१३ असार २०७९ सोमबार
कला

कलाको एस्थेटिक्स मूल्य–मान्यता

एउटा नवयुवा महिला कलाकारको जत्था अहिले नेपाली समसामयिक कलाको मूलधारमा समाविष्ट देखिएका छन्। यस जत्थामा कलाकार रबिता किसी, शुष्मा शाक्य, ज्यासमिन राजभण्डारी, शौरगंगा दर्शनधारी, सविता डंगोल, मुना भँडेल, विधाता केसी, मञ्जु स्याउला, मीना कायस्थ, सुनिता महर्जन, नम्रता सिंह, रुकमणी धिताल, शिलाशा राजभण्डारी, महिमा सिंह, दीपमाला महर्जन, सन्ध्या सिलवाल, कुन्तीश्री थापा आदि हुन् ।

यी सबैको काममा दक्षता देखिन्छ। यिनीहरूको सोचमा अब्बलता र जाँगरिलो क्रियाशीलताले गर्दा यहाँ उल्लेख गर्न अनिवार्य देखिन गएको हो। यी सबैजसो कलाकारले कलामा स्नातकोत्तर गरिसकेका छन्। यी कलाकारको मूल विशेषता भनेको यिनीहरूले सामाजिक सवालमा आधारित भई गरेका काम नै हुन्। यी कलाकार कलासँगै स्थानीय क्षेत्रको विकास प्रक्रियामा नौलो अवधारणाका साथ संलग्न छन्। छलफल, वर्कसप, सेमिनार लगायतमा यी कलाकारको संलग्नता देखिन्छ।

परम्परागत रूपमा हामीबीच बाँचिआएको हाम्रो कला, सम्पदालाई अझ खँदिलो बनाउनुमा यिनीहरूको रुचि र प्रयास देखिन्छ। यिनीहरूले आफ्नो कलागत विचारलाई पर्यटन र आर्थिक विकासको प्रक्रियामा आबद्ध गर्ने गरेका छन्। यो कला विकासमा पछिल्लो समय देखिएको नवीनतम् प्रयोग हो। यसर्थ पछिल्लो दशकदेखि उर्बर भएको यो कलाकारको जत्था विशेष छ।

यी प्रतिनिधि कलाकारका रूपमा व्यस्त देखिन्छन्। इमानदारीपूर्वक काम गरिरहेका छन्।अवधारणागत रूपमा काम गर्नुका साथै विचार र क्रियाकलापमा अब्बल छन्। मूलतः यी सबै कन्सेप्चुअल कलाकार हुन्। यिनीहरूले भावनाभन्दा माथि उठेर कला सिर्जना गर्छन्। गुणस्तरलाई कायमै राखी लामो समयसम्म काममा निरन्तरता राख्नु, सक्रिय भइरहनु पनि यी कलाकारको मुख्य विशेषता देखिन आएको छ। यसले कला विधामा खास अर्थ राख्ने हुनाले यी कलाकारको सन्दर्भ अलि बढी आएको हो। किनकि सिर्जनामा गुणस्तरको खोजी गर्नुपर्छ भन्ने अहिलेको बहसको विषय हो। 

भर्खरै ग्यालरी एम क्युबमा रबिताको ‘आई लुक ब्याक समटाइम’ शीर्षकको एकल कला प्रदर्शनी चल्यो। कला प्रदर्शनीको टाइटलले नै उनले जीवनमा भोगेका अनुभवलाई आफ्नै विचार र अवधारणा टाँसेर कलाको निर्माण गर्छिन् भन्ने स्पष्ट बोध हुन्छ।

उनले यसपल्ट प्रस्तुत गरेको प्रिन्ट मेकिङ कलामा प्रश्नको रूपमा उभ्याइएका उनका आफ्नै निजी अनुभव आएका छन्। उनले छनोट गरेको विषयवस्तु, (कलात्मक सम्पदा) प्राविधिक कुशलता, विविधता, मिहिनेत, हातको सफाइ आदिले उनको कामको महत्त्व बढ्न गएको छ। झन्डै लिच्छविकालदेखि प्रचलनमा आएका कलात्मक ढुंगेधारालाई उनले कलाको मूल विषय बनाएकी छन्।

