२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

दीप मङ्ग्राती ‘निरीह’को लघुकथा कृति ‘छोइछिटो’ को अन्तरक्रिया सम्पन्न

लघुकथाकार दीप मङ्ग्राती निरीहले आमामा समर्पित भई लेखेको लघुकथा कृति ‘छोइछिटो’ अन्तरक्रिया सम्पन्न भएको छ।

अन्तरक्रिया कार्यक्रममा लघुकथाकार मङ्ग्रातीले आमालाई समर्पण गरेर कृति ल्याएको बताए। आमालाई समर्पण गरेर मैले उक्त कृति साहित्यिक बजारमा ल्याएको हुँ। सुरुवाती चरण भएकाले कति लघुकथा फरम्याटभित्र परेका छैनन्। यसैलाई यस्तै रूपमा स्वीकारिदिन हुन अनुरोध छ। उनले ‘सौतेलो बाउ’ र ‘डिपेन्डेन्ड’ शीर्षकका दुई लघुकथा पनि वाचेका थिए।

वरिष्ठ लघुकथाकार खेमराज पोखरेलले उनको लघुकथाको विषय अर्गानिक र विविधता भएको बताए।

लघुकथा विधामै विद्यावारिधि गर्दै गरेका हरि भण्डारीले मङ्ग्रातीको लघुकथामा व्यंग्य पक्ष अत्यन्तै राम्रो रहेको बताए। लघुकथामा धर्म,समाज,राजनीति, प्रशासन जस्ता विविध क्षेत्रको विकृतिविरुद्ध असाध्य मीठो व्यंग्य गरिएको छ। विषयवस्तुको छनोट र प्रस्तुति पनि उत्तिकै राम्रोे रहेको छ।

त्यसैगरी समालोचक प्राडा कुमार कोइरालाले उनका लघुकथाहरू सामाजिक समस्यामा बढी केन्द्रित रहेको बताए। उनका लघुकथामा समाजका अनेक समस्या उजागर भएको छ। लघुकथामा अनमेल दाम्पत्य जीवनका राम्रा कथाहरू पनि रहेका छन्।

लघुकथा समाजका सल्लाहकार अशेष मल्लले लेखक आफू छुट्टै खालेको हुनुपर्ने बताए। लेखकले सिद्धान्त घोक्नेभन्दा कसरी उत्कृष्ट र छुट्टै खालको लेख्ने भनेर सोच्नुपर्छ। लेखक प्राविधिकभन्दा सिर्जनात्मक हुनुपर्छ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पहिलो पुस्तकमा पूर्णता खोज्न नहुने बताए। हामीले पहिलो कृतिमै लेखकको पूर्णता खोज्नु हुँदैन। उनले भने, ’आफ्नो सिर्जनाको समीक्षक आफैं हुँदै धैर्यपूर्वक लेखे मात्रै लेखनमा निखारपन आउँछ। त्यसैले यो कुरामा लेखक सधैं सचेत हुनुपर्छ।’

लघुकथा समाज नेपालका महासचिव तुलसीहरि कोइरालाले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा समाजका सदस्य राजेश खनालले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: २३ चैत्र २०७८ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App