१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

राजेन्द्र लिङ्देनको ‘महाराज चिन्तन’

राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा बाहुन, क्षत्री, वैश्य र शूद्रद्वारा राजालाई अभिषेक गराउने चाँजोपाँजो मिलाइयो। जात प्रथाका पक्षपाती तत्वद्वारा एक लिम्बुलाई शूद्र र श्रेष्ठलाई वैश्य बनाइयो। आफूहरूलाई तल्लो तहको भूमिका निर्वाह गर्न लगाई अपमानित गरेको भनी लिम्बु र श्रेष्ठहरू रुष्ट भए। त्यसपछि किरात समूहका चारजना राई ठिटालाई क्षत्रीको दर्जा दिने संस्कार गरियो। यस प्रसंगलाई डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘भाग्यवाद र विकास’मा विभिन्न सन्दर्भ स्रोतसहित उल्लेख गरेका छन्। यहाँ यो प्रसंग विशेष अर्थमा ल्याइएको छ।

केही दिनअघि मलाई कसैले राजेन्द्र लिङ्देनले आरक्षण सम्बन्धमा बोलेको भिडियो देखाउँदै भने, ‘२१औँ शताब्दीमा जात र आरक्षणको कुरा गर्न मिल्दैन।’

भिडियोमा राजेन्द्र लिङ्देन बोल्छन्, ‘विर्तामोड सहरको मुटुमा सुनको व्यापार गरेर बस्नेले कुनै जात भएको नाताले ऊ आफूले, उसको छोराछोरीले, उसको श्रीमतीले र उसको श्रीमतीको पेटमा भएको बच्चालाई समेत राज्यबाट सेवा–सुविधा प्राप्त भएको छ। तर, उसकोमा गएर पूरै जिन्दगीमा केही लाल सुन किनेर श्रीमतीको नाकमा एउटा फुली टाँसिदिन नसक्ने घिमिरे राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित छ। यसले देशलाई कहाँ लैजान्छ ल भन्नुस् त?’

जात र थर फरक कुरा हो, घिमिरे थर विश्वकर्माको पनि हुन्छ। भिडियोमा लिङ्देनले जात विशेषको नाम नलिई दलित, महिला, मधेसी, जनजाति, मुस्लिम लगायतले पाएको आरक्षणको विरोध गरेका रहेछन्।

वर्ण–व्यवस्था अन्तर्गतको जात र थर भनेको के हो? किन ब्राह्मणलाई धर्म चलाउने र क्षेत्रीलाई शासन–प्रशासन चलाउने आरक्षण दिइयो? किन सेवा गर्ने र सिनो उठाउनेजस्ता आरक्षण बाहुन–क्षत्रीलाई परेन? यस्ता प्रश्न र जवाफ सम्बन्धमा लिङ्देनलाई ज्ञान भएको देखिँदैन। हुन त यो हिन्दू वर्ण–व्यवस्थाभित्रको कुरा हो, लिम्बु धर्म–संस्कृतिभित्रको विषय होइन र यसमा उनको अध्ययन नपुगेको हुन सक्छ।

संविधानमा ‘राज्य’ र ‘राष्ट्र’को स्पष्ट परिभाषासहित मुलुक धर्मनिरपेक्ष संघीय गणतन्त्रमा अगाडि बढेको छ। तर लिङ्देन राजतन्त्र फर्काउने र हिन्दू राष्ट्र बनाउने राजनीतिमा लागेका छन्, यसअघिका उनका भनाइले यही पुष्टि गर्छ। अर्थात् उनी पछाडि फर्कने कुरा गर्दै छन्। कुनै धर्म हो, परिवर्तन गर्न वा अपनाउन सकिन्छ र पाइन्छ। कुनै राजनीतिक आस्था हो, लिन पाइन्छ। त्यसका लागि आवाज उठाउन र विद्रोह गर्न पनि पाइन्छ, तर देशका उत्पीडित वर्गको इतिहास, धर्म–संस्कृति र अवस्थाको ख्याल गर्नुपर्छ, कुनै पनि नाममा उनीहरूलाई थप कुल्चन पाइँदैन।

