नानुमैया दाहाल
१) मुक्तक
उसको श्रमको आडमा नै आफ्नो पेट भर्छौ,
जीवनयापन गर्न उसकै सीपको भर पर्छौ।
तैपनि भिडाई उसलाई अछुतको बिल्ला,
पानीबाट बाहेक पार्ने नीच काम गर्छौ।
२) मुक्तक
विवेक बेचेको आम्दानीले अहंकार जोडेछौ,
कर्तव्य भुलेछौ र प्रेमको दिवाल तोडेछौ।
कुरा गर्थ्यौ आमाबुवाप्रति अगाध आस्था राख्ने,
आज बिहान दुवैलाई वृद्धाश्रममा छोडेछौ।
३) मुक्तक
सृष्टिकर्ता हौ तिमी नारी किन हेपिएर बाँच्छ्यौ?
बन्धक राखी आफ्नो खुसी इसारामा किन नाच्छ्यौ?
थाकेका छन् गोमनहरू यही हो तिम्रो शुभ बेला,
मुक्ति युद्ध नथालेर कहिलेलाई तागत साँच्छ्यौ?
४) मुक्तक
कुनै मृत्यु प्वाँखजस्तै मूल्यहीन हुँदो रै’छ,
कुनै मृत्युले आफन्तको सम्म दिल छुँदो रै’छ।
कुनैचाहिँ हुँदो रहेछ यस्तो अमर मृत्यु–
पीडा थाम्न नसकेर सिंगो देश रुँदो रै’छ।
५) मुक्तक
घरको मुहार फेर्न मैले उसलाई अगुवा चुनें,
खापा फेर्ला, छानो छाउला यस्ता थुप्रै आशा बुनें।
बेइमानी पो रहेछ ऊ, आफ्नो स्वार्थ सिद्धि गर्न–
छिमेकीलाई मझेरीको माटो बेचेको पो सुनें।
प्रकाशित: १४ माघ २०७८ ०६:०० शुक्रबार