coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चार अमर सहिद र त्रिभुवन

फागुन ७ गते अमर चार सहिद र राजा त्रिभुवनलाई स्मरण गर्ने दिन हो। नेपालको इतिहासमा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको विशाल नेपालको राष्ट्रियता यति संवेदनशील छ कि उत्तर र दक्षिण दुई ठूला राष्ट्रको च्यापोमा अवस्थित नेपाललाई सन्तुलित तरिकाले हिँडाउन सकियो भने मात्र यसको राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ राखेर यसभित्रका पहिचान, प्राकृतिक र सांस्कृतिक वैभव बचाउन सकिन्छ।

नेपालको एकीकरण भएको समयदेखि नै विदेशीले आँखा गाडेर यस क्षेत्रको अस्मिता बिटुलो बनाउन खोजेका थिए। तर देशभक्त नेपालीको योगदानबाट देशको गौरवमय परम्परा कायम रहिरहेको छ। नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई एकैसाथ हिँडाउन सक्ने आवश्यकताको बोध हामी सबै नेपालीमा हुनुपर्छ। नेपालमा जहानियाँ राणाशासन विरुद्ध प्रजातन्त्र स्थापना गर्न सजिलो अवस्था थिएन।

इतिहासको कालखण्डमा ३ असोज १९०३ मा कोतपर्वको हत्याकाण्डपछि जंगबहादुरले शासनसत्ता हातमा लिए र १०४ वर्षसम्म नेपाल निरंकुश जहानियाँ शासनमा जकडियो। एकतन्त्रीय राणा शासनका विरुद्ध चार अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरिसकेपछि सहिदहरूको बलिदानीलाई साकार बनाउन राजा त्रिभुवनको ठूलो योगदान थियो। राजा त्रिभुवन पनि त्यतिबेला कैदी जस्ता थिए।  

राजा त्रिभुवन राणाशासनदेखि असन्तुष्ट भएको थाहा पाएर राणाले राजा त्रिभुवनलाई कैदजस्तो गरेर राखेका थिए। कैदी राजालाई फसाउन राणाबाट विवादास्पद लालमोहर पनि राजाकै नामबाट गराइन्थे। कतिपय लालमोहरको जानकारी त्रिभुवनलाई दिइँदैनथ्यो। त्यस्तो अवस्थामा राजा त्रिभुवनले लुकीलुकी प्रजातान्त्रिक योद्धालाई भेट्थे।

उनीहरूबाट गोप्य कागजपत्र, अनेकौँ उपाय गरेर राजा त्रिभुवनसमक्ष पु¥याइन्थ्यो। राजा त्रिभुवनबाट पनि गोप्य रूपमा त्यसको प्रतिउत्तर जाने गथ्र्यो। आफू समेत बन्धनबाट उम्केर प्रजातन्त्रलाई संस्थापना गर्न राजा त्रिभुवनको ठूलो योगदान थियो। राजा त्रिभुवनको सक्रियता नहुँदो थियो त नेपालमा सहिदहरूको बलिदान बालुवामा पानी पोखेसरह हुन सक्थ्यो।

छिमेकीहरूको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभावले हामी नेपाली कुनै न कुनै विदेशी राजनीतिक प्रभावमा पर्न सक्छौं। त्यसले गर्दा हामी नेपाली बीचमा अस्थिरता र संकटले सताउन सक्छ। नेपालमा हामीले हामी कस्तो नेपालको निर्माण गर्न चाहन्छौं भन्ने कुरामा केन्द्रित भएर देशको निर्माण गर्न चाह्यौं भने हामीलाई कुनै विदेशीले उठबस गराउन सक्तैन। 

नेपाल अधिराज्यको सार्वभौम स्वतन्त्रता जोगाएर नेपाललाई समृद्ध बनाउन यो देशलाई चाहिने राजनीतिक व्यवस्थाको छिनोफनो नगरी हामी नेपालीले कहिले पनि नेपालको सार्वभौम स्वतन्त्रता जोगाउन सक्तैनौं। नेपालजस्तो दुई ठूला राष्ट्रको च्यापोमा परेको संवेदनशील राष्ट्रमा कसैले पनि आआफ्नो चाहना अनुसार राजनीतिक बाटो रोज्नु हुँदैन। राष्ट्रको सार्वभौम अस्तित्वभन्दा राजनीतिक सिद्धान्त ठूलो हुन सक्तैन। राजनीतिक वादका कारण राष्ट्र नै छिन्नभिन्न हुन सक्छ। राष्ट्रको परिस्थिति नबुझी लागू गरिने आत्मघाती बाटो हामी नेपालीलाई चाहिँदैन। हामी सबैको चाहना हो–समृद्ध नेपाल जहाँ कुनै नेपाली पनि विमुख हुन नसकोस्।

नेपालको भौगोलिक अवस्था यस्तो छ कि चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नु हाम्रो बाध्यता पनि हो। अहिले जातीय एकतालाई सन्तुलित राख्न सक्ने राष्ट्रिय राजनीति नेपालको आवश्यकता हो। नेपाललाई समृद्ध बनाउने जिम्मेवारी हामी नेपालीको मात्र हो।