यो देशमा कहाँ कथित उच्च जातको गरिबलाई कुनचाहिँ धनी दलितले जातीय विभेद तथा छुवाछुत गरेको छ ? यो प्रश्न पनि राजेन्द्र लिङ्देनको मस्तिष्कमा घुस्नुपर्छ, राजनीति नै गर्ने हो भने।

ठीक छ, उनकै शब्दमा हिन्दू राष्ट्र र राजतन्त्र उनको आस्थाको राजनीति भयो। तर, प्रश्न खडा हुन्छ— आस्था र निष्ठाको नाममा उनी कति पछाडि फर्कन्छन्?

धर्म र राजतन्त्रतिर फर्कंदा

हिन्दू धर्मका सम्बन्धमा पछाडि फर्कने हो भने धर्मशास्त्रसँगै कानुनको इतिहासतिर फर्कनुपर्छ। हिजो समाजका मूल्य–मान्यता र कानुनहरू धर्मशास्त्रमा आधारित थिए। त्यही धर्मशास्त्रमा आधारित कानुनका कारण आजका दलित मात्रै होइन, आदिवासी जनजाति, मुस्लिम लगायत पछाडि पारिए।

वीरेन्द्रको अभिषेकमा लिम्बुलाई शूद्र बनाउने प्रपञ्च होस्, नागरिकलाई मासिन्या र नमासिन्या मतुवाली बनाउने, छिटो हाल्नु पन्र्या र छिटो हाल्नु नपन्र्या जात बनाउने जंगबहादुरको मुलुकी ऐन (१९१०) होस्— यी र यस्ता कानुन हिन्दू धर्मशास्त्र (विशेषतः मनुस्मृति) मा टेकेर बनेका थिए।

आजभन्दा ५८ वर्षअघि (२०२० सालसम्म) हामी उपाध्याय, जैसी, रजपुत, तागाधारी, नमासिन्या र मासिन्या मतुवाली, छिटो हाल्नु नपन्र्या र पन्र्या जातमा विभाजित थियौँ, आपसमा विभेद गरिरहेका र विभेद भोगिरहेका थियौँ। त्यसको अवशेष समाजमा अझै छ। कानुन बनाएर लादेपछि मानिसले ठूलो र सानोमा विभाजित भई व्यवहार गर्ने नै भए। यसरी पछाडि फर्कंदै जाने हो भने राजेन्द्र लिङ्देन नमासिन्या र मासिन्या मतुवालीसम्म पुग्नैपर्छ।

राजसंस्थालाई लिएर पछाडि फर्कने हो भने उनलाई शाहकालसम्म मात्रै होइन, किरातकालसम्म वा त्यसका अवशेषसम्म फर्कन आधार मिल्छन्। आफू लिम्बुको छोरो हुनुमा उनले गर्व गरेको पाइन्छ। यहाँ उनका पुर्खाले धनुर्बाणले जितेको देश लिम्बुवान पनि थियो। इमानसिंह चेम्जोङको पुस्तक ‘किरात इतिहास’मा उल्लेख छ, ‘आठ राजा मासिए।

ठूलो सभामा मुलुकको राजा को हुने, मुलुकको नाम के राख्ने भनी छलफल भयो। धनुर्बाणले जितेको हुनाले देशको नाम लिम्बुवान राखियो। किराती भाषामा ‘लि’को अर्थ धनु, ‘आबु’को अर्थ हान्ने÷हान्यो, वानको अर्थ ठाउँ हुन्छ। उनीहरूले लिम्बुवानको सिमाना लाएः उत्तर– तिब्बत, दक्षिण– मधेस, पूर्व– मेचीखोला र पश्चिम– अरूणखोला ।’

