सीता विष्ट कार्की
१) मुक्तक
खै किन कस्ले गर्यो यहाँ अन्तर्घात,
बुझ्नै गाह्रो अन्तर्यामीहरूको बात।
मनका व्यथाहरूले चिथोरिरहँदा नि,
भत्कियो नि थाहा नपाई चाँदनी रात।
२) मुक्तक
बिचौलियाहरू यहाँ कहिल्यै नि डराउँदैनन्,
मध्यस्थतकर्ता ताण्डव नृत्य गर्न लजाउँदैनन्।
विचरा मारमा परेका जनताहरू सहन्छ्न सधैं,
अन्यायको आगोले जति पोले नि कराउँदैनन्।
३) मुक्तक
भूमाफियाहरू भूपति बन्न खोज्दैछन्,
भत्काई पुराना संरचना नै रोज्दैछन्।
कात्रोमा खल्ती हुँदैन भन्दाभन्दै पनि,
धन बोकी यमलोकमा लाने सोच्दैछन्।
४) मुक्तक
सुन्दासुन्दै हैरान भएँ कति सुन्नु तिम्रो बात,
गन्तव्यमा पुग्नु थियो पाए भने तिम्रो साथ।
ठूलोसानो कोही छैन अचेल सबै बराबरी,
हेर न बिहान जस्तै बनिरहेछ हरेक मेरो रात।
५) मुक्तक
फूलहरूसँग जबजब नजिक जान्छु,
जति चिथोरे नि उति नै माया मान्छु।
त्यसै ओइली जाने फूलहरू एकदिन,
सिख्रै भए पनि त्यो सुगन्धित ठान्छु।
प्रकाशित: २२ माघ २०७८ ११:१८ शनिबार