अर्कोतर्फ नितान्त शान्त, सहज र सरल रूपमा देखिइरहेको उनको स्वभाव उनको कलामा यथेष्ट रूपमा प्रत्याभूति भएको छ। किनकि उनका काम शान्त र स्निग्ध लाग्छन्। एमक्युब कला दीर्घाको अलि पर एक अर्को क्लासिक कला ग्यालरी पनि छ। जहाँ भर्खरै ‘कनेक्टेड क्रियटिभिटी’ नामक समूहगत कला प्रदर्शनी भयो। कलाकार सरिता डंगोल, अनामिका गौतम, विनोद प्रधान, कुन्तीश्री थापा, मुकेश श्रेष्ठ, नारायण भोजु, प्रमिला बज्राचार्य, राजन पन्त, सुन्दर लामा, सुनिता महर्जनका काम प्रदर्शित भए। त्यहाँ प्रदर्शित सबैजसो कला राम्रा र स्तरीय छन्। मुकेश, सरिता, सुन्दर, राजनका कला अझ अब्बल छन्।

कला र कला लेखन

यो क्लासिक कला ग्यालरी अन्य कला ग्यालरीभन्दा एउटा कुरामा नितान्त फरक छ। ग्यालरीको बीच भागमा पुस्तक राख्ने र्‍याक छन्। जहाँ नेपाली कलाका पुस्तक बिक्रीका राखिएका छन्। नेपाली कलाका पुस्तक बाहिर बजारमा खासै किन्ना पाइँदैन, यो परिस्थितिमा यहाँ पुस्तक राखिनु कला अध्ययन गर्न चाहनेका लागि महत्त्वपूर्ण छ। भित्तामा झुन्डिएका कला हेर्न र यसै विषयमा लेखिएका पुस्तक अध्ययन गर्न पाइने अवसरले गर्दा कलाका बारेमा लेख्नेलाई मात्र होइन, कला बुझ्न खोज्नेका लागि पनि यो उपयुुक्त ठाउँ बनेको छ। यस ग्यालरीले कलालाई मात्र नभई कला लेखनलाई समेत प्रमोट गर्ने पृथक् सोच राखेको छ।

यो कला दीर्घाकी सञ्चालक, क्युुरेटर, व्यवस्थापक कलाकार सरिता डंगोल हुन्। अन्य कुनै कला ग्यालरीमा यसरी कला लेखनलाई कलासँग जोड्ने गरेको देखिँदैन, छैन। विदेशका अधिकांश म्युजियममा कला मात्रै प्रदर्शन गरिँदैन, यसबारे लेखिएका हजारौँ सानाठूला पुस्तक बिक्रीका लागि राखिएका हुन्छन्। यसो हुँदा दर्शकले पुस्तकबाट कलाको आधारभूत ज्ञान हासिल गरी कला अवलोकन गर्न पाउँछन्। हामीकहाँ यो परिपाटीको थालनीको सानो संकेत यस कला दीर्घाले दिएको छ।

यी महिला नवयुवा कलाकार अत्यधिक आधुनिक प्रवृत्तिमा सचेत छन्। यस्ता अनेकौँ कला प्रवृत्तिका काम गरिरहेका छन्। कलाका एकेडेमिक अभ्यास (प्राज्ञिक काम) पनि सँगसँगै गर्दै आइरहेका छन्। अनुशासनविहीन भइरहेका छैनन् भन्ने सन्दर्भमा यसको एक अलग्ग महत्त्व छ। जसले गर्दा यी कलाकारको इमानदारिता, सबलता र गुणात्मक कलाको स्पष्ट वकालत गर्न सकिन्छ। अन्यथा, आज देखापरेका वैकल्पिक कलाको स्वभावले विशेष गरेर युवा कलाकारलाई एक प्रकारले अनुशासनविहीन अवस्थामा पुर्‍याइसकेको छ। यस सम्बन्धमा कलाका निकायले चासो नराख्दा स्थिति भयावह बन्न गएको छ।

