२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

नारी दिवस र एउटा गहकिलो कला प्रदर्शनी

महिलाले महिलाकै विषयमा बनाएका कला राखी सम्भवतः महिला मात्रै संलग्न भएर एउटा कला प्रदर्शनी क्लासिक कला दीर्घामा गरियो। यस प्रदर्शनीमा २६ महिला कलाकारका चित्र, सिरामिक्स र प्रिन्ट मेकिङका राखिएका थिए ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र विश्वभरि महिलाका हकहित र अधिकारका लागि विविध कार्यक्रम मनाइरहेको अवस्थामा नेपालमा यो एक सामूहिक कला प्रदर्शनीका रूपमा देखिन आएको हो। कलाकै प्रदर्शनी अहिले उपत्यकाभित्र बग्रेल्ती भइरहेका छन्। क्लासिक ग्यालरीमा गरिएको यो कला प्रदर्शनी विशेष रूपमा देखापरेको हो।

कलामा लेखिटोपल्ने हिसाबमा म पनि यो कार्यक्रमको एक भाग बन्दै त्यहाँ पुगेको थिएँ। नत्रभने यस प्रदर्शनीमा महिलाकै सहभागिता बढी थियो। यसको मास्टर अफ सेरोमोनीमा महिलाले कविता वाचन गरे। दुई मुख्य अतिथि महिला थिए, विशेष वक्तामा मबाहेक सबै महिला थिए। त्यस्तै, क्युरेटर, को–क्युरेक्टर पनि महिला नै थिए।

समसामयिक महिला कला र कलाकारबारे यहाँ ‘टक प्रोग्राम’ पनि भयो, जसमा मबाहेक पाँच महिला वक्ता नै थिए। योजनाबद्ध रूपमा गरिएजस्तो यो कार्यक्रममा महिलाहरू सक्षम रूपमा देखिएका थिए।

विश्वकलाको सन्दर्भमा सन् ७० को उत्तरकालमा फेमिनिजम्, फेमिनिस्ट कला देखिएका थिए। यसले उग्ररूपले विश्वभर तहल्का मच्चाएको थियो। यसले कलाको इतिहासमा कलाको नौलो पहिचानलाई एउटा अर्थका साथ स्थापित गरिदियो। अन्य धेरै क्षेत्रले यो कलाको गतिविधिलाई सन्देशवाहकको एक हिस्साका रूपमा लिए।

यसमा समाजप्रतिको चासो र उत्तरदायित्व, आफ्नै हकहित अधिकारलाई सिर्जनामा गाँस्ने नौलो प्रयोग गरिएको थियो। स्वतन्त्रताको अनुभूत गर्ने वा गराउने अनेकौँ संचेतना विश्वभरि फैलिएको अवस्था यो कला गतिविधि हुन गएको थियो। यसले विश्वभरका महिला कलाकारलाई जोड्दै नेपाललाई पनि आफ्नो अँगालोमा लियो। यस हिसाबले नेपाली महिला कलाकारको सचेत हुनुमा यो विश्वव्यापी महिला कलाकारको नेटवर्कले सहयोग गरेको मान्नुपर्छ।

यो कार्यक्रम पनि यसैको एउटा गतिलो कडी हो। किनकि महिला उत्सव, महिला आर्ट मुभमेन्ट र फेमिनिस्ट आर्ट आदि एक अर्कामा पर्यायवाचीका रूपमा देखापरेका छन्। यी सबै यही ७० को दशक वरिपरि नै चलबलाउन थालेका थिए। नेपालमै पनि अहिले अधिकांश महिला कलाकार प्रत्यक्ष–परोक्ष रूपमा ‘जेन्डर इस्यु’मा काम गरिरहेका छन्। कुनै पनि महिला कलाकारको कलाबारे कुरा निकाल्नेबित्तिकै उनीहरूले समाजमा अवस्थित लैंगिक विभेदका सन्दर्भ उठाउँछन्। महिला भएकै कारण आफूमाथि अवहेलना भएको, जघन्य अपराध भएको सन्दर्भ आउँछ।

