६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला

जीवनको आकार

कविता

बोधराज पौडेल

सिकर्मीको हातमा परेपछि

काठमा आफैं कलात्मक बुट्टा बनिन्छ

पोलेपछि स्पातका पाताहरू

आरनबाट औंजारमा परिणत हुन्छन् 

कुम्हालेको चक्रबाट हाँडी बनेर निस्कन्छ

माटोको आकारविहीन डल्लो।

यहाँ काठले छिनोको हजार चोट सहेको छ

यहीं फलाम आगो भएको छ

चक्रमा नघुम्दो हो त माटाको डल्लो

कसरी हाँडीको आकार ग्रहण गर्थ्यो?

हिर्काएको छ हथौडाले छिनाको टाउको

च्यापेको छ सनासोले स्पातको नाक

बेलाबेला धागोले काटिन्छ नमिलेको भाग

तब न निस्कन्छ एउटा रूप।

धत, चोट नहुँदो हो त जीवनमा

कसरी आउँदो हो ज्ञान !

मूल पलाउन पनि त बर्सात चाहिन्छ।

थाहै छ ‘क–ख’सिक्न कति गारो हुन्छ,

त्यै भएर त गुरुले कहिले हात,

कहिले लठी समाउनुहुन्छ।

प्रकाशित: १९ पुस २०७८ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App