बहकिएका यी कलाकारलाई बहकाउबाट फर्काउन असम्भव जस्तै देखापरेको छ, कहिलेकाहीँ यस्तो एउटा अवस्था र वेला आउने रहेछ। राष्ट्रमा समाजका घटनाले स्वभाविक असर कलाकारमा पर्दोरहेछ। कलाकारले आक्रोश पोख्न बुझिने वा नबुझिने, हुने वा नहुने कलाका अनेकौँ स्वरूपलाई प्रयोग गर्न उद्यत् हुने गर्दा रहेछन्। विश्वको सन्दर्भमा पनि कलाका यस्ता विभिन्न रूप देखापरे। यसबारे चर्चा गरौँ।

दादा आन्दोलन

चरमोत्कर्षमा चलिरहेको प्रथम विश्वयुद्धको वेलाको कुरा हो। स्वभावतः त्यति बेला त्यहाँका आम मानिस त्रासमा बाँचिरहेका थिए। पहिलो विश्वयुद्धबाट मानवले भोगेको पीडा, संत्रासले जनजीवनमा धक्का पुग्दा परिणतिका रूपमा देखापरेको कला थियो, दादा आन्दोलन। युद्ध हुँदाहुँदै ‘एन्टी वार’को आन्दोलन पनि थियो यो। एकातिर बन्दुकका आवाज घन्किँदै गर्दा अर्कोतिर कलाकार परोक्षमा यसको विरोधस्वरूप कला, कविता र नाटक मञ्चन गरिरहेका थिए। मानवमाथि भएको नरसंहारप्रति कलाकार, साहित्यकार र नाटककार एकसाथ सजग र सिर्जनशील भएको कला इतिहासमै सम्भवतः यो पहिलो घटना थियो।

घटना (वा दुर्घटना) प्रति कलाकारको चोटिलो प्रहार भएको पनि पहिलोपल्ट होला। यसअघि कलामा नयाँपनको आन्दोलन भएका थिए। कलाको स्वरूपलाई भाँच्दै, बंग्याउँदै भएको कला आन्दोलनमा सामाजिक संस्कार र कुसंस्कारलाई व्यंग्य कस्ने काम भए पनि हाकाहाकी उग्र भएर घटनाको विरोध गरी सामाजिक मूल्यमान्यता भत्काउनेसम्मको कला आन्दोलन भएको थिएन।

कलाको स्वरूप सहनै नसक्ने गरी बेरूप बनाउने काम यसभन्दा पहिला भएको थिएन। यो कलाको रूपभन्दा समाजका विद्रोहको रूप थियो। यस वेलाको कामले पछि सन् १९५२ ताका भएको ‘पपकला’ आन्दोलनलाई मलजल गरे पनि सन् १९१६ ताका भने यस्ता कला रिस र आवेगमा आएको कला (वा, अकला) थियो।

भर्खरै सकिएको युद्ध अनि यसैको असरले युुरोपका धेरै राष्ट्र तहसनहस हुँदा त्यतिवेलाको समाजमा नकारात्मक भावनाको यस्तो माहोल खडा भएको थियो। कुनै कुरा सकारात्मक रूपमा हेर्ने संस्कार थिएन। विरोध गर्ने, अर्कालाई हकार्ने, गाली गर्ने प्रवृत्ति बढ्दो थियो। हुँदाहुँदा सिर्जनामा पनि यस्तै स्वभाव देखिन थालेको थियो। गाली गर्ने मात्र होइन, कलाका सामान्य मान्यता भत्काउन कलारका आक्रोशित हुन थाले। यस क्रममा आफ्नै कला पनि भत्काउने, च्यात्न लगाई कलाको नयाँ रूप हो भनी हुँकार गर्ने प्रचलनको होड चलेको थियो।

