२५ श्रावण २०७९ बुधबार
कला

पृथ्वीनारायणको उपदेशलाई मूलनीति बनाऔँ

वि.सं. १७७९ पुस २७ गते गोर्खामा एक महान् सपूत पृथ्वीनारायण शाहको जन्म भएको थियो। नेपाल अधिराज्यको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन।

वि.सं. १८०० भन्दाअगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट यस क्षेत्रका राज्य हडप्न गिद्धेनजर लगाउन थालेको अवस्था थियो। त्यसबेलामा गोर्खा लगायत, कान्तिपुर, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, मकवानपुर, पाल्पा, कास्की, चौदण्डी, बाइसी, चौबिसी जस्ता ५४ भन्दा बढी राज्यको अवस्था अत्यन्त संकटग्रस्त थियो।

त्योबेला हिमवतखण्डमा अवस्थित स्वतन्त्र हिन्दूराज्यहरूलाई पृथ्वीनारायण शाहले एकीकरण गरेर बनेको उसबेलादेखिको नेपाल एक हिन्दू अधिराज्य हो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीका गौरव हुन्। हिमवत्खण्डका स–साना हिन्दू राज्यलाई पृथ्वीनारायण शाहले सबैको सहयोग लिएर विश्वको एक मात्र हिन्दू अधिराज्यको रूपमा विशाल नेपालको सिर्जना गरे।

भारतमा मुसलमान र अंग्रेजी साम्राज्यबाट हिन्दू अस्मितामाथि आक्रमण गरेर एकछत्र मुसलमान र अंग्रेजले प्रभाव जमाइरहेको अवस्थामा यस क्षेत्रको सार्वभौम अस्तित्व बचाएर राख्न सक्ने एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीको अहोभाग्य थियो। पृथ्वीनारायण शाहले उसबेला सोचेका र देखेका कुराहरू अहिलेसम्म पनि उत्तिकै सार्थक छन्।

उसबेला पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न तदारुकता नदेखाएको भए नेपाल भन्ने देशको नामनिशाना रहने थिएन।  उसले राष्ट्रनिर्माताबाट उसबेला मार्गदर्शन गरेका विचार र बाटोलाई नै हामी नेपालीले जहिले पनि सहमतिको आधार बनाएर हिँड्न सक्छौं।

यसका लागि अहिले पनि हामी जुनसुकै विचारका राजनीतिक दलले उनको दिव्योपदेशलाई मूलनीति बनाएर त्यसैको आधारमा देशलाई निकास दिन कुरामा हामी सबैको विचार केन्द्रित हुन गयो भने यसरी हामीहरू सधैँ अन्योलग्रस्त रहिरहने अवस्था आउने छैन।

पृथ्वीनारायण शाहलाई हामीले बुझ्दा उनले यो भूमिको एकीकरण गरेका बेला टुक्रा टुक्रामा विभाजित जर्मनी र इटालीको एक सय वर्षपछि एकीकरण भएको थियो। नेपालको एकीकरण भएको एक सय वर्षपछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेस्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बनेको थियो।

 नेपालको एकीकरण हुनुभन्दा २०/२५ वर्षपछि मात्र अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन पुगेको थियो। यस्ता कैयौं देश अन्धकारमा रहेका अवस्थामा पृथ्वीनारायण शाहको कारणले बेलायती साम्राज्यले यस क्षेत्रलाई हडप्न असफल भएको थियो। यसर्थमा हामी नेपालीले मान्नुपर्ने व्यक्तित्व पृथ्वनारायण शाह नै हुन् र मान्नुपर्ने विचार पनि पृथ्वीनारायण शाहकै हो।

कतिपय लेखक भन्छन्– पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए। तर त्यो गोर्खा राज्यको विस्तार नभएर हिवतखण्डका क्षेत्रका स–साना हिन्दू राज्यको एकीकरण नै थियो। गोर्खा, लमजुङ, तनहुँ, कास्की, पाल्पा, बाइसी, चौबीसी, मकवानपुर, काठमाडौं ललितपुर भक्तपुर आदि सबै हिन्दूराज्यको अवस्था अत्यन्त नाजुक भएको र अंग्रेजले यस क्षेत्रमा आँखा गाडेर आक्रमण गर्ने अवस्था थियो।

