१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

गुरु ६

वैरोचन र उन्मना वृद्धवृद्धाको भेषमा संग्रामपुर राज्यको भ्रमण गरिरहेका थिए।

उनीहरू दुवैसँग भिक्षापात्र, कमण्डलु, झोली र लौरी थियो। उनीहरू भिक्षा माग्दै एउटा ग्राममा पुगे। पुसको महिना थियो, केही मानिस एउटा ठूलो चौरमा झुण्डझुण्ड भई घाम तापिरहेका थिए। चौरको ठीक माथिबाट बाटो गएको थियो। जहाँ ठूलो वरको रूख थियो, त्यस रूखका हाँगा जति झाँगिएका थिए, त्यति नै त्यसका जरा पनि जमिनमाथि फिँजारिएका थिए। वरपरबाट आउने भरियाले ती जरामा भारी अड्याउँथे।

ती जरामा केही केटाकेटी खेलिरहेका थिए। त्यहाँ खेलिरहेका केही केटाकेटी र वरपर बसेका केही जवान गलगण्डबाट पीडित देखिन्थे।

वैरोचन र उन्मना चौरमा बसेर गाउँलेलाई नियाल्न थाले। गलगण्ड नभएका केटाकेटी र युवायुवतीको हात अनायसै घाँटीमा पुग्थ्यो, तुरुन्तै उनीहरूले घाँटी छोएका औँलालाई श्वासले फुक्थे। यो कार्य त्यहाँ निरन्तर जस्तो भइरहेको थियो। त्यो देखेर उन्मनालाई अनौठो लाग्यो र उनले वैरोचनलाई त्यसको कारण सोधिन्।

उनीहरू नजिकै एउटा गाई र बहर चरिरहेका थिए। वैरोचनले तिनीहरूलाई देखाउँदै भने— हेर त, यिनीहरूले चौरको घाँस खानुअघि लामो श्वासले फुकिरहेका छन्। किन? किनकि, यिनीहरूले घाँसमा रहेको फोहोर र कीरालाई फुकेर पन्छाउने प्रयास गरेका हुन्।’

त्यही बेला त्यहाँ बसिरहेका मानिसले चिच्याउन थाले। केही नौजवान वरको रूखतिर दौडिए। वरको रूखको हाँगामा लामो डोरी बाँधिएको थियो। जसलाई हातले समाएर झुन्डिँदै जवान पुरुष र स्त्रीहरू रमाउँथे। यसपालि भने पाँच वर्षका एक बालकले डोरीको केही भाग घाँटीमा बेरी झुन्डिएर खेल्ने प्रयास गरेछन्। यही देखेर मानिसले चिच्याएर र नौजवानहरू उनलाई बचाउन गए।

वैरोचन र उन्मनाको नजिकै पाँच वर्षका एक बालक आइपुगे। उनको हातमा रोटी थियो। कसो कसो उनको हातबाट रोटी भुइँमा झर्‍यो, ती बालकले रोटी टिपेर त्यसमा लागेको धुलो हटाउन मुखले तीनपटक जति फुके।

वैरोचनले उन्मनालाई भने— उन्मना! वरको हाँगामा झुन्डिएर खेल्ने बालकलाई घाँटी कसिए श्वास रोकिएर मरिन्छ भन्ने ज्ञान छैन। किन्तु यी बालकले रोटीको धुलो हटाउन श्वासको प्रयोग गरेका छन्। यी गाईगोरुले पनि घाँसको फोहोर हटाउन श्वासको प्रयोग गरिरहेका छन्।

केही प्राणीको जन्मजात अन्तज्र्ञान यही हो कि उनीहरूले प्राणवायुको महत्व बुझ्छन् र स्वस्थ भोजनमा ध्यान दिन्छन्। तन स्वस्थ रहन मन पनि स्वस्थ रहनुपर्छ। मन स्वस्थ राख्न मनमा जमेको मैलो हटाउनुपर्छ। तीन कुराले मनको मैलो हटाउन सकिन्छ— चिन्तन–मनन, तर्क र विश्वास।