मूलतः कलाको पुराना मान्यता भत्काउने क्रममा देखापरेको कलाको यो प्रकृति केही हदसम्म स्वाभाविक थियो तर अधिकांश काममा एक प्रकारले मनपरीतन्त्र थियो। अ–कलाकारले बनाएका आक्रोशका प्रतिफलमा अ–कला पनि बनेका थिए। रद्दीका सामान बटुलेर कला बनाउने, बिना अर्थको उपहास गर्ने, विनाउद्देश्य उफ्रने कुद्ने यस बेलाको मुख्य क्रियाकलाप (कला) थियो। कलामा देखिनुपर्ने एस्थेटिक्स मूल्य–मान्यता, अन्तर्निहित बाह्य लालित्य, कलामा नभई नहुने आन्तरिक तत्व जम्मैजसो भताभुंग भएर कतै कुनामा थन्किएर रहेको अवस्था थियो। त्यस बेलाको बलियो लेखनले गर्दा कलाको इतिहासमा यस्ता अ–कला हराएर नयाँ प्रयोग गरिएका राम्रा कला मात्र आज हामी कलाको इतिहासमा अभिलेखन भएको पाउँछौँ।

त्यतिवेलाको समाजले कला लेखनलाई सम्मानजनक ठाउँ दिएको हुँदा उरन्ठ्याउले रूपमा देखापरेका अनेकौँ अ–कला र विकृति इतिहासमा अभिलेखन भएनन्। जसकारण केही वर्षपछि कला आफ्नो सौन्दर्यताका साथ पुनः उदाएको इतिहास छ। एउटा कलाकारकै मात्र नाम लिन पर्दा पनि डुचेम्प ज्वलन्त उदाहरण हो। उनले त्यसवेला भन्ने गर्दथे रे, कलाकारले थुके पनि त्यो कला हो। तर, उनको कलाचाहिँ बिनाअर्थको देखिँदैनथ्यो।

दादा आन्दोलन कुनै कला आन्दोलन थिएन, न कुनै सिद्धान्तबाट निर्देशित थियो। रोमानियामा जन्मेका निबन्धकार जारा त्रिसन र ह्यान्स आर्प यसका संस्थापक मानिन्छन्। कलाकार डुचेम्प पछि यसैमा जोडिन पुगेका थिए। यसबेलाका यी कलाकारले एउटा उद्देश्य निश्चित गरेका थिए। त्यो भनेको विनाश गर्ने, विरोध गर्ने अनि सरकारका क्रियाकलापमाथि विद्रोह गर्ने।

दादा आन्दोलनको नामबाट प्रचलित यो कला मात्र होइन, समग्र ललितकलाको क्षेत्र र साहित्यमा समेत विकृति फैलाउने क्रममा किसिमकिसिमका काम देखिन थालेका थिए। यो आन्दोलनले अनुशासनविहीन भएर अगाडि बढ्दा कलाको स्वरूप, पहिचान र विशेषतालाई नै अनकन्टार ठाउँमा पु¥याएको थियो। डा. जोन स्कुलका अनुसार, यस्ता कला र साहित्यको प्रकृति सन् १९१४ बाट सुरु भए पनि मूलतः १९१६ मा यसको शुभारम्भ भएको थियो। यसको प्रभाव पूर्णरूपमा रहेको १९१८ सम्म हो। कसैकसैले यसैलाई तन्काएर सन् १९२२ सम्म पुर्‍याएका छन्।

यसपछि सन् १९२० मा अति यथार्थवादी यस्तो एउटा कलाको आन्दोलन देखापर्‍यो। जसले कलाको एउटा स्वरूपलाई पुनः कलामा हुनुपर्ने, गरिनुपर्ने अनुशासन, मानमर्यादा र मूल्यमान्यतालाई कायम गराएको इतिहास छ। कसैकसैले अति यथार्थवादीलाई दादावादीले नै स्रोतको रूपमा ठाउँ दियो पनि भन्छन्।