चेम्जोङले पुस्तकमा दश लिम्बुले राजनीतिकदेखि सामाजिक र धार्मिक थिति बाँधेको उल्लेख गरेका छन्।

पछाडि फर्कंदै जाँदा आफू कुन वंशको र कस्तो व्यवस्थाको राजतन्त्रसम्म पुग्ने हो भन्नेमा उनी स्पष्ट हुनुपर्छ होला। देशको भूगोल, धर्म र संस्कृतिको इतिहास नबुझी आज सुन पसलेले जातका आधारमा सुविधा लियो भनी छिपछिपे जानकारीका आधारमा दलितको हक, अधिकार र आन्दोलनलाई उल्लीबिल्ली पार्ने हक कसैलाई छैन।

वर्ग, अछुत र आरक्षण

भिडियोमा उनले भने अनुसार, उनको घरमा गोबर सोहोर्ने पराजुली थरका बाहुन छन्। किन उनको घरमा गोबर सोहोर्ने मात्रै ! अन्यत्र पनि बाहुन–क्षत्रीहरू गरिबीको रेखामुनि छन्। ठीक छ, जात होइन वर्ग हेरी गरिबीको रेखामुनिका मानिसलाई सेवा—सुविधा दिउँ। यसो गर्दा सबैभन्दा बढी उत्थान दलितकै हुन्छ। तर उनले गरिबीको रेखामुनिका नागरिकका लागि कुनै योजना तथा कार्यक्रमको कुरा गर्दै छैनन्, उनी त जातको नाम नलिई दलित, जनजाति लगायतले पाएको केही सुविधाको विरोध गर्दै छन्। यहाँ कोही गरिब बाहुनको पक्षमा बोल्नलाई ठूलो संघर्षले प्राप्त गरेको दलितको हक–अधिकारको विरोध गर्न आवश्यक छैन।

आज कुनै पनि सरकारी जागिर खान शैक्षिक योग्यता तोकिएको छ। आज यहाँ पढ्दै नपढेको धनी व्यक्ति अधिकृत हुने व्यवस्था छैन। धनी होस् वा गरिब– स्नातक नगरेको व्यक्ति अधिकृत हुन सक्दैन। पढेर अगाडि बढ्नका लागि केही न केही सम्पत्ति, केही न केही आधार, केही न केही विरासत चाहिन्छ। अलिकति पढ्ने हैसियत भएको दलितलाई धनी भनेर विरोध गरिहाल्नुपर्ने? यिनको नियत के हो? धनी र पढेको दलितले सरकारी जागिरमा आरक्षण नलिए के त्यो कोटामा पढ्दै नपढेको गरिब बाहुन आइपुग्छ?  

शास्त्रीय मान्यता र पानी नचल्ने कारण हिजो दलितले गुरुकुल र छात्रावासमा बसेर पढ्न पाउँदैनथे, त्यहाँ बसेर पढ्नका लागि विशेष जातभित्रको हुनुपथ्र्यो। आज पनि सहरमा दलितले जातका कारण कोठा नपाएका उदाहरण प्रशस्तै भेटिन्छन्।

००७ सालपछि देशका गाउँगाउँमा विद्यालय खुल्न थाले। त्यतिबेला राज्यले पढ्नका लागि छात्रवृत्ति दिएको थियो, जो पाउने अभिजात वर्ग नै थिए। विदेशले दिने छात्रवृत्तिमा उनीहरू नै जान्थे। फर्केर आएर उनीहरू नै देश चलाउने र नीति योजना बनाउने ठाउँमा बस्थे, आफ्नै जात र वर्गको हितमा काम गर्थे। दलितको छात्रवृत्तिको कुरा उठेको त ०५० सालपछि हो। यति जानकारी छैन भने, उनले नेपालका योजनाहरू पढून्, योजना आयोगले आफ्नो वेबसाइटमा राखिदिएको छ।

