१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।

आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गरे।

'आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासमा रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो, नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा नेपाली नाम राख्नुभएकालगायत योगदानको कदर गर्दै उहाँको जन्म दिन फागुन २९ लाई इतिहास दिवस घोषणा गरिनुपर्छ', उनले भने।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले इतिहास शिरोमणि बाबुराम आचार्यका नाममा यसै वर्षदेखि सरकारले पुरस्कार दिने तयारी गरेको जानकारी गराए। दुई लाख रुपैयाँ राशिको पुरस्कार प्रत्येक वर्ष इतिहास, पुरातत्व, संस्कृतिका क्षेत्रमा योगदान गर्नेलाई प्रदान गरिने उनले सुनाए। यस पुरस्कार छनोटका लागि समिति गठन भइसकेकाले केही दिनमा घोषणा हुने जनाइएको छ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले आफू संस्कृति मन्त्रालयको संस्कृति महाशाखा प्रमुख हुँदा पुरस्कार दिन प्रस्ताव गरेको स्मरण गरे। वीपीको नाममा लोकतान्त्रिक पुरस्कार र पूर्वसंस्कृतिमन्त्री स्व रवीन्द्र अधिकारीका नाममा पनि पुरस्कार स्थापनाका लागि त्यसबेला प्रस्ताव गरी अघि बढेको उनले कार्यक्रममा जानकारी गराए।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न र पुरस्कार स्थापना गर्ने प्रस्ताव सर्वप्रथम प्रतिष्ठानले नै अघि बढाएको सुनाए। आचार्यको जन्मदिन पारेर इतिहास दिवस घोषणाको प्रस्ताव राम्रो भएकाले सरोकार भएका सबै निकायको सल्लाहमै यसलाई पनि कार्यान्वयनमा अघि बढाइने उनको भनाइ थियो।

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सन् १८५६ मा विदेशी नागरिकका नाममा विश्वको सर्वोच्च शिखरको नामकरण भएकामा बाबुराम आचार्यले पूर्वीय दर्शन र नेपालीपनको सगरमाथा नामकरण गरेकाले उनको योगदान नेपालका लागि उच्च रहेको बताए। यस्ता व्यक्तित्वको नाममा इतिहास दिवस घोषणा गर्नु उपयुक्त हुने उनको विचार थियो।

कार्यक्रममा पूर्वमन्त्री मोदनाथ प्रश्रित, प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेत, प्राज्ञ दीनेशराज पन्त, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गरेका थिए।

प्रकाशित: ३० फाल्गुन २०७८ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App