मनको मैलो भनेकै भ्रमपूर्ण विश्वास हो। तर्कपछिको यथार्थ ज्ञानमा विश्वास गर्न थालेपछि मनको मैलो हट्छ।

पोषणयुक्त भोजनको अभावले यहाँका मानिसमा गलगण्ड देखिएको छ। अलौकिक शक्ति रिसाएर आफूहरूलाई यस्तो रोग लागेको हुन सक्ने यिनीहरूले अनुमान गरेका छन्। यिनीहरूका पुर्खाले अलौकिक शक्तिप्रति प्रार्थना गर्न सिकेका थिए, अहिले पनि यहाँका मुखिया र पाका मानिसले नियमपूर्वक अलौकिक शक्तिप्रति प्रार्थना गरिरहेका छन्।

ती प्रार्थनाका शब्दलाई यिनीहरूले मन्त्रको रूपमा विकास गर्दै छन्। मन्त्र भनिसकेपछि यिनीहरूले बिरामीलाई मुखले फुक्छन्— रोग र रोगका जीवाणु–विषाणु हटाउने हेतु र विश्वासले। अर्को कुरा, श्वासको महत्व र शक्तिका बारेमा यिनीहरूले बुझेका छन्। मन र श्वासप्रश्वासको सम्बन्ध छ, सबैलाई हित हुने शब्द वा मन्त्रोच्चारणको नियमित अभ्यासले मनलाई ऊर्जा मिल्छ— यो रहस्य यिनीहरूलाई थाहा छ।

अब म तिम्रो प्रश्नमा जान्छु— घाँटी छोएका औँलालाई यिनीहरूले किन फुक्दैछन् ? किनकि, यो कार्यको प्रारम्भ असाध्यै सुन्दर उद्देश्यका लागि भएको थियो। यिनीहरूका पुर्खालाई लागेको थियो— घाँटीमा गलगण्ड आउनुमा आँखाले देख्न नसकिने जीवाणु वा विषाणुको भूमिका हुनुपर्छ। उनीहरूले गलगण्ड आएका मानिसलाई सिकाएका थिए— तिमीहरूले आफ्नो घाँटी छोएपछि हात धुनू, तिमीहरूको घाँटीमा भएको जीवाणु वा विषाणु अन्यत्र नफैलियोस्।

तत्कालै हात धुने अवस्था छैन भने घाँटी छोएका औँलालाई जोडले फुक्नू, यसो गरे जीवाणु वा विषाणु हट्छन्। गलगण्ड आएकालाई मात्रै यो विधि गर्न भनिएको थियो, किन्तु गलगण्ड नआएकाले पनि भयका कारण घाँटी छोएपछि हातका औँला फुक्न थाले। अहिले यिनीहरूका लागि यो एउटा विश्वास भइसकेको छ। मलाई लाग्छ, यिनीहरूका सन्तान, दरसन्तानमा यो विश्वास वर्षौंसम्म चल्नेछ। यो यिनीहरूका भावी पुस्ताका लागि एउटा पहिचान बन्नेछ।

यस्ता थुप्रै भ्रमपूर्ण विश्वास मानिसले मान्दै जानेछन्। साधारण मानिसमाथि शासन गर्न शासकले केही भ्रमपूर्ण विश्वास फैलाउने गर्छन् र फैलाइरहनेछन्, जो पछि गएर अनुष्ठान बन्न सक्छन्। शासकले विशेष विधि वा तन्त्रमन्त्रको पनि सहारा लिनेछन् र मानिसलाई लामो समयसम्म सम्मोहनमा राख्नेछन्।

उन्मना! मानिसले आफ्नो मनलाई स्वस्थ राख्न आफ्ना पुख्र्यौली र पुराना विश्वासमाथि चिन्तन–मनन र तर्क गर्नुपर्छ। नत्र मानिसहरू कुनै भ्रमपूर्ण विश्वास र सम्मोहनमै मर्नेछन्। साधनामा मोक्ष भन्ने अवस्था पनि छ, मोक्ष भन्नु सम्मोहनबाट निस्कनु हो।

