१९ असार २०८१ बुधबार
image/svg+xml
कला

बर्थडे कि जन्मदिन?

लघुकथा

आचार्य प्रभा

ऋचाकी आमाले भनिन्, ‘छ्या! सोह्र वर्ष पुगिसकेकी छोरीको बर्थडे त अलिक मजाले मनाउनु नि हौ लक्ष्मीकी आमाले। के बर्थडे पनि मन्दिरमा दर्शन गरेर मनाउनु? म त मजाले दिल खोलेर घरमै छोरीको बर्थडे मनाइदिन्छु।’

उनको कुरा सुनेर सुजाताले हाँस्दै भनिन्, ‘उनीहरूले साधारण जन्मदिन मनाएका नि। जन्मदिन साधारण मनाउँछन्,बर्थडे ताम्झामले। कुरा त त्यसो पो होला त! बर्थडे र जन्मदिनमा यही फरक होला नि।’

भोलिपल्ट बिहानै टोलमा हल्ला चल्यो। ऋचा घाइते भएर अस्पतालमा छिन् रे भनेर। लक्ष्मीकी आमा पनि हेर्न पुगिन्। ऋचाकी आमा रोइरहेकी थिइन्। कुरा बुझ्दा थाहा भयो। धुमधामको साथ छोरीको बर्थडे मनाउँदा रातको बाह्र बजेतिर बालेको मैनबत्तीबाट आगो सल्किएर ऋचाको कपडामा भेटेछ। निभाउँदानिभाउँदै पनि शरीरमा आगो सल्किएर उनी घाइते भइछिन्। त्यो समय सब खानपिनमा मस्त थिए रे।

तब सम्झिन् लक्ष्मीकी आमाले ऋचाकी आमाले भनेका व्यंग्यात्मक वाक्यहरू। ‘अहिले मोर्डन जमानामा पनि कोही मन्दिर गएर जन्मदिन मनाउँछ? त्यो त पाखे पारा भइगयो नि! म त सबै साथी घरमा बोलाई पार्टी दिएर मजाले ऋचाको बर्थडे मनाउँदैछु।आउनु है तपाई र छोरी पनि।’ उनलाई ऋचाकी आमाको त्यो वाक्यले बिझाएको थियो। त्यसैले उनी गइनन्।

उनी मनमनै सोच्छिन्, ‘ज्यादा देखासिकी र आधुनिक बन्नुको नतीजा हो यो। जन्मदिनमा त आशीर्वाद दिनु हो। रक्सी भोजभतेरको थुप्रो लाएर नै जन्मदिन मनाउन जरुरी छ?’

सबैजना अँध्यारो मुहार लाएर हस्पिटलमा यताउति गरिरहेका थिए।

प्रकाशित: १७ माघ २०७८ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App