क्लासिक ग्यालरीले गतका सालदेखि नै यस्ता कार्यक्रम गर्दै आएको छ। यस्तो कार्यक्रम गर्दा यसै विषयमा कला प्रदर्शनी मात्र हुने गर्दैन, महिलासम्बन्धी सामाजिक सवालमाथि छलफल, कुराकानी, बहस र थोरै रूपमा भए पनि चिन्तन र मन्थन पनि हुने गर्दछ। यसमा कला पनि एउटा भागमा गाँसिदा महिला कलाका अभिव्यक्ति, मनभित्रको दुखेसो, असन्तुष्टि, गुनासो, विचार अवधारणा सबैजसो पोखिएर कलामा देखिने गर्दछन्। महिला कलाकारको राम्रो जमघट हुन्छ। यसर्थ अन्य कलाका ग्यालरीभन्दा यो कला ग्यालरी पृथक देखिन्छ। प्रस्तुति र कलालाई लेखनसँग जोड्ने सन्दर्भमा पनि यो ग्यालरीको धारणा अलग्ग देखिन्छ।

साह्रै अचम्मलाग्दा, अटपट र अस्वाभाविक कलाको स्वरूपले यस्ता कलाको प्रदर्शनीमा प्रवेश पाएको देखिँदैन। यो एउटा प्राज्ञिक बहसको थलोजस्तो देखिनु पनि यसको विशेषता हो। यसबाहेक यो कला प्रदर्शनीमा विशेष गरेर महिला कलाकारले जोस–जाँगर देखिन्छ। कार्यक्रमको हरेकजसो भूमिकामा महिलाकै सहभागिता, संलग्नता रहन्छ। यसले आम भावकलाई पनि दुई–चारवटा कुरामा सोच्न बाध्य पार्दछन्।

पितृसत्तात्मक सोच, जसमाथि वर्तमान समाजलाई विभिन्न कोणबाट बहस चलिरहेको छ। महिला सशक्तीकरणका सन्दर्भ, राष्ट्रिय स्रोतमाथि पहुँच र अधिकारका सन्दर्भ कलाकारले कलामार्फत उठाइरहेका छन्। अर्कोतिर महिला भिजुअल आर्टिस्ट एकजुट भएको देखिनु सबल पक्ष हो। यसरी अहं भूमिकाका साथ सिर्जनामार्फत यी र यस्तै विषय उठाई समाजलाई तरंगित पार्न अग्रसर हुनुले पनि यो एउटा रोचक कार्यक्रम जस्तो देखिन्छ। सम्भवतः यो समय सापेक्ष पनि हो।

फेमिनिस्ट आर्ट मुभमेन्ट

विश्वमा सन् १९६० र ७० को दशकमा ‘फेमिनिस्ट आर्ट मुभमेन्ट’ चरमोत्कर्षमा थियो। यो अवधारणा विश्वभरि फैलँदै गर्दा यसपछिका दशकमा यो मुभमेन्ट अझ झ्याँगिँदै गएको थियो। अलि पछिल्लोकालमा युरोप र अमेरिकातिर थप अन्य कलाका स्वरूप देखिन थालेपछि यो कला अलि शिथिल हुन पुगेको थियो, यता एसियातिर भने यसले अझ चर्को रूप लिँदै थियो। नेपालमा स्पष्ट रूपमा यो कलाको प्रवृत्ति सन् २००० मा देखापरेको इतिहास छ। यसअघि महिला कलाकार नदेखिएका होइनन्, धेरैजसो महिला कलाकार परम्परागत कला, लोककला वा हस्तकला गर्नमै व्यस्त देखिन्थे।

घरको कामकाजमा व्यस्त रहनु वा गराइनु, बाह्य संसारबाट अलग्ग राखिनु आदि कारणले महिला सशक्त ढंगले आउन सकिरहेका थिएनन्। समाजका जल्दाबल्दा सवालमा भन्दा पनि परम्परा र संस्कारमा आबद्ध हुनुपर्ने, गराइनुपर्ने र यसैमा आबद्ध भएर देखापर्ने कलाहरूको सिर्जनामै महिला कलाकार लागेका थिए।

