँकेर कतै जाँदै  हुनुहुन्थ्यो। फोन आयो। गाडी घुम्यो र कानून व्यवसायीको कार्यालयमा पुगेर टक्क रोकियो। चुनावको बेलाबाहेक कहीं कहिल्यै नउठ्ने दुई हात उठेर नमस्कारको मुद्रामा जोडिएका थिए।

‘हजुर वकिल साहेब! मेरो छोरालाई बचाइदिनुपर्‍यो। म बर्बाद भएँ। जसरी पनि बचाउनुपर्‍यो।’

कहिल्यै आफ्नो कार्यकक्षमा नआउने, सधैं फोन गरेर तुरुन्तै आउन खबर गर्न लगाउने नेतालाई आफ्नै कार्यकक्षमा देखेर वकिल छक्क पर्दै हेरिरहे।

एकछिन गमेर वकिलले भने, ‘के भयो हाम्रा बाबुलाई, के गरिबक्सियो बाबुले?’

नेताले वकिलको नजिकै गएर सानो स्वरमा भने, ‘१६ वर्षकी केटीलाई बलात्कार गरी मारेर आएर घरमा चुकुल लाएर बसेको छ रे। जसरी भए पनि बँचाउनुपर्‍यो। मेरो एक मात्र सन्तान, बुढेसकालको सहारा।’

‘मैले त के गर्न सक्छु र? दसीप्रमाण सबै पुलिसले भेटेपछि। हजुरले डाक्टरसँग भनेर मेरो छोरासँग बलात्कार गर्ने हतियार नै छैन भन्ने प्रमाण बनाउन लगाउनुस् न।’

‘उसो भए डाक्टरकोमा जाऊँ न त’ दुवै क्लिनिकमा गए। भोलि बिहानै सरकारी अस्पतालमै रिपोर्ट बनाउने सल्लाह भयो र साँझ अबेरसम्म पार्टी चल्यो।

सञ्चार माध्यममा लगातार खबर आइरह्यो।

‘१६ वर्षीय किशोरीको कलेज ड्रेसमै बलात्कारपछि हत्या, अपराधीको खोजी तीव्र।’

‘घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार...नेताको छोरालाई भाग्दै गरेको देखेको।’

‘हत्या आरोपी प्रहरी हिरासतमा।’

‘पीडित पक्षद्वारा किटानी जाहेरी।’

‘जनतालाई अदालतमाथि पूर्णविश्वास, पीडित पक्ष न्याय पाउने आशामा।’

‘आरोपीलाई १० दिनभित्र अदालतमा उपस्थित गराइने।’

दिनहुँ  सञ्चार माध्यमका हेडलाइन यस्तै आइरहे।

आज दशौं दिन मानिसहरू न्याय पाउने आशामा। केही अदालत परिसरमै पुगेका थिए भने केही सञ्चार माध्यमबाट समाचार सुन्दै थिए।

‘बलात्कारका आरोपी फलानो जिल्ला फलानो नगरपालिका बस्ने वर्ष ३० का बलात्कारपछि हत्या गरिएका भनिएका आरोपी श्रीसँग बलात्कार गर्ने हतियार नै नभएको प्रमाणित भएकाले निर्दाेष  ठहर गरी रिहाइ गरिएको छ।’

प्रकाशित: ८ वैशाख २०७९ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App