उन्मनाले मोक्ष र तन्त्रमन्त्रका बारेमा बुझ्न वैरोचनसँग वादविवाद गरिरहिन्।

०००

फागुन सकिन लाग्दै थियो। वनमा सालका रूखबाट पात झर्दै थिए। शरीरलाई जाडोले छोड्न र गर्मीले समाउन खोज्दै थियो। वनमा चराहरू फुल पार्न उद्यत हुँदै थिए। मौसमले कुनै नयाँ परिवर्तन हुँदै छ भन्ने आभास गराउँथ्यो।

वैरोचनको आश्रममा साँझको भोजन तयार भएको थियो। सधैँ भोजन गर्नुअघि केही वृद्धाले भोजनको परीक्षण गर्थे। त्यसपछि मात्रै भोजनका लागि सबैलाई डाक्न एकपटक दुन्दुभि बजाइन्थ्यो।

एकपटक मात्रै दुन्दुभि बजे नियमित कार्य भनी बुझ्नुपथ्र्यो। भोजन गर्न, प्रवचन कक्षमा भेला हुनका लागि एकपटक मात्रै दुन्दुभि बजाइन्थ्यो। तीनपटक ठूलो आवाजमा दुन्दुभि बजाए खतराको संकेत मानिन्थ्यो।  

त्यस दिन भोजनअघि तीनपटक दुन्दुभि बज्यो। दुन्दुभि बज्नुअघि एक इडा नामकी वृद्धा वैरोचनको कुटीमा प्रवेश गरेकी थिइन्। यी वृद्धालाई सबैले आश्रममा इडामाता भनी सम्बोधन गर्थे।  

वैरोचनको कुटीमा विनाकारण कोही प्रवेश गर्दैनथ्यो। उनको कुटीमा कोही प्रवेश गर्नुको पछाडि विशेष कारण हुन्थ्यो। शंकास्पद लागेर चियो गर्न उन्मना पुगिन्।

कुटीभित्र वैरोचनले इडामातालाई साष्टांंग दण्डवत गरे र सोधे— माता! हजुरको तन र मनलाई मंगलकुशल नै छ?

इडामाताले भनिन्— ‘मलाई मंगल छ। आज भोजनमा कसैले विष हालेछ। मलाई लाग्छ, यो नयाँ शिष्यको काम हो। तिमीलाई अवगतै छ, संग्रामपुर राज्यबाट आएका दुई नयाँ शिष्य राजकुमार वरुणका गुप्तचर हुन्। मलाई शंका छ, यिनैको काम हुनुपर्छ।

विष अत्यन्तै कडा छ, थोरै मात्रा मुखमा परे पनि मृत्यु हुन सक्छ। तीनपटक दुन्दुभि बजाउन लगाएर अपराधीको अन्वेषण गर।’

वैरोचनको आदेशमा तीनपटक दुन्दुभि बजेको थियो। क्षणभरमै आश्रमका शिष्य सतर्क भई बगैँचामा उपस्थित भए। वैरोचनका शस्त्रधारी सैनिक पनि उपस्थित थिए।

हँसिलो मुहारमा वैरोचन बोले— ‘यहाँहरूलाई एउटा शुभ र एउटा अशुभ समाचार एकैपटक सुनाउनुपर्ने भयो। पहिले शुभ समाचार सुन्यौँ— संग्रामपुर राज्य गणराज्यमा परिवर्तन भएको छ। त्यहाँ वर्ण व्यवस्थाभित्रको सबै विभेद हटाइएको छ। त्यहाँका विद्रोहीलाई सघाउन गएका हाम्रा शिष्य र सैनिक फर्किसके। भोलि संग्रामपुरका पूर्वनरेश परशुराम र पूर्वराजकुमार वरुण हाम्रो आश्रममा केही दिनको विश्रामका लागि आउँदै हुनुहुन्छ। हामीले उहाँहरूको स्वागत–सत्कार गर्नुपर्नेछ।

संकटको समाचार सुनौँ— आज हाम्रो भोजनमा केही विषालु जीव परेछन्। तसर्थ पुनः भोजन तयार गर्न सबै लागौँ।