वि.सं. १८०० मा गोर्खाका राजा पृथ्वीनारायणले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेबले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो। त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए।

उता इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नाश गराएर इसाई धर्म लाद्न हिन्दूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अनेकौँ अत्याचार फिरंगीको देखेर हिमवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दूराज्यलाई एकीकरण गर्ने जागृत गरायो।

त्यसैले नेपालको एकीकरण गर्ने उद्देश्यबाटै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए।

त्यही कारणले गर्दा नेपालको एकीकरणपछि नेपालको हिन्दू बौद्ध बीचमा धर्म–कर्म नमिले पनि मुसलमान र हिन्दूहरू बीचमा कहिले असामञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन्।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएर सम्पूर्ण जातिको धर्म र संस्कृतिलाई नेपाली संस्कृतिमा परिणत गराएर नेपाली भाषालाई सम्पूर्ण जातिको अन्तर्जातीय भाषामा परिणत गराई अनेकतामा एकताको सूत्र गाँसेका थिए।

नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो। नेपालका सबै जातिलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूल समान रूपमा फूल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो। नेपालमा विभिन्न समुदायको बीचमा सहअस्तित्वको भावना लिएर हिँड्न सकिएन भने नेपालमाथि विदेशीको रजाइँ हुन्छ भन्ने कुरा राष्ट्रनिर्माताले उसैबेला बुझेको थियो।

पृथ्वीनारायण शाहबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपालको एकीकरण गरिएको थियो, त्यसरी नै नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ। उसबेलामा पृथ्वीनारायण शाहले कालु पाण्डेलाई मूलकाजी अर्थात् प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए। तर, जनताको इच्छा विराज बखतीप्रति रहेकाले मूलकाजीमा उनले विराज बखतीलाई नै नियुक्ति गरेका थिए भने उनी कति प्रजातन्त्रवादी रहेछन् भन्ने पुष्टि हुन्छ।

नेपालको एकीकरणपछि आम जनता र थुप्रै साना राज्यहरूको संरक्षण गर्ने पृथ्वीनारायण शाहको नीति थियो ती क्षेत्रका धर्म, कर्म, परम्परा, रीतिरिवाज यथावत राखेर सबै नेपालीको साझा सम्पत्तिको रूपमा परिणत गराएकाले सबै राज्यका जनता अत्यन्त खुसी थिए। साम, दाम, दण्ड, भेदको नीतिबाट उनले यस क्षेत्रको अवस्थाको जानकारी लिन राति–राति आफ्ना व्यक्ति पठाएर उनीहरूबाट खबर बुझ्थे। अर्को कुरा जनताका घर–घरमा विवाह कार्यक्रममा साम्राज्यवादीविरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रशस्ति गाउने गरिन्थ्यो।

कुहिरेका टाउकामा ट्वाक्–ट्वाक्, ट्वाक् भन्ने कीर्तन स्वरूप विवाहको लगनका बेला प्रशस्ति गाएर प्रारम्भ गरिने चलन ल्याइयो, जुन टिष्टादेखि काँगडासम्म अध्यावधि व्याप्त छ। ‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलीविराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह.... गोर्खाली फौज चले।

कुहिरेका टाउकामा ट्वाक्–ट्वाक्’ आदि देशभित्रको मूल घटना, इतिहास जोडेर वर्तमानसम्मका राजा र सरकार प्रमुखको प्रशस्ति भनेर विदेशी षड्यन्त्र र आक्रमणबाट देशवासीलाई सचेत गराउने पृथ्वीनारायण शाहको मनोवैज्ञानिक नीति थियो।