हिजो अपवादमा केही दलितसँग प्रशस्त जग्गा थियो। कतिपय स्थानमा जग्गाको कर स्वरूप डिट्ठा, मुखिया वा जिम्मावाललाई घिउदेखि घरपालुवा जनावर बुझाउने गरिन्थ्यो। घिउ मात्रै होइन, कतिपय स्थानमा दलितले पालेको जनावर चल्दैनथ्यो। धर्मशास्त्र र कानुनले चलेको समाजमा दलितलाई सम्पत्ति राख्ने हक थिएन। अधिकांश स्थानमा दलितहरू पाखापखेरातिर बस्नुपथ्र्यो। यस भूगोलको खस साम्राज्यदेखि बाइसी–चौबिसी राज्यमा हेर्दा पनि राजाबाट दान वा बिर्तास्वरूप जग्गा पाउने अभिजात नै छन्।

मनुस्मृतिले शूद्रलाई सम्पत्ति राख्ने हक दिएको छैन। कुन वर्ण कहाँ बस्ने भनी तोकिदिएको छ— ‘चाण्डाल र श्वपच गाउँभन्दा बाहिर बस्नुपर्छ। यिनीहरूसँग भाँडाकुँडा हुनु हुँदैन, कुकुर र गधा नै यिनीहरूका सम्पत्ति हुन्। शूद्रको धन ब्राह्मणले निसंकोच लिन सक्छ।’

आज दलितको थरमाथि कतिपय जनजातिहरू प्रश्न गर्छन्, उल्टोसुल्टो बोल्छन्। पेसा, पुख्र्यौली थलो, सरकारी दर्जा अनुसार बनेका हुन्, जात र थर। जात र थर बन्नुका अनेक मिथक कथा समेत छन्।  

कतिपय बाहुन–क्षत्री र दलितको पुख्र्यौली थलो एउटै हो, सोहीबमोजिम थर मिल्न जान्छ। वर्ण–व्यवस्थाको अभ्यास र व्यवहारको विभिन्न कालखण्डमा कतिपय जात उत्कर्ष अर्थात् माथि चढ्ने र अपकर्ष अर्थात् तल झर्ने पनि भएका छन्। ‘हाम्रो समाज एक अध्ययन’ पुस्तकमा जनकलाल शर्मा लेख्छन्, ‘नेपाली समाजमा राजपूत, मल्ल, ठकुरी र खसको उत्कर्ष भएको पाइन्छ। सुदूरपश्चिमी नेपालका मतवाली क्षत्रीको अपकर्ष भएको पाउँछौँ। महाभारतको अनुशासन पर्वमा वीतहव्य राजा क्षत्रीयबाट ब्राह्मण भएका देखिन्छन्।’

यहाँ केही थर विशेषलाई बाहुन र क्षत्रीको मात्रै बनाइएको पाइन्छ। जसरी आफूलाई लिम्बु जाति वा समुदायको भन्नेले लिङ्देन लगायत थर लेख्छ, जसरी बाहुन–क्षत्रीका विभिन्न थर छन्, त्यसरी नै दलितका विभिन्न थर छन्। विभेद गर्न सजिलो होस् भनेर हिजो शासन–प्रशासनमा बस्नेले दलितको जात स्थापित गर्नतिर लागे, थरलाई दबाए। जात ढाँटेर थर लेख्दै आएका बाहुन–क्षत्री हुन्, उनीहरूले आफ्नो जात बाहुन वा क्षत्री नलेखेर थर लेख्छन्। जात त समाजमा आफ्नो परिचय दिन र जातीय कर्म तथा अनुष्ठानका बेला मुखले भन्ने मात्रै हो। बुझ्दै नबुझेका कतिपय अभिजात र वर्णव्यवस्था इतरका जनजातिले दलितले जात ढाँटेर थर लेख्यो भन्छन्।