संग्रामपुर गणराज्यबाट हाम्रो आश्रममा आएका दुई नयाँ शिष्य, तिमीहरूसँग मैले विशेष छलफल गर्नुपर्नेछ, शीघ्र मेरो कुटीमा आउनू।’

केहीबेरमा वैरोचनको कुटीमा दुई नयाँ शिष्य उपस्थित भए। वैरोचनले उनीहरूलाई भने— अस्ति भर्खर तिमीहरूले कुलोभन्दा ठीकमाथि विष र विषालु सर्पका अण्डा राखेका थियौ, मैले तिनलाई हटाएँ। आज खानेपानीमा विष मिसाएका रहेछौ। मलाई थाहा छ, तिमीहरूले राजकुमार वरुणको आदेशमा विष ल्याएर मिसाएका हौ। आज तिमीहरूले जुन अपराध गर्‍यौ, यसमा मैले कुनै दण्ड दिनेछैन। किनभने, यसमा तिमीहरूको भन्दा बढी दोष राजकुमार वरुणको छ। मैले चाहेँ भने, राजकुमार वरुणलाई २४ घन्टाभित्र वध गर्न सक्छु, परन्तु त्यसो गर्नु न्यायपूर्ण समाधान होइन। न्याय त उनलाई आफ्नो गल्ती र कमजोरीको महसुस गराउनुमा हुन्छ।

तिमीहरू स्वतन्त्र छौ— यस आश्रममा बस्न सक्छौ, नबस्न सक्छौ। अब यहाँका कसैलाई हानि हुने कार्य गर्‍यौ भने क्षमा पाउनेछैनौ। जाऊ, आफ्नो विवेकले निर्णय गर।’

उनीहरू गएपछि उन्मना वैरोचनको कुटीभित्र प्रवेश गरिन्। उनले बाहिर बसेर सबै सुनिरहेकी थिइन्। उनले वैरोचनलाई सोधिन्— गुरु! सबै थाहा थियो भने किन भोजन पाक्दा र इडामाताले परीक्षण गर्दासम्म हेरेर बस्नुभयो?

वैरोचन बोले— यो सबै मैले इडामाताको आदेशमै गरेको हुँ। आज भोजनको परीक्षण इडामाताले गर्नुभएको होइन, जवान शिष्यशिष्याले गरेका हुन्। इडामाताले उनीहरूको परीक्षा लिन चाहनुहुन्थ्यो, आज अवसर मिल्यो।

‘इडामाता हजुरको को हुनुहुन्छ?’ उन्मनाले सोधिन्।

– उहाँ मेरी माता हुनुहुन्छ र तिम्री माताकी संगी। उन्मना! मेरी माता पनि तिम्री माताजस्तै शिवपुरी राज्यमा दासी हुनुहुन्थ्यो। तिमीले त आफ्ना पितालाई चिन्न पायौ, मैले अझैसम्म पाएको छैन। मेरो ज्ञान र मनश्चक्षुले पितालाई देख्न सकिरहेको छैन। अहिले आफ्नो पितालाई चिन्ने ममा कुनै मोह छैन।

‘इडामाता र मेरी माता संगी हुन्?’ उन्मनाले आश्चर्यभावमा सोधिन्।

– हो, उहाँहरू असाध्यै मिल्नुहुन्छ। उहाँहरूको भेटघाट धानग्राममा भइरहन्छ। अहिले तिम्री माता धानग्राममै हुनुहुन्छ। उहाँ र इडामाताले केही शिष्यशिष्यासहित गलगण्डको औषधि अन्वेषण गरिरहनुभएको छ।

यति सुन्नेबित्तिकै उन्मना गुरुसँग आज्ञा लिएर धानग्रामतिर लागिन्।

०००

भोलिपल्ट बिहान, वैरोचन बगैँचामा पश्चिमोत्तानासन गरिरहेका थिए। केही वरिष्ठ शिष्यशिष्या वैरोचनको छेउमा गए। संग्रामपुरका भूतपूर्व नरेश परशुराम र पूर्वराजकुमार वरुणलाई के कस्तो सत्कार गर्ने भनी गुरुसँग सल्लाह लिनु उनीहरूको उद्देश्य थियो।

