१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

एलियन

लघुकथा

किशन पौडेल

मंगल ग्रहबाट केही एलियन ब्रह्माण्डको संरचना लगायत विषयमा खोजअनुसन्धान गर्ने क्रममा पृथ्वीको भ्रमणमा आएका थिए।

भ्रमणको बन्दोबस्त गर्ने जिम्मा अमेरिकी अन्तरिक्ष कमान्डले गरेको थियो। दोभासेको काम इजरायली इन्टेलिजेन्स एजेन्टहरूले गर्दै थिए। झिटीगुन्टा बोक्ने र गाइड गर्ने काम भने नेपालीको भागमा परेको थियो।

पृथ्वीका मानिस र उनीहरूबीच शारीरिक संरचनामा धेरै भिन्नता थियो। ती सयौं गुणा बुद्धि, बल र ज्ञानले भरिपूर्ण देखिन्थे।

नेपालबाट उनीहरूको भ्रमण मिसन सुरु गरियो। यहाँका नदीनाला, जंगल–पहाडहरू देखेर उनीहरू दंग पर्दै थिए। मंगल ग्रहमा यस्तो भू–बनोट थिएन।

ती घुम्दै काठमाडौं शहर पुगे। जताततै गजुर र मन्दिरहरू देखेर अचम्म मान्दै सोधे, ‘यो के हो?’

‘यो हाम्रो भगवानको मन्दिर हो’, यसरी नेपाली गाइडले बताउँदै थिए भने इजरायली एजेन्टहरूले एलियनको भाषामा उल्था गर्दै थिए।

‘भगवान्! को हुन् तिनीहरू?’ एलियनले अचम्म मान्दै सोध्यो।

‘भगवान् भनेको अदृश्य शक्ति, हामीलाई रक्षा गर्ने हाम्रो दुःख, पीडा हरण गर्ने प्रभु हुन्।’

अलिपर पुगेपछि बाटोमा मागेर बसेका केही जोगी र भिखारीहरू देख्दा एलियनहरूले अचम्म मान्दै सोध्दै थिए, ‘यिनीहरू को हुन्?’

‘यिनीहरू गरिब–दुखी, धन नभएर खान नपाएर विरक्तिएर हिँडेका मनुवाहरू हुन्।’ गाइडले जोगीतिर इंगित गर्दै भने।

तिनले आश्चर्य हुँदै भने, ‘ओहो भगवान् भएर पनि यहाँ गरीबदुखी हुँदा रहेछन्। हाम्रो ग्रहमा न भगवान् छन् न गरिबदुखी नै। धन भन्ने कुरा त के हो, थाहा नै छैन।’

अगाडि हिँड्दै गर्दा बाटामा नाराबाजी र आन्दोलन हुँदै थियो । प्रहरीहरू लखेट्दै थिए। मान्छे कराउँदै दौडिरहेका थिए। यो देखेर एलियनले दंग पर्दै जिज्ञासा राख्यो, ‘यहाँ के हुँदै छ?’  ‘यो आन्दोलन हो, सरकारविरोधी आन्दोलन। देशमा भ्रष्टाचार धेरै भयो। अन्याय–अत्याचार बढेर जनता सडकमा आएका हुन्।’

उनीहरू झन् छक्क परे, ‘ओहो, यो पृथ्वीलोक यस्तो सुन्दर भएर पनि सारै दुखै दुःख र पीडाहरूले भरिएको रहेछ। मानिसहरूमा धेरै उन्माद बढेछ।’

‘हाम्रो ग्रहमा न पानी छ न जंगलपहाडहरू छन् न सरकार छ न प्रहरी हाम्रो एउटै ग्रह छ। हामी एउटै जातका एलियन हौं। हामी आफैलाई ईश्वर मान्छौं। सयौं वर्षपछि यो सारा ग्रह नष्ट हुँदै छ।’

‘हामी यो सम्पूर्ण ग्रहलाई नष्ट हुनबाट जोगाउने मिसन बोकेर आएका हौं। सम्पूर्ण ग्रह हाम्रो ज्ञान र बुद्धिले चलिरहेको छ अहिलेसम्म।’ पृथ्वीमा परमाणु त्रासदीलाई रोक्न ठूलो भूमिका रहेको रहस्य ती उद्घाटित गर्दै थिए।

एलियनका कुरा सुनेर उनीहरूको मनभित्र गहिरो झट्का लाग्यो र सोचमग्न हुन थाले।

‘ओहो, धिक्कार छ हाम्रो ज्ञान, बुद्धि र अहंलाई। हामी पृथ्वी लोकका मानिस कति तुच्छ सोच र संकीर्ण विचारहरू बोकेर बाँचिरहेका रहेछौं!’ 

प्रकाशित: २५ पुस २०७८ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App