२५ श्रावण २०७९ बुधबार
कला

पुटिनको राजनीतिक यात्रा

अहिलेको समयमा कुनै एउटा स्वतन्त्र मुलुकमा निहुँ झिकेर आक्रमण गर्नु निन्दनीय कार्य हो। चाहे त्यो इराकमा अमेरिकाले गरेको आक्रमण होस् या अहिले रुसले युक्रेनमाथि थोपरेको युद्ध होस्। यस्ता युद्धको भत्सर्ना हुनैपर्छ।

युक्रेनमा लडाईं चर्कंदै र लम्बिदै जान थालेपछि केहीले आखिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन को हुन् भन्ने खोजीलाई तीव्र पार्न थालेका छन्। उनी को हुन् मात्र होइन, उनको हुर्काई कस्तो थियो र के सोच्छन् भन्नेसम्म सोधीखोजी हुन थालेको छ।

सन् १९५२ मा जन्मिएका भ्लादिमिर पुटिनको बाल्यकाल सेन्ट पिटर्सबर्गमा भयो। दोस्रो विश्वयुद्ध सकिएलगत्तै उनी जन्मिएका थिए र त्यो बेला हिटलरले छाडेको आतंक जीवितै थियो। हिटलरले लेनिनग्राद (हालको सेन्ट पिटर्सबर्ग) कब्जा गर्न गरेको आक्रमणबाट त्यहाँ १० लाखभन्दा बढीको मृत्यु भएको थियो भने त्यसपछि उत्पन्न भोकमरीका कारण उत्पन्न आतंकको त कुरै छाडौँ।

पुटिनका पिता कारखानामा काम गर्थे। साथसाथै उनी कानुन उल्लंघनकर्ताको नियमन गर्ने एनकेभिडी नामक संस्थामा समेत संलग्न थिए। त्यो बेला सबै जसो मानिसहरू कम्युनमा बस्थे र सोही कम्युनमा रहेका बेला पुटिन जन्मिएका थिए। रमाइलोका लागि पुटिन र उनका साथीहरू मुसा लखेट्ने काम गर्थे। बच्चा बेलामा उनी निकै दुब्ला थिए। त्यसैले कतिपय साथीहरूले उनलाई हेप्थे। यसबाट आजित भएर उनी जुडो, साम्बोजस्तो खेलमा सहभागी भए। यस्तो खेलमा जतिसुकै पीडा भए पनि नदेखाउन सिकाइन्थ्यो।

पछि यो खेलमा माहिर भएपछि उनी लेनिनग्रादका सडकमा आवारागर्दी गर्दै हिँड्न थाले। एक किसिमले सडकको दादाका रूपमा कहलिन थाले। कहिलेकाहीँ ग्यांग फाइटमा सरिक हुने पनि गर्थे। यस्तोमा आफूभन्दा कयौँ बलिया प्रतिस्पर्धी र विपक्षीहरूको ठूलो समूहसँग पनि उनी भिड्थे। उनले एउटा जीवनीमा भनेका छन्, ‘झगडा पर्‍यो भने केही नगर्नु, अगाडिको मानिसलाई शुरुमै किक हान्नु र यसरी हान्नु कि उठ्नै नसकोस्।’

उनी किशोरावस्थामा नै फिल्म र किताबको प्रभावले जासुस बन्न चाहन्थे। उनको देशमा एउटै तगडा जासुसी संस्था थियो, केजिबी। यसले संसारभरिका ठेकेदारसँग झुत्ती खेलिरहेको थियो। त्यतिञ्जेल संसारकै सशक्त जासुसी संस्थाका रूपमा यसले नाम कमाइसकेको थियो।

त्यसैले त उनले स्कुले शिक्षा पूरा नगर्दै आफू केजिबीमा भर्ती हुने चाहना प्रकट गर्ने गर्थे र उनले लिखित रूपमा नै आग्रह गरेका थिए। लेनिनगार्द स्टेट युनिभर्सिटीमा कानुनमा उच्च शिक्षा हासिल गरिसकेपछि उनलाई केजिबीमा लिइयो। आखिर किन उनलाई लिइयो होला त? आफ्नो जीवनीमा उनले भनेका छन्, ‘सम्भवतः म धेरै खतरा मोल्छु र त्यो खतरा मोलाई चाहिँ अरूको भन्दा अलि बढी नै हुने गर्छ। दायाँबायाँ नसोची र एक हिसाबले मूर्खताको तहमा मेरो हिम्मत देखेर नै सम्भवतः उनीहरूले मलाई लिएका होलान्।