वैरोचनले आसन पूरा गरेपछि उनीहरूले आफ्ना कुरा राखे। वैरोचनले भने— संग्रामपुरमा गणराज्य आएको साँचो हो, किन्तु त्यहाँका पूर्वनरेश र पूर्वराजकुमार हाम्रो आश्रममा शरण लिन आउने कुरा साँचो होइन। हिजो भोजनमा विष हाल्नेहरूलाई मानसिक उपचार गर्नका लागि मैले झूटो कथा बुनेको थिएँ। आज बिहानै मलाई संकेत मिलेको छ, उनीहरू मन शान्तिका लागि एक साताभित्र यहाँ आउँदैछन्। यस प्रकरणमा मेरो वाणी सिद्धि हुन पुग्दै छ।

उनीहरूलाई हामीले राजकीय सम्मान गर्नुपर्ने कुनै नियम छैन, यसै पनि उनीहरू साधारण जनता समान भइसके। किन्तु हामीले उनीहरूलाई मानवले पाउने सम्मान दिनुपर्छ।

वैरोचनबाट यति आज्ञा भएपछि शिष्यशिष्या आ–आफ्नो कार्यमा लागे।

मातालाई भेट्न धानग्रामतिर लागेकी उन्मना तीन दिनपछि आश्रम फर्किन्। आफ्नी माता र इडामाताको सम्बन्धले उनी भावविभोर भएकी थिइन्। इडामाता धेरैजसो धानग्राममा बस्छिन् भन्ने उन्मनालाई थाहा थियो तर के गर्छिन् र किन बस्छिन् भन्ने थाहा थिएन। त्यसो त आश्रमका वृद्धवृद्धा धानग्रामतिर घुम्न–डुल्न गइरहन्थे।

धानग्रामभन्दा केहीमाथि चट्टानी थुम्कोमुनिको गुफालाई विस्तार गरी व्यवस्थित दरबार बनाइएको थियो। उन्मनाले यसपालि त्यस दरबारको भ्रमण गरिन्। त्यहाँ दरबार छ भन्ने उन्मनालाई थाहा थिएन। वैरोचन र धानग्रामवासीको शक्ति र सामथ्र्यमाथि उनको विश्वास बढ्दै गएको थियो।

एक बिहान वैरोचन आश्रमदेखि केही तल पुगेर बाँझो जमिन कोदालीले खनिरहेका थिए। त्यहाँ केही फलफूलका बोटबिरुवा लगाउने उनको योजना थियो।

उन्मना उनलाई खोज्दै केही फलफूल र पानी लिएर त्यहाँ पुगिन् र भनिन्, ‘गुरु! हजुरले यस्ता काम गर्न आवश्यक छ ! शिष्यशिष्यालाई आदेश दिए हुँदैनथ्यो?’

उन्मनाले ल्याएको कमण्डलुको जल पिएपछि वैरोचन बोले— उन्मना! मनुष्यले धर्ती र आफ्नो सम्बन्धलाई बिर्सनुहुँदैन। खेती गर्दा मनुष्यमा बलियो आशा र विश्वास उत्पन्न हुन्छ। यो बिउ उम्रिएला, हुर्किएला र फलेर खाउँला भन्ने आशा र विश्वासले मानिसलाई जीवन जिउन प्रेरित गर्छ, कर्मशील बनाउँछ, धैर्यता सिकाउँछ। मनुष्यका लागि यही विश्वास नै यथार्थ विश्वास हो।

‘गुरु ! आज मलाई अर्कै कुरा जान्न इच्छा छ। मैले धानग्राममा रहेको जमिनमुनिको दरबारको भ्रमण गरेँ। यस्ता दरबार यहाँ अरू पनि छन् कि? किन दरबारहरू सबैले देख्ने गरी जमिनमुनि नबनाएर जमिनमुनि बनाउनुभएको?’

– उन्मना! घामपानी, जाडो, गर्मी र शत्रुसँग बच्नका लागि हाम्रा पुर्खाले गुफा बनाएका थिए। आज हामीले शत्रुको आक्रमणबाट जोगिन जमिनमुनिकै सहारा लिनुपरेको छ।

‘हाम्रा यत्तिका सेना छन्, आक्रमणको डर किन भयो?’

