शिव पलाँस
एउटा बुढो रूख हुँ म पातहरू झर्न थाले,
छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।
शीतल बस्न फेदमा कुनै मान्छे अब आउने छैनन्,
ऋतुहरू आउने छैनन्, चराले गीत गाउने छैनन्।
माया गर्ने मान्छेले नै तिरस्कार गर्न थाले,
छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।
अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु,
दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु।
मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले,
छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।
प्रकाशित: १४ माघ २०७८ १५:१६ शुक्रबार