अनु विज्ञाति
‘यदि कसैले महिलाहिंसाविरुद्धका विषयमा सहयोग माग्दा बेवास्ता गर्छ भने त्यसलाई चड्कन लगाइदिनुस्। तपाईको सुरक्षा गर्ने जिम्मा मेरो भयो। त्यस्ता गद्दारहरूको स्थान जेल हो। उनीहरूलाई बाहिर बस्ने कुनै अधिकार छैन।’ महिला तथा बालबालिका मन्त्री क.कमरेड ज्वाला स्टेजमा महिला मैत्री भाषण दिंदै थिइन्।
उनको भाषण सकिनसाथ जीर्ण शरीर भएकी एक वृद्धाले उनलाई भेट्ने इच्छा गरिन्।
नजिकिंदै गरेको चुनावी माहोल सम्झिन क्यारे मन्त्री ज्वालाले पनि उनलाई भेट्न सहमति जनाइन्।
वृद्धा सकी नसकी स्टेज चाढिन्। सबैका नजर उनीमाथि खनिए।
ज्वालाले उनीप्रति सहानुभूति देखाउँदै श्रद्धापूर्वक सोधिन्, ‘आमा, तपाईंलाई केही भन्नु छ भने निर्धक्क भन्नुस।’
‘मन्त्री भएर पनि सर्वसाधारण मान्छेलाइ सहज भेट दिने अझ ससम्मान आफ्नो कुरा राख्न अवसर दिने; आहा! सहृदयी नेतृ रहिछन्।’भाषण सुन्न भेला भएकाहरूबिच खासखुस कुरा चल्यो।
‘मेरी कलिलो मुनाजस्ती नातिनीलाई बलात्कार गरेर मार्नेविरुद्ध सजाय दिलाउनु सट्टा आफ्नो पार्टीको भन्दै कारवाहीसम्म अगाडि बढाउन नदिने गद्दारलाई मैले चड्कन हाने भने हजुरले मेरो सुरक्षा गर्नुहुन्छ नि होइन? वृद्धा पुनः एकिन हुन खोजिन्।
‘अवश्य! यी सुरक्षाकर्मी हजुरहरूकै शान्तिसुरक्षाका लागि त हुन् नि।’उनले आफ्ना अंगरक्षक र उनका सुरक्षाका लागि वरिपरि खटिएका सुरक्षा कर्मीतिर संकेत गर्दै उचो स्वरमा आशवस्त पारिन्।
अहो! नेता होस् त यस्तो।’भीडबाट पुनः पनि प्रशंसाका आवाज निस्किए।
वृद्धा ज्वालाको अझै नजिक गइन र बेस्कन चड्कन हानिन्।’
अंगरक्षक र अन्य सुरक्षाकर्मीहरू वृद्धालाई नियन्त्रणमा लिन दौडिएर आए र घेरा हाले।
वृद्धाले निडर भएर आफूलाई घेरा हाल्ने सुरक्षाकर्मीका आँखामा आँखा जुधाएर भनिन्,‘उहाँलाई जेल हाल्नुस्।’
प्रकाशित: १९ चैत्र २०७८ ०४:२७ शनिबार