२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नियात्राकार पराजुलीको ‘जर्नी टु तिब्बत’ लोकार्पण

नियात्राकार एवं सञ्चारविज्ञ विष्णुप्रसाद शर्मा पराजुलीको कृति ‘तिब्बत यात्रा’ अंग्रेजी भाषामा अनुदित भएको छ। प्रकाशक बुक्स हिमालयले बिहीबार काठमाडौं गेष्ट हाउसको प्रांगणमा आयोजना गरेको कार्यक्रममा उक्त कृति ‘जर्नी टु तिब्बत’ लोकार्पण गरिएको छ।

यसमा तिब्बतको प्रकृति, संस्कृति र जीवनशैली मात्र होइन, भोटको जीवन दर्शन समेत झल्काइएको छ। त्यसैले अंग्रेजी पाठकहरूमाझ पनि यसले लोकप्रियता कमाउनेमा लेखक तथा प्रकाशक दुवै आशावादी छन्।

कार्यक्रममा वरिष्ठ सञ्चारविज्ञ प्रा. रामकृष्ण रेग्मी, पत्रकारहरू–श्रीराम सिंह बस्न्यात र प्रमोद प्रधानका साथै साहित्यकार छविरमण सिलवाल र प्रकाशक पवन शाक्यले पुस्तकको घुम्टो उघारे।

‘यस पुस्तकले पदयात्राको इच्छा जगाइदिन्छ’, लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सञ्चारविज्ञ रेग्मीले भने, ‘पराजुलीले संवेदनशील भएर लेख्नुभएको छ। साहित्यप्रेमी  र घुमन्तेका साथै प्लस टुका विद्यार्थीका लागि रिफ्रेन्स बुक बन्नलायक छ। अब हामीले यस्तै सुन्दर पुस्तकहरू पढाएर पठन संस्कृति बढाउनुपर्छ।’

अनुवाद राम्रो भएको भन्दै पुस्तकले तारिफ पाएको छ। ‘राम्रोसँग अनुवाद भएको पाएँ। अब पराजुलीका अन्य दुई कृति ‘डोल्पो’ र ‘श्वेत पर्वत’ पनि अंग्रेजीमा पढ्न पाइयोस्’, अर्का वक्ता पत्रकार बस्न्यातले भने।

नियात्राकारले तेस्रो आँखाले देखेका कुरा र अनुभूत गरेका विषयवस्तुले पुस्तकलाई बलियो बनाएको छ। जर्नी टु तिब्बत अब्बल कृति रहेको दाबी पत्रकार प्रधानले गरे।

‘यसमा सौन्दर्य मात्र छैन’, पुस्तकबारे टिप्पणी गर्दै पत्रकार प्रधानले भने, ‘तिब्बती क्षेत्रको अभाव, गरिबी र दुःखका कुरा पनि छन्।’

कार्यक्रममा साहित्यकार सिलवाल, पत्रकार राधिका अधिकारी र प्रकाशक शाक्यले पनि पुस्तकबारे बोलेका थिए।

‘अब हामी चाँडै सुदूर पश्चिमको सुगन्ध दिने लोकराज भट्टको उपन्यास ‘छाइल’ ल्याउँदेछौ’, प्रकाशक शाक्यले भने।

नियात्राकार पराजुलीका यसअघि ‘तिब्बत यात्रा’(२०७२), ‘डोल्पोः विश्वको जीवित संग्रहालय’(२०७४) र ‘श्वेत पर्वत’(२०७८) कृति प्रकाशित छन्।

जर्नी टु तिब्बतमा रंगीन तस्वीरहरूको पनि प्रयोग भएको छ। ठाउँठाउँका नक्शा पनि राखिएको छ। ३५६ पृष्ठ भएको पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ। पाठकले बुक्स हिमालय डटकम अनलाइन र एमेजोनबाट समेत खरिद गर्न पाउने प्रकाशकले जनाएको छ।  

प्रकाशित: १३ फाल्गुन २०७८ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App