७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

पद्यम कन्याका दिदीहरूबाट साइकल चढ्ने निम्तो

सुयोगमान सिंह बस्न्यात

‘मंसिर ११ गते महिला हिंसाविरुद्ध जनचेतना जगाउने उद्देश्यले दोस्रो पल्ट साइकल र्‍याली हुँदैछ। पोहर जस्तै भोलेन्टियर गर्न आउनु’ भनेर पद्यम कन्या बहुमुखी क्याम्पस बागबजार, विविएम पाँचौ सेमेस्टरका दिदीहरूले मंसिर ९ गते मेरो बाबा मार्फत निम्तो पठाउनुभएछ।

यता आफू भने असोज २२ गते, घटस्थापनाको भोलिपल्ट जगडोलको राष्ट्रिय शहीद पार्कमा साइकल स्टण्ट गर्ने क्रममा जथाभावी  गर्दै आएको मान्छे र अकस्मात आएको स्कुटरको कारण दुर्घटनामा परी दाहिने हातको नाडी भाँचेर आराम गर्दै थिएँ। प्लास्टर खोलेको पनि केही दिन मात्रै भएको थियो।

प्लास्टर  खोलेपछि डाक्टर सा’बले अब १ महिना जति साइकल नचढ्नु, गह्रौं सामान नउठाउनु भन्नुभएको थियो। तर, मनै मानेन र साइकलको चक्का र कैचीमा माकुराले लगाएको जालो सफा गरें र लागें साइकल  र्‍यालीमा भोलियन्टर गर्न।

साइकल र्‍यालीमा समाजसेवी तथा राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुन पनि आउनुभएको थियो। उहाँले साइकल र्‍यालीको महत्व सुनाउनुभएको थियो। आयोजक दिदीहरूलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले रिबन काटेर साइकल र्‍यालीको उद्घाटन गर्नुभयो।

र्‍याली क्याम्पस गेटबाट देबे्रतिर भएर अघि बढ्यो। उहाँ पनि हामीसँगै पुतलीसडक चोकसम्म साइकल चढेर  जानुभयो। अनि र्‍याली कमलादी गणेशस्थान, त्रिचन्द्र कलेज, घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, बुद्धनगर, युयनपार्क, पाटनढोका, धौगल हुँदै पाटन दरबारमा पुगेर केहीबेर रोकियो।

त्यहाँ साइकलयात्रीहरूलाई मंगल बजारको खोपचा, करिडोर रेस्टुरेण्ट र हान्ताई ममः एन्ड नेवारी खाजा पसल माहापालद्धारा संयुक्त रूपमा धिमे बाजा, टिका, तोरण, चिया–विस्कुट, केरा, पानी सहित भव्य स्वागत गरियो।

त्यहाँ  केहीबेरको रमाइलोपछि हामी वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् श्री सत्यमोहन जोशीको घरमा आशीर्वाद लिन गयौं। उहाँ हामीलाई देखेर धेरै खुशी हुनुभयो। उहाँले महिलाहरूको महत्वबारे बोल्नुभयो। महिलाहरूको सम्मान गर्नुपर्छ भन्नुभयो। नेपाल लगायत विश्वभरि नै महिलामाथि हिंसा बढ्दो छ।

यस्तो अवस्थामा हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आफ्नो हकहितका लागि आवाज उठाउन गरिएको यो साइकल र्‍याली सफल होस् भनेर शुभकामना दिनुभयो। दही–अक्षताको रातो टीका लगाएर आशीर्वाद दिनुभयो। हामी त्यहाँबाट विदा भयौं।

त्यहाँबाट र्‍याली पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, नयाँसडक, वसन्तपुर हुँदै केहीबेर हनुमान ढोकाको विश्रामपछि फेरि वसन्तपुर, नयाँसडक, जमल, घण्टाघर, बागबजार हुँदै क्याम्पसमा पुगेर र्‍याली सकियो अनि साइकलेहरू संगीतको तालमा नाच्न र झुम्न थाले। यत्तिकैमा औपचारिक कार्यक्रम पनि सुरु भयो।

औपचारिक कार्यक्रमको बिचबिचमा सांस्कृतिक कार्यक्रम, मायाको चिनो, प्रशंसापत्र दिने क्रम चलिरह्यो। कार्यक्रममा मैले पनि बोल्ने मौका पाएँ।

 

यस साइकल र्‍यालीमा समाजसेवी तथा वैज्ञानिक महावीर पुन, तेह्रौं साग गेममा महिलातर्फ डाउनहिल साइकल च्याम्पियन निष्मा श्रेष्ठ, साइकलयात्री अजित बराल जस्ता व्यक्तिको उपस्थितिले अझ साइकल र्‍यालीको महत्व बढाएको थियो। साइकल र्‍यालीलाई व्यवस्थित र सफल बनाउनु प्याङ्क साइकल पसल, नालाको ईश्वर अंकल, कृपा अंकलको साथ र सहयोग थियो।

आयोजकले यात्रीहरूलाई खाजा, खाना, प्रमाणपत्र र टिसर्ट पनि प्रदान गर्नुभएको थियो। कार्यक्रमबाट बँचेको पैसा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु  यो साइकल र्‍यालीको अर्काे महत्वपूर्ण कुरा थियो।

मलाई निम्तो गर्नुभएकोमा आयोजक दिदीहरू सोनु, आरती थापा, श्रेया श्रेष्ठ र आरती विष्टलाई धेरैधेरै धन्यवाद! 

    - विद्या संस्कार विद्यालय, गोकर्ण, काठमाठौं।

प्रकाशित: २४ पुस २०७८ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App