यसैबेला कलाविद् लिन्डा नोच्लिनले ‘ह्वाई ह्याभ देअर बिन नो ग्रेट ओमन आर्टिस्ट’ शीर्षकको एक लेखमा यसबारे अझ प्रस्ट पारेकी छन्। माइकल एन्जेलो र दाभिन्ची जस्ता महिला कलाकार किन जन्मन सकेनन् भन्ने सन्दर्भ निकाल्दै उनले यसको कारणको रूपमा रोचक तथ्य पस्केकी छन्। उनी भन्छिन्– विश्वविख्यात महिला कलाकार जन्मन नसक्नुको कारणमा न स्वाभाविक रूपमा महिलामा हुने गरेको प्राकृतिक अन्तःस्राव हो, न रजोधर्म–चक्र नै यसकोे कारण हो।

न इन्टरनर स्पेस नै हो, यसको मुख्य कारण त समाजमा अवस्थित परम्परागत संस्था र शिक्षा हुन्, जसले महिलालाई रेखदेखको जिम्मेवारीको भूमिका मात्र दियो, जसकारण महिलालाई सिर्जनशील हुने समय भएन। यसबखत जन्मजात कला लिएर आएका महिला सामान्य भएर हराएर गए। सम्भ्रान्त महिला कलाकारलाई फुर्सदका बेला ‘स्टिल लाइफ’, ‘ल्यान्डस्केप’ र ‘पोट्रेट’ मात्र गर्नमा उनीहरूको बुवा वा काकाले प्रोत्साहित गरे। पछि यसरी राम्रा यथार्थ वा प्रभाववादी महिला कलाकारको उदय भयो। समय र यथेष्ट ज्ञान अनुकूल नहुँदा महिलाका सवालमा उनीहरू पस्नै सकेनन्, चाहेनन् वा जान दिइएन। नत्रभने राम्रा कलाकार नजन्मेको भने होइन।’

विश्वमा सन् ६० अन्तिमतिर एउटा मुभमेन्टका रूपमा देखिन आएपछि महिला कलाकार सक्रिय भएका हुन्। आज महिला कलाकार पनि कलाका अद्भुत समसामयिक कन्सेप्चुअल कला लिएर देखापर्न थालेका छन्।

लुसी आर लिपार्डले सन् १९८० मा यसबारे गहन विचारलाई सार्वजनिक गरेकी छन्। उनी आर्ट क्रिटिक्स, एक्टिभिस्ट र क्युरेटर पनि हुन्। उनले समसामयिक कलाबारे २१ वटा पुस्तक समेत लेखिसकेकी छन्। उनको भनाइमा फेमिनिस्ट आर्ट साँचो अर्थमा आन्दोलनको रूपमा देखिएको भने होइन, न कुनै नौलो शैली र प्रवृत्तिका रूपमा देखापरेको थियो। यो त मूलतः भ्यालु सिस्टमको अनि जीवन जिउने बाटोमा क्रान्तिकारी रणनीतिको रूपमा देखापरेको थियो। 

जब हामी सन् १९६३ मा निर्माण भएको अमेरिकन कलाकार याओइ कुुसमाको ओभन प्यान (बन्द चुलो र ताप्के) भन्ने कलालाई हेर्छौं, महिलाको सवाल उठाउन कलाकारले भान्छाकोठाको भाडावर्तनलाई मोटिफका रूपमा प्रयोग गरेको देख्छौँ। पैसा नआउने ‘डोमेस्टिक वर्क’को प्रत्याभूति दिन उनले शक्तिशाली पात्रको प्रयोग गरी महिलालाई समाजले कहाँ राखेको छ भन्नेतर्फ इंगित गरेको बुझिन्छ।

सन् १९६४ मा योको ओनोको ‘कटपिस’ नामक कामलाई हेरौँ, जहाँ आफूले लगाएको लुगालाई उनैको कामको अवलोकन गरिरहेका भावकलाई कैँची थमाइदिई टुक्राटुक्रामा काट्न लगाइएको थियो। यसमा महिलालाई मात्र एक अब्जेक्टका रूपमा हेरिएको सवाललाई उनले उठाएकी थिइन्। यो पर्फमेन्स कामबाट महिलाको सवाल विश्वामा अझ शक्तिशाली रूपमा उठ्न थाल्यो। नेपालमा पनि सन् २००० पछि दर्जनौँ महिला कलाकारले पर्फमेन्स आर्टमार्फत महिला सवालमा चोटिला र झसंग गराइदिने अनगिन्ती काम गरेका छन्।