आरक्षणको सवालमा पनि मनमरी बोल्नेहरू छन्। वर्ण–व्यवस्था भनेकै आरक्षणमा आधारित हो। जसमा धर्म चलाउने आरक्षण बाहुनलाई र शासन–प्रशासन चलाउने आरक्षण क्षत्रीलाई थियो। यस्तो आरक्षण नभएको भए, धर्मशास्त्र र कानुनमा जात अनुसारको व्यवस्था नभएको भए— आज यहाँ जात र आरक्षणको कुरा उठ्दैनथ्यो।

त्यसमाथि हिजो राजाले एक भाषा र एक धर्मको नीति लिँदा अन्य भाषाभाषी र धर्मका मानिस पछाडि परे। यसरी देशमा हिन्दू वर्ण–व्यवस्था अन्तर्गतका अभिजातले अनेक मानक, मूल्य–मान्यता, नीति–नियम र शब्दकोश समेत बनाउँदै आए। उनीहरूले जसरी हुन्छ आफूलाई ठूलो भनी स्थापित गरे र सुविधा लिए।

सदियौँदेखि पछाडि पारेपछि त्यसको क्षतिपूर्ति स्वरूप राज्यमा समावेशी र आरक्षणको कुरा आएको छ, यो तथ्य राजेन्द्र लिङ्देनजस्ता पछाडि फर्कन चाहने र नेता बन्न खोज्नेले बुझ्नुपर्छ।

बिबिसी नेपाली सेवाको अनलाइन संस्करण (५ डिसेम्बर २०२१) मा प्रकाशित एक सामग्री अनुसार, ‘राजेन्द्र लिङ्देनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रोबस चलाएको’ उल्लेख छ। काम गरिखानेको सम्मान हुनुपर्छ। यहाँ यो प्रसंग यस कारण ल्याइएको हो कि अहिले सार्वजनिक सवारीसाधनमा महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका लागि सिट (कोटा) छुट्ट्याइने अभ्यास छ।

बलबैँसको व्यक्ति सिटमा बसेर महिला तथा वृद्धवृद्धा उभिनु न्यायोचित होइन। देश अगाडि बढ्न सीमित स्रोत–साधन र सेवासुविधामाथि सदियौँदेखि उत्पीडनमा परेकालाई समेट्दै जानुपर्छ। त्यसैले आज राज्यका सेवा र सुविधामा आरक्षणको अभ्यास भएको छ। सबै प्रकारको विभेद हटी सामाजिक न्याय स्थापित भएसँगै आरक्षण आवश्यक हुनेछैन, आरक्षणको माग गर्न उल्लै लाज मान्नुपर्ने परिस्थिति सिर्जना भएर जानेछ।  

धर्म–संस्कृतिका कुरा

आज कतिपयले दलितलाई हिन्दू धर्मविरोधीका रूपमा लिएको पनि पाइन्छ। एउटा अभिजातले धर्म परिवर्तन गरी क्रिस्चियन बनोस् त्यति प्रश्न बन्दैन, जति प्रश्न दलितले धर्म परिवर्तन गर्दा बन्छ। वास्तवमा कुनै धर्म अपनाउने, धर्म परिवर्तन गर्ने वा गराउने प्रचलन निकै पुरानो हो। शासकको आफ्नो धर्म नहोस्, तर उसले आफूले शासन गर्ने जनताको धर्म सम्बन्धमा बुझ्र्नैपर्छ। धर्म र राष्ट्रवादका नाममा शासन गर्ने प्रचलन पनि पुरानै हो।