केजिबीका जासुसहरूलाई कडा अनुशासन सिकाइन्छ। केजिबी मात्र किन, प्रत्येक जासुस हुन चाहने मानिसमा मूर्खताको हदसम्मको हिम्मतिलो, हिंस्रक र रहस्यमय किसिमको हुनुपर्छ नै। उनमा त्यो गुण थियो। त्यसमाथि उनी देशभक्त पनि थिए। लेनिनग्रादमा केही वर्ष सेवा गरिसकेपछि सन् १९८५ मा उनी पूर्वी जर्मनीको ड्रेसडेनमा जासुसी कार्यका लागि नियुक्त भए। यहीँनेर उनी जीवनकै सबैभन्दा महत्त्वपूर्ण अनुभव हासिल गरे। यो अनुभवले नै उनलाई अहिलेको राष्ट्रपति पुटिन बनाउन भूमिका खेल्यो भन्नेहरू पनि छन्।

उनी पूर्वी जर्मनी आएको केही वर्षमा नै संसारभरि उथलपुथल हुन थालेको थियो। नोभेम्बर १९८९ मा त बर्लिन पर्खाल ढलेको उनको आँखाले नै देख्नु पर्‍यो। त्यो बेला उनी जम्मा ३७ वर्षका थिए। पर्खाल ढालिसकेपछि केही आन्दोलनकारीहरू पूर्वी जर्मनीको सेक्रेट पुलिसको हेडक्वार्टर रहेको स्टासी भन्ने ठाउँमा पुगे। त्यसपछि भिड केजिबीको मुख्यालयसम्म पुग्यो।

यसपछि त चाँडोभन्दा चाँडो गोप्य दस्ताबेजहरू जलाउन उनले आदेश दिए। त्यहाँबाट कतिपय साथीहरूलाई उद्धार गर्नुपर्ने भएकाले सोभियत संघका सैन्य कमान्डसँग सहयोगका लागि बारम्बार अनुरोध पनि गरे। तर कसैले पनि उनलाई उद्धार गर्ने आश्वासनसमेत दिएनन्। यस किसिमको व्यवहारबाट उनी क्षुब्ध भए।

वर्षौंपछि सो दिन सम्झँदै पुटिनले भनेका छन्, ‘मलाई यस्तो लाग्यो कि सोभियत संघ मात्र होइन, मेरै देश समेत विघटित भयो कि!’ सम्भवतः उनले जीवनमा पहिलो पटक असहाय महसुस गरेको हुनुपर्छ। यति मात्र होइन, उनले जनतामाथि मात्र होइन, देशभक्त सबै सुरक्षा संयन्त्रमाथि धोका र अपमान गरिएको बोध उनले गरे। यो त शुरुवात मात्र थियो, जब सोभियत संघ नै पतन भयो, उनका लागि विगतका सारा गर्व धराशायी हुन पुग्यो।

बर्लिन पर्खाल ढल्नुको एउटा कारण स्वतन्त्रताको चाह मात्र थिएन, पश्चिमा मुलुकहरूले खेलेका कयौँ घृणित क्रियाकलाप पनि उत्तिकै दोषी थियो। त्यसो त सोभियत संघको नाकामी आफैँमा ठूलो कारक त छँदैथियो तर यस किसिमको अपमानलाई रोक्न सकिन्थ्यो भन्ने उनलाई लाग्थ्यो। त्यो विगत, त्यो गौरव र संसारमै नाम फिँजाउने कान्ति फर्काउन सम्भव छ भन्ने उनलाई लागिरह्यो र गल्ती कहाँनेर भयो भन्ने उन्ने उनले जर्मनीको ड्रेसडेन अनुभवले दिएको थियो। यहीबेला पश्चिमाप्रति उनको घृणा चुलिएको थियो।

‘प्यारालाइसिस अफ पावर’ नै विघटनको पहिलो पाइला हो र त्यसपछि विस्मृतिमा पुर्‍याउन कुनै समय लाग्दैन भन्ने पूर्वी जर्मनीको अनुभवले उनलाई सिकायो।

उनी जासुसबाट राजनीतिज्ञ हुनुका पछाडि पनि सोभियत संघको गरिमा फर्काउनु थियो। र, उनले सोभियत संघ पतनपछिका गडबडीका वर्षहरूमा क्रमैसँग समस्या समाधान गर्दै गौरवलाई पुनःस्थापना गर्न भूमिका पनि नखेलेका होइनन्। उनैका बलबुताले रुस संसारकै शक्तिशाली मुलुकमा गनियो र यसका लागि धेरै समय लागेन पनि। सन् १९९० को अपमानका दशकपछि नै रुस एउटा शक्तिशाली मुलुकका रूपमा अगाडि आउन थालिहाल्यो। त्यो तहमा देशलाई पु¥याउन सक्नु भनेको पुटिनको चानचुने क्षमताको कुरा होइन।