सन् १९७९ मा अमेरिकन फेमिनिस्ट आर्टिस्ट जुडी सिकागोले निर्माण गरेको ‘द डिनर पार्टी’लाई शक्तिशाली कामका रूपमा लिने गरिन्छ। त्रिकोणात्मक टेबल आकारमा बनाइएको यो काम इन्स्टलेसन स्वरूपमा छ। ५७६ बाइ ५७६ इन्च साइज भएको यो काम उनले तीन वर्ष मिहिनेत गरेर तयार गरेकी थिइन्। पछि यसलाई अझ परिमार्जन गर्न चार सय स्वयंसेवीले सहयोग गरेको भनिन्छ।

यो निर्माण गर्न स्वयंसेवी बाहेकको खर्च २ लाख ५० हजार डलर लागेको बताइन्छ। त्रिकोणात्मक टेबलमुनिको भुँइमा टाइल बिच्छाइएको छ। जहाँ प्रसिद्धि पाइसकेका विश्वका ९९८ महिलाका नाम लेखिएको छ, जसमा भुक्किएर एक पुरुषको नाम पनि परेको छ। टेबलमा ३९ वटा प्लेट सजाएर राखिएको छ, जहाँ हरेक प्लेटसँगै विश्व प्रसिद्धि पाइसकेका महिलाको नाम अंकित छ। यसमा त्रिकोण स्त्रीको प्रतीक हो।

यो काममा विशेष गरेर ओमन क्राफ्टहरू इम्ब्राइडरी, निडल प्वाइन्ट, सेरामिक्सलाई प्रयोग गरिएको छ। यसलाई सार्वजनिक रूपमा सन् १९७९ मा मात्र प्रदर्शन गरिएको थियो। धेरै कलाविद्ले यो कामलाई फेमिनिस्ट आर्टको महाकाव्यका रूपमा व्याख्या गर्छन्। यो कामले पछि ६ वटा देशमा यात्रा गरेको र करिब १५० मिलियन दर्शकले अवलोकन गरेको विश्वास गरिन्छ। यो काम इन्सटलेसन हुँदा पनि यसलाई स्थायी रूपमा अहिले न्युयोर्कको ब्रुकलिन म्युजियममा राखिएको छ।

लामो समय कलाको निर्माणमा लागेकी जुडी सिकागोले महिलाका अनेकौँ सवाललाई गुथेर, मन्थन गरेर कलाका अनेकौँ मोटिफलाई प्रतीकात्मक रूपमा संयोजन गरेकी थिइन्। उनले प्रयोग गरेका हरेक विम्ब अर्थका साथ देखिन्छन्। सन् १९६० मा भएको एउटा ‘स्टुडेन्ट्स प्रोटेस्ट’को विकसित रूपमा यसले आफ्नो गति लिएको देखिन्छ।

अमेरिकामा सन् १९२० मा महिलाले भोटिङ गर्ने अधिकार पाए। यो मुक्तिको लहर र तरंग विश्वभरि फैलँदै गयो। अनि बिस्तारै सन् १९६० ताका यसले आफ्नो वास्तविक रूप लिएको देखिन्छ। अनि ६० को अन्तअन्ततिर र ७० को उत्तरकालमा यसले विश्वलाई आफूतिर आकर्षित गरिसकेको थियो।

पुनः क्लासिक कला दीर्घातिर फर्कौं। यो कला प्रदर्शनीमा सबैभन्दा अग्रज, पाको कलाकारका रूपमा शशिकला तिवारी छन्। स्वभावतः उनका कला माझिएका देखिन्छन्। उनको कलामा महिलाका आकृति प्रकृतिका साथ लयात्मक पाराले बगेको देखिन्छ। लयात्मक, गतिशील र स्वाभाविक रूपमा आकारलाई बगाएर महिला, हिमाल पहाड चलायमान देखाउनु उनको विशेषता हो।

गतिका साथ जीवन्त हुन खोज्नु, भाव र अनुभवलाई मिश्रित रूपमा सौन्दर्यबोधका साथ प्रस्तुत गर्नु उनको थप विशेषता देखिन्छ। उनी ७० को उत्तरकालमा देखिएका थोरै महिला कलाकारमध्ये एक हुन्। यसबखत नेपाली समसामयिक कलालाई अँगाली अगाडि आउन महिला कलाकार हिचकिचाउँथे।