नेपालका दलित छुवाछुत भोगेरै भए पनि हिन्दू धर्मसँग सांस्कृतिक रूपमा जोडिँदै आएका छन्। कतिपय पर्व विशेषमा देउतालाई खुसी पार्ने नाममा दलितले अझै पनि नाचगान र वाद्यवादन गर्छन्। मानिसलाई आफ्नो सांस्कृतिक पहिचान चाहिन्छ, यसर्थ दलितहरू सम्पूर्ण रूपमा हिन्दू धर्मविरोधी हुनै सक्दैनन्। उनीहरू केवल यस धर्मभित्रका विकृति, विभेद र विसंगतिको विरोधमा छन्। कतिपय दलितले हिन्दू धर्म त्यागी अन्य धर्म अपनाउँदा सांस्कृतिक पहिचानको आधार मेटिन्छ र विभेदविरुद्धको आन्दोलनको बाटो सकिन्छ। किनभने अर्को कुनै धर्म अपनाइसकेपछि आफूले त्यागेको धर्ममाथि बोलिरहने हक उसलाई हुँदैन। यद्यपि व्यक्तिगत आस्था र विश्वास जस्तोसुकै होस्, आफूमाथि र अन्यमाथि भएको विभेदविरुद्ध बोल्नु नै मानवधर्म हो।

लिङ्देन आज हिन्दू धर्मको पक्षपाती बन्दै छन्। उनीलगायत राजावादीहरू संविधानमा धर्म निरपेक्षको ठाउँमा ‘हिन्दू राष्ट्र’ लेख्न चाहन्छन्। संविधानमा राष्ट्रको परिभाषा स्पष्ट लेखिएको छ— ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिमा आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’  

यसर्थ आजको नेपाल राज्य सबै धर्मावलम्बी, भाषाभाषी तथा समुदायको राष्ट्र हो। हिजो हिन्दू राष्ट्र हुँदाको विभेद नदोहोरियोस् भनेर आज संविधानमा यो व्यवस्था गरिएको छ। विभेदकारी धार्मिक मूल्य–मान्यता र पम्परामा सुधार गर्दै र सामाजिक न्याय स्थापित गर्दै जानु नै सभ्यता हो। हिजो हाम्रा पुर्खाले मान्ने धर्म–संस्कृतिमा खराब पक्ष थिए, त्यसमा सुधार हुँदै आए।

आज हामी हिन्दू धर्म–संस्कृति अनुसार गाईगोरुलाई पुज्छौँ। तर हिजो हाम्रा पुर्खाले गाईगोरुको मात्रै होइन, मानिसको समेत बलि दिन्थे। रजनीकान्त शास्त्रीको पुस्तक ‘हिन्दू जाति का उत्थान और पतन’मा उल्लेख छ, ‘प्राचीन हिन्दूहरूको बर्बरता गोमेध (गाई–गोरुको मासु हवन गर्ने यज्ञ) सम्म सीमित थिएन, नरमेधसम्म पुगेको थियो, जसमा देवतालाई प्रशन्न गर्न नरबलि दिइन्थ्यो। यसको उदाहरण ऋग्वेदको शुनःशेप सूक्त (१।२४) मा छ।’

पाण्डुरंग वामन काणेले आफ्नो पुस्तक ‘धर्मशास्त्र का इतिहास प्रथम भाग’मा सौत्रामणी यज्ञमा पहिले मदिराको आहुति र पशुबलि पनि दिइने उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘सुराको तीन–तीन प्याला अश्विनी, सरस्वती एवं इन्द्रलाई समर्पित गरिन्थ्यो। यी तीन देवीदेवताका लागि पशुको बलि पनि दिइन्थ्यो। जस्तोः अश्विनीका लागि खैरो रङको बाख्रो, सरस्वतीका लागि भेडा र इन्द्र सुत्रामा (इन्द्रको नाम) का लागि एक गोरु ।’

राजकुमार दिक्पालको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’मा लिम्बुका केही अनुष्ठानमा गाई र गोरुको भोग अनिवार्य रहेको उल्लेख छ। उनी लेख्छन्, ‘लिम्बूहरूका महŒवपूर्ण देवता थेवा सम्माङलाई गाई वा गोरुको भोग अनिवार्य हुन्छ। लिम्बु भाषामा थेवाको अर्थ बाजे र सम्माङको अर्थ देवता भन्ने हुन्छ। गाई वा गोरुको भोग दिनुलाई ‘करुङपित’ भनिन्छ। यसको अर्थ लाग्छ, कोरली वा बाच्छी भोग दिनुपर्ने। तर, लिम्बुहरू गोरखालीको अधीनस्थ भएपछि उनीहरूले आफ्ना कतिपय संस्कार र संस्कृतिमा परिवर्तन गर्न बाध्य हुनुपर्‍यो।