यसका लागि जनताले केही क्षति पनि भोग्नु पर्‍यो। खासगरी उनले शक्तिलाई अति केन्द्रीकरण गरे। उनले सबैजसो क्षेत्र पूरापूर नियन्त्रण कायम गरे। त्यसपछि जुन­­–जुन देशमा रुसी भाषा बोलिन्छ वा बुझिन्छ, ती देशमा आफ्नो पूर्व गौरवलाई पुनस्र्थापना गर्न प्रभाव विस्तार गर्ने कार्य गरे।

देशमा भगवान्विरोधी सत्ता कायम छँदा पनि, तिनले धार्मिक प्रभाव घटाउन गरेको ठूलो लगानी र प्रयोगपछि पनि सर्वसाधारणको मनबाट भगवान्लाई हटाउन नसकेको कटु अनुभवलाई हृदयंगम गरेर उनले पछिल्लो चरणमा रुसी अर्थोडक्स चर्चको सदस्य मात्र भएनन्, यसलाई राष्ट्रिय धर्मका रूपमा स्वीकारे।

उनी कडा स्वभावका भए पनि धार्मिक छन् है भन्ने प्रसारित गर्न उनको धार्मिक क्रियाकलापहरूलाई सरकारी टेलिभिजनले निकै नै पुट दियो। उनले गरेका पूजाआजालाई पनि ठाउँ दिइयो। उनको धार्मिक आस्थालाई रुसी अर्थोडक्सबाजहरूले पश्चिमाहरू धर्मच्यूत हुँदै गएको तर पुटिन धर्मरक्षकका रूपमा उदाएको व्याख्याहरू हुन थाल्यो। पुटिनमार्फत नै पवित्र रुसको स्थापना हुने सपनासमेत यस अवधिमा निकै प्रचारित हुन थाल्यो।

यही बेला युक्रेन भने त्रस्त हुन थाल्यो। उसले रुससँगको धार्मिक सम्बन्ध तोडेर युक्रेनी अर्थोडक्स धर्मलाई जोड दिन थाल्यो। यसो नगरे रुसबाट आफूहरू फरक नरहने प्रस्ट थियो। जसरी बेलायतबाट स्वतन्त्र भएपछि अमेरिकीहरूले भाषालाई अमेरिकीकरण गरे, बेलायतजस्तो प्रोटेस्टेन्ट मुलुक नहुने बरु धार्मिक स्वतन्त्रताजस्ता कुरालाई पुट दिए, युक्रेनले पनि आफूलाई रुसबाट अलग देखिन र धार्मिक प्रभाव घटाउन जरुरी ठान्यो। सन् २०१९ को एक घोषणापछि आफ्नो देशको धर्मको रक्षक पुटिन होइनन् भन्ने सन्देश युक्रेनले दिएको थियो।

जबकि रुसले युक्रेनको धार्मिक न्यायको क्षेत्र हो भन्ने मान्यता राख्थ्यो। जसरी नेपालको पशुपतिनाथबाट भारतीय पुजारी निकाल्ने र नेपाली पुजारी स्थापित गर्ने काण्डले नेपालका प्रधानमन्त्रीको सत्ता हल्लियो, सोही स्तरको घटना त्यहाँ पनि भएको हो र आफ्नो प्रभाव क्षेत्रबाट युक्रेन नहटोस् भन्ने चाहना पुटिन मात्र होइन, जुनै देशभक्त राष्ट्रप्रमुखको प्रथम एजेन्डा हुने गर्छ। र, पुटिनले त्यो जोड नटुटाउन निकै ठूलो जोड गरेका थिए। त्यो जोडलाई रुसी अर्थोडक्स चर्चका प्रमुख ‘मिराकल फ्रम गड’ भनी टिप्पणीसमेत गरेका थिए।

पछिल्लो समय पश्चिमा मुलुकले रुसलाई कतिपय प्रतिबन्ध लगाएको छ। यसले मुलुकभित्रै उनीभित्र अलोकप्रियता बढाउने र त्यसबाट उनलाई पदच्यूत गर्न सकिने सपना पश्चिमा मुलुकको छ तर जबसम्म यस्ता धार्मिक र देशभक्तिका कतिपय नयाँ मिथक उनले यत्तिका वर्षमा जोडेका छन्, तिनले उनलाई सजिलै परास्त गर्न भने गाह्रै छ। समयक्रममा अझ उनको छवि विस्तृत हुने देखिन्छ।

(विभिन्न समाचार स्रोतबाट साभार।)

प्रकाशित: १२ चैत्र २०७८ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App