काठमाडौं उपत्यकामा त्यसबेला अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीको चालदेखि पृथ्वीनारायण शाह अत्यन्त सशंकित थिए। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई बदनाम गर्न उनले कीर्तिपुरेको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अंग्रेजी लेखक कर्कपेट्रिकले झूटा र कपोलकल्पित कुरा लेख्ने काम गरे, जुन सोह्रैआना झूटा र कपोलकल्पित थिए।

त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन्। आफूले विजय गरेका राज्यका जनताको संरक्षण गर्ने नै उनको नीति थियो। उनले आततायी प्रकारले दुनियाँलाई आतंकित पारेर विशाल नेपालको राजा हुने इरादा राखेका थिएनन्। अंग्रेजले यस क्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुरवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो।

त्यसबेला पृथ्वीनारायण शाहले ‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन्। फिरंगी भनेको ब्वाँसो हो। जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो। तर फिरंगी भनेको अर्कै हो’ भनेर यस क्षेत्रका स–साना राज्यका जनतालाई एकताको सूत्रमा आबद्ध गराएका थिए।

इमानसिंह चेम्जोङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि वि.सं. १८३१ साउनमा पृथ्वीनारायणले भनेका थिए– हामी किरातवंश सत्धर्ममा मन राखी गोर्खा वंशसँग एकै वंश भई मिल्नेछौं। साथै कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खा वंशका हौं भनी जवाफ दिनेछौं।

यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैती जस्तो भएर शासक पक्षबाट पेलिएर, आँसुका धारा बगाएर खुम्चिएर बस्नुपरेन। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातिको रीतिथिति, संस्कृति, धर्म, भाषा र वेशभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गरेर आफूले जितेका राज्यमा ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरूका जनतामा असन्तुष्टि थिएन।

त्यही हिसाबले पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा प्रशंसा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि... चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो।

जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिंग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन हर्‍न्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिंगेश्वर पचली भैरव छन्।’ पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत् खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो। हिमवत् खण्डको क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो।

विशाल नेपालको निर्माणमा खुला आकाशजस्तै स्वतन्त्र भएर सबै जातजाति मिलेर नेपालको राष्ट्रिय एकीकरणको संरक्षण गर्न सबै एक हुनु नै हामी विभिन्न जातजातिको गौरव हो। विशाल नेपालको एकीकरण भएको अवस्थामा पृथ्वीनारायण शाहको देहावसानपछि पनि नेपाली सेनाको मनोबलमा कुनै कमी आएको थिएन।

वि.सं. १८४९ चैत्र शुक्लमा नुवाकोट भैरवीको ताम्रपत्रमा उल्लेख भएको वाक्यांशमा उल्लेख छ– ‘भैरवीको ठूलो भक्तिभावले असलबुद्धि प्रकट भएका यी बहादुर शाहले यी बालक राजालाई काखमा राखी चलाएका बेला गंगा साँध लागेको” भन्ने कुराले विशाल नेपालको चित्रण हुन्छ। नेपालको राष्ट्रिय एकीकरणको अभियानमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मण लगायत कामी, दमाई, सार्की आदि जातिबाट सहयोग पुग्न गएको र बिस्तारै सम्पूर्ण जातजातिले आत्मसात् गरेका थिए।

पृथ्वीनारायणको सन्देश थियो– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया।’ यस्तो वीरता र सार्वभौम स्वतन्त्रताको इतिहास बोकेको यो नेपाल अधिराज्यमा हामी जुनसुकै विचारधारामा विभाजित भए पनि हामी सबैको सहमतिको केन्द्र पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई बनाउन सक्नुपर्छ। तर पृथ्वीनारायण शाहले भनेझैं उत्तरको बादशाह र दक्षिणको बादशाहबाट होसियार भएर हामी हिँड्न सक्नुपर्छ।

अतः पृथ्वीनारायण शाहका दिव्य उपदेशमा नै केन्द्रित बनाएर हिँड्न सक्यौँ भने हाम्रा समस्याको समाधान त्यहीँबाट हुन्छ। यही पुस २७ मा श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहको ३००औं जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा उत्साहपूर्वक मनाऔं।

प्रकाशित: २४ पुस २०७८ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App