रोशन पराजुली
–अय्या–अय्या आमामा आ...?
श्रीमतीका प्रसवपीडामा म आत्तिरहेको थिएँ,‘अब के गर्ने, कसो गर्ने?’
डाक्टरले दिएको समयसीमा भैसकेको थियो।
भरसक घरैमा बच्चा जन्मियोस् भन्ने चाहना अनुसार आमा बुहारीलाई ढाडस दिइरहनुभएको थियो किनकि आमाले पनि प्राय: गाउँघरका छोरीबुहारीलाई सुत्केरी गराउन आफैं तयार गर्नुहुन्थ्यो तर आफ्ना अनुभव बिर्सेर उहाँ पनि आत्तिरहनुभएको थियो।
म नि आत्तिएँ। उनी भर्खरै सत्र वर्षमा पाइला टेकेकी थिइन्। मचाहिं ३२ वर्षको थिएँ।
मलाई सन्तान चाहिएको थियो। केटी देखाउनेले तेइस वर्ष भनेर ढाँटे। अहिले आफ्ना गल्तीमा सन्ताप भैरहेछ।
हतार गरेर अस्पताल पुयाइयो उनीलाई। म ओखती लिन गएँ।
फर्केर आउँदा खुट्टा खोच्याउँदै आमा रगत बैंकबाट आउँदै हुनुहुथ्यो। लडेर उहाँको घुँडामा चोट लागेछ।
–ठुल्दिदीकी सासू आमाले ‘लु छोरी समाऊ’ भन्दै छोरी देखाउनुभयो।
छोरी त लामालामा जिब्रो भित्रबाहिर चलाइरहिछ।
‘आमा, आ यो के हो?’ म चिच्याउँदै डाक्टरले केही महिनाअघि तपाईहरूको छोरा छ तर तौल कम्ती छ भनेको सम्झें।
–बाफ रे बदमासी मलाई झुक्याउने फटाहा डाक्टर!
आमाले छोरी समाऊ भनेर फेरि मलाई छोरी थमाइदिनुभयो अनि छोरी हेरेर अनायसै मेरो आँखाबाट आँसु बहिरह्यो। गोरी तर पीठाको डल्लाजस्तै साह्रै सानी थिई ऊ। मैले उनलाई ज्याकेटमा लुकाएँ।
बाहिर पुसे हुस्सु लागिरहेको थियो। म खुसीले रोइरहें बाबु हुँदाको अनुभव सम्झदैसम्झदै।
–बाबा, किन रोइसेको हजुर?
म झल्याँस्स बिउँझिएँ। छेउमा व्याच्लर पढ्दै गरेकी छोरी चियाको कप लिएर उभिएकी थिइन्।
प्रकाशित: १४ माघ २०७८ ०२:५६ शुक्रबार