वैरोचनले जमिन खन्दै भने, ‘उन्मना ! शक्ति गुप्त हुनुपर्छ। हामीले यी दुई दरबार सबैले देख्ने गरी बनाएको भए, सुरक्षाका लागि दिनरात सिपाहीले पहरा दिनुपथ्र्यो। सिपाही भएपछि कोही सेनाप्रमुख र राजा हुनुपथ्र्यो। त्यसो भएको भए उहिले नै हामीमाथि आक्रमण भइसक्थ्यो।

संसार र जीवन सुन्दर छ, तर सबैभन्दा कुरूप यथार्थ यही छ कि यो धर्तीमा राज्य, धर्म–संस्कृति, जाति र समुदायका नाममा युद्ध भइरहनेछ। भ्रमपूर्ण विश्वासका कारण मानिसले विवेक गुमाउँदै र मानवता गुमाउँदै छ। मानिसले बुद्धि केवल शक्ति आर्जनका लागि प्रयोग गर्दै छ। भयानक विनाशकारी शस्त्रअस्त्र बनाउनमै मानिसले प्रगति गर्दै जानेछ, यथार्थमा यही नै मानिसको दुर्गति हो।’ 

अश्व हिनहिनाएको आवाज आयो। पारिबाट अश्वमा सवार केही मानिस वैरोचनको आश्रमतिर आउँदै थिए।

वैरोचनले भने– संग्रामपुरका पूर्वनरेश र पूर्वराजकुमार आए। हिँड जाऊँ, उनीहरूलाई स्वागत गर्नुपर्छ।  

००० 

निमेष–निमेष हुँदै दिन, महिना र वर्ष बित्दै गए। वरिपरिका राज्यको व्यवस्थामा सुधार आएको थियो। कोही दासदासी र दीनदुःखी हुनुपर्ने दिन गएका थिए। त्यसैले मातंगीपुरी नगरीमा शरण लिन आउने स्त्रीको संख्या घट्दै गयो। त्यहाँ महिला वा पुरुषले विवाह गरी ल्याउने प्रचलन सुरु भएको थियो। जनसंख्यामा वृद्धि भएकाले खेतीका लागि जमिन बढाउन थालियो।

धानग्रामको जनसंख्यामा पनि वृद्धि भएको थियो। वैरोचनको आश्रममा शिक्षादीक्षाका लागि आउने कतिपय शिष्यशिष्याले धानग्राममा विवाह गरी बस्न थालेका थिए।

वरपरका गणराज्यले वैरोचनसँग प्रस्ताव गरेका थिए, मातंगीपुरी र धानग्रामलाई जोडेर गणराज्य बनाउनुपर्छ। वैरोचनले यस प्रस्तावलाई अस्वीकार गरे। उनले भने— यी दुवै ग्राम भगवती विद्यापीठका क्षेत्र हुन्। अब मेरो आश्रमलाई भगवती विद्यापीठका रूपमा विकास गर्दै छौँ, यसमा मलाई सबैको सहयोग आवश्यक छ। वैरोचनकै प्रस्ताव अनुरूप उनको आश्रमको नाम ‘भगवती विद्यापीठ’ राखियो। विद्यापीठका गुरुमध्ये एक थिइन्, उन्मना।

रहँदाबस्दा उन्मनाकी पुत्री पिंगला षोडशा भइन्। उनको शिक्षादीक्षा भगवती विद्यापीठमा भइरहेको थियो। विद्यापीठमा उनको प्रेमसम्बन्ध बालिसँग रहेको चर्चा चल्थ्यो।

पहिले ब्रह्मपुर राज्यमा राजतन्त्र र वर्ण व्यवस्था हुँदा बाला नामकी स्त्री मातंगीपुरी नगरीमा शरण लिन आएकी थिइन्। तिनै बालाकी पुत्र बालि नौजवान भएका थिए। बालि सानैदेखि वैरोचनसँग प्रभावित थिए। उनको शिक्षादीक्षामा वैरोचनको प्रत्यक्षपरोक्ष भूमिका रहँदै आएको थियो।

मंसिरमा बालीनाली भित्र्याएपछि पिंगला र बालिको विवाहको कुरा चल्यो। भगवती विद्यापीठमै विशेष समारोहबीच उनीहरूको विवाह हुँदै थियो। प्रेमप्रसंगको चर्चासँगै विद्यापीठमा उनीहरूको कुल गोत्रको विषय उठेको थियो।

उन्मनाले वैरोचनलाई एकान्तमा भटेर सोधिन्— छोरी पिंगलालाई कुन गोत्र दिने?