यथार्थ के हो भने कलाको आन्तरिक तत्व, एस्थेटिक्सको मर्मका सन्दर्भमा यो कला आन्दोलन नितान्त अनुशासनबद्ध देखिन्छ। यसैले यसलाई बौद्धिक कला आन्दोलन भन्ने प्रचलन छ। कल्पना, सपनामा महल बनाउने सन्दर्भमा अनेकौँ अस्वाभाविक रूप संयोजन भए पनि कलाकारको इमानदारिता, मिहिनेत आदि यथेष्ट रूपमा दृष्टिगोचर भएको देखिन्छ। सल्भाडोर डाली यसका ज्वलन्त उदाहरण हुन्। यो बौद्धिक कलाको आन्दोलनको रूपमा सन् १९२० मा शुभारम्भ भयो, झन्डै यो कला १९६० सम्म सक्रिय रह्यो।

कसरी अवस्थाले कलाकारलाई एस्थेटिक्सको धारबाट बहकाएर अयन्त्र कतै लैजाँदो रहेछ भन्ने चित्रण गर्नका लागि यहाँ दादा र अति यथार्थवादीको कला आन्दोलनको प्रसंग जोडिएको हो। कलाकारको एउटा जत्थाको विचार र सोचले कलालाई एकपटक पुनः ट्र्याकमा ल्याउन सघाउँदो रहेछ।

नेपालको सन्दर्भमा ग्लोबइजम्को प्रभावमा यस्तै कला सन् २००० पछि देखिन सुरु भएको थियो। यसबखत माओवादीको आन्दोलनको उत्कर्षको अवस्था थियो। राष्ट्रमा पुरानो राजनीतिक व्यवस्था परिवर्तन भई नयाँ व्यवस्था लागू गर्ने सुरुको बेला थियो। आम जनता माओवादी आन्दोलनका कारण आक्रान्त बनेका थिए। त्रासदिपूर्ण जीवन निर्वाह गरिरहेका थिए। यस्तो अवस्थामा स्वभावतः कलाकारको कलाको स्वभाव र स्वरूप परिवर्तित रूपमा देखापर्नु अनौठो भएन। अलिकता बाह्य प्रभाव अनि कलाकारको आन्तरिक सोचविचारले यसबखत नेपाली समसामयिक कलामा नितान्त नौलो धार देखिएको थियो।

यसबेला धेरै अनुशासनविहीन कला पनि जन्मे। सन् २००० पछि देखिन गएको यस्तो कलाको स्वभाव अकासिँदै गएकाले कलामा एउटा अन्योल देखापर्‍यो। कलामा नबुझिने सन्दर्भ ज्यादै देखापरे। जसले जे गरे पनि कला हुँदो रहेछ भन्ने भ्रामक सन्देश पनि आम भावकमा फैलिँदै गयो। त्यसो यसै विधामा सुझबुझका साथ राम्रो काम गरिरहेका कलाकार पनि थिए। कलामा रहनुपर्ने संचेतनाको कमजोर पकडले गर्दा र आम भावकले सबैलाई एउटै डालोमा हालिदिँदा राम्रा काम छायामा पर्दै गए। त्यति बेला चर्चा हुनै नपर्ने कैयौँ अ–कला पनि अगाडि आएको सत्य हो। यसो हुँदा राम्रा काम गर्ने कलाकार अन्यायमा परेकै हुन्।

बिस्तारै समयले कोल्टे फेर्दा यस्ता कलाकार निस्किए, जसले कलाको मर्म, आन्तरिक एस्थेटिक्सका अवयवलाई जतनसँग सँगालेर कलाको निर्माण गर्न थाले। जसकारण जे पायो त्यही जस्तो भएको कला पनि सच्चिँदै आफ्नै एक अलग्ग ट्र्याकमा आइपुग्यो। यसो हुन झन्डै पाँच–सात वर्ष लागेको थियो।

