४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

असदको अर्बौं डलर सम्पत्तिको खोजी

सिरियाका पूर्वशासक बसर अल असदको सत्ताच्युतपछि लगभग आधा शताब्दी बढी समय सत्तामा रहेका असदहरूको सम्पत्तिको खोजी हुन थालेको छ। आधा शताब्दीमा विभिन्न क्षेत्रमा अर्बौं डलर लगानी गरिएको हुनसक्ने आशंकाका साथ असदहरूको सम्पत्तिको खोजी थालिएको हो।  

मानव अधिकारवादीले असद परिवारको लगानी रुसका प्रमुख सहरका घरजग्गामा रहेको बताइरहेका छन्। उनीहरूको अस्ट्रियाको राजधानी भियनाका विभिन्न स्थानमा बुटिक होटलहरू र दुबईमा निजी जेट विमान रहेको अमेरिकी जासुसहरूले बताएका छन्।  

अमेरिकाले लामो समयदेखि असद परिवारको व्यापारलाई प्रतिबन्ध लगाउँदै आएको छ। उनीहरूले गरेको लगानीको निगरानी गर्नेमध्ये एक एन्ड्र्यु टेबलर भन्छन्, ‘लामो समयदेखि उनीहरूले आफूहरू कसरी सुरक्षित तरिकाले देशबाहिर निस्कने भन्ने तयारी गरिरहेका थिए। त्यसका लागि उनीहरूले बेलाबेलामा देशको सम्पत्ति देशबाहिर लगानीका रूपमा लैजाने गरेका थिए।’ असद परिवारले सधैं सत्तापलट भएको भोलिदेखि के गर्ने भन्ने अर्को योजना वर्षौं पहिलेदेखि नै बनाइरहेको टेबलरको दाबी छ।  

अमेरिकाको गृह मन्त्रालयले सन् २०२२ मा गरेको एक खोजी र अनुमानअनुसार असद परिवारको सम्पत्ति १२ अर्ब डलर छ। केहीले भने एक अर्ब डलर मात्र भएको हुनसक्ने अनुमान गरेका छन्। सबै सम्पत्ति असद परिवार र उनका नजिकका नातेदारले एकलौटी व्यापार गरी कमाएका हुन्। कतिपय अवस्थामा लागुऔषध व्यापार पनि उनीहरूकै हातबाट हुने गर्थ्याे। धेरै लगानी भने अन्तर्राष्ट्रिय कानुनको क्षेत्राधिकारबाहिर भएको हुनसक्ने अनुमान एजेन्सीहरूको छ।  

असद र तिनका नातेदारले यस्तो लगानी सन् २०११ मा फैलिएको गृहयुद्धपछि विस्तार गरेको आकलन गरिएको छ। यस्तो व्यापारमा बसर अल असदकी बेलायतमा जन्मिएकी पत्नी आस्माले दिमाग बढी लगाएको अनुमान गरिएको छ। आस्माले यसअघि बेलायतमा जेपी मोर्गन बैंकमा काम गर्ने गरेकी थिइन्। ‘सत्तामा रहँदा असद परिवारले जति मानवअधिकार उल्लंघनका घटना घटाएका छन्, अनुसन्धान गरेर हेर्ने हो भने उत्तिकै आर्थिक अपराध पनि गरेका छन्,’ लन्डनस्थित मानवअधिकार वकिल टोबी क्याडम्यानको टिप्पणी छ।  

क्याडम्यानले अहिले असदहरूको सम्पत्ति र उनीहरूको लगानीमाथि शोध गरिरहेका छन्।

उनीहरूको त्यस्तो सम्पत्ति खोज्नु र त्यो सम्पत्ति बन्द गर्नु कठिन रहेको क्याडम्यान बताउँछन्। उनका अनुसार प्रायः त्यस्तो अवैध सम्पत्ति ट्याक्स हेभेनमार्फत छलिने हुनाले तिनको सम्पत्ति ठ्याक्कै पत्ता लगाउन अप्ठेरो हुने क्याडम्यानको भनाइ छ।  

त्यसो त असद परिवारको सम्पत्ति रोक्का गर्न सन् २०१९ मा पेरिसस्थित अदालतले एउटा आदेश नै जारी गरेको थियो। सो आदेशले युरोपमा व्यापार गरिरहेका रिफात अल असदको कारोबार गरिरहेको नौ करोड डलरबराबरको सम्पत्तिमा रोक लागेको थियो। रिफात पूर्वराष्ट्रपति बसर अल असदका काका हुन्। रिफातले सन् १९८२ को आन्दोलनमा विपक्षी दबाउन भूमिका खेलेको आरोप लागेको छ।

पेरिसस्थित अदालतमा यस घटनामा पैरवी गरेका मानवअधिकारकर्मी वकिल विलियम बोर्डन भन्छन्, ‘दुबई (युनाइटेड अरब इमिरेट्स) र रुसजस्ता मुलुकमा पुर्‍याइएको रकमबारे अध्ययन गर्न गाह्रो हुन्छ।’ सिरियाली पैसा विदेश लग्ने क्रम बसर अल असदका पिता हाफिजकै पालादेखि भएको विज्ञहरू बताउँछन्। हाफिजका ज्वाइँ मोहम्मद मख्लफ कुनै समय सिरियामा एक मात्र चुरोट कम्पनीका मालिक थिए। त्यस्तै मख्लफले पनि देशका विभिन्न ठुला निर्माण व्यवसायको ठेक्का पाउने गर्थे।  

हाफिजपछि बसर राष्ट्रपति हुँदा उनका फुपाजु मख्लफले उनका छोरा रामीलाई सबै व्यापार जिम्मा लगाएर अवैतनिक सल्लाहकारको भूमिका निभाएका थिए। रामीको नेतृत्व असदहरूको लगानी बैंक, मिडिया, ड्युटी फ्री पसल, एयरलाइन्स तथा टेलिकम्युनिकेसनमा विस्तार भयो। ती सबैको कुल सम्पत्ति १० अर्ब डलर रहेको अमेरिकी गृह मन्त्रालयको आकलन छ।  

गृहयुद्ध सुरु भएपछि बसरका कान्छा भाइ माहिरले सेनाको चौथो डिभिजन सम्हालेका थिए। सो डिभिजनमार्फत उनले सारा मध्यपूर्वमा गैरकानुनी हतियार तथा लागुऔषधको व्यापार चक्र चलाउने गरेको अमेरिकी दाबी छ। यस्तो व्यापारका कारण अमेरिकाले सन् २०२० देखि २०२२ सम्म लगाएको आर्थिक नाकाबन्दी चिर्न असद सत्ता सफल भएको थियो।  

माहिर गृहयुद्ध सुरु हुनुअघि नै अर्जेन्टिनामा ठुलो चिया खेती गरेर बसेका छन्। उता मख्लफ परिवारले दुबईमा ३९ लाख डलरभन्दा बढी घरजग्गामा लगानी गरेको वासिङ्टनस्थित थिंक ट्यांक सेन्टर फर एडभास्ड डिफेन्स स्टडिजले जनाएको छ।  

मख्लफ परिवारले युरोपमा दुई करोड डलरका होटल, बुद्ध बार तथा पेरिसका विभिन्न ठाउँमा लाउन्ज सञ्चालन गरेका छन्। उता रुसमा चार करोड डलरको लक्जरी भवनमा चार करोड डलरबराबरको लगानी रहेको युरोपेली जासुसी संस्थाहरूको अनुमान छ। एजेन्सीहरूको सहयोगमा

प्रकाशित: ४ पुस २०८१ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App