७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

दानशैली

लघुकथा

मनोहर पोखरेल

ठिहिरोले सुनसान बनेको गाउँमा शनिबार निकै चहलपहल थियो। सामुदायिक भवनसम्म सडकभरि प्रहरी गस्तीमा थिए। चोकचोकमा ट्राफिक प्रहरी तैनाथ थिए।

सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, फोटोग्राफर र अगुवापछुवा कार्यकर्ताहरू जुट्दै थिए।

यी सबै तयारीबाट म अनभिज्ञ थिएँ। जिज्ञासा मेट्न सामुदायिक भवनतर्फ जाँदै गरेका एक वृद्धलाई सोधेको थिएँ, ‘आज गाउँमा केको चहलपहल हो बारु’

उनी मौन रहे।

‘निस्वार्थ भावले शहीदहरूले गरेको बलिदानको कदर हुन लागेको हो कि वा चुपचाप रक्तदान गर्ने मानवताका पुजारीहरू सम्मानित हुन लागेका हुन् किरु देशको समृद्धिको लागि जनताले गरेको गोप्य मतदानको यथोचित कदर पो हो किरु’ यस्तैयस्तै मनमा कुरा खेलिरहेका थिए।

सोचेभन्दा फरक किसिमको दान रहेछ। हिँड्दाहिँड्दै बुझ्न पाएको थिएँ,‘भोकालाई अन्नदान र नांगालाई वस्त्रदान गर्न नेताजी आउँदै छन्।’

भोकले छट्पटाइरहेकाहरूका लागि भोजन र ठन्डीले कठ्यांग्रिरहेकाहरूका लागि वस्त्रदान गर्ने तयारी रहेछ।

सुरक्षामा कुनै चुक नहोस् भनेर पूरा सावधानी अपनाइएको थियो। त्यसका लागि कार्यक्रमस्थलबाटै वाकीटाकीमा सुरक्षा निकायका प्रमुखहरूको निर्देशन जारी थियो।

एंगलएंगलको तस्विर लिन फोटोग्राफरलाई उनका स्वकीय सचिवले सिकाइरहेका थिए। दान लिँदै गरेका बेला गरीब र अशक्तको आँखामा आउने चमक वा असहायपनको फोटो खिच्न पत्रकारहरू पोजिसन खोजिरहेका थिए।

घना हुस्सु, सिरेटो र शीतलहरीले जीवनचर्या प्रभावित थियो। औधी आवश्यक कामबाहेक मानिसहरू घरबाट निक्लिन छाडेका थिए। यस्तो बखत पनि दान दिने र दिलाउने सबै खुसी थिए। यद्यपि म भने लोकप्रियताका नाममा देखावटी दानशैलीबाट निराश बनेको थिएँ। पीडितलाई सामाजिक रूपमा झन् कमजोर तुल्याउने प्रपञ्च आडम्बर लागिरहेको थियो।

प्रकाशित: २४ पुस २०७८ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App