त्यस दिन वैरोचनले कुनै निर्णय दिएनन्। यति मात्रै भने— म विवाहकै दिन बताउनेछु।

पिंगला र बालिको विवाहको दिन भगवती विद्यापीठलाई विविध झल्लरीले सजाइएको थियो। वरपरका गणराज्यका प्रमुख र गन्यमान्यलाई पनि आमन्त्रित गरिएको थियो।

विवाहका लागि बगैँचालाई व्यवस्थित गरी भव्य मण्डप तयार गरिएको थियो। विशेष मण्डपमा पिंगला र बालि बसेका थिए। वरपर गन्यमान्य अतिथिले आसन ग्रहण गरिरहेका थिए। फलफूल र पञ्चामृत पिउने व्यवस्था पनि थियो। कोही भोजनमा व्यस्त थिए, कोही वार्तामा।

यसैबीच वैरोचनले विद्वत् प्रवचन दिए— उपस्थित मान्यगण! यो विवाह समारोहमा मैले यहाँहरूलाई आमन्त्रण गर्नुको विशेष अर्थ छ। पुरुषलाई समान अंश र वंशको हक नहुँदा स्त्रीहरू अन्यायमा परे। यसमा न्यायपूर्ण विधि र व्यवस्था चलाउने अभ्यास प्रारम्भका लागि मैले यहाँहरूलाई निमन्त्रणा गरेको हुँ।  

पिंगला मेरी पुत्री हुन्। उन्मनाकी माता शमनाले शमना गोत्र चलाएको यहाँहरूलाई अवगतै छ। म पनि दासीपुत्र हुँ। मैले नयाँ गोत्र चलाउँदै छु। मेरा सन्तान र गोत्र निर्णय नभएका यस भगवती विद्यापीठका शिष्यशिष्यालाई मैले ‘भगवती’ गोत्र दिने निर्णय गरेको छु। शमना माता र मबीच विमर्श भई अबदेखि मातंगीपुरीवासी सबैको गोत्र मातंगीपुरी नै रहने निर्णय गरेका छौँ। अबदेखि पुत्रीले माताको र पुत्रले पिताको गोत्र लिन सक्नेछन्। किन्तु विवाहका लागि सातदेखि १२ पुस्तासम्म छल्दै जाने अभ्यास गर्नेछौँ। १२ पुस्तापछि गोत्र परिवर्तन गर्न चाहनेले गर्न सक्नेछ। यो धर्ती साझा हो, हामी मानव यही धर्ती र सूर्यका साझा सन्तान हौँ।

यहाँ कुनै पुरानो पुख्र्यौली थलो वा पुर्खाको नाममा मोह राख्न आवश्यक छैन। मानिसहरूले थलो परिवर्तन गर्दै, गोत्र परिवर्तन गर्दै जान सक्नेछन्। शरीरका लक्षणबाट आफ्नो पुस्ता चिन्ने कुनै विधि पत्ता लागेछ भने सोही अनुरूप प्रेम गर्ने र सन्तान जन्माउने व्यवस्था गर्नुपर्छ। विवाहलाई प्राथमिकतामा राख्न आवश्यक छैन। विवाह नगरी पनि मानिसले सन्तान जन्माउन सक्नेछन्। तर, राज्य वा परिवारमा सम्पत्तिको हक पुत्र र पुत्रीलाई दुवैलाई बराबर रहनेछ।

वैरोचनको प्रस्तावमा विभिन्न विचार विमर्श भए। अन्ततः वैरोचनकै प्रस्ताव मान्य भयो।

प्रकाशित: २८ फाल्गुन २०७८ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App