त्यस्तै, लिम्बु समाजमा विवाह गरी कर्मघर जाने महिलाले जन्मघरबाट एउटा देवता लिएर जाने चलन छ, यसलाई ‘मेफ्रमा’ भनिन्छ। मेफ्रमा अनुष्ठानमा पनि गाईगोरुको भोग अनिवार्य हुन्छ। गोवध प्रतिबन्ध भएपछि यसको विकल्पमा फेदाङ्दाहरूले विविध उपाय अपनाए। घरमा अनुष्ठान गर्न जाँदा उनीहरूले लडेर वा कालगतिले मरेको गाईको हड्डी लिएर जान्छन् र त्यही नमुनाका रूपमा गाईको भोग दिएको भन्दै देवीदेवतालाई सम्झाउने गरेका छन्।’

आज लिङदेनले हिन्दू राष्ट्र र राजतन्त्रको कुरा गरिरहँदा हिजो दलित लगायत उत्पीडित वर्ग समुदाय विभेदमा पर्नुपरेको कारण बुझ्नुपर्छ। छिपछिपे बुद्धि र छुद्र स्वभावले भन्ने हो भने, हिन्दू धर्म ‘जति’ यो देशका दलितको हो, ‘त्यति’ वर्ण–व्यवस्था इतरकाको होइन। यद्यपि हामीकहाँ सदियौँदेखि हिन्दू धर्म अपनाउँदै आएका जनजाति पनि छन्।

हिन्दू धर्मभित्रको वर्ण–व्यवस्था, जात–थर र ठूलो संघर्षपछि दलित लगायतलाई प्राप्त विशेषाधिकारमाथि बोलिहाल्न अलिकति अध्ययन, चिन्तन र बौद्धिक हैसियत पनि चाहिन्छ। आज देशमा राजा फर्काउन र हिन्दू राष्ट्र बनाउन जातका हिसाबले बीचको मानिस खोजिएको आभास हुन्छ, बीचको भन्नाले बाहुन–क्षत्री र दलित समुदायबीचको। राज्य संयन्त्रमा यतिखेर फाट्टफुट्ट दलित, महिला, जनजाति, मधेसी लगायत उत्पीडित वर्ग आउन थालेका छन्।

कतिपय कथित अभिजातले आफ्नो हिजोको हालिमुहाली र विरासत खोसिएको महसुस गरिरहेका छन्। त्यसैले उनीहरूले कथित उच्च जातका गरिबलाई देखाएर परिवर्तनको विरोध गर्ने पात्र खडा गर्दै छन्। हिजो राजाको नजिक रहेर फाइदा लिने, धार्मिक र जातीय विरासतबाट सुविधा भोग्नेहरूलाई आज पुनः राजासहितको पुरानै प्रचलन र पद्धति चाहिएको छ। उनीहरूको चासो र चिन्तालाई महाराज शैलीमा आज राजेन्द्र लिङ्देनले सम्बोधन गर्दैछन्। हिजो परिवर्तनका लागि लडेका नेतालाई उनले आज सिधै ‘चोर’ भन्दै छन्। समावेशीको मुद्दालाई वर्गसँग गोलमाल पार्ने चेष्टा गर्दै छन्।

जेहोस्, इतिहासमा अनेक पात्र आउँछन्, जान्छन् र ऐतिहासिक उत्पीडनको हिसाबकिताब पनि हुँदै जान्छन्।

प्रकाशित: १९ चैत्र २०७८ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App