कुनै विदेशीले नेपाल बनाइदिन्छ भनेर सोच्ने हो भने नेपालको अस्तित्व बच्न सक्तैन। प्रजातान्त्रिक नेतृत्वमा बिपी कोइराला, गणेशमान सिंह र साम्यवादी पक्षधरमा पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मनमोहन अधिकारीहरू हुन्। नेपालमा प्रजातन्त्र राजा, देशभक्त नेपाली, प्रजातात्रिक र साम्यवादी नेताहरूको संयुक्त प्रयासमा स्थापना हुन सकेको हो।

यसरी ठूलो बलिदानीका साथ स्थापित प्रजातन्त्रलाई जोगाएर अगाडि बढ्न सक्नुपर्छ। २००७ साल सालअघिको जहानियाँ राणाशासन समाप्त गराउनमा भारतले नेपाललाई सहयोग गरेको थियो। नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतबाट सहयोगको अपेक्षा राख्नु राजा त्रिभुवन र नेपालका प्रजातान्त्रिक योद्धाको ठम्याइ हो।

नेपालमा राणाशासक अत्तालिन थालेको अवस्थामा राणा प्रधानमन्त्री मोहन शमशेरलाई दिल्लीमा बोलाएर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राणाशासन बचाइदिने आश्वासन दिएर सन् १९५० को जुलाईमा असमान गोप्य सन्धिमा हस्ताक्षर गराइयो र सन् १९५० को सन्धिको चार महिनापछि राजा त्रिभुवनलाई राणाको पञ्जाबाट २००७ कात्तिक २१ गते भारतीय दूतावासमा भगाई कात्तिक २६ गते सोझै दूतावासबाटै विमानस्थलबाट दिल्लीमा पुर्‍याइयो।

मोहन शमशेरलाई प्रधानमन्त्रीमै कायम राख्ने सर्त बनाएर दिल्ली सम्झौताको जालमा राजा त्रिभुवनलाई नेपाल फर्काउने सहमति भयो। त्यसबेला दिल्ली सम्झौताका बुँदा जनसमक्ष ल्याइएन, गोप्य राखियो।

भारतले राजासँग एउटा कुरा, राणा प्रधानमन्त्रीसँग एउटा कुरा र कांगे्रससँग अर्को कुरा गरेर अन्योल सिर्जना भएको थियो। नेपालका राष्ट्रवादीसँग भारत सशंकित भएकाले कतैबाट विरोधको आवाज नउठोस् भन्नका लागि २४ पुस २००७ मा दिल्लीबाटै नेहरूले मोहन शमशेरलाई काठमाडौं पठाएर मोहन शमशेरबाटै संविधानसभाबाट संविधान बन्ने कुराको पहिलो घोषणा गर्न लगाइयो।

घोषणामा उल्लेख थियो– ‘देशभरिका सम्पूर्ण बालिगबाट एउटा वैधानिकसभा खडा गर्ने र यसको मुख्य काम भावी विधान तयार गर्ने हो।’ २८ पुस २००७ को राति श्री ५ त्रिभुवन र जवाहरलाल नेहरूबाट स्वागत गरिएका पर्चा पनि छरियो।

यस्तो थियो त्यसबेलाको भारतीय पृष्ठभूमि। तर, प्रजातान्त्रिक नेतृत्वमा बिपी कोइराला, गणेशमान सिंह र साम्यवादी पक्षधरहरूमा पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मनमोहन अधिकारीहरू हुन्। नेपालमा प्रजातन्त्र राजा, देशभक्त नेपाली, प्रजातात्रिक र साम्यवादी नेताको संयुक्त प्रयासमा स्थापना हुन सकेको हो। राजा, राणा र कांग्रेसले त्रिपक्षीय सम्झौता गरेर २००७ फागुन ४ गते राजा त्रिभुवनको नेपालमा फिर्ती सवारी भएको थियो।

राजा त्रिभुवनको सवारीका बेला असंख्य नरनारीले स्वागत गरे। २००७ फागुन ७ गते राजा त्रिभुवनबाट प्रजातन्त्र स्थापना भएको घोषणा भयो। त्यही घोषणा गरिएको दिनदेखि फागुन ७ लाई प्रजातनत्र दिवस मनाइन्छ। प्रजातन्त्रमा सरिक भएको कुराबाट प्रभावित भएर राजा त्रिभुवनले गणेशमान सिंहलाई क्षेत्रपाटी चाक्सीबारीमा घर किन्न दुई लाख रूपैयाँ पठाइदिएका र त्यस्तै धर्मरत्न यमीको भुरुङखेलमा घर किन्न १८ हजार रूपैयाँ दिएका थिए।