आज यसैको प्रतिफलका रूपमा यी नवयुवा कलाकार महिलाको जत्था हामीबीच देखिन आएको छ। यसैले यो नवयुवाको जत्थाले कहीँ न कहीँ यस्तो कार्यमा आफ्नो भूमिका खेलेको देखिन्छ। यी कलाकारको काम कुनै आन्दोलनको रूपमा आएको भने होइन। सजग र कलामा शिल्प दक्षता हुने कलाकारले यस्तै एकेडेमिक काम गर्छन्, जसले कलाको मर्म र अस्तित्वलाई बचाउनेगर्छ।

ढुंगेधाराको प्रसंग

रबिता किसीको सामान्य प्रिन्ट वर्क ग्यालरी एम क्युबमा भर्खरै प्रदर्शित भयो। यसो हेर्दा र खासै नौलो जस्तो नलागे पनि प्रिन्ट कलामा हुनैपर्ने कलाका एस्थेटिक्स गुण, परिपक्वता, समसामयिकता र प्राविधिक हिसाबमा पनि उनका कला अब्बल देखिएका छन्। यसपल्ट उनले प्रिन्ट मेकिङ कलाअन्तर्गत पनि उडकटिङ, इचिङ र एक्वाइन्टेड माध्यमलाई छानेकी छन्।

विषयवस्तुमा मूलतः ढुंगेधाराको महत्त्व र भूकम्पको असर रहेको छ। यसैमा परोक्ष रूपमा आशा पनि जोडेर आएको देखिन्छ। प्राकृतिक प्रकोपका रूपमा देखापरेको भूकम्प र यसले अहिलेसम्म गरिरहेको असरको समसामयिक सन्दर्भलाई उनले उठान गरेकी छन्। हाम्रा पुर्खाले बनाइदिएको आजका हाम्रा राष्ट्रिय सम्पदा बन्न गएका ढुंगेधारालाई सामान्य संरक्षण पनि हुन नसकेको सन्दर्भलाई उनले उठाएकी छन्।

राजनीतिक ठुल्ठूला परिवर्तन हुँदा र विकेन्द्रीकरणको अवधारणा आम जनतामा पुग्दा पनि घर–आँगनछेउ रहेका अति महत्त्वपूर्ण यस्ता सम्पदा बाटोतिर लडिरहेको, फालिरहेको हेरेर बसिरहेका छौँ हामी। यस्तै अवस्थाले आफूभित्र उठेका कैयौँ प्रश्नको उत्तर रबितालाई नै थाहा छैन, आम भावकमा यो एउटा बहसका लागि सन्दर्भ हुन सक्नेछ। दुर्घटना, विध्वंश लथालिंग अवस्थामा पनि कलाकारले आशाका किरण देखेका छन्। निराशा नबनी सकारात्मक सोच राख्न कलाकारको आग्रह छ। विभिन्न रूपमा ढुंगेधारालाई प्रस्तुत गरेर संरक्षणको सवाल उठाउँदै स्थानीय विकासको योजनामा यसको प्रत्याभूति उनले खोजेकी छन्।

भूकम्पले गरेको भौतिक र मानवीय क्षतिले ल्याएको कोलाहलको वातावरणलाई उनले विम्बका रूपमा प्रस्तुत गरेकी छन्। यस्तो प्रतिकूल वातावरणमा पनि भविष्यमा रहेको आश गुमाउन हुँदैन भन्ने सन्देश यसैमा गाँसिएको छ। नकारात्मक हुँदाहुँदै भविष्यका लागि सकारात्मक सोच्नुपर्छ भन्ने उनको मनसाय समयसापेक्ष छ।

कुन्तीश्री थापाका काम थोरै अलग्ग प्रकारले देखापरेको छ। उनले यस्ता कलालाई अर्बान (सिटी) स्केपको नाममा भन्न ज्यादा रुचाउँछिन्। मूलतः कलाको इतिहासमा दृश्यचित्रको उदय भएपछि यसैका अनेक प्रकारलाई कलाकारले प्रयोग गर्न थाले। यसपछि यसैको नाम, उपनाममा यस्ता अनेकौँ कला देखिन थालेको हो।