शैली र प्रवृत्तिगत चित्रकला विकासको सन्दर्भ उठाइराख्दा उनका चित्र विशेष रूपमा देखापर्छन्। विश्वमा स्थापित भएका कुनै पनि कलाको विशेषतासँग यो कलाको विशेषता छेउटुप्पो मिल्दैन। यो उनको निजी शैलीलाई भावपूर्ण अभिव्यञ्जनाको नजिक राखेर हेर्न सकिन्छ। उनको यो शैली सुरुको कालदेखि नै अनवरत रूपमा देखिँदै आएको छ।

उनीसँगै अर्का पाकी कलाकार डा. सीमा शाह, जसले प्रिन्ट मेकिङ कलामा अद्भुत प्रकारले आफ्ना कलालाई पस्केकी छन्। भारतको बनारसमा जन्मी, कलाको उच्च अध्ययन बनारसमै गरेकी शाहका कलामा धर्मको पुण्यभूमि बनारसका धेरै अवयव गाँसिएर आएका छन्।

उनी नेपाल आउँदा यहाँका धार्मिक मठमन्दिर, प्रतीकात्मक विम्बले उनलाई छोइदिन्छ र उनी नितान्त यसैको वरिपरिबाट किञ्चित हटेको देखिँदैन। यही नै उनको स्वभाव र सिग्नेचर बनिसकेको छ। पचासौँ धार्मिक मोटिफ विम्बका रूपमा एकै ठाउँमा गाँस्ने उनको संयोजनको ढाँचा आफैँमा हाम्रो परम्पराबाट पूर्णतः प्रभावित देखिन्छ। शिल्प–दक्षता अब्बल रहेकी उनी प्रिन्ट मेकिङ कलामा माहिर मानिन्छन्।

यसपछि महिला कलाकारको ठूलो लर्को छ। सबैजसो कलाकार शैलीगत रूपमा फरकपनाका साथ देखिँदैनन्, तापनि आ–आफ्नै अलग्ग पहिचान बनाइसकेका कलाकार छन्। जसले नेपाली समसामयिक कलामा आफ्नो स्थानलाई स्थापित गराइसकेका छन्। यसमा सबैभन्दा अग्र स्थानमा आउने नाम हो, सरिता डंगोल हो। उनी यस कला दीर्घाकी क्युरेटर पनि हुन्।

अहिले उनी रातो खुर्सानीलाई विभिन्न पारामा संगठित गर्न व्यस्त देखिन्छन्। उनका धेरै कला अन्य प्रकारबाट पनि सार्वजनिक भइसकेका छन्। पर्पmमेन्स कलादेखि इन्स्टलेसन कलामा पोख्त सरिता नेपालमा देखापरेका उत्तरआधुनिक प्रवृत्तिको शुभारम्भको बेलादेखि अस्तित्वमा रहेका थोरै महत्वपूर्ण कलाकारमध्ये एक हुन्। झन्डै दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहेकी सरिता कला ग्यालरी स्थापना गर्ने कलाकार समेत हुन्। उनले विभिन्न ठाउँ र नाममा पाँचवटा कलाका ग्यालरी खोलिसकेकी छन्।

यसपछि उनैका समकालीन प्रमिला बज्राचार्य, शुष्मा राजभण्डारी र रीता मानन्धरको नाम उल्लेख गर्नुपर्ने हुन्छ। यसपछि क्रमशः शुष्मा शाक्य, सत्यशिला कसजु, सन्ध्या सिलवाल, सम्झना राजभण्डारी, रीति महर्जन, नम्रता सिंह, रविता किसी, सपना पौडेल, अनिशा महर्जनका कला विशेष रूपमा देखापरेका छन्। यसबाहेक कलाकारमा अरूणा हिङमाङ, अञ्जली तामाङ, अनामिका गौतम, विनिता बुद्धाचार्य, जुनु खनाल शर्मा, मेनुका शाही, रुकमनी श्रेष्ठ, सारा टुची कोइन्च, शर्मिला मोक्तान, सुशीला सिंह, तारा तामाङका आकर्षक काम प्रदर्शित छन्।

