१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मनोवृत्ति

नवराज शर्मा

उसले थुप्रिएको फोहोर जति दैलो बाहिर फाल्यो। बाहिर निस्कदा सडकभरि फोहोर देखेर नाकमुख छोप्दै भन्यो, ‘कस्तो फोहर सडक!’

गर्मी बढ्यो। पानी परेन। घडेरी बिक्रीका लागि धमाधम डाँडा सम्याउँदै गरेको उसले इन्द्र देवतालाई दोष दियो।

मलामी जाँदा घाटमा नुहाएर चोखिन खोज्यो। पानी फोहोर देखेर नुहाउन सकेन। ‘दूषित नदी’ भन्दै घर आई चोखियो। त्यतिबेला उसको घरको शौचालयको पाइप सोझै ढलमा जोड्ने काम भइरहेको थियो र ढल खोलासम्म पुर्‍याइएको थियो।

साँझ बाँझो बारीनिर कुर्सीमा बसी बियर लडाउँदै बर्गर र पिज्जा खाँदै साथीहरूसँग समाचार सुन्दै ऊ खाद्यान्न आयात बढेकोमा  चिन्ता व्यक्त गर्दै थियो।

अन्त्यमा ऊ सरासर कोठाभित्र गयो। पुरानो ऐनानिर उभियो। आफ्नो अनुहार हेर्यो। अनुहार नराम्रो देखिएपछि ऐनालाई चोर औंला ठड्यायो, ‘पख्!’

बिर्स्यो, बाँकी औंला ऊतिर तेर्सेर भन्दै थिए,‘पख्!’

प्रकाशित: ६ फाल्गुन २०७८ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App