१९औँ शताब्दीतिर नेपालमै पनि परम्परागत कलामा चित्रपटको पछाडिको भागमा सिँगार्ने क्रममा देखापरेको यस्ता दृश्यचित्रमा पश्चिमी प्रभाव अनुसार तेस्रो आयामिक चित्रण प्रणालीले प्रवेश गर्‍यो। यसपछि काल्पनिक कथा संलग्न भएर यस्ता दृश्यचित्र बन्न थाले। यसपछि यथार्थवादी दृश्यचित्र, तत्पश्चात साठीको उत्तरकालमा आएर प्रभाववादी दृश्यचित्र हुँदै कलाकारले यसैलाई भाँचभुँच गरी अमूर्त कलासम्म बनाएको नेपालकै कला इतिहास छ।

प्रभाववादी दृश्यचित्र बढी मात्रामा परम्परादेखि बन्दै आएका गाउँघरका वास्तुकला, प्राकृतिक मनोरम हिमाल र पहाड आदि विषयमा बनाउने प्रचलन थियो। अब कलाकारले दृश्यचित्रलाई नयाँ क्षेत्रमा प्रवेश गर्दै, गराउँदै सहरका यस्तै चित्र बनाउन थालेका छन्। जसलाई सिटी स्केप भन्न थालिएको छ। अब यसैमा पनि मोटिफ र संयोजनमा नौलोपन ल्याउँदै सशक्त रेखा अति विस्तारमा खेलाएर अति सूक्ष्म यथार्थ आकार तथापि स्वैरकाल्पनिकजस्ता देखिने संयोजन गर्न थालिएको छ।

यसैमा अब आजको चलनचल्ती अनुसार आफ्नो विचार अवधारणालाई समेत गाँसेर प्रस्तुत गर्न थालिएको छ। यसै शृंखलाको एउटा कडीका रूपमा कुन्तीश्रीका कला देखापरेका छन्। उनले यस्ता कलालाई अर्बान स्केप भन्ने गर्छिन्। यस प्रकारको कलामा एकै ठाउँमा अटेसमटेस भएर थुप्रिएका अनेकौँ अग्लाअग्ला कंक्रिट बिल्डिङ, बस, रिक्सा, बेलुन, ठेलागाडा, साइकल, कुनाकाप्चा चेपिएर बसेका मठमन्दिर लगायत सहरमा देखिने तमाम वस्तुलाई यसरी चित्रित गरिएको छ।

समग्रमा यसले एउटा सहरको अत्याशलाग्दो र कहालीलाग्दो वातावरणको झल्को दिन्छ। रमाइलो सन्दर्भ त उनी स्थानीय सहरी विकासको वर्कसप अनि छलफलमा भाग लिन्छिन्। हाम्रै परम्पराको सौन्दर्य र स्थानीय संस्कृतिको पहिचानलाई बचाउनुपर्छ भन्ने वकालत गर्छिन्।

यो काम उनले आफ्ना कलासँगै सभा–सेमिनारमा बोलेर, लेखेर पनि गर्छिन्। उनका अनुसार, मोबाइललाई आर्टिफिसियल इन्टलिजेन्स र बेलुन स्वतन्त्रताको प्रतीक हो। भर्चुअल रियालिटी डिभाइसेसले जनावरदेखि प्रकृति समेतलाई पारिरहेको नियन्त्रणबाट बच्ने बचाउने आग्रह उनले गर्छिन्। उनका काम पनि यही रूपमा देखिन्छन्।

पहिला गहनाको सिरिजमा काम गर्दा अनुहार र शरीर अलिकता छोपेर गहनालाई प्राथमिकतामा प्रस्तुत गर्ने गर्थिन्। अहिले उनले गरेको अर्बान सिरिज कलाकारको विकासका लागि हुनुपर्ने परिवर्तन र हाम्रैै आफ्नै मौलिकताप्रतिको चासो र प्रतिबद्धता हो। यसैले आज देखिएका नवयुवा महिला कलाकार फरक ढंगबाट अगाडि बढिरहेका छन्। यसर्थ यो खास छ।

(मल्ल कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: ५ चैत्र २०७८ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App