पछिल्लो कालका कला एक अलग्ग संयोजन लिएर देखापर्ने गर्छ। अनिशाकै कामको चर्चा गरौँ। महिलालाई बालककालदेखि नै बन्देज र चार दिवारीभित्र कैद गर्दा पुतलीजस्तै उड्न नपाएको मार्मिक सन्दर्भलाई उनले आफ्नो कलामा प्रस्तुत गरेको देखिन्छ। एउटा खुट्टा बाहिर निकाल्दा अनेकौँ रंगीचंगी पुतली खुट्टाउँदी झुम्मिन आउँछन्, यसले उन्ममुक्तता, स्वतन्त्रतालाई संकेत गरेको छ।

अनामिकाले रातो पृष्ठभूमिमा महिलाको रातै अमूर्त मुखाकृतिभित्र कपमा रगत थाप्दा चारैतिर पुतलीहरू उडाएर उत्सव मनाइरहेको सन्देशलाई प्रवाहित गर्न खोजेको देखिन्छ।

त्यस्तै, रीतिले पुतलीकै विम्बलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिँदै ठुल्ठूला पखेटाका साथ छोरीलाई आमाले च्यापेको दृश्य देखाएकी छन्। महिलाको रजस्वलाको प्रसंग उठाइएको यस कलामा छोरी परम्परागत संस्कारबाट उन्मुक्त हुन खोजेको तर आमाले माया र अथाह प्यार गर्दागर्दै संस्कारको सीमालाई नाघ्न नदिएको देखिन्छ।

पुतलीलाई विम्बको रूपमा लिने अर्की कलाकार सम्झनाले पुतली र आमाछोरीलाई प्रस्तुत गर्ने कोसिस गरेकी छन्। सुशीलाले सिरामिक प्लेटमा बालसुलभ नारी आकृति कुँदेको कम लोभलाग्दो छैन। जुनुको सिरामिक काम अझ आकर्षक छ। तारा तामाङको बालिका अनि शर्मिलाको महिलालाई पैसाले नै मुख टालिदिएको सन्दर्भ चोटिलो छ। सपनाको कलामा परम्परागत कला पौभाको एक रूपमा पनि नारीपात्र नै सलबलाएको देखिन्छ। साराले महिलाको अधिकारको कुरा उठाउन महिला पात्रलाई अगाडि सारेकी छन्।

त्यस्तै, रुकमनिकाले नारी नांगो शरीरलाई लयात्मक रूपमा प्रस्तुत गरेकी छन् भने नम्रताले लोककलाका नारी विम्बलाई प्रस्तुत गरिरहेकी छन्। मेनुकाले पनि महिलाको नांगो रूपलाई संयोजन गरी महिलाको दुखेसोमा महिलाले ढाढस दिने सन्दर्भलाई उठाएकी छन्।

प्रमिलाका लागि महिलाको व्यक्तिचित्र नै प्रियपात्र हो, यसैमा उनका काम आएका छन्। विनिताले आफ्नै मुखाकृतिलाई क्यानभासमा टाँसी आफ्नै अनुभवलाई प्रस्फुटन गरेकी छिन्। अरूणाले आफ्ना कलामा महिलाकै अनुहार मनपराएको देखिन्छ। अञ्जलीले बुद्धलाई पात्र बनाएकी छन्। योगको कुण्डलिनीको सन्दर्भ रीताले उठाएकी छन् भने सन्ध्याले आत्माको गहन विषय र मृत्युपछिको रहस्यमय संसार, योगको आन्तरिक पक्षलाई उजागर गरेकी छन्।

सत्यशिलाले सरल बुद्धको आइकोनलाई प्रस्तुत गरेकी छन्। गणेशकै मात्रै सयौँ चित्र बनाउँदै आएकी शुष्मा राजभण्डारी अलि अमूर्ततामा रमाउन थालेकी छन्। शुष्मा शाक्यले गोलोकारभित्र रहस्यमय संसारलाई खोज्ने क्रममा अनेकौँ रेखालाई सलबलाउन दिएकी छन्। रविताले भूकम्पले भत्केका अवशेषलाई जीवनसँग जोडेर प्रस्तुत गरेको देखिन्छ। यी र यस्तै भावाभिव्यक्ति र विचारले ओतप्रोत भएका कला यस प्रदर्शनीमा देखिएका छन्, जुन विशेष बन्न गएको छ। 

(मल्ल कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: ३ वैशाख २०७९ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App