तर दुःखको कुरा दिल्ली सम्झौताका धेरै बुँदामध्ये त्रिभुवनको सुरक्षा र सहयोगका लागि श्री ५ को प्रमुख सचिवका रूपमा राजदरबारमा भारतबाटै गोविन्दनारायण सिंह राखियो। राजदरबारको गेटमा नेपाली सेना र दरबारभित्र भारतीय पञ्जाबी सेना राख्ने व्यवस्था गरियो। मन्त्रिपरिषद्को मुख्य सचिवको ठाउँमा भारतकै मुर्देश्वर नियुक्त भए, नेपालको कानुनी सल्लाहकारमा भारतकै आएंगार भन्ने राखिए भने नेपालको आर्मी हेडक्वार्टरमा भारतकै जर्नेल शारदानन्दन सिंहलाई राखियो। स्मरणीय होस् कि त्यसैताका नेपाल आर्मीको हतियार सफाइमा मनोहरामा बारुद पड्किएर एक महिलाको ज्यान गएको थियो।

नेपालमा १८०० आर्मीमध्ये धेरैलाई अयोग्य घोषित गर्दै ८०० मात्र सीमित बनाइयो। नेपालको सेना कटौती गरेर नेपाललाई कमजोर बनाउने भारतको रणनीति नै थियो। त्योबेला भारतको यस्तो नांगो हस्तक्षेपका विरुद्धमा नेपालको राष्ट्रवादी शक्ति विरोधमा उत्रियो। दिल्ली सम्झौताको विरोध गर्ने डा. केआई सिंहलाई डाँका घोषित गरियो। दिल्ली सम्झौताको विरोधमा राष्ट्रवादी शक्तिका रूपमा उत्रिएका कम्युनिस्टलाई प्रतिबन्ध लगाइयो।

दिल्ली सम्झौताको विरोधमा उत्रिएको जुलुसमाथि गोली हानियो। चिनियाँ काजी सहिद भए। गृहमन्त्री बिपी कोइरालाले राजीनामा दिए। नेपालमा अस्थिरता बढ्दै गयो। तर राजा र जनताको संयुक्त प्रयासमा राजा त्रिभुवनले २०१० माघ ७ गते बिमारी अवस्थामा सन् १९५० को दिल्ली सम्झौतालाई निस्तेज बनाउने घोषणा गरे। उक्त घोषणामा उल्लेख थियो– ‘नेपालको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका सम्पूर्ण अधिकार श्री ५ मा निहीत रहनेछन्।’ उक्त घोषणापछि भारतीय हस्तक्षेपमाथि नियन्त्रण आयो, (नेपालको राजनीतिक दर्पण भाग १, पृष्ठ २३३–२३५, ग्रीस्मबहादुर देवकोटा)। तर उक्त घोषणालाई नेताहरूले प्रचारमा ल्याउन नचाहेता पनि राजा त्रिभुवनबाट नेपालको सार्वभौमसत्ता र प्रजातन्त्रलाई जोगाउन सकेको कुरा हामीले भुल्नु हुँदैन।

नेपाल संसारका सार्वभौम राष्ट्रमध्ये धेरै पुरानो राष्ट्र हो। नेपालले हिन्दू तथा बौद्धलाई शिरमा राखेर आफ्ना पहिचान, मूल्य र मान्यता बचाइ आएकाले विश्वमा यसको आफ्नै महानता छ। हिमवतखण्ड नेपालका पे्ररणास्रोत पृथ्वीनारायण शाहबाट यस क्षेत्रका ५४ वटा ससाना हिन्दुराज्यको एकीकरण गरेर विशाल नेपालको सिर्जना गरी त्योबेलादेखि नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित हुन सकेको हो। इतिहासको त्यस्तो महान उपलब्धिलाई हामीले किन सम्मान नगर्ने ? नेपाल बिटुलो भएन, नेपालमा ओम कहिले पराधीन भएन।

नेपालले हिन्दू तथा बौद्ध अस्मिता जोगाएर राखे पनि राणाशासनको निरंकुश शासनमा जकडिएको थियो। प्रजातन्त्रका स्थापनाका लागि चार अमर सहिदले बलिदानी गरे। तर राजा त्रिभुवनले नेतृत्व नगरेको भए शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त, गंगालालहरूको बलिदानलाई राणाशासकले लत्त्याउन सक्थे। पहिला–पहिला मारिएका सर्वसाधारण जस्तो हराउन सक्थे।

प्रजातन्त्रका लागि २००७ सालमा राजा त्रिभुवनले गद्दी त्याग गरेर भारतको सहयोगमा फागुन ४ गते दिल्लीबाट फर्केपछि फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। त्यही दिनलाई हामी प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं। तर २०६३ सालपछि प्रजातन्त्र दिवस फागुन ७ गतेलाई महत्त्व दिन छाडिएको छ। यस्तो महान् ऐतिहासिक दिनलाई कहिले पनि राज्यले उपेक्षा गर्नु राम्रो मानिदैन। यसरी राष्ट्रिय धरातलमा स्थापित भइसकेको प्रजातन्त्र दिवसलाई सम्मान गरेर नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्र अनि नेपालका सांस्कृतिक मूल्य र मान्यता जोगाउन सम्पूर्ण राजनीतिक शक्ति, जनता र राज्यका प्रमुख अंग सचेत रहिरहन सक्नुपर्छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App