डा. प्रदीप मैनाली ‘स्वनाहम्’
के सिकाए पाखुराले, के सिकाए पाइलाले?
भोग्नुपर्ने रै’छ आफैं, ढल्छ जीवन भन्न थाले।
तास, जूवा खेल्न थाल्यौं, खाल घुम्दै दाउ लाग्यो,
सिद्धियो बस् खेल हाम्रो, मुस्कुरायो मात्र खाले।
बालुवामा फुल देख्दा, खाडी जाने हातलाई,
माटो तिम्रो झन् के होला सोध्छ होला बालुवाले।
सम्झिएछौ सानो मान्छे, हो म सानै मान्छे याद राख्नू,
भोलिको अस्तित्व आजै बोकेको छ आँकुराले।
कर्मचारी तन्त्र हेर्दा लाग्छ यस्तै आजभोलि,
देख्छ के नै विश्व बाँकी पोखरीको भ्यागुताले।
प्रकाशित: २५ पुस २०७८ ०४:११ आइतबार